काठमाडौं, माघ १५
दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १२८ स्लाइसको सिटी स्क्यान मेसिन खरिद गर्दा ७ करोड रुपैयाँभन्दा बढी भ्रष्टाचार भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आयोगले प्रतिष्ठानकी तत्कालीन उपकुलपति प्राडा संगीता सिंह भण्डारी, कामु रजिष्ट्रार तथा डेपुटी फाइनान्स म्यानेजर कैलाशप्रसाद देव र निर्देशक डा. सागर पन्थीसहित पदाधिकारी, कर्मचारी र आपूर्तिकर्ता फर्म गरी १९ जनाविरुद्ध बिहीबार मुद्दा दायर गरेको हो ।
अख्तियारको अनुसन्धानले सिटी स्क्यान खरिद प्रक्रियामा बोलपत्रको सर्तविपरीत कमसल मेसिन खरिद गरी ७ करोड ३१ लाख ८२ हजार ९८५ रुपैयाँ बराबरको सरकारी रकम हिनामिना भएको तथ्य फेला पारेको आरोपपत्रमा छ ।
अख्तियारले प्राविधिक मापदण्डमा खेलाँची गरेर कमसल मेसिन ल्याएको पाइएको जनाएको छ । बोलपत्रमा मेसिनको क्षमता प्रति सेकेन्ड कम्तीमा ६० इमेज हुनुपर्ने स्पष्ट उल्लेख थियो । तर, खरिद गरिएको नियोसफ्ट कम्पनीको मेसिनको क्षमता मात्र ४० इमेज प्रति सेकेन्ड रहेको पाइएको छ । एनोडको हिट डिसिपेशन रेट १३०० केएचयू/मिनेट वा सोभन्दा बढी हुनुपर्ने सर्त रहेकोमा आपूर्ति गरिएको मेसिनको क्षमता मात्र ९३१ केएचयू/मिनेट रहेको अनुसन्धानबाट खुलेको आयोगले जनाएको छ । खरिद गरिएको मेसिनको यूएस–एफडीए स्वीकृति ‘रिकल’ भएको अवस्थामा समेत ‘कम्प्लाइ’ भनी झुट्टा विवरण पेस गरिएको पाइएको छ । खरिद प्रक्रिया र भुक्तानीमा पनि बदमासी पाइएको छ । राष्ट्रिय बोलपत्र प्रक्रियाबाट खरिद गर्ने भनिए पनि कानुनविपरीत विदेशी मुद्रा (यूएस डलर) मा प्रतितपत्र खोलेर भुक्तानी गरिएको छ । मेसिनले तोकिएको प्राविधिक सर्त पुरा नगरेको अवस्थामा पनि परामर्शदाता र प्राविधिक टोलीले ‘सर्त पुरा गरेको’ भनी गलत प्राविधिक प्रमाणीकरण प्रतिवेदन (टेक्निकल भेरिफिकेसन रिपोर्ट) तयार गरेको भेटिएको छ ।
मुद्दामा प्रतिष्ठानका रेडियोलोजी विभाग प्रमुख डा. बोम वीसी, बायोमेडिकल इन्जिनियरद्वय शरद भण्डारी, आशुतोष भण्डारी, त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका बायोमेडिकल इन्जिनियर अमितकुमार चौधरीलाई विपक्षी बनाइएको छ । यस्तै मुद्दामा प्रतिष्ठानका तत्कालीन शाखा अधिकृत झंकार लामिछाने, लीलाकुमारी देवकोटा, मेघबहादुर अधिकारी, लेक्चरर डा. श्रीसिया पोखरेल, आइटी अफिसर हीरालाल भण्डारी, लेखा अधिकृत राजीव बस्नेत, फिजियोथेरापिष्ट पूजा ठाकुर, फार्मेसी सुपरभाइजर कृष्णप्रसाद जोशी, स्टाफ नर्स विन्दु पौडेल पनि प्रतिवादी छन् । यस्तै आपूर्तिकर्ता हिमालयन मेडिटेक प्रालि र उक्त कम्पनीका मुख्य कर्मचारी भइ काम गरेका अमर श्रेष्ठ र सन्जु राजकर्णिकारलाई पनि विपक्षी बनाइएको छ ।