काठमाडौं । फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनको प्रारम्भिक परिणामले नेपाली राजनीतिमा ठूलो संरचनात्मक परिवर्तनको संकेत दिएको छ । दशकौँदेखि सत्ता, शक्ति र राजनीतिक विमर्शको केन्द्रमा रहेका परम्परागत दलहरू यसपटक गम्भीर झट्कामा परेका छन् भने नयाँ राजनीतिक शक्तिका रूपमा उदाएको रास्वपाले अभूतपूर्व सफलता हासिल गरेको देखिन्छ । यो परिणाम कुनै दलको जित वा अर्को दलको हार मात्र होइन, यसले नेपाली मतदाताको मनोविज्ञान, राजनीतिक प्राथमिकता र नेतृत्वप्रतिको अपेक्षामा आएको गहिरो परिवर्तनलाई उजागर गरेको छ ।
यसपटकको निर्वाचनले स्पष्ट रूपमा देखाएको एउटा मुख्य कुरा भनेको मतदाताले ‘पुरानो राजनीतिक शैली’प्रति असन्तुष्टि व्यक्त गरेका छन् भन्ने हो । विगत तीन दशकदेखि कांग्रेस, एमाले, माओवादी केन्द्रजस्ता दलहरूले नेपाली राजनीतिमा वर्चस्व कायम राखे पनि सुशासन, आर्थिक सुधार, रोजगारी सिर्जना र संस्थागत सुधारजस्ता विषयमा अपेक्षित उपलब्धि दिन नसकेको आलोचना लामो समयदेखि उठ्दै आएको थियो । यही असन्तुष्टि अन्ततः मतपेटिकामा प्रकट भएको देखिन्छ ।
एमालेः नेतृत्व संकट र रणनीतिक असफलता
नेकपा एमाले लामो समयदेखि नेपालको सबैभन्दा संगठित र शक्तिशाली दलमध्ये एक मानिँदै आएको थियो । तर यसपटकको निर्वाचन परिणामले एमालेको संगठनात्मक बलभन्दा नेतृत्वप्रतिको असन्तुष्टि बढी निर्णायक बनेको देखाएको छ । अध्यक्ष केपी शर्मा ओली स्वयं ठूलो मतान्तरबाट पछाडि पर्नु एमालेका लागि प्रतीकात्मक मात्र नभई रणनीतिक रूपमा ठूलो धक्का हो । त्यसमाथि चुनावको अन्तिम दिनसम्म पनि उनको दम्भपूर्ण अभिव्यक्तिले उनका प्रशंसकलाई पनि निराश बनाएको थियो ।
ओलीको नेतृत्वमा एमालेले आक्रामक राजनीतिक शैली अपनाएको थियो । तर राजनीतिक ध्रुवीकरण, सत्ता समीकरणका विवादास्पद प्रयोग र सरकार सञ्चालनका क्रममा देखिएका विवादहरूले पार्टीको छविमा असर पु¥याएको विश्लेषण गरिन्छ । एमालेभित्र नेतृत्व पुस्तान्तरणको बहस लामो समयदेखि चलिरहेको भए पनि व्यवहारमा त्यस्तो परिवर्तन हुन सकेको छैन । यही कारणले युवा मतदाताको ठूलो हिस्सा नयाँ विकल्पतर्फ आकर्षित भएको देखिन्छ ।
यसपटकको परिणामले एमालेलाई दुईवटा गम्भीर प्रश्नतर्फ धकेलेको छ– पहिलो, नेतृत्व परिवर्तनको आवश्यकता; दोस्रो, विचार र कार्यशैलीको पुनर्संरचना ।
कांग्रेसः ऐतिहासिक पार्टीको पहिचान संकट
नेपाली कांग्रेस नेपालको सबैभन्दा पुरानो लोकतान्त्रिक दल हो । लोकतन्त्र स्थापनामा यसको ऐतिहासिक भूमिका निर्विवाद छ । तर पछिल्ला वर्षहरूमा कांग्रेसले आफ्नै राजनीतिक पहिचान स्पष्ट रूपमा प्रस्तुत गर्न नसकेको आलोचना बढ्दै गएको थियो ।
विशेष महाधिवेशनपछि नेतृत्व परिवर्तन भएर गगन थापा सभापति बने पनि पार्टीको समग्र छवि पुनर्निर्माण गर्न पर्याप्त देखिएन । गगनले २.० संस्करणको कांग्रेसका रूपमा सुधारवादी, लोकतान्त्रिक र उदारवादी शक्तिका रूपमा पुनस्र्थापित गर्ने प्रयास गरे पनि समयाभावका कारण मतदातामा त्यो सन्देश प्रभावकारी रूपमा पुग्न सकेन ।
अर्कोतर्फ, एमालेसँगको सत्ता सहकार्यका कारण कांग्रेसको वैचारिक स्पष्टता पनि कमजोर बनेको थियो । त्यसो त यस पटकको मतदाताको निर्णय धेरैअघि भइसकेको थियो, त्यो निर्णयलाई चिर्न र ‘सबै दल उस्तै हुन्’ भन्ने धारणा बदल्न कांग्रेसले कुनै प्रभावकारी निर्णय गर्न सकेन । यही वातावरणमा रास्वपाजस्तो नयाँ दलले ‘विकल्प’को राजनीति गर्न सफल भयो ।
यसपटकको चुनावी परिणाम कांग्रेसका लागि पराजय मात्र होइन, आफ्नो संगठन, नेतृत्व र नीति पुनरावलोकन गर्ने गम्भीर मोडमा उभिएको छ ।
मधेशवादी दलःकमजोर क्षेत्रीय राजनीति
जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी लगायत मधेश केन्द्रित दलहरू लामो समयदेखि मधेश क्षेत्रको राजनीतिक प्रतिनिधित्व गर्ने शक्तिका रूपमा देखिँदै आएका थिए । तर पछिल्ला वर्षहरूमा ती दलहरूको प्रभाव क्रमशः कमजोर हुँदै गएको देखिन्छ ।
यसका केही प्रमुख कारणहरूमा पहिलो, दलहरूको निरन्तर विभाजन र आन्तरिक संघर्ष । दोस्रो, राष्ट्रिय राजनीतिमा स्पष्ट भूमिका नदेखिनु । तेस्रो, मधेशका जनताले अपेक्षा गरेका विकास र पहिचानसम्बन्धी मुद्दामा ठोस उपलब्धि नदेखिनुजस्ता कारण देखिएको छ ।
यसपटकको चुनावले मधेश क्षेत्रमा पनि नयाँ राजनीतिक विकल्पप्रति आकर्षण बढेको संकेत दिएको छ । यदि मधेशवादी दलहरूले आफ्नो संगठन पुनर्गठन गर्न सकेनन् भने आगामी दिनमा उनीहरूको प्रभाव अझ कमजोर हुन सक्ने सम्भावना देखिन्छ ।
राजावादी शक्तिः सीमित प्रभाव
यस पटकको चुनावमा राजतन्त्र पुनस्र्थापनाको एजेन्डा बोकेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ठूलो मत बटुल्ने अपेक्षा गरिएको थियो । तर राष्ट्रिय स्तरमा त्यसले ठूलो राजनीतिक प्रभाव पार्न नसकेको देखियो ।
त्यसै पनि पहिले एमालेको छत्रछायामा चुनाव जितेका राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले यस पटक युवापुस्ताको चाहना नबुझेको देखियो । युवापुस्ताले राजाभन्दा पनि संघीय गणतन्त्रको संरचनाभित्रै सुधार खोजिरहेको प्रमाणित भएको छ ।
यसैले राजावादी राजनीति अहिले पनि प्रतीकात्मक विरोध वा असन्तुष्टिको आवाजका रूपमा त देखिन्छ, तर सत्ताको वैकल्पिक संरचनाका रूपमा अझै स्थापित हुन सकेको छैन ।
रास्वपाको उदयले एमाले, कांग्रेस, मधेशवादी दल र राजावादी शक्तिका लागि आत्मसमीक्षा गर्ने अवसर दिएको छ । यो आत्मसमीक्षाले पनि आउँदो स्थानीय र प्रदेशस्तरीय चुनावमा थप क्षति हुनबाट रोक्न ठूलो मन्थन आवश्यक देखिन्छ ।