स्वास्थ्य सेवा मानव जीवनसँग प्रत्यक्ष जोडिएको अत्यन्त संवेदनशील क्षेत्र हो । यहाँ गरिने सानो लापरबाहीले पनि जीवन र मृत्युबीचको दूरी मेटाइदिन सक्छ । तर पछिल्ला घटनाक्रमहरूले देखाइरहेको यथार्थ भने यसको ठीक उल्टो छ— जहाँ सेवा र मानवीय संवेदनशीलताको सट्टा व्यापार, लापरबाही र गैरजिम्मेवारीपन हावी हुँदै गएको छ । पाल्पाकी २९ वर्षीया गीता पाण्डेको असामयिक मृत्युले यही डरलाग्दो प्रवृत्तिलाई उजागर गरेको छ ।
गीता पाण्डे एक सामान्य गर्भवती महिला थिइन्, जसले आफ्नो परिवारमा नयाँ जीवनको स्वागत गर्ने तयारी गरिरहेकी थिइन् । तर चिकित्सकीय सल्लाह, क्लिनिकहरूको अव्यवस्थित व्यवहार र जिम्मेवारीबाट पन्छिने प्रवृत्तिले उनको जीवन नै समाप्त गरिदियो । एउटा स्वास्थ्य संस्था अर्कोमा रिफर गर्ने तर त्यसपछि बिरामीको अवस्थाबारे जिम्मेवारी नलिने प्रवृत्ति यो घटनामा स्पष्ट देखिएको छ । बिरामीलाई ‘सेवा लिन आएको व्यक्ति’ होइन, ‘आम्दानीको स्रोत’का रूपमा हेर्ने मानसिकता नै यस्तो दुःखद परिणामको मुख्य कारण हो ।
सबैभन्दा चिन्ताजनक पक्ष के हो भने गर्भपतनजस्तो संवेदनशील र जोखिमयुक्त प्रक्रिया अनुमति नपाएका फार्मेसी र क्लिनिकहरूबाट औषधिको भरमा गराउने प्रयास गरिएको देखिन्छ । नेपालमा कानूनी रूपमा स्वीकृत स्वास्थ्य संस्थामा दक्ष चिकित्सकको निगरानीमा मात्र यस्तो प्रक्रिया गर्न पाइने व्यवस्था छ । तर व्यवहारमा भने यो नियम कागजमै सीमित देखिएको छ । पैसा कमाउने लोभमा कतिपय संस्थाहरूले कानूनको धज्जी उडाउँदै बिरामीको ज्यानसँग खेलिरहेका छन् ।
यो घटना कुनै एक व्यक्तिको मात्र दुर्भाग्य होइन, यो समग्र स्वास्थ्य प्रणालीको कमजोरीको प्रतिविम्ब हो । जब नियामक निकायहरू प्रभावकारीरूपमा अनुगमन गर्न असफल हुन्छन्, तब यस्ता अवैध अभ्यासहरू मौलाउने गर्छन् । स्वास्थ्य संस्थाहरू दर्ता भए पनि तिनीहरूको नियमित निरीक्षण, सेवा गुणस्तरको मूल्यांकन र कानूनी मापदण्डको पालना भइरहेको छ कि छैन भन्ने विषयमा राज्यको उपस्थिति कमजोर देखिन्छ । यही कमजोरीको फाइदा उठाउँदै केही संस्थाहरूले जोखिमपूर्ण र गैरकानूनी सेवा सञ्चालन गरिरहेका छन् ।
अर्कातर्फ, चिकित्सक र स्वास्थ्यकर्मीहरूको व्यावसायिक नैतिकता पनि प्रश्नको घेरामा परेको छ । बिरामीको जीवन र सुरक्षालाई पहिलो प्राथमिकता दिनुपर्ने ठाउँमा कतिपयले आर्थिक लाभलाई प्राथमिकता दिने प्रवृत्ति देखाएका छन् । गीता पाण्डेको केसमा एक क्लिनिकबाट अर्कोमा पठाउने, औषधिको प्रयोग गर्दै समय खेर फाल्ने र अवस्था गम्भीर भइसकेपछि मात्र अस्पताल पु¥याउने कार्यले स्पष्टरूपमा चरम लापरबाही देखाउँछ । यस्तो व्यवहार केवल त्रुटि होइन, यो आपराधिक लापरबाही हो ।
यस्ता घटनाहरूले आम नागरिकको स्वास्थ्य प्रणालीप्रतिको विश्वास नै डगमगाउने खतरा बढाएको छ । जब मानिसहरू उपचारका लागि गएका ठाउँबाट सुरक्षित फर्किन सक्दैनन् तब समाजमा असुरक्षाको भावना फैलिन्छ । अझ दुःखद कुरा, गीता पाण्डे स्वयं स्वास्थ्य सेवासँग सम्बन्धित क्षेत्रमा कार्यरत व्यक्ति थिइन् तर पनि यस्तो जालोबाट बच्न सकिनन् । यसले देखाउँछ कि समस्या कति गहिरो र व्यापक छ ।
अब प्रश्न उठ्छ, यसको समाधान के हो ? पहिलो र प्रमुख जिम्मेवारी सरकारको हो । विद्यमान कानूनहरू कडाइका साथ कार्यान्वयन गर्नुपर्छ । अवैधरूपमा सञ्चालन भइरहेका क्लिनिक र फार्मेसीहरूलाई तत्काल बन्द गरिनुपर्छ र दोषीहरूलाई कानूनी कठघरामा उभ्याउनुपर्छ । केवल पक्राउ गरेर वा सामान्य कारबाही गरेर मात्र पुग्दैन, उदाहरणीय सजाय आवश्यक छ, जसले भविष्यमा यस्ता गतिविधि गर्नेलाई निरुत्साहित गरोस् ।
साथै, स्वास्थ्य संस्थाहरूको नियमित अनुगमन, लाइसेन्स नवीकरण प्रक्रिया कडाइका साथ लागू गर्ने र जनतामा सुरक्षित स्वास्थ्य सेवाबारे सचेतना बढाउने कार्य पनि उत्तिकै आवश्यक छ । स्थानीय सरकार र स्वास्थ्य नियामक निकायहरूबीच समन्वय गरेर प्रभावकारी निरीक्षण संयन्त्र निर्माण गर्नुपर्छ । नागरिक समाज, सञ्चारमाध्यम र सचेत समूहहरूको भूमिका पनि यसमा महŒवपूर्ण हुन्छ । यस्ता घटनाहरूलाई दबाउन होइन, उजागर गर्नुपर्छ । पीडितको आवाजलाई सशक्तरूपमा उठाउँदै न्यायका लागि दबाब सिर्जना गर्नुपर्छ । जबसम्म समाजले सामूहिकरूपमा यस्ता अपराधविरुद्ध आवाज उठाउँदैन, तबसम्म सुधारको प्रक्रिया अधुरो रहन्छ ।
यसर्थ, गीता पाण्डेको मृत्यु केवल एउटा परिवारको पीडा मात्र होइन, यो सम्पूर्ण समाजका लागि चेतावनी हो । यदि अहिले पनि हामी सचेत भएनौं भने, यस्ता घटनाहरू दोहोरिन सक्छन् । त्यसैले स्वास्थ्य क्षेत्रमा मौलाउँदै गएको अपराधीकरणलाई रोक्न सरकार, समाज र सम्बन्धित सबै पक्षले जिम्मेवारीपूर्वक कदम चाल्नैपर्छ । मानव जीवनभन्दा ठूलो कुनै पनि व्यापार हुन सक्दैन भन्ने सत्यलाई व्यवहारमा लागू गर्ने समय अब आएको छ ।