नेभिगेशन
कानून/द्वन्द्व

‘फेक रेस्क्यू’ बनाएर करोडौं ठगी, ६ जना पक्राउ

काठमाडौं, माघ ११

‘फेक रेस्क्यू’ गरी नक्कली कारोबार गर्ने र पर्यटकलाई ठगी गर्ने गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले आइतबार पत्रकार सम्मेलनमार्फत धरपकडको घटना सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा जयराम रिमाल, विवेक पाण्डे, रवीन्द्र अधिकारी, विवेकराज थपलिया, मुक्ति पाण्डे र सुभाष केसी छन् । रिमाल र पाण्डे माउन्टेन रेस्क्यू सर्भिसमा, अधिकारी र थपलिया नेपाल चार्टर सर्भिस प्रालिमा र पाण्डे र केसी एभरेष्ट एक्सपिरियन्स एन्ड एसिस्टेन्स प्रालिमा आबद्ध थिए ।

पत्रकार सम्मेलनमा ब्यूरोका प्रमुख एआइजी डा. मनोज केसीले पक्राउ परेकाहरूमाथि राष्ट्रहितविरुद्धको कसुर, आपराधिक लाभ, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दामा अनुसन्धान जारी रहेको बताए ।

माउन्टेन रेस्क्यू सर्भिस प्रालिले १ हजार २४८ जनामध्ये १७१ जनाको फेक रेस्क्यू गरेको अनुसन्धानबाट खुलेको जानकारी उनले दिए । सोवापत उक्त कम्पनीले १० करोडभन्दा बढी अमेरिकी डलर बीमा दाबी गरेको पाइएको ब्यूरोले जनाएको छ ।

यस्तै, नेपाल चार्टर सर्भिस प्रालिले ४७१ जना रेस्क्यू गर्दा ७५ जनाको फेक रेस्क्यू गरेको खुलेको छ । त्यसबाट उक्त कम्पनीले ८२ लाख डलर माग दाबी गरेको पाइएको छ । यसैगरी, एभरेस्ट एक्सपिरियन्स एन्ड एसिस्टेन्स प्रालिले ६०१ जनामध्ये ७१ पर्यटकको शंकास्पद रेस्क्यु गरेको खुलेको छ । त्यसबाट उक्त कम्पनीले ११ लाख ५३ हजार अमेरिकी डलर माग दाबी गरेको ब्यूरोले जनाएको छ ।

ब्यूरो प्रमुख केसीले फेक रेस्क्यूको उजुरी अझै आइरहेको बताए । ‘विशेषगरी उच्च हिमाली क्षेत्रमा आउने विदेशी पर्यटकको उद्धार र उपचारको आवरणमा गैरकारोबार भएकाबारे उजुरी र विभिन्न मिडियामा आएका खबरलाई लिएर अनुसन्धान सुरु गरेका थियौं,’ उनले भने, ‘अढाइ महिनाको अनुसन्धानमा फेक रेस्क्यूबारे धेरै पाटा खुलेको छन् । थप अनुसन्धान जारी छ ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्