नेभिगेशन
दृष्टिकोण

युवाले खोज्नुपर्ने सम्भावनाहरू

नेपालको प्रायः सबै चिया पसलदेखि विश्वविद्यालयका खुल्ला चौरहरूसम्म एकै साझा आवाज सुनिन्छ त्यो हो ‘यो देशमा केही हुन्न’ । यही एक वाक्यले आजका हजारौं युवाहरूको सपनामाथि ताला लगाइरहेको छ । हरेक दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान गेटमा देखिने आँसु र उत्साहको सम्मिश्रणले एक तीतो यथार्थ बोल्छः हामीले सम्भावनालाई भूगोलमा होइन, केवल पासपोर्टको रङमा खोज्न थाल्यौं । जुन मुलुकमा बढी समस्या र चुनौतीहरू हुन्छन् प्रायः त्यो मुलुकमा सम्भावना र अवसरहरू त्यत्तिकै मात्रमा पनि हुन्छ । 
तर हाम्रो हेर्न तरिका बदल्न आवश्यक छ । विशेष गरी नेपाली युवाहरूले आफ्नो क्षमता देखाएर गर्न सकिने उद्यमशीलता भनेको कृषि, पर्यटन र सूचनाप्रविधिमा धेरै छन् । यस क्षेत्रमा प्रायः ठूलो लगानीको आवश्यक पर्दैन यसमा त मात्र आवश्यक छ नयाँ सोच र फरकपनको । विशेषगरी एआईका क्षेत्रमा नेपाली युवाहरूले धेरै काम गर्न सक्छन् र जुन कामलाई आफ्नो दिगो उद्यमका रूपमा पनि विकास गर्न सक्छन् । 
पछिल्लो तथ्यांक हेर्दा मात्रै पनि चित्र स्पष्ट हुन्छ । आर्थिक वर्ष २०७९÷८० र २०८०÷८१ तिर मात्रै हेर्ने हो भने, हरेक वर्ष ६–७ लाखभन्दा बढी नेपाली श्रम स्वीकृति लिएर विदेश गइरहेका छन् । नेपाल राष्ट्र बैंकको रिपोर्ट अनुसार, रेमिट्यान्सले देशको कुल गार्हस्थ्य उत्पादनको करिब २२–२५% हिस्सा ओगटिरहेको छ । यसले के देखाउँछ भने— हाम्रो अर्थतन्त्र युवाको विदेश यात्रामा टिकेको छ । के साच्चै नेपाल सम्भावनाहीन भएको हो ? वा हामीले सम्भावनालाई हेर्ने चस्मा मात्र बदल्न आवश्यक हो ?
परम्परागत सोच र आधुनिक प्रविधिको खाडल
हाम्रो समाजमा अझै पनि सफलताको मानक सरकारी जागिर वा विदेशको पीआर मात्र बनेको छ । तर, २१औं शताब्दीको विश्व डिजिटल क्रान्तिमा होमिएको बेला पनि युवाहरूले नदेखेको ठूलो आयाम भनेको डिजिटल इकोनोमी हो । यो तपाईं हाम्रो अगाडि ठूलो सम्भावनाको मानक बनी अगाडि हामीलाई नै जिस्क्याइरहेको छ । 
आज काठमाडौं वा विकट गाउँको एउटा कुनामा बसेर विश्वका ठूला कम्पनीका लागि काम गर्न सकिने प्रविधिको विकास भइसकेको छ । सफ्टवेयर विकास, एआई प्रशिक्षण र डिजिटल मार्केटिंग मात्र होइन, सामाजिक सञ्जाललाई उत्पादनसँग जोड्न सके नेपालको मौलिक सामग्री विश्व बजारमा बिक्न सक्छ । हामीले प्रविधिलाई केवल मनोरञ्जनको साधन बनायौं, जबकि यो आर्थिक समृद्धिको मेरुदण्ड हुन सक्थ्यो । यसतर्फ वर्तमान युवा तथा जेनजी पुस्ताले देख्न सकिरहेको छैन । हामी अब पुरानो सोच र काम गर्ने तरिकाबाट थोरै माथि उठ्न सकेनौं भने अवसर हाम्रो हातबाट जाने निश्चित प्रायः नै छ । नेपालमै बसेर हजारौं युवाहरू फ्रीनान्सिङ, आईटी सेवा, डिजिटल मार्केटिङ, डिजाइन, कन्टेन्ट क्रिएसनमार्फत मासिक हजारौं डलर कमाइरहेका छन् । अपवर्क, फिभरजस्ता प्लेटफर्ममा नेपाली युवाको उपस्थिति बढ्दो छ ।
कृषिः माटोमा लुकेको सुन
युवाहरू कृषिलाई ‘दुःखको काम’ र ‘प्रतिष्ठा कम हुने क्षेत्र’ मान्छन् । हामीसँग संसारकै दुर्लभ जडीबुटी र विशिष्ट स्वादका फलफूल छन् । जसलाई व्यावसायिक खेतीमार्फत मनग्य आम्दानी गर्न सक्छौं । सम्भावना त परम्परागत हलो जोत्नुमा होइन, बरु एग्रो–टेकमा छ । यो केवल खेती मात्र होइन, यो एक उच्चस्तरीय उद्यमशीलता हो जुन धेरै युवाको नजरबाट ओझेलमा परिरहेको छ । हामीले विशेष गरी रैथाने बालीको उत्पादनलाई जोड दिई त्यसलाई नेपाली बजारमा लान सके पनि ठूलो मात्रामा आर्थोपार्जन गर्न सक्छौं ।
पर्यटनः हिमालभन्दा परको गन्तव्य
नेपाल भन्नाले हामी केवल सगरमाथा र लुम्बिनी मात्र सम्झन्छौं । तर, हेरिटेज टुरिज्म र इको–टुरिज्मका अनगिन्ती आयामहरू अझै सुतिरहेका छन् । हाम्रा गाउँका साना गल्ली, पुराना ढुंगे घर र हराउँदै गएका लोक संस्कृतिहरू विदेशीका लागि अनुपम अनुभव हुन सक्छ । युवाहरूले ठूला होटल बनाउने सपना देख्नु राम्रो हो, तर स्थानीय होमस्टेलाई प्रविधिसँग जोडेर विश्वव्यापी प्लेटफर्ममा लैजाने सोच राख्ने हो भने प्रत्येक गाउँ आत्मनिर्भर बन्न सक्छ । पर्यटन केवल घुम्नु मात्र होइन, यो त अनुभवको व्यापार पनि हो । पर्यापर्यटन र प्राविधिक पर्यटकीय ग्रामजस्ता सोचले पनि विदेशी पर्यटकहरूलाई आकर्षित गर्न सक्नेछौं ।
नीतिगत नेतृत्व र युवा सहभागिता
हामी प्रायःः राजनीतिलाई फोहोरी खेल भन्दै पन्छिन्छौं । तर, जबसम्म योग्य र दूरदर्शी युवाहरू नीति निर्माणको तहमा पुग्दैनन्, तबसम्म देशको अवस्थामा समृद्धि हुनै सक्दैन । युवाले नदेखेको अर्को आयाम पोलिसी एड्भोकेसी हो । देशमा युवामैत्री बजेट, स्टार्टअप नीति र डिजिटल ऐन ल्याउनका लागि युवाहरूले सडकमा मात्र होइन, सदन र स्थानीय सरकारको योजना तर्जुमामा पनि दबाब दिनुपर्छ । म राजनीति गर्दिनँ भन्नुको अर्थ मैले मेरो भविष्य अरूको हातमा सुम्पिदिएँ भन्नुसरह हो । त्यसैले अभियन्ता र अधिकारकर्मीका रूपमा पनि नेपालको धेरै क्षेत्रमा नेपाली युवाहरूले आफ्नो इनपुट दिन सक्छ । 
असफलताभित्रको सिकाइ र उद्यमशीलता
नेपाली युवामा एउटा डर छ– ‘असफल भइयो भने समाजले के भन्ला?’ यही डरले गर्दा धेरै सम्भावनाहरू विचारमै मात्र सीमित हुन्छन् । उद्यमशीलता भनेको केवल पैसा कमाउनु मात्र होइन, यो त समस्याको समाधान खोज्नु हो । र धेरै भन्दा धेरै अवसर सृजना गर्नु पनि हो ।  हामीले समस्या देख्यौं तर त्यही समाधानमा व्यापार देखेनौं । बाटोमा फोहोर छ – त्यो समस्या हो, तर त्यसको पुनः प्रयोग व्यवसाय हो । युवाहरू विदेशमा गएर अर्काको प्रणालीमा काम गर्न तयार छन्, तर आफ्नै देशमा प्रणाली बसाल्ने जोखिम लिन डराइरहेका छन् । जुन दिन हामी असफलतालाई शिक्षाका रूपमा स्वीकार्न सिक्छौं, त्यही दिन नयाँ सम्भावनाको ढोका खुल्नेछ ।
राष्ट्रिय गौरव र सम्भव छ भन्ने सोच
सबैभन्दा ठूलो सम्भावना हाम्रो सोचमा छ । निराशा एउटा सरुवा रोगजस्तै फैलिएको छ । तर, यही नेपालमा बसेर केही गरिरहेका हजारौं युवाहरू पनि छन् जो चर्चामा नभई कर्ममा विश्वास गर्छन् । देश बनाउन कुनै जादुको छडी चाहिने होइन, केवल एउटा सामूहिक संकल्प र सकारात्मक सोच भए पुग्छ । ‘सम्भव छ’ भन्ने नारालाई आत्मसात् गर्दै अघि बढ्ने हो भने, नेपाल अर्को दशकमा दक्षिण एसियाकै उदीयमान आर्थिक केन्द्र बन्न सक्छ । यसको लागि नेपाली युवाहरू जुट्न आवश्यक छ । 
सम्भावनाहरू आकाशबाट खस्दैनन्, ती त हाम्रो पसिना र दृष्टिकोणको मिलनबिन्दुबाट मात्रै जन्मिन्छन् । युवाहरूले आफ्नो उर्जालाई केवल विरोध र विदेशमा मात्र खर्च नगरी सिर्जना र सम्भावनाको नयाँ आयाममा लगाउनुपर्छ । हामीले यो देशलाई के दियौं भन्ने प्रश्नले नै हाम्रो र देशको भविष्य तय गर्नेछ । नेपाल सम्भावनाको खानी हो, मात्र हामीले उत्खनन गर्न बाँकी छ । नेपाली युवाको अबको यात्रा सम्भावनाको खोजीमा होइन, सम्भावनाको सिर्जनामा केन्द्रित गरौं ।
(लेखक नेपाल युवा परिषद्का केन्द्रीय अध्यक्ष हुन् ।)

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्