काठमाडौ, माघ १३
विशेष अदालतले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) खरिद कार्य रोक्न प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले दिएको निर्देशनको प्रतिलिपि झिकाउन आदेश गरेको छ । मंगलबार न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले खरिदलाई यथास्थितिमा राख्नू भनेर समितिले दिएको निर्देशनको प्रतिलिपि झिकाउने आदेश गरेको हो । यो मुद्दामा पूर्वसञ्चार, सूचना तथा प्रविधि मन्त्री मोहन बस्नेतसमेत प्रतिवादी छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत जेठ १ मा टेरामक्स खरिद प्रकरणमा बस्नेतसहित १६ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको थियो । उनीहरूविरूद्ध ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार रुपैयाँ बिगो मागदाबी छ ।
विशेष अदालतले मंगलबार नेपाल दुरसञ्चार प्राधिकरणबाट टेरामक्ससँग सम्बन्धित सक्कल फाइल झिकाउन पनि आदेश गरेको छ । सक्कल फाइल प्राधिकरणबाट पेसीका दिन इजलासमा पेस गरि फिर्ता लैजानेगरी ल्याउन आदेशमा भनिएको छ ।
अख्तियारले अदालतमा दायर गरेको आरोपपत्रमा टेरामक्स खरिदमा १ अर्ब ११ करोड ६२ लाख ५२ हजार १४३ रुपैयाँ भुक्तानी भएको र खरिद भएका सामानहरू जडान समेत भइसकेको भन्ने आपूर्तिकर्ताले जिकिर गरेको विषय उल्लेख छ ।
यसरी जडान भएको प्रणाली तथा सामग्रीको गुणस्तर तथा मापदण्ड सम्झौता बमोजिम भए/नभएको परीक्षणका लागि अदालतले विज्ञ समूह गठन गरेको आदेशमा जनाइएको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणका विषयविज्ञ वरिष्ठ इन्जिनियरको संयोजकत्वमा गठित समितिमा पुल्चोक इन्जिनियरिङ क्याम्पसका टेलिकम्युनिकेसन एण्ड इलेक्ट्रोनिक्स विषय विज्ञ प्राध्यापक र केन्द्रीय प्रहरी अनुसन्धान ब्यूरोका विषयविज्ञ सदस्य छन् । त्यस्तै, आयोगका टेली कम्युनिकेसन विज्ञ केशव ज्ञवाली र आपूर्तिकर्ता भेनराइज सोलुसन्स सालका आधिकारिक प्रतिनिधिको उपस्थितिमा प्रविधि र सामाग्री खरिद सम्झौता बमोजिम भए नभएको प्राविधिक परीक्षण गराइ प्रतिवेदन पेस गर्न आदेशमा भनिएको छ । तर, त्यस्तो प्रतिवेदन कति समयभित्र बुझाउनुपर्ने बारेमा पनि आदेशमा उल्लेख छैन ।
यसअघि विशेष अदालतले सर्वोच्च अदालतका दुई वटा आदेशसमेत मगाएको थियो । अख्तियारले अदालतमा मुद्दा दायर गर्दा भ्यानराइज सोलुसन्स साल (अफसोर) प्रालिलाई समेत प्रतिवादी बनाएको थियो । प्राधिकरणले २०७६ वैशाख २० गते टेरामक्स प्रणाली खरिद प्रक्रियालाई रद्द गर्ने निर्णय गरेको थियो ।
सो निर्णयविरूद्ध उक्त कम्पनी ०७६ जेठ २० गते सर्वोच्च अदालत पुगेको थियो । उक्त रिटमाथि सुनुवाइ गर्दै तत्कालीन न्यायाधीश चोलेन्द्रशमशेर जबरा र कुमार चुडालको इजलासले रिट जारी गर्ने फैसला गरेको थियो । त्यस्तै २०७२ मंसिर २१ गते तत्कालिन न्यायाधीश कल्याण श्रेष्ठ र देवेन्द्रगोपाल श्रेष्ठको इजलासले जारी गरेको निर्देशनात्मक आदेश पनि विशेष अदालतले मगाएको थियो । विदेशबाट आउने फोन/कल नियमन एवं अवैध कलबाइपासबाट हुने राजस्व छली नियन्त्रण गर्ने भन्दै ‘ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम’ (टेरामक्स) जडान गर्ने योजना बस्नेत सञ्चारमन्त्री रहेका बेला अघि बढेको थियो । कानुन नबनाई फोन कल, एसएमएस लगायत माध्यमको निगरानी (मनिटरिङ) र नियन्त्रण (कन्ट्रोल) गर्न नपाउने गरी सर्वोच्चले परमादेश जारी गरेको थियो । सर्वोच्चको उक्त परमादेश विपरीत बस्नेतले खरिद प्रक्रिया अघि बढाएका थिए ।