नेभिगेशन
प्रदेश

प्रधानाध्यापकको निर्णयले जोगियो नौ सय विद्यार्थीको ज्यान

विदुर (नुवाकोट)– कक्षाकोठामा पढाइ चलिरहेको थियो । माथिबाट बाढी आइरहेको खबर विद्यालयमा आइपुग्यो । खबर पूर्णरूपमा पुष्टि भइसकेको थिएन । तर, त्रिशूली माध्यमिक विद्यालयका प्रधानाध्यापक राजेन्द्र दवाडीसँग निर्णय गर्न धेरै समय थिएन ।
एक शिक्षकले दौडिँदै आएर त्रिशूली उपत्यकामा बाढीले घर, पुल र बस्ती बगाउन थालेको बताए । लगत्तै अर्का शिक्षकलाई फोनमार्फत पनि त्यस्तै सूचना आयो । केही बेरमै एक विद्यार्थीका अभिभावक आफ्नो बच्चा लिन विद्यालय पुगे ।
खतरा कति ठूलो छ भन्ने यकिन नभए पनि दवाडीले जोखिम मोल्न चाहेनन् । उनले तुरुन्तै विद्यालयको घण्टी बजाए र विद्यार्थी तथा कर्मचारीलाई भवनबाट बाहिर निस्केर सुरक्षित अग्लो स्थानतर्फ जान निर्देशन दिए ।
‘मैले तत्काल विद्यालय बन्द गर्ने र बच्चाहरूलाई बाहिर निकाल्ने निर्णय गरें,’ गत बुधबारको घटना स्मरण गर्दै दवाडीले भने ।
विद्यार्थीहरू सुरक्षित स्थानतर्फ लागिरहेका थिए । दवाडी पनि उनीहरूकै पछि लागेर नजिकैको डाँडामा पुगे । उनी सुरक्षित स्थानमा पुग्दासम्म पछाडिबाट बाढीको भेल तीव्र गतिमा बढिरहेको थियो ।
डाँडाबाट उनले विद्यालयतर्फ फर्केर हेरे, जसमा कुनै बेला आफैं विद्यार्थी भएर शिक्षा लिएका थिए । त्यही विद्यालयमा उनले वर्षौं शिक्षकका रूपमा बिताएका थिए । तर, केही क्षणमै विद्यालय भवन माटो, ढुंगा, काठ र बाढीको विशाल भेलभित्र हरायो । विद्यालयका दुई कर्मचारी भने समयमै सुरक्षित स्थानमा पुग्न सकेनन् । उनीहरू अझै बेपत्ता छन् ।
गत बुधबार हिमालय क्षेत्रमा हिमपहिरो खसेपछि भोटेकोशीहुँदै आएको विनाशकारी बाढीले नेपाल र चीनमा ठूलो क्षति पु¥याएको थियो । यही बाढीका बीच दवाडीले गरेको तत्कालको निर्णयले कम्तीमा ९ सय विद्यार्थीको ज्यान जोगिएको छ । विद्यालयमा कुल १ हजार ६ सय ४३ विद्यार्थी अध्ययनरत थिए । बाढी आएको बिहान करिब ९ सय विद्यार्थी  परिसरमा थिए भने केही विद्यार्थी विद्यालय आउँदै थिए ।
विद्यार्थीलाई तत्काल बाहिर निकाल्नुका साथै दवाडीले बस चालकहरूलाई फोन गरेर विद्यालयतर्फ नआउन पनि भने । एउटा विद्यार्थी बोकेको बस भने त्यतिबेलासम्म विद्यालय पुगिसकेको थियो । दवाडीले चालकलाई तत्काल फर्किन आग्रह गरे ।
बस नयाँ निर्माण गरिएको पुल पार गरेर फर्किएको केही क्षणमै त्यससँगै रहेको पुरानो पुल बाढीले बगायो । विद्यालय बगाएको दृश्य दवाडीका लागि अरूभन्दा बढी पीडादायी थियो । विद्यालय उनको काम गर्ने ठाउँ मात्र थिएन, उनको जीवनको महŒवपूर्ण हिस्सा थियो ।
‘मसँग कुनै शब्द छैन । मैले यही विद्यालयबाट शिक्षा पाएँ । अनि यही विद्यालयमा शिक्षा दिएँ,’ उनले भने ।
दवाडीको विद्यालय बगेको घटना उत्तरी नेपालमा बाढीले पु¥याएको ठूलो शैक्षिक क्षतिको एउटा उदाहरण मात्र हो । बाढीपहिरोका कारण हजारौं बालबालिका विद्यालय जानबाट वञ्चित भएका छन् । कतिपय विद्यालय पूर्णरूपमा बगेका छन् भने कतिपयमा पढाइ सञ्चालन गर्न सक्ने अवस्था छैन ।
बालअधिकारसम्बन्धी संस्था सेभ द चिल्ड्रेनका अनुसार उत्तरी नेपालका कम्तीमा ६९ विद्यालय पूर्णरूपमा ध्वस्त भएका छन् । यसबाट करिब १९ हजार विद्यार्थीको पढाइ प्रभावित हुने जोखिम छ ।
दवाडीको निर्णयलाई अहिले धेरैले साहस र सुझबुझको उदाहरणका रूपमा लिएका छन् । बाढी गएको केही दिनपछि उनी विद्यालय रहेको स्थानमा फर्किए । त्यहाँ पुगेपछि विद्यार्थीका अभिभावकले उनलाई अँगालो हालेर धन्यवाद दिए ।

‘उनीहरूका अभिभावकले मलाई अँगालो हाले । उनीहरू मसँगै रोए,’ दवाडीले भने, ‘उनीहरू निकै भावुक थिए ।’
१४ वर्षीया विद्यार्थी सुविना तामाङले विद्यालयबाट विद्यार्थीहरूलाई निकालिसकेपछि केही समयमै भवन बाढीले बगाएको बताइन् । ‘उहाँलाई भेट्दा मेरो ज्यान बचाइदिनुभएकोमा धन्यवाद दिनेछु,’ उनले भनिन् ।
तर दवाडी आफूलाई नायक मान्न तयार छैनन् । विद्यार्थीलाई सुरक्षित बनाउनु आफ्नो जिम्मेवारी भएको उनको भनाइ छ । अब उनको अगाडि अर्को चुनौती छ, बाढीको त्रासबाट विद्यार्थीलाई बाहिर निकाल्नु र उनीहरूको पढाइ पुनः सुरु गर्नु । उनका अनुसार विद्यार्थीलाई मनोवैज्ञानिक परामर्श आवश्यक छ । त्यसपछि विद्यालय अस्थायी रूपमा अन्यत्र सार्नुपरे पनि कक्षा सञ्चालन गर्नुपर्ने छ ।
सरकारसँगको उनको आग्रह छ, ध्वस्त भएका विद्यालय पुनर्निर्माण गरियोस् र बालबालिकालाई सकेसम्म छिटो कक्षाकोठामा फर्काइयोस् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्