परिवर्तनको सपना देख्ने र त्यसलाई साकार पार्ने आँट अनि साहस मलाई यही चितवनको माटोले दिएको हो । ‘म’ बाट ‘हामी’ बन्ने प्रेरणा पनि मलाई यही भूमिबाट प्राप्त भयो । त्यसैले, यो पवित्र देवभूमि चितवनलाई नमन गर्दै यहाँहरूलाई पुनः हार्दिक स्वागत गर्दछु ।
उपस्थित आदरणीय महानुभावहरू, रास्वपाको निमन्त्रणालाई स्वीकार गरेर विभिन्न राजनीतिक दलबाट आउनुभएका तमाम नेतागणहरूलाई म स्वागत गर्दै यहाँहरूको उपस्थितिका लागि हार्दिक आभार व्यक्त गर्दछु ।
आज हामी जहाँ आइपुगेका छौं, यो यात्रा यहाँसम्म ल्याउन धेरैको त्याग र बलिदान परेको छ । विभिन्न कालखण्डमा भएका परिवर्तन र बलिदानीकै जगमा आज हामी उभिएका छौं । म ती तमाम सहिदहरूप्रति श्रद्धासुमन अर्पण गर्दछु, जसले देशका लागि आफ्नो जीवन उत्सर्ग गर्नुभयो । साथै, शरीरभरि छर्रा र घाउ बोकेर पनि देश परिवर्तनको हुटहुटीका साथ राजनीतिमा सक्रिय रहनुभएका घाइते योद्धाहरूलाई पनि सम्मानपूर्वक स्मरण गर्दछु ।
रास्वपा आज एउटा यस्तो साझा मञ्च बनेको छ, जहाँ अधिकांश गैर–राजनीतिक पृष्ठभूमिबाट आउनुभएका व्यक्तित्वहरू हुनुहुन्छ । यो हाम्रो रहर नभई बाध्यता थियो । हामीले पटक–पटक आफ्ना कुरा राख्यौं, तर सुनिएन । टेलिभिजनको पर्दाबाट भन्यौं, सुनिएन । राजनीतिको मैदानमा आउँदा भन्यौं, सुनिएन । यहाँसम्म कि जेलको कालकोठरीबाट भन्दा पनि सुनिएन ।
आज चितवनमा केही गर्मी छ । तर, ठिक एक वर्षअघि पार्टी स्थापना दिवस मनाउँदै गर्दा मसँग तपाईंहरूसँग संवाद गर्ने कुनै माध्यम थिएन । भैरहवामा योभन्दा बढी गर्मी थियो । अरूका लागि जेल एउटा ठूलो हाता हुन्थ्यो होला, तर मेरो लागि त एउटा साँघुरो कोठा (गोलघर) नै जेल बनाएर सरकारले मलाई ‘विशेष सुविधा’का साथ राखेको थियो ।
त्यसबेला मैले तपाईंहरूलाई धेरै सम्झेको थिएँ । आज म तपाईंहरूलाई धन्यवाद भन्न चाहन्छु कि मेरो त्यो आवाज सुनियो । मलाई गत वर्ष भैरहवा कारागारबाट लेखेको एउटा सन्देशको याद आउँछ । मैले भनेको थिएँ— ‘एक दिन जनताले तपाईंहरूको हातमा भएको तस्करले दिएको घडी खोस्नेछन् र त्यहाँ हतकडी लगाउनेछन् ।’
आज परिस्थिति बदलिएको छ । यो बदलिएको परिस्थितिले हामीलाई देशको शक्तिशाली पार्टी बनाएको छ । तर, शक्तिशाली हुनु भनेको दम्भ गर्ने वा प्रतिशोध साँध्ने लाइसेन्स पाउनु होइन भन्ने कुरा रास्वपालाई राम्रोसँग थाहा छ ।
रास्वपा प्रतिशोध र दम्भभन्दा माथि उठेर नागरिक जिम्मेवारी पूरा गर्ने अदम्य जनमतका साथ उपस्थित भएको छ । म मञ्चमा आसिन नेपाली राजनीतिका शीर्ष नेतृत्वहरूलाई साक्षी राखेर भन्न चाहन्छु– ‘निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा सुरक्षित छ ।’
लोकतन्त्रका स्थायी मान्यता, शक्ति पृथकीकरणको सिद्धान्त, संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र, नागरिक अधिकार, मानव अधिकार र समावेशी समाजका उपहारहरू हामीलाई अघिल्लो पुस्ता र तपाईंहरू जस्ता नेतृत्वले नै दिनुभएको हो । हामी यी उपलब्धिहरूको जगेर्ना गर्नेछौं र यसको परिधिभन्दा बाहिर जाने छैनौं । यसअघिका आन्दोलनहरूको तिरस्कार गर्ने साहस हामीमा छैन र त्यस्तो कदम हामी कदापि चाल्ने छैनौं ।
म यहाँहरूलाई एउटा सानो अनुरोध गर्न चाहन्छु— राष्ट्रिय राजनीतिमा आफ्नो दल मात्र ठिक भएर पुग्दैन, सबै दलहरू सही बाटोमा हुनुपर्छ । विशेषगरी दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमालेभित्र देखिएका आन्तरिक जटिलताहरू उहाँहरूको मात्र नभई देशकै समस्या बन्न सक्छन् । मेरो शुभकामना छ, आफ्ना आन्तरिक समस्याहरू सुल्झाउनुहोस् ।
हामी अब प्रतिस्पर्धी मात्र होइन, सहयात्री बन्नुपर्छ । हाम्रा व्यक्तिगत वैमनस्यताहरूलाई त्यागेर फराकिलो हृदयका साथ अगाडि बढ्नुपर्ने बेला आएको छ । हामीले एक–अर्कालाई भन्दा पनि इतिहासलाई जवाफ दिनुपर्नेछ । देशको हितका लागि हाम्रा निजी स्वार्थ र दम्भहरूलाई त्याग्दै सहकार्यको बाटो रोज्नु अनिवार्य छ ।
यस ऐतिहासिक अवसरमा म रास्वपा परिवारका साथीहरूलाई एउटा कुरा स्मरण गराउन चाहन्छु । जलेश्वर बैठकमा मैले भनेको थिएँ — ‘रास्वपा लड्यो भने आफ्नै खुट्टामा अल्झिएर लड्छ, अरू कसैको तागतले यसलाई लडाउन सक्दैन ।’
आज गुट र उपगुटको राजनीति गर्ने प्रचलन कतै हामीभित्र पनि नपसोस् । यदि हामीले गुटबन्दीको बिउ रोप्यौं भने त्यसले भोलि विषालु फल दिनेछ । वरिष्ठ नेताज्यूले भन्नुभएझैं, त्यस्तो अवस्था आएमा हामीले त्यो वृक्ष नै काट्नुपर्ने हुन सक्छ । हामी अहिले सही समयमा छौं । कस्तो बिउ रोप्ने भन्ने निर्णय हाम्रै हातमा छ । यदि हामी गुटबन्दीबाट मुक्त भएर अगाडि बढ्यौं भने रास्वपालाई लडाउन सक्ने कुनै शक्ति हुनेछैन ।
त्याग र बलिदान अरूले गर्दा खुसी हुने तर आफूले गर्नुपर्दा दुःख मान्ने प्रवृत्तिबाट हामी सचेत रहनुपर्छ । यस महाधिवेशनले हामी बीचका कुनै पनि वैमनस्यतालाई अन्त्य गर्नेछ भन्ने मेरो विश्वास छ ।
रास्वपाको दुई–तिहाइको सरकार बनेको छ । पार्टी यसप्रति पूर्ण प्रतिबद्ध र सचेत छ । हामी लोकतन्त्रका आधारभूत मान्यताबाट विचलित हुने छैनौं । विचार, सिद्धान्त र आदर्शलाई स्पष्ट पार्दै लैजाने हाम्रो निरन्तरको प्रक्रिया हो । मलाई विश्वास छ, अब रास्वपाका दस्ताबेजहरूलाई विद्वत् समूहले गहन रूपमा अध्ययन र विश्लेषण गर्नेछन् । हाम्रा साथीहरूले स्वस्थ र स्वच्छ प्रतिस्पर्धा गर्नुहुनेछ ।
सरकार जुन आशा र भरोसामा उभिएको छ, त्यसमा खरो उत्रिने प्रयास हुनेछ । हामीलाई लडाउने वा फुटाउने अनेकौ प्रयास होलान्, तर हामीले जनता र इतिहासलाई साक्षी राखेर जे सहमति गरेका छौं, त्यसलाई इमानदारिताका साथ पालना गर्ने प्रण गर्दछु ।
सरकार सञ्चालनका लागि रास्वपाले चुनावअघि नै वरिष्ठ नेता वालेन्द्र शाहको खुट्टामा बल पु¥याइसकेको छ । अब गोल गर्ने जिम्मा बालेनजीकै हो । उहाँले यसलाई निरन्तरता दिइरहनुभएको छ । झुक्किएर कतै त्यो बल मतिर आएछ भने पनि म त्यसलाई उहाँकै खुट्टामा पास गरिदिनेछु । यहाँ चुक्ली लगाउने र मुख मिठ्याउनेहरू धेरै छन्, तर म उनीहरूलाई होइन, इतिहासलाई जवाफ दिन उभिएको हुँ ।
भोलि हाम्रा सन्ततिले सोध्नेछन् — ’इतिहासले यति ठुलो अवसर दिँदा तिमीहरूले किन गुमायौ ?’ हामी त्यो प्रश्नको सामना इमानदारिताका साथ गर्न चाहन्छौं । यो अवसर हामी आफ्ना लागि होइन, आउने पुस्ताका लागि सदुपयोग गर्न चाहन्छौं ।
पार्टीभित्र समस्याहरू आउन सक्छन् । हाम्रो पार्टी विभिन्न पृष्ठभूमि र दलबाट आउनुभएका साथीहरूको सम्मिश्रण हो । राजनीतिक आबद्धता तत्कालको लाभका लागि हुनु हुँदैन । आज रास्वपामा लहर छ, पद पाइएला वा चुनाव जितिएला भन्ने लोभ पनि होला । तर, यदि कुनै दिन पार्टीले आठ–दश वर्ष विद्रोह गर्नुपर्छ भन्यो भने के हामी तयार छौं ? हामी ’छौं’ त भन्छौं, तर आजैदेखि पद र गुटका लागि लाग्यौं भने इतिहासले धिक्कार्नेछ ।
मलाई व्यक्तिगत रूपमा केही चाहिएको छैन । संस्थापक सभापतिका नाताले मेरो एउटै कामना छ — एउटा सानो पदका लागि आपसमा झगडा गरेको र षडयन्त्रको राजनीति गरेको दृश्य कम्तीमा म बाँचुन्जेल हेर्नु नपरोस् । जसले जिते पनि आखिर ‘घण्टी’ले नै जित्ने हो, रास्वपाले नै जित्ने हो । ‘आफ्नालाई जिताउने’ भन्दा पनि ‘जितेकाहरू हाम्रा हुन्’ भन्ने भावना राख्यौं भने हामी विशाल रास्वपा बन्नेछौं । विभिन्न दलबाट आउनुभएका साथीहरूको त्यागको सम्मान गर्दै, बदलिएको परिस्थितिमा हामी सबैको साझा प्रतिबद्धता हुनुपर्ने कुरा स्पष्ट पार्न चाहन्छु ।
अन्त्यमा, पार्टी स्थापना दिवसका दिन मेरो जीवनसंगिनीले भन्नुभएको थियो — ‘म घर चलाउँछु, तिमी देश सम्हाल ।’ यो चार वर्षको यात्रामा देश चलाउनभन्दा गाह्रो घर चलाएर मेरो हरेक संघर्षमा मलाई साहस दिने र कहिल्यै नझुक्ने मेरो अर्धाङ्गिनीलाई म हृदयदेखि धन्यवाद दिन्छु ।
साथै, मृत्युशड्ढयाबाट फर्कनुभएकी मेरी ६४ वर्षीया दिदीको एउटा कुरा सम्झन्छु । जब राज्यले ममाथि ज्यादती गरिरहेको थियो, छिमेकीले उहाँलाई ‘तिम्रो भाइलाई त मार्छन् कि क्या हो’ भन्दा दिदीले भन्नुभएछ – ‘मारेछन् भने मेरो भाइ सहिद हुन्छ, चिन्ता नगर ।’
(चितवन महाधिवेशन उद्घाटनमा लामिछानेको मन्तव्यबाट)