नेभिगेशन
दृष्टिकोण

रुबी–लक्ष्मण घटनाले सिकाएको पाठ

रौतहटमा गत शनिबार सुटकेसमा शव फेला परेकी रुबी साहको हत्याकाण्डले अहिले देश नै दुःखी बनेको छ । अझ हत्याका मुख्य आरोपी लक्ष्मण पासवानले आत्मदाह गर्दा मृत्यु भएपछि घटना तत्कालका लागि सेलाएजस्तो देखिए पनि यसले नेपाली समाजलाई धेरै प्रश्न छोडेर गएको छ ।

घटनाको पृष्ठभूमि केलाउँदा उनीहरू बाल्यकालकै प्रेमी रहेको र कक्षा १० मा पढ्दै गर्दा घरबाट भागेर अदालती विवाह (कोर्ट म्यारिज) गरेको खुलेको छ । त्यसबेला रुबी १४ वर्षकी थिइन् । पासवानसँगको सो सम्बन्ध मन नपराएको परिवारले उनीविरुद्ध शरीर बन्धक तथा मानव बेचबिखनको मुद्दा दायर गरेको थियो । झण्डै दुई वर्ष चलेको मुद्दामा २०७१ सालमा जिल्ला अदालतले उनलाई सफाइ दियो । 

पासवान विपन्न परिवारको भएको भन्दै रुबीको परिवारले उनीहरूको सम्बन्ध अस्वीकार गरेको र बलपूर्वक छुट्याएर भारतको मुजफ्फरपुरमा विवाह गराइदिएको अनुसन्धानका क्रममा खुलेको छ । उनको ४ वर्षको छोरा पनि छ । लक्ष्मण आफैं पनि विवाहित रहेको र उनका पनि ५ र ७ वर्षका दुई छोरा छन् । तर उनकी श्रीमतीले गत साउन ३० मा मात्रै श्रीमान्ले आफू र परिवारको हेरचाह नगरेको भन्दै प्रहरीमा निवेदन दिएकी थिइन् ।

मुगल सम्राट शाहजहाँले आफ्नी प्रिया मुमताज महलको सम्झनामा ताज महल बनाए । यमुना तटस्थित त्यो महल आजपर्यन्त प्रेम र समर्पणको प्रतीकका रूपमा रहेको छ । नेपालको पाल्पामा रहेको रानीमहल जनरल खड्ग शमशेरले आफ्नी पत्नी तेजकुमारीको प्रेम प्रतीकका रूपमा निर्माण गर्न लगाएका थिए । कालीगण्डकीको किनारमा उभिएको रानीमहललाई आफ्नी पत्नीको प्यार र सम्झनाको प्रतीकका रूपमा उभिएको छ । 

अनुपम र अद्वितीय प्रेमको उदाहरण कुनै पनि सभ्य समाजमा पाउन कठिन छैन । प्रेमको गहिराइ वा उच्चता भनेको समर्पण नै हो । त्यो समर्पण भावमा आफ्नो स्वार्थ होइन प्रिय-प्रिया वा प्रियतम-प्रियतमाको खुसी हेरिन्छ । त्यसैले प्रेमलाई आदर्श मानिन्छ । तर, रौतहटमा भएको एउटा घटनाले प्रेमलाई उल्टो बाटो हिडाइँदिएको प्रतीत हुन्छ । आधुनिकता र प्रविधिको मारमा आदर्श प्रेम पनि खुइलिएको हो कि भन्ने रौतहट काण्डले उजागर गरेको छ ।

रौतहट घटनाले के देखाएको छ भने समाजले जीवनको महत्त्व बालबालिकामा आरोपित गर्न सकेको रहेनछ, र प्रेमको उदात्त अवधारणालाई पनि उनीहरूले बुझ्न नसकेको देखियो । यो उनीहरूको मात्र दोष होइन, समाजको पनि दोष हो । एक, उनीहरू बाल्यकालदेखि नै प्रेम गर्नुलाई कसरी लिने, कसरी बुझ्ने ? मित्रवत् सम्बन्ध हुनु, साथी हुनुलाई अन्यथा मान्न सकिन्न तर कलिलै उमेरमा प्रेम गर्नु १० कक्षा पढ्दा–पढ्दै भागी विवाह गर्नुमा समाजको पनि दोष छ कि छैन ? 

अर्को कुरा दुई व्यक्तिले एक–आपसलाई मनपराइरहेको अवस्थामा समाजले आर्थिक हैसियतको आधारमा, उचनीचको आधारमा विखण्डन ल्याउन खोज्दाको परिणाम नै यो दुःखद घटनाको कारक हो । केटा र केटीलाई स्वनिर्णयको अधिकार दिएर उनीहरूको निर्णयलाई घरपरिवारले स्वीकार गर्दै सहजीकरण गरिदिएको भए आजको यो दुर्दिन भोग्नुपर्ने थिएन । आज यो दिन देख्नुपर्ला भन्ने भएको भए अभिभावकले आफ्ना सन्तानका इच्छाविरुद्धमा सम्बन्ध तोड्न दिन दबाब पनि दिने थिएनन् ।

तर यो घटनाले हामीलाई समाजमा हुर्कंदै गएको दुई पुस्ताको सोचाइ र व्यवहारको अन्तरका बारेमा गहिरिएर हेर्नु र बुझ्नुपर्ने संकेत गरेको छ । यो घटनाले आफ्नो सन्तान कसरी हुर्काउने, कस्तो संस्कार सम्बन्ध र व्यवहार सिकाउनेजस्ता विषयमा अभिभावक शिक्षालाई पनि प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने देखिएको छ ।

प्रेमले मानिसलाई जीवनमा महानता सिकाउनुपर्ने हो । यसले हामी सबैलाई प्रकृतिको सुन्दरतातर्फ लानुपर्ने हो । प्रेम शब्द स्वयम् पवित्र र सिर्जनाको स्रोत हो विध्वंशको होइन भन्ने बुझ्नुपर्छ । अहिले सञ्चार प्रविधिको विकास र समाजमा सबैखाले विभेदको अन्त्य हुँदै गएको अवस्थामा सानो उमेरदेखि नै प्रेमको महत्त्व आवश्यकता औचित्य र मर्यादाका बारेमा अभिभावकले आफ्ना सन्तानलाई बुझाउनु जरुरी छ । 

त्यसरी बुझाउनुको बदला जबर्जस्ती छुटाइदिने, गाली र दुव्र्यवहार गर्ने हो भने रौतहट घटनाजस्ता अनपेक्षित घटनाको सामना समाजले थप सामना गर्नुपर्नेछ । सबैखाले विभेद अन्त्य गर्न र प्रेमलाई प्रेमपूर्वक ग्रहण गर्न सबैलाई प्रेरणा मिलोस् । रुबी र लक्ष्मणको सम्बन्ध र यो दुःखद घटनाबाट लिनुपर्ने शिक्षा यही हो । अब प्रेम गर्नेहरू रुबी र लक्ष्मण नबनून् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्