नेभिगेशन
साहित्य

‘मत्स्यकन्याको मुलुकमा’को अंग्रेजी अनुवाद सार्वजनिक

काठमाडौं । साहित्यकार रण काफ्लेको नियात्रा कृति ‘मत्स्यकन्याको मुलुकमा’को अंग्रेजी अनुवाद ‘इन द कन्ट्री अफ मत्स्यकन्या’ सार्वजनिक गरिएको छ । कृतिको अंग्रेजी संस्करण साहित्यपोस्टले प्रकाशन गरेको हो ।
समाजसेवी चिनीमाया माझीलाई मुख्य पात्र बनाएर उनको जीवन संघर्षमा आधारित उक्त कृतिको अंग्रेजी अनुवाद प्रदीप रसाइलीले गरेका हुन् । कृतिको लोकार्पण समारोहमा साहित्यकार नन्दु उप्रेती, साहित्यपोस्टका प्रधान सम्पादक अश्विनी कोइराला, अनुवादक रसाइली र मुख्य पात्र माझीले संयुक्तरूपमा कृति सार्वजनिक गरे ।
कार्यक्रममा बोल्दै साहित्यकार उप्रेतीले कृतिमा पात्रहरूलाई जीवन्तरूपमा प्रस्तुत गरिएकाले पुस्तक पठनीय बनेको बताए । माझी समुदायको जनजीवनमा आधारित कृतिको अंग्रेजी अनुवादले देश–विदेशका पाठकलाई नेपाली समाजको यथार्थसँग परिचित गराउने उनको धारणा थियो । उनले अनुवाद साहित्य ज्ञान आदान–प्रदानका लागि महŒवपूर्ण माध्यम हुने बताउँदै कृतिबाट धेरै पाठक लाभान्वित हुने विश्वास व्यक्त गरे ।
कृतिकी मुख्य पात्र चिनीमाया माझीले लेखक काफ्लेले माझी समुदायलाई केन्द्रमा राखेर कृति तयार गरी समुदायप्रति ठूलो गुन लगाएको बताइन् । कृतिको मूल्यांकन पाठकले गर्ने उल्लेख गर्दै उनले प्रकाशनमा सहयोग गरेको साहित्यपोस्टप्रति आभार व्यक्त गरिन् । अंग्रेजी संस्करणले विदेशी पाठकलाई पनि कृतिसँग परिचित गराउने उनको विश्वास थियो ।
अनुवादक प्रदीप रसाइलीले समाजसेवाको क्षेत्रमा चिनीमाया माझीको योगदान उल्लेखनीय रहेकाले कृतिमा उनलाई मुख्य पात्रका रूपमा प्रस्तुत गरिएको बताए । नियात्रा शैलीमा लेखिएको कृतिमा माझी समुदायको जीवन, संस्कृति र परिवेशलाई केन्द्रमा राखिएको उल्लेख गर्दै उनले यसले नेपालको पर्यटन क्षेत्रको प्रवर्धनमा समेत सहयोग पु¥याउने धारणा राखे ।
साहित्यपोस्टका प्रधान सम्पादक आश्विनी कोइरालाको सभापतित्वमा सम्पन्न कार्यक्रममा साहित्यकार, संगीतकार, साहित्यानुरागी, पत्रकार तथा समाजसेवीहरूको उपस्थिति रहेको थियो । २ सय १७ पृष्ठको उक्त कृतिको बिक्री मूल्य पाँच सय रुपैयाँ निर्धारण गरिएको छ । कृतिको नेपाली संस्करण भने एक वर्षअघि प्रकाशित भएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्