काठमाडौं । एउटा जलविद्युत् आयोजना निर्माणका क्रममा कति धेरै अरु आयोजना बन्नुपर्ला ? हाम्रो अनुमान हुनसक्छ– पाँच, सात, १० या १५ ? तर, यथार्थता हाम्रो अनुमानभन्दा निक्कै भिन्न हुन जान्छ । किनकि, एउटा जलविद्युत् आयोजना निर्माणका क्रममा हामीले अनुमान गरेभन्दा निक्कै धेरै योजना बनिरहेका हुन्छन् ।
यसकारण पनि मुलुकको आर्थिक विकास र निर्माण क्षेत्रका बासिन्दाका लागि पनि जलविद्युत् आयोजना अत्यन्तै महत्वपूर्ण हुन्छ । विद्युत् उत्पादनसँगै अल्पकालीन र दीर्घकालीन रोजगारीमात्र नभएर एउटा आयोजना बन्दा पुग्ने फाइदाको सूची निकै लामो हुन्छ ।
नदीको पानी प्रयोग गरेर स्वच्छ र नवीकरणीय ऊर्जा उत्पादन हुन्छ । देशमा बढ्दो बिजुलीको माग पूरा गर्न मद्दत पुग्छ । उद्योग, कलकारखाना र व्यवसाय सञ्चालन गर्न विद्युत् उपलब्ध हुन्छ । उद्योग, कलकारखाना सञ्चालन हुँदा देशको आर्थिक गतिविधि र उत्पादन क्षमता बढ्छ । आयोजना निर्माणको समयमा धेरै मानिसलाई रोजगारीको अवसर प्राप्त हुन्छ । सञ्चालनपछि पनि प्राविधिक र अन्य कर्मचारीले काम पाइरहेका हुन्छन् । उद्योग कलकारखाना सञ्चालन हुँदा थप ठुलो मात्रमा रोजगारी सिर्जना हुन्छ ।
सरकारलाई कर, रोयल्टी र शुल्कबाट आम्दानी प्राप्त हुन्छ । बिजुली निर्यात गर्न सके विदेशी मुद्रा पनि प्राप्त हुन्छ । जलविद्युत ऊर्जा उत्पादन गर्दा धुवाँ वा कार्बन उत्सर्जन कम हुन्छ । त्यसैले यसलाई वातावरणमैत्री ऊर्जा मानिन्छ । आयातित इन्धनमा निर्भरता घटाउन मद्दत पुग्छ । यसले व्यापार घाटा पनि कम हुन्छ भने आत्मनिर्भरता बढ्छ ।
यसबाहेक आयोजना भएको क्षेत्रमा सडक, पुल, विद्यालय, स्वास्थ्य चौकी जस्ता विकासका पूर्वाधार निर्माण हुन्छन् । यसले बजारसँग कृषकको पहुँच स्थापित गर्छ । ग्रामीण भेगसम्म बजारको पहुँच अभिवृद्धि हुन्छ । स्थानीय बजार र व्यापार पनि बढ्छ । स्थानीय उत्पादनले बजार पाउँछ ।
हो, तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजना निर्माणका क्रममा ९२ वटा योजना बनिसकेका छन् । आयोजनाको प्रभावित क्षेत्रमा सामुदायिक उत्तरदायित्वअन्तर्गत ९२ योजना सम्पन्न भएका हुन् । आठवटा योजना सञ्चालनमा आइसकेका छन् ।
आयोजना प्रमुख श्यामजी भण्डारीले आयोजनाको सामुदायिक विकास कार्यक्रमअन्तर्गत प्रभावित क्षेत्रहरूमा उपभोक्ता समितिमार्फत सामुदायिक विकास तथा जीविकोपार्जन पुनः स्थापन कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए । उपभोक्ता समितिमार्फत सञ्चालित योजना वातावरणीय तथा सामाजिक व्यवस्थापन सेवा प्रदायकबाट नियमित रूपमा अनुगमन गरिएको उनले बताए ।
भण्डारीका अनुसार ऋषिङ–७ स्थित माछदाङ टुनीबोट ट्रेल पुलसम्मको पहुँच सडक, म्याग्दे गाउँपालिका–३ स्थित किलचोक शाखा सडकको नाला निर्माण, भिमाद नगरपालिका–५ स्थित फेदीखोला मोटरेवल पुल निर्माण र ऋषिङ गाउँपालिका–७ स्थित डाँडीवन चुलेसी पहुँच मार्ग निर्माण भएको छ ।
त्यस्तै ऋषिङ गाउँपालिका र म्याग्दे गाउँपालिका जोड्ने सेती नदीमाथि चुलेसी, टुनीबोटे, ब्ल्याङ र टुटुवामा गरिने चारवटा झोलुंगे पुलका लागि लठ्ठा आपूर्ति तथा ढुवानी, वानटाङ खोलामा पक्की पुल निर्माण, व्यास नगरपालिका–५ पाटनमा पहुँच सडकसँग जोडिएको स्थानबाट गाउँतर्फ जाने सडक र ऋषिङ गाउँपालिका–१ स्थित खानेपानी मुहान तथा पाइप सुधार सहयोग कार्यक्रम सञ्चालनमा छन् ।
आयोजना निर्माणका लागि समुदायको महत्वपूर्ण भूमिका रहने भएकाले सामाजिक कामलाई प्राथमिकता दिइएको भण्डारीले बताए । ‘समुदायसँग सहकार्य गर्दै आयोजना सम्पन्न गराउनेतर्फ हामी लागिपरेका छौँ, विभिन्न सामाजिक काममा आयोजनाको तर्फबाट सहयोग रहँदै आएको छ,’ उनले भने ।
आयोजनाको चरण–१ अन्तर्गत बाँधसहित संरचना (हेडबक्र्स), चरण–२ अन्तर्गत मुख्य सुरुङ, विद्युत्गृह तथा सम्बन्धित उपकरणहरू र चरण–३ अन्तर्गत दमौली भरतपुर २२० केभी प्रसारण लाइनको काम भइरहेको आयोजना प्रमुख भण्डारीले जानकारी दिए ।
कम्पनीको पुँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कुल लागत (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसमेत) ५० करोड ५० लाख अमेरिकी डलरका लागि एडिबीले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले आठ करोड ५० लाख र नेपाल सरकारको समन्वयमा नेपाल विद्युत् प्राधिकरणले आठ करोड ६० लाख डलर व्यहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।