लामो समय मुलुक सत्ता गठबन्धन, दलीय भागबण्डा, राजनीतिक लेनदेनबाट राजनीतिक अस्थिरता र सत्ता लेनदेनको शिकार बन्यो । दलीय भागबण्डा सिहदरबारदेखि गाउँतहको वडासम्म चल्यो । कर्मचारीतन्त्र व्यापक दलीयकरण र कमिसनतन्त्रको अखडा बन्यो । सत्ता भागबण्डाको असर माथिदेखि तलसम्म पुग्यो । न्यायालयदेखि विश्वविद्यालयसम्म मात्र होइन गाँउ तहका स्कूल, कलेजसम्म राजनीतिक भाण्बण्डा चल्यो । सामान्य गाउँको हेडमास्टर नियुक्ति दलहरूको प्रतिष्ठा र सेटिङमा प-यो । आफ्ना दल वा गुटका मान्छेलाई नियुक्ति दिने अनि त्यसमा पनि कमिसन र बिचौलियाको सीमा रहेन । कर्मचारीतन्त्र, पुलिस प्रशासन, शिक्षक, प्राध्यापक र निजामती कर्मचारी नेताको झोला बोकेर नियुक्ति खान दौडिने क्रम चल्यो । न्यायाधीश नियुक्तिदेखि प्रहरीका हाकिम, निजामती कर्मचारीको सरुवा र नियुक्तिमा ठूलो चलखेल चल्यो । केही असल र इमानदार सक्षम व्यक्ति र नेता दलका आँखामा परेनन् । उनीहरूले कुनै विद्रोह गरेनन् । गाउँका सिधासोझा जनताका छोराछोरी खाडी जान बाध्य थिए । सिधासोझा जनताको छोराछोरीले मुलुकभित्र आशा र विश्वास गुमाए । गरिब निमुखाका छोराछोरी खाडी मुलुक जान बाध्य भए । हरेक घरपरिवारबाट युवाहरू रोजगारीका लागि विदेशिन आज पनि बाध्य छन् । ठूलो संख्यामा आज हाम्रा नवजवान युवाहरू खाडी मुलुकमा पसिना बगाउन बाध्य छन् । निमुखा विपन्न परिवारका नवयुवाहरू खाडी र मलेसियामा रोजगारीका लागि जाने सस्कृति नै बन्यो ।
त्यसैगरी हुने खाने वर्ग, सम्पन्न परिवार, ठूला कर्मचारी र ठूला नेताका छोराछोरी युरोप, अमेरिका जाने क्रम बढ्यो । धनी र ठूला भनिएका छोराछोरीहरू अमेरिका, अष्ट्रेलिया, युरोपमा पढ्ने अनि कामधन्धा गर्ने क्रम चल्यो । ठूला व्यापारीका छोराछोरीहरू पनि अमेरिका, अष्ट्रेलिया र युरोपमा व्यापार गर्न थाले । ठूला कर्मचारी र ठूला नेताका छोराछोरीहरू नेपालबाट विदेशमा विभिन्न च्यानल प्रयोग गरेर पुँजी पलायन गर्न माहिर छन् । नेपालबाट रकम पनि बाहिरिएको छ र भष्टाचार गरेका वा सम्पत्तिको स्रोत नखुलेका रकम विदेशी बैंक र व्यवसायमा पुग्यो । विभिन्न अवैध बाटो हुदै नेपाली रकम बाहिरिने क्रम आज पनि जारी छ ।
तर विडम्बना देशभित्र रोजगारीको अवसर नपाएर खाडी मुलुकमा बाध्यतवश ठगिएर र विभिन्न समस्यामा परेका नेपाली युवाले पठाएको रकम (रेमिट्यान्स)बाट आज मुलुकको अर्थतन्त्र चलेको छ । राष्ट्र बैंक र योजना आयोग यही तथ्यांक पेश गर्दै; नेपालको अर्थतन्त्रमा विदेशमा काम गरेर भित्रिने रेमिट्यान्सको हिस्सा अर्थतन्त्रमा जीडीपीमा झण्डै ३० प्रतिशतको हाराहारीमा छ । गरिब जनताका छोराछोरीले खाडी र मलेसियामा दुःख गरेर कमाएको रेमिट्यान्सबाट सिहंदरबार चलाउनुपर्ने बाध्यता छ । कर राजस्व छली गर्ने र उद्योगधन्दा बेचेर कमिसन र सेटिङमा लगानी गर्न पल्केका नेपालका उद्यागी, व्यापारी पनि राजनीतिका मतियार नभएका होइनन् । कर्मचारीन्त्रमा सेटिङ र राजनीतिमा पहुँच भएका यिनै उद्यमी व्यापारीको लगानी पनि मुलुकले प्राप्त गर्न सकेन । केही सीमित उद्यमी लगानीको सुरक्षाका लागि राजनीति र प्रशासनका आडमा रहन थाले ।
यिनै विभिन्न अवस्था र बेथितिहरूबाट युवामा व्यापक निराशा र आक्रोश पोखियो । भष्टाचार र सम्पत्ति शुद्धीकरणको विषय नेपाली समाजमा पेचिलो मुद्दा बन्यो । सुशासन कमजार रह्यो । भष्टाचार संस्थागत बन्न थाल्यो । विदेश जाने युवाले देशको वेथिति, दलको भागबण्डा र भष्टाचारले जरा गाडेको देख्यो । नेपालबाट विदेशिने क्रमको लर्को चल्यो । युवा विद्याथीहरूले कक्षा ११ र १२ पूरा नपुग्दै विदेश जाने सपना देख्छन् । नवयुवाहरू देश छाडेर विदेशिने क्रम छ । यो आज हरेक नेपालीको घरको समस्या र नियति बनेको छ ।

ग्रामीण कृषकले खेती गर्ने समयमा रासायनिक मल पाउँदैनन् । साना किसान विभिन्न तरिकाबाट ठगिएका छन् । उनीहरूले आफ्नो उत्पादनको मूल्य पाउन सक्दैनन् । किसानको खेतबारीमा बिचौलिया सक्रिय छन् । साना किसानले बैंक तथा वित्तीय संस्थाहरूबाट सहुलियत कृषि कर्जा प्राप्त गर्न सकेनन् । ठूला व्यापारीहरूले किसानको सहुलियत कर्जामा कब्जा जमाएका छन् । जनताका लागि शिक्षा, स्वास्थ्य महँगो बन्यो । सामान्य जनता उपचार गर्न नसकेर मृत्युवरण गर्न बाध्य छन् । सरकारी अस्पताल र सरकारी स्वास्थ्य सेवाहरूबाट जनताले सहजरूपमा सेवा पाउन सकेनन् । डाक्टरहरू दुर्गम गाउँ गएनन् । गाउँमा स्वास्थ्य सेवा पुग्न सकेन । ठूला नेता र कार्यकर्ताहरू ठेक्कापट्टामा सक्रिय छन् । राजदूत नियुक्तिदेखि कर्मचारीको सरुवा बढुवामा व्यापक भ्रष्टाचार र लेनदेनको क्रम चल्यो । सरकारी सेवाहरू जनताका लागि सहज भएनन् । सरकारी अड्डाहरू कमाउने अखडा बने ।
गाउँपालिका, नगरपालिकादेखि सिंहदबारसम्म जनताको काम सहज हुन सकेन । मालपोत, भूमिसुधार, श्रम कार्यलय, सवारी लाइसेन्स, पार्सपोट अफिस, भन्सार, नापी जहाँत्यहीँ जनताले सहजरूपमा सेवा पाउन सकेनन् जसबाट उनीहरूमा निराशा र विद्रोह जन्मियो । सरकारी कार्यालयले जनतालाई डेलिभरी दिन सकेनन् । जनताको सामान्य काम पनि हुन सकेन । सामान्य कामका लागि पनि भनसुन र पैसा खुवाउनुपर्ने अवस्था बन्यो । नेपाली युवा विदेश जाँदा म्यानपावर कम्पनी, बिचौलिया र वैदेशिक रोजगार कार्यालयबाट पनि ठगिए । उनीहरूमा देशभित्रै पनि विद्रोह र निराशा जन्मियो । देशभित्रका यी सबै अवस्थाबाट नेपाली जनतामा निराशा र विद्रोह जन्मियो । युवामा झन् बढी निराशा र आक्रोश बढ्यो ।
भदौ २३ र २४ गते युवापुस्ताको विद्रोहबाट मुलुकको समग्र अवस्था राज्यको नियन्त्रणभन्दा बाहिर पुग्यो । जेनजी आन्दोलनबाट युवापुस्ताको चर्को विद्रोह तत्कालीन सरकारविरुद्ध पोखियो । जसबाट मुलुकका सरकारी तथा निजी सम्पत्तिको ठूलो नोक्सानी मुलुकले बेहोर्नुप¥यो । कलिला उमेरका नवयुवाहरूमाथि राज्यले निर्मम दमन ग¥यो । जसबाट भदौ २४ गते सडकमा उर्लिएको आक्रोश र जनताको विरोधलाई राज्यले थेग्न सकेन । त्यसबाट मुलुकको तत्कालीन केपी ओली नेतृत्वको सरकार र पटक–पटक सत्तामा रहेका पुराना दलहरू जन–आक्रोशको निसानामा परे । फलस्वरूप राष्ट्रपति रामचन्द्र पौडेलको सुझबुझपूर्ण पहलमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा नागरिक सरकार गठन भयो । कार्की सरकारको नेतृत्वमा भएको चुनावी सरकारले निर्वाचन सम्पन्न गर्न विभिन्न पक्षसँग सहकार्य गरी मुलुकभर निर्वाचन गर्न सफल भएको छ । फागुन २१ गतेको निर्वाचनमा देशभरका मतदाताहरूले परिवर्तनको पक्षमा मतदान गरेर मतदानका माध्यमबाट मौन विद्रोह गरेको मान्न सकिन्छ । पुराना दलहरूलाई यसपटकको निर्वाचनमा मतदाहरूले ठूलो झट्का दिए । नेपाली मतदाताहरूले मुलुकभित्र राजनीतिक अस्थिरता, भष्टाचारको विरुद्धमा थिए । अहिले रवि र बालेनसँग जनताको क्रेज ब्यापकरूपमा बढ्यो । पुराना दलदहरूका स्थायी मतदाताहरूले पनि नयाँ दल रास्वपामा मतदान गरे । मतदाताहरू पुरानाको व्यवहारबाट वाक्क भएका पनि हुन सक्छन् । घण्टीमा देशव्यापीरूपमा आफनो मत जाहेर गरेको देखियो । पुराना राजनीतिक दलका अनुभवी नेताहरू भारी मतान्तरबाट पराजित भए । पुराना दलका ठूला नेता र युवा नेताहरूले जनताको भावना बुझ्न सकेनन् । जनताका रहेको आक्रोशलाईसमेत उनीहरूले अनुमान लगाउन सकेनन् । काठमाडौंका मेयर बनेका बालेन्द्र साह झापा पुगेर नेकपा एमालेका अध्यक्ष र पटक–पटक प्रधानमन्त्री बनेका केपी शर्मा ओलीलाई ठूलो मतान्तरले हराउन सफल भए । बालेनका कारण यसपटक मधेशका जनताको मत घण्टीमा आकर्षित भयो । घण्टीको अभूतपूर्व मतका कारण यसपटक मधेशवादी दलका नेताहरू पनि निराश भए । सधैं सत्ताको भागबण्डा र मन्त्रीमण्डल बार्गेनिङ गर्न पल्केका मधेशवादी दलका नेताहरूलाई यसपटक घण्टीले दनक दिएको छ । मधेशवाट केही सिट जितेर सत्ता बार्गेनिङ गर्ने उपेन्द्र यादव, हृदयेश त्रिपाठी, महेन्द्र यादव, राजेन्द्र महतो, महन्त ठाकुर र सीकेहरू पनि यसपटक थला परे । कांग्रेस र एमालेले मधेशको भावना पक्कै पनि बुभ्mन नसकेको प्रष्ट हुन्छ । मधेशका जनताका मुद्दा र समस्या बुभ्mन काठमाडौंबाट तराई झरेका कांग्रेस सभापति गगन थापालाई मधेशको राजनीतिमा ब्रेक लागेको छ । त्यसैगरी यसपटक सत्तामा पटक–पटक रहेका कांग्रेसका केही पुराना नेताहरूले मतदाताहरूलाई अनुहारसमेत देखाएनन् । पुराना र सत्तामा लामो समय रहेका कांग्रेसजन मतदातासम्म पनि पुगेनन् ।
फागुन २१ गतेको निर्वाचनको परिणममा पुरानाप्रति जनताको व्यापक असन्तुष्टि पुराना दलहरूको लामो समयदेखि जनतामा रहेको निराशा र आक्रोश मान्न सकिन्छ । यसपटक घण्टीमा व्यक्त अभिमत जनताको चरम आक्रोश हो । पटक–पटक सत्ता बदल्ने अनि प्रधानमन्त्री आलोपालोमा चलाउने र सत्ताको भागबण्डा र सेटिङमा माहिर पुराना दल कांग्रेस, एमाले, माओवादी र मधेशवादी दलहरू मतदाताको निशाना बने ।
कांग्रेस, एमाले, माओवादी र मधेशका पुराना दलका नेताप्रति पनि मतदाताको आक्रोश देखियो । जेनजी आन्दोलनपछि नेपाली कांग्रेसभित्र युवा विद्रोह नै भयो । गगन, विश्वप्रकाशहरू खुलेर पुराना नेताहरूविरुद्ध विद्रोहमा निस्के । तर, उनीहरूको विद्रोहप्रति सत्ताको वरपरमा रहेका कांग्रेसका केही पुराना नेताहरू निकै असन्तुष्ट रहे । उनीहरू बदलिन सकेनन् । जनताको आक्रोशमा कांग्रेस, एमाले, माओवादीका ठूला नेताहरू परे । वैकल्पिक शक्तिका रूपमा उदाएको नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीले जनताको अपार विश्वास र भरोसा पाएको छ । जनताबाट पाएको अभूतपूर्व मत र विश्वासलाई रवि र बालेनहरू बढी भन्दा बढी सदुपयोग गरी जनप्रिय कामहरू गरेर नेपालको मुहार फेर्नुपर्ने छ । गाउँतहदेखि सिहदरबार सम्मका वेथिति र विद्यालयदेखि विश्वविद्यालयसम्मका अवस्था र कर्मचारीतन्त्रमा रहेको दलीयकरणलाई हटाएर जनताको विकास र समृद्धिका लागि काम गर्न सके भने नेपाली जनताको मतको सम्मान हुन्छ । यसपटकको निर्वाचनमा पाएको मतदाताको भरोसालाई कायम राख्न सके भने रवि र बालेनप्रति मतदाताको साथ र सहयोग झन् बढ्न सक्छ । नेपालको राजनीतिमा सुरु भएको यो नयाँ अध्ययाले मुलुकको मुहार फेर्ने आशा र विश्वास गर्न सकिन्छ । पक्कै पनि आजको भूराजनीतिक र मुलुकको कठिन अवस्थालाई बुझेर अबको सरकार निकै सोचविचार गरेर अघि बढ्ने विश्वास आम नेपाली जनताले गरेका छन् । जनताबाट अपार विश्वास र भरोसा पाएको रास्वपाको सरकाले मतदाताको विश्वास र आस्थालाई पक्कै पनि कायम राख्न सकोस् । जनताबाट अपार जनमत पाएका जनप्रतिनिधिहरूलाई जनमतलाई सम्मान गर्ने धैर्य राखेर काम गर्न सके भने पक्कै पनि मुलुकको आर्थिक विकासले नयाँ फड्को मार्ने आशा र विश्वास गर्न सकिन्छ । मुलुकको आर्थिक विकासको मुहार पक्कै पनि फेरिनेछ । जनमतलाई कायम राख्ने धैर्य र आत्मविश्वास मिलोस् ।