काठमाडौं । मध्यपूर्वमा बढ्दो इरान–अमेरिका–इजरायल युद्धले विश्व ऊर्जा बजारलाई फेरि अस्थिर बनाएको छ । यी देशबीच चर्किएको सैन्य द्वन्द्वका कारण अन्तर्राष्ट्रिय ऊर्जा आपूर्ति प्रणालीमा जोखिम बढेकाले विश्व बजारमा कच्चा तेलको मूल्य दैनिक उकालो लागिरहेको छ । मध्यपूर्व युद्धको सम्भावित प्रभावका कारण पेट्रोलियम ऊर्जा बजारमा व्यापक अनिश्चितता देखिएको छ ।
मध्यपूर्वको सैन्य द्वन्द्व लम्बिँदै जाँदा अन्तर्राष्ट्रिय ऊर्जा बजारमा अहिले कच्चा तेल (क्रुड आयल) को मूल्य प्रतिब्यारेल ८२ देखि ८४ अमेरिकी डलर पुगिसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । बिहीबारसम्मको तथ्यांकअनुसार अमेरिकी सूचकांक (डब्लूटीआई) ले कच्चा तेल (क्रुड आयल) प्रतिब्यारेल ७४ देखि ७६ अमेरिकी डलरमा कारोबार भएको छ ।
मध्यपूर्वको युद्ध सुरु हुनुअघिसम्म यो मूल्य ७० डलर हाराहारीमा थियो भने अहिले दैनिक कच्चा तेलको मूल्य बढिरहेको छ । दैनिक रूपमा कच्चा तेलको मूल्य बढिरहेकाले भविश्यमा यसलाई मूल्य अझै उकालो लाग्ने संकेतकोरूपमा लिइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
ऊर्जा बजार विश्लेषकहरूका अनुसार मध्यपूर्वमा युद्ध सुरु भएयता केही दिनभित्रै तेलको मूल्य १० देखि १५ प्रतिशतसम्म बढेको छ । यस्तो वृद्धि तत्कालको युद्धमात्र नभई भविष्यमा हुन सक्ने आपूर्ति शृंखलाको अवरोधको सम्भावित जोखिमका कारण भएको पनि मानिएको छ ।
विश्वका ऊर्जा कम्पनीहरू, तेल व्यापारीहरू तथा लगानीकर्ताहरूले आगामी दिनमा आपूर्ति अस्थिर हुन सक्ने अनुमान गर्दै कच्चा तेलको खरिद परिमाण बढाएका कारण पनि विश्व बजारमा बजारमा मूल्य उकालो लागेको विश्लेषकहरू बताउँछन् । साथै विश्व अर्थतन्त्रले पछिल्ला वर्षहरूमा कोभिड–१९ महामारी, आपूर्ति शृंखला संकट र भूराजनीतिक तनाव जस्ता चुनौतीहरूको सामना गरिरहेको अवस्थामा ऊर्जा बजारमा देखिएको नयाँ अस्थिरताले आर्थिक चिन्ता थप बढाएको पनि विश्लेषकहरू बताउँछन् ।
स्ट्रेट अफ हर्मुजःऊर्जा आपूर्तिको रणनीतिक मार्ग
मध्यपूर्वको वर्तमान संकटसँग जोडिएको सबैभन्दा संवेदनशील भौगोलिक क्षेत्र भनेको ‘स्ट्रेट अफ हर्मुज’ हो । खाडी क्षेत्र र विश्व ऊर्जा बजारलाई जोड्ने यो समुद्री मार्ग विश्वकै सबैभन्दा महत्वपूर्ण पेट्रोलियम ऊर्जा ढुवानी गर्ने मार्गका रूपमा परिचित छ । यो मार्ग भौगोलिक रूपमा इरान र ओमानको बीचमा अवस्थित छ । यो नै इरानको खाडीलाई अरब सागर तथा हिन्द महासागरसँग जोड्ने मुख्य समुद्री मार्ग हो । विश्व ऊर्जा व्यापारमा यसको रणनीतिक महत्व अत्यन्त ठूलो छ । विश्वको कुल समुद्री तेल ढुवानीको करिब २० प्रतिशत हिस्सा यही मार्ग हुँदै अन्तर्राष्ट्रिय बजारमा पुग्ने गरेको छ ।
खाडी क्षेत्रका प्रमुख तेल उत्पादक गर्ने साउदी अरब, संयुक्त अरब इमिरेट्स, कुबेत, इराक, कतार लगायत देशले पनि यही मार्गबाट ठूलो परिमाणमा कच्चा तेल र प्राकृतिक ग्यास निर्यात गरेर विश्व बजारलाई बिक्री गर्दै आएका छन् । अहिले युद्धको जोखिम बढेपछि यो समुद्री मार्गमा जहाज आवागमनको सुरक्षा चुनौती ठूलो विषय बनेको छ । अन्तर्राष्ट्रिय तेल ट्यांकर सञ्चालन गर्ने जहाज कम्पनीहरूले खाडी क्षेत्रमा सञ्चालन गर्दा थप सुरक्षा व्यवस्था अपनाउन थालेका छन् ।
केही कम्पनीहरूले जोखिमका कारण आफ्नो ढुवानी तालिका परिवर्तन गरेका छन् भने युद्ध जोखिमसँग सम्बन्धित बीमाको लागत पनि उल्लेखनीय रूपमा बढेको छ । यो ढुवानी मार्गमा गम्भीर सैन्य तनाव वा अवरोध सिर्जना भयो भने विश्व बजारमा दैनिक करोडौं ब्यारेल तेल आपूर्ति प्रभावित हुन सक्ने देखिएको छ । यस्तो अवस्था आएमा तेलको मूल्य अत्यधिक बढ्ने मात्र होइन, विश्व ऊर्जा बजारमा नै तेल अभावको गम्भीर संकट उत्पन्न हुने खतरा पनि बढ्ने ऊर्जा सुरक्षा विज्ञहरू बताउँछन् ।
एसियाली अर्थतन्त्रमा पर्ने सम्भावित असर
मध्यपूर्वको ऊर्जा आपूर्ति प्रणालीमा हुने सबै खाले अवरोधले सबैभन्दा सुरुमा एसियाली अर्थतन्त्रलाई नै प्रभावित गर्ने जोखिम छ । खाडी देशमा उत्पादन हुने कच्चा तेलमा एसियाली देशहरू नै पूर्णरूपमा बढी निर्भर हुने भएकाले पनि आपूर्ति शृंखला प्रभावित हुँदा यो महादेशका देशहरूको अर्थतन्त्र बढी प्रभावित हुने देखिएको हो । खाडी देशको तेल आपूर्ति शृंखला प्रभावित हुँदा एशियाका चीन भारत, जापान, दक्षिण कोरियालगायत देश बढी प्रभावित हुने देखिएका छन् ।
यी देशहरूले आफ्नो ऊर्जा आवश्यकताको ठूलो हिस्सा खाडी देशहरूबाट नै आयात गर्ने हुँदा तेल आपूर्ति अवरुद्ध हुँदा ऊर्जा लागत उल्लेखनीय रूपमा बढ्न सक्ने छ भने उपभोक्ताले पनि महंगो मूल्य तिर्नुपर्ने अवस्था आउने छ । साथै, तेलको मूल्य बढ्दा उद्योग, यातायात, विद्युत उत्पादन र निर्माण क्षेत्रका खर्चहरू पनि बढ्ने हुँदा यसले महंगी पनि बढाउने विश्लेषण भइरहेको छ ।
विशेषगरी, चीन र भारत विश्वका सबैभन्दा ठूलो ऊर्जा उपयोग गर्ने देशहरू हुन् । यी देशहरूमा तेलको मूल्य बढ्दा औद्योगिक उत्पादन लागत बढ्ने र त्यसको प्रभाव विश्व बजारमा वस्तु तथा सेवाको मूल्यमा पनि देखिन सक्ने सम्भावना बढेर गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले लेखेका छन् । साथै, एसियाली मुलुकहरूमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुँदा यातायात खर्च बढ्ने, विमान सेवा महँगो हुने र उपभोग्य वस्तुहरूको मूल्यमा समेत भारी वृद्धि हुने सम्भावना देखिएको छ ।
तेल मूल्य १०० डलर नाघ्न सक्ने संकेत
मध्यपूर्वमा देखिएको तनाव तत्काल शान्त हुने सम्भावना नदेखिएकाले विश्व बजारमा कच्चा तेलको मूल्य अझै बढ्ने सम्भावना पनि बढेर गएको छ । ऊर्जा बजार विश्लेषकहरूका अनुसार वर्तमान तनावको दिशा र अवधिअनुसार तेल मूल्य अझै बढ्ने सम्भावना देखिएको हो ।
युद्धको अवस्था, तेल आपूर्ति मार्गको सुरक्षा र अन्तर्राष्ट्रिय राजनीतिक परिस्थितिले कच्चा तेलको मूल्यको भविष्य निर्धारण गर्ने उनीहरू बताउँछन् । वर्तमान तनाव छिट्टै समाधान भयो भने तेलको मूल्य ७५ देखि ८५ डलर प्रतिब्यारेलको बीचमा स्थिर हुने सक्ने तर युद्ध केही महिना लम्बिएको अवस्थामा भने आपूर्ति अनिश्चितता बढ्ने भएकाले तेलको मूल्य ९० देखि १०० डलर प्रतिब्यारेलसम्म पुग्न सक्ने अनुमान गरिएको छ ।
सबैभन्दा जोखिमपूर्ण अवस्था हर्मुज जलडमरूमध्यमा अवरोध सिर्जना भएमा आउने देखिएको छ । यो मार्ग बन्द भई तेल निर्यातको आपूर्ति शृंखला पनि रोकिएको अवस्थामा विश्व बजारमा तेल आपूर्ति घट्नेछ । आपूर्ति घट्दा कच्चा तेलको मूल्य १२० डलरभन्दा माथि पुग्ने सम्भावना रहेको ऊर्जा विश्लेषकहरूले बताएका छन् । विगतमा पनि मध्यपूर्वमा भएको राजनीतिक तनावले विश्व बजारमा कच्चा तेल मूल्यमा ठूलो उतारचढाव ल्याएका उदाहरणहरू छन् ।
तेल मूल्यवृद्धि विश्व अर्थतन्त्रसँग प्रत्यक्ष रूपमा जोडिएको विषय हो । पेट्रोलियम ऊर्जाको मूल्य बढ्दा सबैभन्दा पहिले ढुवानी लागत बढ्छ । ढुवानी खर्च बढेपछि उद्योगको उत्पादन महँगो हुन्छ । सर्वसाधानको उपभोग्य वस्तुको मूल्यमा पनि वृद्धि हुन्छ । तेल महँगिँदा विमान सेवा, समुद्री ढुवानी, ट्रक यातायात तथा रेल सेवाजस्ता क्षेत्रहरूमा सञ्चालन लागत बढ्छ । यसले विश्व व्यापारको लागत पनि बढाउँछ ।
अहिले ऊर्जा बजारमा आएको अस्थिरताका कारण अन्तर्राष्ट्रिय लगानीकर्ताहरू पनि सतर्क बनेका छन् । केही लगानीकर्ताले ऊर्जा कम्पनीमा लगानी बढाएका छन् भने अन्यले जोखिमपूर्ण बजारबाट पैसा निकालेर अन्यत्र लगानी लगेका छन् । पेट्रोलियम ऊर्जाको मूल्य लामो समयसम्म बढिरहने अवस्था आएमा विश्वव्यापी मुद्रास्फीति बढ्ने, आर्थिक वृद्धिदर घट्ने र उपभोक्ताको क्रयशक्ति कमजोर हुने सम्भावना बढेर जाने विश्लेषकहरू बताउँछन् ।
नेपालमा सम्भावित प्रभाव
विश्व बजारमा कच्चा तेलको मूल्य बढ्दा यसको प्रत्यक्ष असर नेपालजस्तो आयातमा निर्भर देशमा पनि पर्ने देखिएको छ । नेपालले पेट्रोलियम पदार्थ पूर्ण रूपमा आयात गर्ने भएकाले अन्तर्राष्ट्रिय बजारको मूल्य परिवर्तनले घरेलु बजारमा पनि प्रभाव पर्ने गरेको हो ।
नेपाल आयल निगमले गत फागुन १६ गते नयाँ मूल्य गरेकाले अबको एक सातासम्म पेट्रोलियम पदार्थको खुद्रा मूल्यमा कुनै परिवर्तन नहुने भएपनि भारतीय आयल कर्पोरेसन –आईओसी) ले बढाएर पठाएको अवस्थामा नेपाल आयल निगमले पनि स्वचालित मूल्य प्रणालीअनुसार मूल्य बढाएर समायोजन गर्नुपर्ने अवस्था आउनेछ । निगमले भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थ आयात गर्ने गरेको छ ।
भारतले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यका आधारमा आफ्नो रिफाइनरी मूल्य निर्धारण गर्ने भएकाले त्यसको प्रभाव नेपालमा पनि पर्ने गर्छ । भारतीय आयल कर्पोरेसनले हरेक दुई सातामा पठाउने मूल्यसूचीका आधारमा निगमले पनि उपभोक्ताका लागि पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्ने गर्छ । मध्यपूर्वका देशमा युद्धको तनाव बढेकै दिनदेखि नेपालका पेट्रोल पम्पहरूमा पनि उपभोक्ताको भीड बढिरहेको छ ।
अहिले निर्वाचनका कारण खपत कम भए पनि सार्वजनिक बिदा सकिएपछि भीड अझै बढ्ने सम्भावना देखिन्छ । निगमले पेट्रोलियम आयात नियमित भइरहेकाले तनाव लिएर बढी पेट्रोल र डिजेल भण्डारण नगर्न भने पनि पेट्रोल पम्पहरूमा रातिसम्म पनि उपभोक्ताको भीड बढेको देखिन्थ्यो । नेपालमा पेट्रोलियम पदार्थको मूल्य बढ्दा यसको प्रभाव सबैभन्दा पहिले यातायात क्षेत्रमा देखिन्छ ।
ढुवानी लागत बढ्दा खाद्यान्न, कृषि उत्पादन, निर्माण सामग्री तथा औद्योगिक कच्चा पदार्थको मूल्यमा पनि असर पर्ने गरेको छ । विशेष गरी ग्रामीण क्षेत्रबाट सहरसम्म कृषि उत्पादन ढुवानी गर्दा पेट्रोलियम लागत ठूलो हिस्सा हुने भएकाले यसको मूल्य वृद्धि प्रत्यक्ष रूपमा बजार मूल्यमा देखिन्छ ।