नेभिगेशन
विश्व

इरानी ड्रोनमाथिको किताब चर्चामा

इरान र अमेरिका–इजरायल गठबन्धनबीच जारी तनावका बीच सैन्य विज्ञ अकरम खलिफको पुस्तक ’अण्डर द स्याडो अफ अ विटनेस’ सार्वजनिक भएको छ । यस पुस्तकमा उनले इरानमा ड्रोन उद्योगको सुरुवात र विकासको सूक्ष्म अनुसन्धान गरेका छन् । उनले इरानको त्यो रणनीतिको चर्चा गरेका छन्, जसका कारण इरानले अमेरिकी प्रतिबन्धहरूको सामना मात्र गरेन, बरु विश्व सैन्य उद्योगमा एक प्रमुख खेलाडीका रूपमा समेत आफूलाई स्थापित ग¥यो ।
इरानी ड्रोनको पहिलो चर्चा इजरायल सीमामा हिजबुल्लाहको गतिविधिबारे सैन्य रिपोर्टहरूमा देखिएको थियो । पछि यमनमा हुथी विद्रोहीहरूले प्रयोग गरेका ड्रोनका भग्नावशेष परीक्षण गर्दा तिनको सम्बन्ध इरानी उत्पादनसँग जोडियो । तर सन् २०२२ सेप्टेम्बरमा विश्व त्यतिबेला अचम्ममा प¥यो, जब इरानले रुसी सेनालाई ड्रोन प्रविधि उपलब्ध गराइरहेको खबर बाहिरियो । त्यसलगत्तै युक्रेनको राजधानी किभको आकाशमा उडिरहेका ’जेरानियम–२’ (साहिद–१३६) ड्रोनका तस्बिरहरू सार्वजनिक भए । ४० वर्षदेखि प्रतिबन्ध खेपिरहेको एउटा देशले अन्तर्राष्ट्रिय युद्धका नियमहरू कसरी बदल्न सक्यो भन्ने प्रश्न अहिले सर्वत्र छ ।
प्रतिबन्धभित्रको अवसर र इतिहास
सन् १९७९ पछि लागेका प्रतिबन्धहरूले इरानी नेताहरूलाई उपलब्ध विकल्प र अप्ठ्याराबाट उम्किने बाटो खोज्न बाध्य बनायो । प्रतिबन्धका कारण उनीहरूले विदेशमा आपूर्ति सञ्जाल बनाएर आवश्यक सामग्री जुटाउने प्रयास गरे । कहिलेकाहीँ नागरिक प्रविधिको सहारा लिए भने कहिले सीमित स्रोतसाधनका बाबजुद धैर्यताका साथ नयाँ रणनीतिहरू कार्यान्वयन गरे । 
सन् १९७९ जनवरीमा शाह मोहम्मद रजा पहलभीले देश छोड्दा इरानसँग क्षेत्रकै सबैभन्दा बलियो सेना थियो । त्यतिबेला इरानी सेनासँग एफ–१४ टमक्याट र एफ–४ फ्यान्टम जस्ता अत्याधुनिक लडाकु विमान थिए र सैन्य क्षमताका आधारमा इरान विश्वकै पाँचौं स्थानमा थियो । इरानी वायुसेना जर्मनी, चीन र इजरायलभन्दा पनि उन्नत मानिन्थ्यो । तर यी विमानहरूको मर्मत र सञ्चालन इरानमा रहेका अमेरिकी प्राविधिक र इन्जिनियरहरूमा निर्भर थियो । शाहको सत्ता ढलेपछि अमेरिकी प्राविधिकहरू फर्किए र अमेरिकी कम्पनीहरूले सम्बन्ध तोडे । जसका कारण अर्बौं डलरमा किनिएका विमानहरू काम नलाग्ने अवस्थामा पुगे ।
इराक–इरान युद्ध र नयाँ प्रविधिको जन्म
सेप्टेम्बर १९८० मा इराकले इरानमाथि आक्रमण गरेपछि आठ वर्ष लामो भीषण युद्ध सुरु भयो । युद्धको सुरुवाती चरणमा इराकले हवाई क्षेत्रमा वर्चस्व जमायो । इराकले सोभियत संघबाट टोही विमान र भूउपग्रहका तस्बिरहरू प्राप्त गरी इरानी सेनाको गतिविधिमाथि निगरानी राखिरहेको थियो । अर्कातर्फ इरानसँग न त ती अत्याधुनिक विमान चलाउने जनशक्ति थियो, न त नयाँ प्रविधि किन्ने उपाय नै । 
यही अस्तित्वको लडाइँका बीच इरानले अर्काको भर पर्नुको सट्टा आफ्नै प्रविधि आविष्कार गर्ने निर्णय ग¥यो । विचार सामान्य थियो– यदि दुस्मनको सीमामा टोही विमान उडाउन सकिँदैन भने टाढैबाट नियन्त्रण गर्न सकिने सस्तो र राडारले ठम्याउन नसक्ने उपकरण पठाउने । यो अवधारणा इस्फाहान विश्वविद्यालयका विद्यार्थी र इन्जिनियरहरूबाट आएको हो । उनीहरूले साधारण वर्कसपमा ‘कन्स्ट्रक्सन जिहाद’ र ‘युनिभर्सिटी जिहाद’ जस्ता नाराका साथ काम सुरु गरे । 
खेलौनाजस्ता विमानको कमाल
ड्रोन निर्माणको सुरुवाती चरणमा तीन युवाको भूमिका महŒवपूर्ण थियो– नागरिक पाइलट फरसिद, भौतिकशास्त्रका विद्यार्थी सइद र सुनचाँदीका कालीगढ मसुद जाहेदी । उनीहरूले बनाएको पहिलो प्रोटोटाइप देख्दा सैन्य अधिकारीहरूले समेत मज्जाक उडाएका थिए । त्यो प्लास्टिकका टुक्राहरूबाट बनेको एउटा खेलौना जस्तो देखिन्थ्यो, जसको इन्धन ट्यांक अस्पतालमा प्रयोग हुने ‘आईभी ब्याग’ थियो । 
तर सन् १९८३ मा यो ‘खेलौना विमान’ इराकी फौजको इलाकामा ४० किलोमिटर भित्रसम्म पुगेर सैन्य अखडाका स्पष्ट तस्बिरहरू लिएर फर्किएपछि सबै छक्क परे । यसपछि इरानमा औपचारिक रूपमा ड्रोन विकास कार्यक्रम सुरु भयो । आवश्यक पार्टपुर्जाहरू जुटाउन इरानले दुबईमा कम्पनीहरूको नेटवर्क बनायो र सिङ्गापुरका बीचौलियाहरूमार्फत विभिन्न देशबाट लुकिछिपी सामानहरू आयात ग¥यो । युक्रेनमा खसालिएका साहिद–१३६ ड्रोनमा अमेरिकी चिप्स भेटिनुको कारण पनि यही सञ्जाल हो ।
रणनीतिक परिवर्तनः संख्या र लागतको लडाइँ
इरानले सन् १९८८ बाटै हतियारयुक्त ड्रोनको प्रयोग सुरु गरिसकेको थियो । आज अमेरिका, टर्की र इजरायल यस क्षेत्रमा प्रख्यात भए पनि इरान पनि सुरुवाती खेलाडीमध्ये एक हो । इरानी विज्ञहरूले इजरायली ड्रोनहरूको विकासलाई नजिकबाट नियाले र त्यस्तै उपकरणहरू तयार पारे । 
इरानले युद्धको एउटा नयाँ समीकरण तयार ग¥यो । यदि प्रविधिमा विरोधीसँग मुकाबला गर्न सकिँदैन भने संख्या र लागतमा उनीहरूलाई थकाउने । एउटा इरानी ड्रोन करिब २० हजार डलरमा तयार हुन्छ । यसले २० लाख डलर पर्ने क्रुज मिसाइलसँग प्रतिस्पर्धा गर्न त सक्दैन, तर यदि १०० वटा ड्रोन एकैसाथ पठाइयो भने दुस्मनले ती रोक्नका लागि अर्बौं डलरका मिसाइलहरू खर्च गर्नुपर्ने हुन्छ । 
ड्रोनको मुख्य उद्देश्य शक्तिशाली हमला गर्नु मात्र होइन, बरु दुस्मनको रक्षा प्रणालीलाई थकाउनु र उसको बजेटमा दबाब सिर्जना गर्नु हो । २० लाख डलरका ड्रोन नष्ट गर्न रक्षा गर्ने देशले २० करोड डलरसम्म खर्च गर्नुपर्ने स्थिति आउँछ । सन् २०१९ मा साउदी अरामको तेल प्रशोधन केन्द्रमा भएको हमलाले यो रणनीतिको प्रभावकारिता प्रमाणित गरिदियो । अर्बौं डलरको नोक्सानी पु¥याउने त्यो हमलामा प्रयोग भएका ड्रोनहरूको लागत निकै कम थियो । यही लागत र संख्याको भिन्नताले नै आधुनिक ड्रोन युद्धको जित र हार तय गरिरहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्