पृष्ठभूमि र समय सान्दर्भिकता
२०८३ असार ७ गते (२१ जुन २०२६), संसारभरि बाह्रौं अन्तर्राष्ट्रिय योग दिवस ‘स्वस्थ बुढ्यौलीका लागि योग’ तथा ‘समग्र स्वास्थ्यका लागि योग’ भन्ने मूल संकल्पका साथ मनाइयो । यो दिवस केवल एकदिने उत्सव वा औपचारिक कार्यक्रममात्र होइन, बरु आधुनिक विश्वले भोगिरहेको स्वास्थ्य संकट, जीवनशैलीजन्य विकृति र जनसांख्यिकीय रूपान्तरणलाई सम्बोधन गर्ने एउटा क्रान्तिकारी प्रस्थानबिन्दु हो ।
विशेष गरी मानव जीवनको उत्तराद्र्ध अर्थात् ज्येष्ठ नागरिकको अवस्थालाई रोग, ओछ्यान र निराशाको पर्याय मानिने आधुनिक भाष्यलाई चिर्दै योग विज्ञानले बुढ्यौलीलाई ऊर्जा, स्वावलम्बन र उत्सवको कालखण्डमा रूपान्तरण गर्न सकिने मार्गप्रशस्त गरेको छ । यो विमर्शले संसारमा प्राकृतिक चिकित्सा र योग विज्ञानको विकासमा अबका दिनमा एउटा ऐतिहासिक ‘कोल्टे फेर्ने’ निश्चित छ ।
‘स्वास्थ्य नै धन हो’ को भ्रम र यथार्थ
हामीले विद्यालय तहदेखि नै एउटा सूक्ति वाक्य खुब घोक्यौं र कण्ठ ग¥यौं—‘ स्वास्थ्य नै धन हो ।’ विडम्बना, हामीले यसको अन्तर्वस्तु र गहिराइलाई कहिल्यै आत्मसात् गरेनौं । यो केवल परीक्षा उत्तीर्ण गर्ने एउटा ‘सुगा रटाइ’ मा मात्र सीमित भयो । हामीले भौतिकतावादी अन्धवेगमा कुदेर घर, जमिन, गाडी, घोडा, सुन, चाँदी र जवाहरातलाई मात्र वास्तविक धन मानिरह्यौं र यसैका लागि आफ्नो अमूल्य स्वास्थ्यलाई दाउमा लगाइरह्यौं ।
यहाँ एउटा मार्मिक र अकाट्य विषय के छ भने, मानव जीवनको सबैभन्दा अभिन्न र इमानदार मित्र भनेको हाम्रो शरीरभित्रको आरोग्यता अर्थात् रैथाने भाषामा भनिने ‘ऐया’ नै हो । त्यो जीवन्तता छ र त हामी छौं, हामी छौं र त हाम्रा छोराछोरी, श्रीमती, समाज र भौतिक सम्पत्ति छन् । यदि स्वास्थ्य नै ढल्यो भने हाम्रो अस्तित्व मेटिन्छ र हामी नरहनुको अर्थ यो संसार, यो धनदौलत र यी नातागोता सबैको मूल्य शून्य हुनु हो । यो सत्यलाई बिर्सिएकै कारण आज आधुनिक संसारमा मानव स्वास्थ्यको अवस्था अत्यन्त नाजुक र विकराल बनेको छ ।
‘गोलीको भरमा बाँचेको जीवन’ः सक्रियता भर्सेज अस्वस्थ दीर्घायु
आधुनिक चिकित्सा विज्ञानले मानिसको औसत आयु त बढाएको छ, तर के त्यो आयु वास्तवमै सक्रिय र क्रियाशील छ त ? आज हामी बाहिरी रूपमा आफूलाई स्वस्थ भन्छौं, तर भित्री रूपमा विभिन्न नसर्ने कडा रोगहरू जस्तै— उच्च रक्तचाप, मधुमेह र मुटुरोगका शिकार भई केवल ‘गोलीको भरमा’ कृत्रिम श्वास फेरिरहेका छौं । गोलीको भरमा बाँच्नेहरूको जीवन ओछ्यान वा कुर्सीमा सीमित छ, उनीहरूको जीवनबाट प्राकृतिक सक्रियता र क्रियाशील जीवन पूर्णतः गुमेको छ । यसरी बैसाखी र रसायनका भरमा टिकेको निष्क्रिय जीवन वास्तवमा जीवन होइन, त्यो त मानव जातिका लागि एउटा अभिशाप र अर्थतन्त्रका लागि ठूलो भार हो । ‘दिगो स्वास्थ्यका लागि पूर्वीय दर्शनले निर्देश गरेको योग, ध्यान, जप, तप र नियमको विशेष भूमिका हुन्छ, जसले मानिसलाई जीवनको अन्तिम क्षणसम्म परावलम्बी हुनबाट जोगाउँछ र सक्रिय जीवन जिउने कला सिकाउँछ ।
समग्र स्वास्थ्य र प्राकृतिक चिकित्सा ः विश्वव्यापी रूपान्तरण
समग्र स्वास्थ्यका लागि योग भन्ने अवधारणाले स्वास्थ्यलाई केवल ‘शारीरिक रोगको अभाव’का रूपमा मात्र हेर्दैन । योग विज्ञानले शरीर, मन र आत्माको सन्तुलनलाई नै पूर्ण स्वास्थ्य मान्दछ । योगका आसन र षट्कर्मले शरीरका भित्री अंगहरू, ग्रन्थीहरू र रक्तसञ्चारलाई प्राकृतिक रूपमै नियमन गर्छन् । मानसिक शान्तिः प्राणायाम र ध्यानले आजको आधुनिक विश्वको महामारी मानिएको तनाव, डिप्रेसन र एन्जाइटीलाई जरैदेखि निको पार्ने सामथ्र्य राख्छ । प्राकृतिक ओखतीको पहिचानः हाम्रो आफ्नै रैथाने माटो, पानी, हावा, घाम र आकाश (पञ्चमहाभूत) मा रोग निको पार्ने अद्भूत औषधीय गुण छ । प्राकृतिक चिकित्साले यी तत्वहरूको सही संयोजनद्वारा शरीरको ‘स्व–निको पार्ने क्षमता’ लाई ब्युँझाउँछ । महँगा अस्पताल र रासायनिक औषधिका दुष्परिणामहरू भोगेका कारण संसारभरिका मानिसहरू अब प्राकृतिक चिकित्सा र योगतर्फ तीव्र रूपमा आकर्षित भइरहेका छन् । यो सर्वाधिक महŒवपूर्ण कार्यक्रमले गर्दा अबका दिनमा विश्वले स्वास्थ्य क्षेत्रमा कोल्टे फेर्ने निश्चित छ ।
स्वस्थ बुढ्यौलीः ज्येष्ठ नागरिकका लागि नवीन सञ्जीवनी
यो वर्षको नाराले संसारकै सबैभन्दा संवेदनशील समूह— ज्येष्ठ नागरिकहरूलाई सिधा सम्बोधन गरेको छ । उमेर ढल्किँदै जाँदा शारीरिक कोषिकाहरू क्षय हुनु प्रकृतिको नियम हो, तर योग र प्राकृतिक चिकित्साले यो क्षयीकरणको गतिलाई ढिलोमात्र गर्दैन, बरु बुढ्यौलीलाई ऊर्जामय बनाउँछ । अष्टांग योग र प्राकृतिक जीवनशैलीका माध्यमबाट ज्येष्ठ नागरिकहरूले लाभ प्राप्त गर्न सक्छन् । जब देशको ज्येष्ठ नागरिक हिस्सा स्वस्थ र क्रियाशील हुन्छ, उनीहरू परिवारका लागि भार होइन, बरु आफ्नो अगाध अनुभव र ज्ञानका कारण समाजका मार्गदर्शक र संवाहक बन्दछन् । उमेरले कहिल्यै पनि श्रम गर्न छेक्दैन, श्रम गर्न छेक्ने त केवल बिग्रिएको स्वास्थ्यले हो । योगले बुढ्यौली उमेरमा पनि श्रम गर्न सक्ने सामथ्र्य प्रदान गर्दछ ।
लगानीको ढाँचा र नेपाल जस्ता गरिब देशका लागि विकल्प
नेपाल जस्तो अल्पविकसित र गरिब देशका लागि, जहाँ बहुसंख्यक नागरिकको पहुँचमा आधुनिक र महँगो स्वास्थ्य सेवा छैन, त्यहाँ योग र प्राकृतिक चिकित्सा एउटा अनिवार्य राष्ट्रिय नीति बन्नुपर्छ । आज नेपालका सरकारी वा निजी अस्पतालमा उपचार गराउन जानु भनेको सर्वसाधारणका लागि घरखेत सिध्याउनु वा ऋणको खाडलमा भासिनु सरह भएको छ । यस्तो अवस्थामा राज्यका लागि सबैभन्दा भरपर्दो, सस्तो, दिगो र सबैको पहुँचमा पुग्न सक्ने उत्तम विकल्प नै योग, जप, ध्यान, यम र नियम हुन् ।
सरकारले नागरिकलाई स्वस्थ राख्न अब केवल आधुनिक अस्पतालका भवन र महँगो उपकरण आयात गर्नमा मात्र वैदेशिक मुद्रा खर्च गर्ने होइन, बरु लगानीको प्राथमिकता बदल्नुपर्छ । अब महँगा अस्पताल र आधुनिक उपकरणहरूमा अत्यधिक लगानीको साटो प्राकृतिक चिकित्सालय योग केन्द्रहरूको देशव्यापी सञ्जाल बन्नुपर्छ । रासायनिक औषधि र क्युरेटिभ उपचारात्मक पद्धतिको सट्टा जैविक कृषि, पथ्य अपथ्य र प्रिभेन्टिभ प्रतिकारात्मक पद्धतिको अनुशरण गर्नुपर्छ । नागरिकलाई परनिर्भर र औषधिमा आधारित बनाउनुको सट्टा नागरिकलाई शारीरिक श्रम र योगद्वारा आत्मनिर्भर बनाउने र वैदेशिक प्रविधि र महँगो आयातमा आधारित रासायनिक ओखतीको सट्टा प्रकृतिमा आधारित आत्मनिर्भर अर्थतन्त्रमा बदल्नुपर्छ । यसका साथसाथै अर्काे निरोगी रहने मुख्य विषय हो हाम्रो खाना । अझ भन्नुपर्दा विषादीरहित जैविक खाद्य वस्तु । सरकारले अब प्राकृतिक चिकित्सा, योग र जैविक कृषिमा लगानी बढाउनुपर्छ तब बुढ्यौलीमात्रै होइन, मानव जातिको सम्पूर्ण जीवन स्वस्थ हुन्छ । ऊ सुखीमात्रै होइन, श्रमशक्तिका माध्यमले सम्पन्न पनि हुन्छ ।
वैश्विक कल्याणमा रैथाने ज्ञानको भूमिका
यो विधाको प्रयोगले संसारका गरिब देशका नागरिकहरू विशेष लाभान्वित हुने कार्यक्रम अन्तर्राष्ट्रियस्तरमा नै ल्याउन सके यसले मानव जातिको कल्याणमा खेल्ने भूमिका र प्रभाव अवर्णनीय हुन्छ । नेपाल त झन् ऋषिमुनिहरूको तपोभूमि र प्राकृतिक चिकित्साको जननी हो । हामीसँग जल, जमिन, जडिबुटी र रैथाने योग संस्कृति प्रचुरमात्रामा उपलब्ध छन् ।
हाम्रो स्थानीय स्तरमा स्थापित सामुदायिक प्राकृतिक चिकित्सालयले यस १२औं अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा आयोजना गरेको योग अभ्यासका विविध रचनात्मक कार्यक्रमहरू तथा रक्तदान जस्तो महान् र मानवीय कार्य आफैँमा अनुकरणीय छन् । यस्ता सामुदायिक प्रयासहरूलाई राज्यले राष्ट्रिय नीतिमा समेट्नु पर्छ ।
निष्कर्ष
घर, जमिन, गाडी, सुन, गहना र छोराछोरी परिवार धन होइन, धन भनेको व्यक्तिको आफ्नै स्वास्थ्य हो भन्ने विषयलाई यदि सबै उमेर समूहका नागरिकहरूले आत्मसात् गर्ने वातावरणको सुरुवात हुन सक्यो भने मात्र अन्तर्राष्ट्रिय योग दिवस र यस वर्षको नाराले सार्थकता पाउनेछ ।
हाम्रो आफ्नै माटो, पानी र हावामा लुकेको औषधीय गुणलाई पहिचान गरी ‘गरौं योग, भगाऔं रोग’ को नारालाई व्यवहारमा उतारौं । अन्तर्राष्ट्रिय योग दिवसको यो चेतनाले संसारलाई रासायनिक कुलत र स्वास्थ्यको व्यापारीकरणबाट मुक्त गरी ‘सर्वे भवन्तु सुखिनः, सर्वे सन्तु निरामयाः’ को शाश्वत सत्यतर्फ डो¥याउनेछ । आगामी दिनमा विश्वले स्वास्थ्य र चिकित्साको क्षेत्रमा एउटा नयाँ र सुनौलो कोल्टे फेराउने निश्चित छ । जय संस्कृति, जय प्रकृति ।
(लेखक ढकाल प्राकृतिक योग विज्ञानका जानकार हुन् ।)