नेभिगेशन
नेपाल

बत्तिसौं प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ

काठमाडौं, १३ भदौ - सरकारले प्रहरी महानिरीक्षक (आईजीपी) मा एआईजी चन्द्रकुवेर खापुङलाई नियुक्त गरेको छ । २०८२ भदौ १३ गते शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई सो पदमा नियुक्त गरेको हो । वर्तमान आईजीपी दीपक थापा यही भदौ १७ गते अवकाशमा जाँदैछन् । भदौ १९ गतेदेखि लागू हुनेगरी नेपाल प्रहरीका ३२औं महानिरीक्षकमा खापुङ नियुक्त भएका हुन् । उनले लिम्बु समुदायबाट दोस्रो महानिरीक्षक बन्ने अवसर पाएका छन् ।

तेह्रथुमका स्थायी बासिन्दा खापुङ हालसम्म निर्विवाद अधिकारी मानिदै आएका छन् । प्रहरी उपरीक्षक (एसपी) हुँदा हेडक्वार्टरको कर्मचारी प्रशासन शाखामा बसेर काम गरेका खापुङसँग एसएसपी हुँदा उपत्यका अपराध अनुसन्धान कार्यालयको कमाण्ड गरेको र डीआईजी भएका बेला कोशी प्रदेशको कमाण्ड गरेको अनुभव उनीसँग छ ।

खापुङले २०५२ साल कात्तिक २२ गते प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका हुन् । उनी गत वैशाख १६ मा एआईजीमा बढुवा भएका थिए । ६ जना एआईजीमा बढुवा हुँदा उनी मेरिट लिस्टको पहिलो नम्बरमा थिए । उनीसँगै बढुवा भएका दानबहादुर कार्की, राजन अधिकारी र डा. मनोजकुमार केसी पछिल्लो ब्याचका हुन् ।

IGP-1756497570.jpg


यस्तो छ प्रहरी महानिरीक्षकहरूको इतिहास

नेपाल प्रहरीको औपचारिक स्थापना वि.सं. २०१२ सालको प्रहरी ऐन जारी भएपछि असोज महिनामा भएको हो । यद्यपि, २००७ सालको क्रान्तिपछि नै प्रहरी इकाइलाई संगठित बनाउन प्रहरी प्रधान कार्यालय २००७ चैतमा स्थापना गरिएको थियो । २००७ देखि हालसम्म ३१ जनाले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) को जिम्मेवारी सम्हालिसकेका
छन् ।

नेपाल प्रहरीको पहिलो आईजीपी तोरण शमशेर जबरालाई २००७ चैतमा नियुक्त गरिएको थियो । पहिलो महानिरीक्षकको रुपमा कार्यभार सम्हालेका जबरा तीन दिनमै पदच्यूत भएका थिए । तोरण शमशेर पदच्यूत भएपछि दोस्रो महानिरीक्षकको रूपमा नर शमशेर जबराले २००७ चैतदेखि २०१० मङ्सिरसम्म दुई वर्ष काम गरे ।

त्यसपछि तेस्रो प्रहरी महानिरीक्षकका रुपमा सेनाको मेजर पदबाट सेवा शुरु गरेका ज्ञानबहादुर याक्थुम्बा आए । उनले २०१० माघ २८ देखि २०१२ भदौसम्म सो पदमा काम गरेका थिए । 

याक्थुम्वा पछि राणा विरोधी अभियानमा लागेका गोपाल शमशेर जबरा नेपाल प्रहरीको चौथौं महानिरीक्षक भए जसले २०१२ भदौदेखि २०१३ साउनसम्म सो जिम्मेवारी सम्हाले । त्यसैगरी पूर्णसिंह खवास नेपाल प्रहरीको पाँचौं महानिरीक्षक हुन् । उनले २०१३ साउनदेखि २०१४ भदौसम्म काम गरे । 

खवासपछि राजनितिक नियुक्तिबाट ढुण्डिराज शर्मा छैटौं महानिरीक्षकको रुपमा झुल्किए । उनले २०१४ भदौदेखि २०१८ पुससम्म चार वर्ष जिम्मेवारी पाएका थिए । शर्मा नेपालको इतिहासकारका रुपमा समेत चर्चित छन्। ढुण्डिराज पुरा कार्यकाल पदमा रहे । 

त्यसपछि पहलसिंह लामा नेपाल प्रहरीको सातौं महानिरीक्षकका रुपमा झुल्किए । लामा पञ्चायत व्यवस्थाको प्रारम्भिक कालका जोशिला महानिरीक्षक मानिन्थे । उनकै समयमा प्रहरी क्लबको स्थापना भयो ।

महानिरीक्षकबाट अवकाश पाएपछि उनलाई कोलकाताको महावाणिज्यदुतको जिम्मेवारी दिएर पठाइएको थियो । पहलसिंपछि रोमबहादुर थापा आठौं महानिरीक्षक भए । मगर समुदायबाट प्रहरी महानिरीक्षक हुने रोमबहादुर प्रथम व्यक्ति हुन् । उनले २०२३ असारदेखि २०२९ असारसम्म नेतृत्वमा रहेर काम गरेका थिए । चर्चित आइजि रोमबहादुरपछि खड्गजित बराल नेपाल प्रहरीका नवौं महानिरीक्षक भए ।

प्रहरी संगठनमा अत्यधिक लोकप्रिय बराल तत्काल निर्णय दिनसक्ने भएका कारण सबैले मन पराउने र सम्मानित आइजीमा पर्छन् बराल । बरालले २०२९ असारदेखि २०३५ जेठसम्म नेतृत्वमा रहेर काम गरे । पछि बराललाई बर्माको राजदुत समेत बनाइएको थियो ।

दशौं महानिरीक्षक बनेका दुर्लभकुमार थापाले २०३५ सालदेखि २०३९ जेठसम्म कार्यभार सम्हाले । उनको कार्यकालमा आईजीपी निवास, कमाण्डो तालिमको सुरूवात, पर्यटक प्रहरी र प्रहरी पहरा गण आदिको स्थापना गरिएको थियो । 

त्यसपछि महानिरीक्षक भए दिलबहादुर लामा । जो, डिवी लामाका रुपमा बढी चर्चित रहे । ११औं महानिरीक्षकका रूपमा २०३९ असारदेखि २०४३ जेठसम्म महानिरीक्षक बनेका लामाले आफ्नो कार्यकालमा संगठनलाई आधुनिकीकरण गर्ने र साधनस्रोत सम्पन्न बनाउन अग्रसरता देखाएका थिए । ट्राफिक प्रहरीमा महिला सहभागिता लामाकै कार्यकालमा सुरु भएको थियो । उनको उत्तरार्ध अनेक काण्डमा संलग्न रहेको आरोप सहित बित्यो भने पछि राजनीतिमा समेत उनी संलग्न रहे ।

लामापछि बाह्रौ महानिरीक्षक हेमबहादुर सिंह भए । उनले चार वर्ष २०४३ असारदेखि २०४७ जेठसम्म कार्यभार सम्हालेका थिए । २०४६ सालको जनआन्दोलनको जटिल समयमा उनकै नेतृत्वमा प्रहरी संगठन चलेको थियो ।

हेमबहादुर पछि नेपाल प्रहरीका १३औं महानिरीक्षक बने रत्नशमशेर राणा । २०४७ असारमा प्रहरी महानिरीक्षक बनेका राणा २०४९ फागुनमा ३० वर्षे सेवा अवधिका कारण पदमुक्त भएका थिए । राणाको समय देशको राजनीति संक्रमणकालिन अवस्थामा थियो । यद्यपि वहुदलीय व्यवस्थापछिका स्थानीय तह र संसदीय निर्वाचन उनकै कार्यकालमा सम्पन्न भएको थियो ।

त्यसपछि मोतिलाल बोहरा महानिरीक्षक बढुवा भएर आए । बोहरा १४औं महानिरीक्षक हुन् । २०४९ देखि उनी नियुक्त भएका हुन् । उनले आफ्नो चार वर्षे पूरै कार्यकाल २०५३ माघसम्म कार्यरत रहेर अवकाश पाएका थिए ।

२०५३ देखि ध्रुबबहादुर प्रधान नेपाल प्रहरीको १५औं महानिरीक्षक भएका थिए । २०५४ मंसिरसम्म नेतृत्वमा रहेका भद्र, शान्त र निसानावाज महानिरीक्षक मानिएका प्रधान हाल राप्रपाको नेता तथा सांसद छन् ।

प्रधान पछि अच्युतकृष्ण खरेल नेपालका १६औं महानिरीक्षक बने । २०२७ सालमा प्रहरी सेवामा निरीक्षकका रुपमा प्रवेश गरेका खरेलले २०५४ मंसिरदेखि २०५७ असोजसम्म महानिरीक्षकको जिम्मेवारी वहन गरेका थिए । खरेल आक्रामक र निर्णायक महानिरीक्षकका रुपमा चिनिन्छन् ।

प्रदीप शमशेर जबरा १७औं महानिरीक्षक हुन् । २०५७ असोजपछि २०५९ पुससम्म नेतृत्वमा रहेका थिए । उनी सादा र सोझो स्वभावको आइजीका रुपमा चिनिन्थे । राणापछि नेपाल प्रहरीको नेतृत्वमा पुगेका श्यामभक्त थापा १८औं महानिरीक्षक हुन् । २०५९ सालमा उनी सो पदमा नियुक्त भएका हुन् । २०५९ पुसदेखि २०६३ भदौसम्म उनले नेतृत्व गरेका थिए ।

माओवादी विद्रोह, सातदलको आन्दोलन र राजाको प्रत्यक्ष शासनको चपेटा बिच महानिरीक्षक बनेका श्यामभक्त थापा कति क्षमतावान् थिए भन्ने महसुस गर्न नपाइ पदबाट बाहिरिनु परेको थियो ।

ओम विक्रम राणा २०६३ सालमा प्रहरी प्रमुख पदमा नियुक्त भए । उनले २ वर्ष अर्थात २०६५ भदौसम्म महानिरीक्षकको भूमिकामा रहे । नेपाल प्रहरीमा राजनीति प्रत्यक्ष देखिन थालेका बेला महानिरीक्षक बनेका राणा सुडान घोटालामा पनि मुछिए । उनको कार्यकालको उल्लेखनीय काम संविधानसभाको निर्वाचन मानिन्छ ।

छोटो अवधि मात्र नेपाल प्रहरीको नेतृत्व सम्हालेका हेमबहादुर गुरूङ २०औं महानिरीक्षक हुन् । उनले २०६५ असोजदेखि २०६५ फागुन चार महिना मात्र संगठनको नेतृत्व गरका थिए । उनी पछि रमेशचन्द ठकुरी २१औं प्रहरी महानिरीक्षक बने । २०६५ फागुनदेखि २०६८ जेठसम्म प्रहरी नेतृत्वमा रहेका चन्दलाई पनि सुडान घोटालाको बाछिटा लाग्यो । २२औं प्रहरी महानिरीक्षक हुन् रविन्द्रप्रताप शाह । शाहले २०६८ जेठ १८ गतेदेखि २०६९ भदौ २८ गतेसम्म प्रहरी संगठनको नेतृत्व सम्हालेका थिए ।

कुवेरसिंह राना नेपाल प्रहरीका २३औं महानिरीक्षक हुन् । उनलाई सरकारले २०६९ भदौ २८ गते सो पदमा नियुक्त गरेको थियो । उनी २०७० मंसीरमा पदमुक्त भए । राना पछि उपेन्द्रकान्त अर्याल नेपाल प्रहरीका २४औं आइजीपी भएर आए । २०७० मङ्सिरदेखि २०७३ फागुनसम्म प्रहरी प्रमुखको पदमा काम गरे । उनको कार्यकालमा भुकम्प पछिको उद्दार कार्यमा प्रहरी परिचालन, भारतीय नाकाबन्दी बिच पेट्रोलियम पदार्थ लगायत उपभोग्य वस्तुको अभाव र कालाबजारी नियन्त्रणमा केन्द्रित रहदै संविधान जारी पछिको सडक आन्दोलनमा केन्द्रित रहेको थियो ।

त्यसपछि अर्का अर्याल थरकै २५औं आइजीपी भए । उपेन्द्रकान्त पछि महानिरीक्षक बनेका प्रकाश अर्याललाई सरकारले २०७३ चैत २८ मा सो पदमा नियुक्त गरेको हो । उनी अघि सरकारले फागुन १ गते जयबहादुर चन्दलाई प्रहरी प्रमुखमा बढुवा गरेको थियो । तर, उनले पदभार लिन नापउँदै सर्वोच्चले निर्णय कार्यान्वयनमा रोक लगाएपछि अर्याल महानिरीक्षक बनेका थिए । अर्यालको कार्यकाल एकवर्षको रह्यो ।

प्रकाश अर्याल पछि प्रहरीको २६औं प्रहरी महानिरीक्षक बनेका सर्वेन्द्र खनाललाई २०७४ चैत २६ गते बसेको नेपालको मन्त्रिपरिषदको बैठकको निर्णयले प्रहरी नायव महानिरीक्षकबाट प्रहरी महानिरीक्षक पदमा बढुवा गरेको थियो । अवकास पाएपछि एमालेको राजनीतिमा संलग्न हुँदै हाल स्वतन्त्र राजनीतिमा पनि सक्रिय छन् ।

खनाल पछि ठाकुरप्रसाद ज्ञवाली नेपाल प्रहरीका २७औं महानिरीक्षक बने । उनलाई २०७६ माघ २८ मा प्रहरी नायव महानिरीक्षकबाट बढुवा गरिएको थियो । उनले करिब पाँच महिना पद सम्हालेर २०७७ असार २३ गते पदमुक्त भए ।

त्यसपछिका २८औं प्रहरी महानिरीक्षक शैलेश थापा २०७७ असार २३ देखि २०७९ बैशाख १८ सम्म जिम्मेवारी बहन गरेका थिए भने त्यसपछि भएका धीरजप्रताप सिंह २९औं प्रहरी प्रमुखमा कार्यरत रहे सिंह संगठनका अब्बल अधिकृतको पहिचान बनाएका थिए । सिंहले २०७९ बैशाखदेखि सोही वर्षको चैतसम्म नेतृत्व दिएर विदा भए । 

उनीपछि महानिरीक्षक नियुक्त भएका बसन्त कुँवर संगठनमा इमान्दार प्रहरी अधिकृतको रुपमा चिनिन्थे । कुँवरले २०५१ चैत ५ गते प्रहरी निरीक्षक पदबाट नेपाल प्रहरी सेवा प्रवेश गरेका थिए । कुँवरपछि हाल अवकास प्राप्त महानिरीक्षक हुन् दीपक थापालाई २०८१ चैत्र ५ गते नियुक्त गरेको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्