नेभिगेशन
अर्थतन्त्र

रेमिट्यान्स वृद्धिदर र विदेशी मुद्रा सञ्चिति ऐतिहासिक

काठमाडौं । कर्जा माग बढ्न नसकेर आन्तरिक अर्थतन्त्र सुस्ताइरहँदा बाह्य क्षेत्रको सुधार बलियो बन्दै गएको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८२÷८३ को सात महिनाको तथ्यांकअनुसार बाह्य क्षेत्र थप बलियो बन्दै गएको हो ।
तथ्यांकअनुसार महँगी वृद्धिदर निकै न्यून छ भने रेमिट्यान्स आप्रवाह उल्लेख्य बढेको छ । त्यस्तै चालु खाता र शोधनान्तर बचत उच्च भएको छ । माघमा वार्षिक उपभोक्ता मुद्रास्फीति ३.२५ प्रतिशतमा सीमित रहँदा विदेशी मुद्रा सञ्चिति बढेर ३३ खर्ब २ अर्ब ६६ करोड पुगेको छ । त्यस्तै चालु खाता ४ खर्ब ९३ अर्ब ७८ करोडले बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ ।

महँगी वृद्धिदर ३.२५ प्रतिशत
२०८२ माघमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ३.२५ प्रतिशत छ अर्थात् महँगी ३.२५ प्रतिशतले बढेको छ । २०८१ माघमा मुद्रास्फीति ४.१६ प्रतिशत थियो । माघमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति २.५० प्रतिशत छ भने गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.६६ प्रतिशत छ । गत वर्ष माघमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ४.९५ र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.७४ प्रतिशत थियो ।
चालु आवको सात महिनाको औसत मुद्रास्फीति १.९२ प्रतिशत छ । गत वर्ष २०८१÷८२ को पहिलो सात महिनाको औसत मुद्रास्फीति ४.८६ प्रतिशत थियो । माघमा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत तरकारी उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक ११.६३ प्रतिशत, घ्यू तथा तेलको ७.६१ प्रतिशत र फलफूलको ७.४१ प्रतिशतले बढेको छ । दाल तथा गेडागुडी उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक ५.१९ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको २.९७ प्रतिशत र मरमसलाको २.६१ प्रतिशतले घटेको छ ।
गैरखाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक २१.९८ प्रतिशत, शिक्षाको ७.४६ प्रतिशत, कपडाजन्य तथा जुत्ताचप्पलको ५.२८ प्रतिशत, सुर्तीजन्य पदार्थको ४.१५ प्रतिशत र मदिराजन्य पेय पदार्थको ३.८५ प्रतिशत छ । सञ्चार उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक ०.०८ प्रतिशतले घटेको छ । माघमा ग्रामीण क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक २.५२ प्रतिशतले र सहरी क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक ३.५१ प्रतिशतले बढेको छ ।
वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक भन्नाले कुनै निश्चित महिनाको उपभोक्ता मूल्य स्तरलाई अघिल्लो वर्षको सोही महिनाको मूल्य स्तरसँग तुलना गरेर मापन गरिने सूचकांक हो । यसले एक वर्षको अवधिमा वस्तु तथा सेवाको मूल्य कति प्रतिशतले बढ्यो वा घट्यो भन्ने देखाउँछ ।
प्रदेशगत रूपमा माघमा कोशी प्रदेशको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ३.५३ प्रतिशत, मधेशको ५.१४ प्रतिशत, बागमतीको ३.१० प्रतिशत, गण्डकीको २.४२ प्रतिशत, लुम्बिनीको ३.२९ प्रतिशत, कर्णालीको १.६२ प्रतिशत र सुदूरपश्चिम प्रदेशको १.६४ प्रतिशत छ । माघमा काठमाडौं उपत्यकाको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ३.४८ प्रतिशत, तराईको ३.६६ प्रतिशत, पहाडको २.६८ प्रतिशत र हिमालको २.५८ प्रतिशत छ । वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति भन्नाले एक वर्षको सोही महिनासँग तुलना गरेर हालको महिनामा उपभोक्ता मूल्य सूचका‌ंक कति प्रतिशतले बढ्यो वा घट्यो भन्ने दरलाई जनाउँछ ।

विदेश पढ्न जानेमार्फत बाहिरियो ७७ अर्ब
अध्ययनका लागि विदेश जानेहरूमार्फत सात महिनामा साढे ७७ अर्ब बाहिरिएको छ । गत वर्ष सात महिनामा ६४ अर्ब १० करोड बाहिरिएकोमा चालु आवको सोही अवधिमा ७७ अर्ब ५७ करोड रुपैयाँ बाहिरिएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।
समीक्षा अवधिमा खुद सेवा आय ५० अर्ब १६ करोडले घाटामा छ । सेवा क्षेत्रको आम्दानीभन्दा खर्च बढी हुँदा खुद सेवा आय घाटा बढेको छ । गत वर्षको सोही अवधिमा खुद सेवा आय ३६ अर्ब १७ करोडले मात्र घाटामा थियो ।
सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण आयमा २.६ प्रतिशतले कमी आई ४७ अर्ब ९९ करोड कायम भएको छ । गत वर्षको सोही अवधिमा भ्रमण आय ४९ अर्ब २८ करोड थियो । सात महिनामा सेवा खाताअन्तर्गत भ्रमण व्यय ५.१ प्रतिशतले बढेर १२१ अर्ब २७ करोड पुगेको छ । गते वर्षको सोही अवधिमा भ्रमण व्यय ११५ अर्ब ३४ करोड थियो ।

रेमिट्यान्स वृद्धिदर ४० प्रतिशत
रेमिट्यान्स आप्रवाह उच्च दरमा बढेको छ । रेमिट्यान्स आप्रवाह चालु आवको पहिलो सात महिनामै ३९.८ प्रतिशतले बढेर १२ खर्ब ६१ अर्ब १ करोड पुगेको छ । गत वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह ७.५ प्रतिशतले मात्र बढेको थियो । २०८२ माघमा मात्रै झन्डै २ खर्ब रेमिट्यान्स आएको छ । राष्ट्र बैंकका अनुसार माघमा मात्र १ खर्ब ९८ अर्ब ८ करोड रेमिट्यान्स भित्रिएको छ । गत वर्षमा माघमा १ खर्ब ३७ अर्ब ५० करोड रेमिट्यान्स आएको थियो । अमेरिकी डलरमा सात महिनामा रेमिट्यान्स आप्रवाह ३३.० प्रतिशतले बढेर ८ अर्ब ८६ करोड पुगेको छ ।
सातमा महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत– नयाँ) लिने नेपालीको संख्या २ लाख ४५ हजार १५३ पुगेको छ भने पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख २७ हजार ४२४ छ । पहिलो पटक विदेशिनेको संख्या गत वर्षको पहिलो सात महिनामा तुलनामा घटेको छ भने पुनः जानेको संख्या बढेको छ । गत वर्ष साउनदेखि माघसम्ममा नयाँ बाहिरिनेको संख्या २ लाख ७४ हजार ६२२ थियो भने पुनः बाहिरिनेको संख्या १ लाख ९० हजार ८८६ थियो ।
समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) १३ खर्ब ८४ अर्ब २७ करोड पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो आय ९ खर्ब ८६ अर्ब ३४ करोड थियो । सरकारले प्राप्त गरेको रकममा सरकारले तिरेको रकम घटाएपछि बाँकी रहेको रकमलाई खुद ट्रान्सफर भनिन्छ ।

चालु खाता ४ खर्ब ९३ अर्ब बचतमा
माघसम्ममा चालु खाता ४ खर्ब ९३ अर्ब ७८ करोडले बचतमा छ । २०८१ माघसम्म चालु खाता १ खर्ब ८४ अर्ब १४ करोडले बचतमा थियो । अमेरिकी डलरमा गत वर्ष माघमा १ अर्ब ३७ करोडले बचतमा रहेको चालु खाता २०८२ माघमा ३ अर्ब ४७ करोडले बचतमा छ । माघसम्ममा खुद पुँजीगत ट्रान्सफर ११ अर्ब ४३ करोड छ । गत वर्ष माघसम्म खुद पुँजीगत ट्रान्सफर ५ अर्ब ८३ करोड थियो । पुँजीगत ट्रान्सफर भन्नाले सम्पत्ति निर्माण वा पुँजी बढाउनका लागि दिइने रकम बुझिन्छ, यसले अर्थतन्त्रमा दीर्घकालीन आर्थिक प्रभाव पार्छ ।

शोधनान्तर स्थिति ५ खर्ब ७२ अर्ब बचत
माघसम्ममा शोधनान्तर स्थिति ५७२ अर्ब ७३ करोडले बचतमा रहेको छ । गत वर्ष माघसम्ममा शोधनान्तर स्थिति २ खर्ब ८४ अर्ब ४१ करोडले बचतमा थियो । अमेरिकी डलरमा गत वर्ष माघमा २ अर्ब ११ करोडले बचतमा रहेको शोधनान्तर स्थिति २०८२ माघसम्ममा ४ अर्ब ३ करोडले बचतमा छ ।
२०८२ असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँबराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २३.३ प्रतिशतले वृद्धि भई २०८२ माघ मसान्तमा ३३ खर्ब २ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ । अमेरिकी डलरमा विदेशी विनिमय सञ्चिति २०८२ असार मसान्तमा १९ अर्ब ५० करोड रहेकोमा २०८२ माघ मसान्तमा १६.७ प्रतिशतले वृद्धि भई २२ अर्ब ७६ करोड पुगेको छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८२ असार मसान्तमा २४ खर्ब १४ अर्ब ६४ करोड रहेकोमा २०८२ माघ मसान्तमा २१.२ प्रतिशतले बढेर २९ खर्ब २६ अर्ब ९९ करोड पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८२ असार मसान्तमा २ खर्ब ६३ अर्ब ४ करोड रहेकोमा २०८२ माघ मसान्तमा ४२.८ प्रतिशतले वद्धि भई ३ खर्ब ७५ अर्ब ६७ करोड पुगेको छ । २०८२ माघ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.५ प्रतिशत छ ।
आर्थिक वर्ष २०८२÷८३ को सात महिनासम्मको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति २१.३ महिनाको वस्तु आयात र १८.० महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । २०८२ माघ मसान्तमा विदेशी विनिमय सञ्चितिको अनुपात कुल गार्हस्थ्य उत्पादनसँग ५४.१ प्रतिशत, कुल आयात १५०.२ प्रतिशत र विस्तृत मुद्राप्रदायसँगको अनुपात ३९.७ प्रतिशत छ । माघसम्ममा १० अर्ब २२ करोड प्रत्यक्ष वैदेशिक लगानी (इक्विटीमात्र) भित्रिएको छ । गत वर्ष माघसम्ममा एफडीआई (इक्विटी मात्र) ७ अर्ब ४३ करोड थियो ।

कर्जा प्रवाह भने सुस्त
अर्थतन्त्रका बाह्य सूचकहरू बलियो देखिँदा आन्तरिक अर्थतन्त्र भने सुस्त नै छ । मुख्यतः समष्टिगत मागमा सुधार हुन नसक्दा कर्जाको माग पनि बढ्न सकेको छैन । सात महिनामा बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालन ६.० प्रतिशत छ भने निजी क्षेत्रमा प्रवाहित कर्जा ४.० प्रतिशतले मात्र बढेको छ ।
बैंक तथा वित्तीय संस्थाहरूबीचको भारित औसत अन्तरबैंक दर २.७५ प्रतिशत र ९१ दिन अवधि भएको ट्रेजरी बिलको भारित औसत ब्याजदर २.४५ प्रतिशत छ । त्यस्तै वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ३.५१ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर ७.० प्रतिशत छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्