नेभिगेशन
दृष्टिकोण

गगन थापाको आलोचना किन ?  दायित्वको कुरा किन नगर्ने ?

‘जीतमा दुश्मन पनि मित्र हुन्छन् र पराजयमा मित्र पनि शत्रु बन्न जान्छन् ।’ राजनीति जस्तो कठोर क्षेत्रमा यो पुरानो भनाइ बारम्बार सत्य प्रमाणित हुँदै आएको छ । नेपालको हालको आम निर्वाचनले पनि यही यथार्थलाई फेरि उजागर गरेको छ । यस परिणामपछि नेपाली काँग्रेसका सभापति गगन थापाको अवस्था ठीक यही उक्ति सम्झाउने खालको देखिन्छ — जहाँ पराजयपछि आलोचना, आरोप र दोषारोपणको आँधी चल्न थाल्छ ।
तर यथार्थलाई इमानदारीपूर्वक हेर्ने हो भने गगन थापाले सबल र सुदृढ पार्टी संगठनको विरासत पाएर नेतृत्व सम्हालेका थिएनन् । बरु उनले पार्टीभित्रको गहिरो असन्तोष र विद्रोहको वातावरण पार गर्दै नेतृत्वमा पुग्नुपरेको थियो । बहुसंख्यक प्रतिनिधिहरूको सहभागितामा आयोजित विशेष अधिवेशनबाट उनी सभापति बनेका थिए । यस अर्थमा उनको उदय सहज उत्तराधिकार होइन, संघर्षबाट जन्मिएको नेतृत्व थियो ।
तर त्यसलाई पनि सहज हुन दिइएन । चुनावको नामांकन भैरहँदाको बेला शेरबहादुर देउवाले गगन थापाको सभापतित्वलाई चुनौती दिँदै अदालतमा मुद्दा दायर गरे र निर्वाचन आयोगसमक्ष पनि आपत्ति जनाए । आयोगले प्रारम्भिक रूपमा गगनको पक्षमा अन्तरिम आदेश दिए पनि अदालतमा मुद्दा विचाराधीन नै रह्यो । यसले जन्माएको अनिश्चितताको परिणामतः नयाँ नेतृत्वको वैधानिकतामाथि प्रश्नचिह्न खडा गरियो । यसले एउटा स्पष्ट सन्देश दियो — पार्टीभित्रको पुरानो शक्ति संरचना परिवर्तन स्वीकार गर्न देउवा पक्ष कदापि पनि तयार छैन । यस प्रकरणले गगन थापाले बनाएको आश लाग्दो भाष्य— ‘हामीले काँग्रेस बदल्यौं, अब मुलुक बदल्छौं’ को विश्वसनीयता कायम हुन दिएन ।
नयाँ सभापतिले प्रारम्भदेखि नै असहज वातावरणमा काम गर्नुप¥यो । केही समय उनले पार्टीको अनधिकृत कार्यालयबाट काम सञ्चालन गर्नुप¥यो । पछि मात्र उनी पार्टीको आधिकारिक कुर्सीमा बस्न पाए । यस्तो अवस्थामा संगठन सुदृढ बनाउने, जनतामाझ विश्वास पुनःस्थापित गर्ने र चुनावी तयारी गर्ने काम सहज हुने कुरा थिएन ।
यद्यपि पार्टी एकताको सन्देश दिन गगन थापाले देउवा पक्षका धेरै व्यक्तिहरूलाई पनि उम्मेदवार बनाए । तर परिणाम के आयो ? ती सबैजसो उम्मेदवार पराजित भए । अझ चुनावको निर्णायक समयमा देउवा विदेश गए । उनका निकट मानिने व्यक्तिहरू पनि चुनावी अभियानमा सक्रिय देखिएनन् । आफ्नै पक्षका उम्मेदवारलाई जिताउन समेत उनीहरू अग्रसर देखिएनन् । यसले एउटा गम्भीर प्रश्न उठाउँछ — के यो केवल निष्क्रियता थियो, कि काँग्रेसको परिवर्तनप्रति नै अस्वीकारोक्ति वा निर्वाचनमा आफ्नै पार्टीका उम्मेदवारहरूलाई असहयोग ?
यी सबै पृष्ठभूमिमा गगन थापा स्वयं पनि चुनावमा पराजित भए । यद्यपि यो पंक्ति लेख्दाको बखत गगनको परिणाम आइसकेको छैन, तर विजयीको सम्भावना देखिन्न । सतहमा हेर्दा यो पराजय व्यक्तिगत जस्तो देखिन्छ । तर गहिराइमा हेर्दा यो पराजय केवल एउटा व्यक्तिको होइन — यो काँग्रेसले वर्षौंदेखि बोकेको राजनीतिक बोझको परिणाम हो ।
वास्तविकता के हो भने लामो समयसम्म पार्टी सञ्चालन गर्ने क्रममा देउवाको नेतृत्वले नेपाली काँग्रेसको राजनीतिक छवि गम्भीर रूपमा क्षतिग्रस्त बनाएको थियो । अवसरवाद, गुटबन्दी, सत्ताको गणितमा सीमित राजनीति, र जनतासँग टुटेको सम्बन्ध — यी सबैले काँग्रेसलाई जनविश्वासबाट टाढा पु¥यायो । यही कारणले आज काँग्रेसको पराजयलाई केवल गगन थापाको जिम्मामा थोपर्न खोज्नु राजनीतिक बेइमानी हुन्छ ।
यसबीच अर्को महŒवपूर्ण राजनीतिक सन्देश पनि यस निर्वाचनले दिएको छ । यस पटकको निर्वाचनमा रास्वपा र यसको प्रमुख नेताहरू रवि तथा बालेनले ऐतिहासिक सफलता हासिल गरेका छन् । धेरै त्यस्ता मानिसहरू, जो नेपाली समाजमा पलाउँदै गएको परिवर्तनमुखी जनभावनासँग अनभिज्ञ थिए, उनीहरूका लागि यो परिणाम अप्रत्यासित लाग्न सक्छ । तर आम नागरिकका लागि भने यो कुनै चकित पार्ने घटना होइन । जनताले लामो समयदेखि पुराना दलहरूको जडता, सुधारप्रति उदासीनता, भ्रष्टाचार र सत्ता स्वार्थको राजनीति देख्दै आएका थिए । त्यसैले परिवर्तनको आकांक्षा अन्ततः मतदानमार्फत व्यक्त हुनु स्वाभाविक थियो ।
यस परिप्रेक्ष्यमा केपी ओली जस्ता नेतृत्वको राजनीति पनि आलोचनाबाट मुक्त रहन सक्दैन । बिद्रोही जेन्जी नव युवाहरूको नृशंस हत्या, आक्रामक राष्ट्रवादको भाषण, सत्तामा हुँदा भ्रष्टाचार र शक्ति केन्द्रीकरण, अनि प्रतिपक्षमा हुँदा अस्थिरताको राजनीति — यी सबैले नेपाली जनतालाई निराश बनाएको थियो । यही कारणले अहिलेको परिणाम केवल काँग्रेसको पराजय मात्र होइन, पुरानो राजनीतिक शैलीको व्यापक अस्वीकार पनि हो । तर परिवर्तनको यो लहरले अर्को प्रश्न पनि खडा गरेको छ — अब नयाँ शक्तिहरू कसरी अगाडि बढ्छन् ? रास्वपाको आगामी राजनीतिक व्यवहार, विशेषतः प्रस्तावित प्रधानमन्त्रीको रूपमा देखिएका बालेन शाहको दृष्टिकोण, धेरै अर्थमा महŒवपूर्ण हुनेछ ।
लोकतन्त्रमा बलियो सरकारका लागि जिम्मेवार प्रतिपक्ष अपरिहार्य हुन्छ । रोचक कुरा के छ भने प्रायः बलियो सत्ता पक्षका लागि कमजोर प्रतिपक्षलाई औपचारिक रूपमा बढी सम्मान दिने चलन देखिन्छ — उसका कुरालाई सुन्ने, सहिष्णुता देखाउने, संवादको भाषा प्रयोग गर्ने । तर यसको अर्थ कदापि पनि पुरानो सत्ताको गलत कामको प्रतिरक्षा गर्नु होइन ।
यदि विगतका भ्रष्टाचार, अपराधजन्य कार्यहरू र सत्ता दुरुपयोगलाई ‘सहिष्णुता’ वा ‘राजनीतिक परिपक्वता’ को नाममा ढाकछोप गरियो भने त्यो जनताको परिवर्तन चाहनाको प्रत्यक्ष अपमान हुनेछ । त्यस्तो व्यवहार नयाँ सत्ताले जनतासमक्ष गरेका वाचा र प्रतिबद्धताको विपरीत हुनेछ ।
यसैले अहिलेको राजनीतिक क्षण उत्साहको मात्र होइन — परीक्षाको पनि हो । नयाँ सत्ताले विगतका गलत अभ्यासहरूसँग सम्झौता गर्छ कि वास्तवमै नयाँ राजनीतिक संस्कृतिको सुरुवात गर्छ — यो कुरा नेपाली जनताले धैर्यका साथ पर्खेर हेर्नुपर्नेछ । यस सबै परिप्रेक्ष्यमा गगन थापाको भूमिका अझ महŒवपूर्ण बनेको छ । अब उनको दायित्व केवल एउटा पराजित नेता बन्ने होइन । उनले जिम्मेवार, सशक्त र वैचारिक प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्छ । हीनताबोधबाट मुक्त हुनु परेको छ ।
त्यसैगरी नेपाली काँग्रेसको पुनरोत्थान पनि अब अपरिहार्य आवश्यकता बनेको छ । यसको अर्थ केवल संगठन विस्तार होइन — पार्टीको चरित्र, नीति, नेतृत्व संस्कृति र जनतासँगको सम्बन्ध पुनर्निर्माण गर्नु हो । सबैभन्दा महŒवपूर्ण कुरा — अब काँग्रेस फेरि पुरानै चक्रमा फर्कन सक्दैन । यसका लागि विकल्प फेरि देउवा वा देउवाले अघि सारेका कुनै प्रतिनिधि हुन सक्दैनन् । त्यो भनेको विगतका असफलताको पुनरावृत्ति मात्र हुनेछ । आजको वास्तविकता स्पष्ट छ — पुरानो राजनीति अस्वीकार गरिएको छ ।
अब प्रश्न एउटै छ ः के नयाँ नेतृत्वले यो सन्देश बुझ्छ ? यदि बुझ्यो भने अहिलेको पराजय नेपाली काँग्रेसको अन्त्य होइन — पुनर्जन्मको सुरुवात बन्न सक्छ । यदि बुझेन भने इतिहासले यसलाई परिवर्तनको अवसर गुमाएको क्षणका रूपमा सम्झिनेछ ।
(आनन्दले सामाजिक सञ्जालमा गरेको पोस्टबाट)
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप दृष्टिकोण