दस वर्षअघि म ब्रोंक्सस्थित मोन्टेफिओर मेडिकल सेन्टरको अपरेशन कक्ष दौडिँदै थिएँ । मेरी पत्नी शेरोन स्ट्रेचरमा थिइन् र उनलाई अन्य मेडिकल सहयोगीसँगै मैले स्ट्रेचरलाई धकेलिरहेको थिएँ । स्ट्रेचर बिस्तारै अगाडि बढिरहेको थियो र म अधैर्यका साथ सँगै हिँड्ने प्रयास गरिरहेको थिएँ । मानौं साथ छोडें भने केही अपूरणीय कुरा नछुटोस् ! अपरेशन कक्षको ढोका बन्द हुनै लाग्दा एउटी नर्सले सानो प्लास्टिकको झोलामा राखिएको शेरोनको साइँली औंलामा लगाएको विवाहको औंठी मेरो हातमा राखिदिइन् ।
त्यो औंठी हातमा समातेको क्षण मलाई यस्तो लाग्यो, मानौं हाम्रो प्रेमकथाको अन्त्य हुनै लाग्यो । तर जीवनको कथा त्यति सजिलै टुंगिँदैन रहेछ । अझै एउटा अप्रत्याशित मोड बाँकी नै थियो ।
शेरोन बिहान बिहान फिटनेस कक्षा लिन रुचाउँथिन् । त्यहाँ अभ्यास गरिरहँदा उनको टाउकोभित्रको एउटा धमनी अचानक फुट्यो । रगत मस्तिष्कको अगाडिको भागमा फैलिएको थियो । अस्पतालमा शल्यक्रिया सफल त भयो तर त्यसपछि उनी पहिलेकी जस्तो रहिनन् । उनलाई बोल्न गाह्रो भयो, हिँड्न अस्थिर हुन थालिन्, उनलाई ध्यान केन्द्रित गर्न झन् कठिन हुन थाल्यो ।
उनको स्वास्थ्य सुधारका लागि चिकित्सकहरूले सबै किसिमका इलेक्ट्रोनिक उपकरणबाट टाढा रहन कडाइका साथ भने । कामका लागि फोनमा व्यस्त नहुनू, व्यक्तिगत सम्पर्कका लागि पनि फोनबाट टाढै रहनू, ट्याबलेट त झनै नछुनू, अनि ल्यापटपलाई हातै लगाउनू ।
यस्तो अवस्थामा उनले गर्न सक्ने एउटा मात्र काम बाँकी थियो, किताब पढ्नु । उनको अवस्थालाई मेडिकलको भाषामा ‘एन्युरिज्म’ भनिन्छ । यस्तो मेडिकल अवस्थाकी शेरोनले बिरामी हुनुअघि कहिल्यै पनि कथा–उपन्यास पढ्ने समय निकालेको मलाई थाहा थिएन । उनी व्यस्त टेलिभिजन पत्रकार थिइन् । उनलाई आख्यानले भन्दा गैरआख्यान आकर्षित गथ्र्यो । उनलाई पत्रकारितामा तिनै चिजबिजहरू कम पनि लाग्थे । पत्रकारिताको व्यस्त जीवनमा उनले प्रायः तथ्य र अनुभवमा आधारित पुस्तक नै बढी पढेको मैले देखेको थिएँ ।
अस्पतालबाट फर्किएपछि भने उनको पढ्ने बानी एकाएक बदलियो । उनी पट्यारलाग्दा दिनहरूमा उपन्यासहरू पढ्न थालिन् । उपन्यास पनि उनले खास किसिमका नै छनोट गर्थिन् र सबै प्रेमकथामा आधारित उपन्यास थिए ।
उनको यो नयाँ रुचिले मलाई अचम्ममा पा¥यो । मेरो मनमा प्रश्न उठ्यो, के म यति कमजोर पति थिएँ कि उनलाई प्रेम खोज्न किताबका पानातिर भौंतारिनु प¥यो ? के मैले उनलाई पहिलेभन्दा अझ बढी माया गरिरहेको छैन र ? मैले उनलाई सोधेँ पनि, ‘प्रिये, के मेरो प्रेम कमजोर हुन थालेको हो ?’
उनी हाँसिन् । यो हाम्रो सम्बन्धको कमजोरी थिएन । उनको स्वास्थ्य सुधारको यात्रा थियो । उनको एउटा सानो अनुरोध थियो, ‘मलाई राम्रा प्रेमकथाका किताबहरू ल्याइदेऊ न है ?’
अनलाइनबाट किताब मगाउने बेलामा उनलाई किताब छान्न सास्ती परिरहेका बेला मैले उनलाई ब्राउज गरेर सघाउँथें । तर समस्या के थियो भने, मलाई प्रेमकथामा आधारित उपन्यासहरू मन पर्दैन थियो । अब मन नपर्ने विधाका राम्रा किताब कसरी छान्ने त ?
उदेकको कुरा के छ भने, प्रेमकथा मन नपराउनेमा म मात्र एक्लो थिइनँ । मेरो वरपर पनि रोमान्टिक उपन्यास रुचाउने साथीभाइ थिएनन् । यो विधाले अत्यधिक व्यावसायिक सफलता पाए पनि समालोचकको निकै कम सम्मान पाउने गर्छ । खासगरी पुरुष पाठकबीच । प्रख्यात साहित्यकार मार्क ट्वेनको एउटा प्रसिद्ध टिप्पणी छ । उनले भनेका थिए, ‘जेन अस्टेनका प्रेमिल किताब नभएको पुस्तकालय सबैभन्दा राम्रो पुस्तकालय हो ।’
तर म पुस्तक पसल धाउन थालें । वेबसाइटहरूमा दौडन थालेँ । सूचीहरू नियाल्न थालेँ । शेरोनको मस्तिष्क आघातबाट फर्किनु एक्लो यात्रा हो र उनका लागि किताब खोज्नु मेरो आफ्नै मौलिक तरिकाको ऊसँगै हिँड्नुजस्तो थियो ।
म आफैं उपन्यासकार र पत्रकार भएकाले शेरोन मेरो रोजाइमा भरोसा गर्थिन् । बिस्तारै, अलि अनिच्छा, अलि जिज्ञासासहित, मैले प्रेमकथाको संसार बुझ्न थालें ।
अनलाइन समुदाय, टेलिभिजनको रूपान्तरण, सामाजिक सञ्जालका बूक टक, बूकाहोलिक्सजस्ता पुस्तक समूह सबैले प्रेमकथालाई नयाँ पाठक जन्माइरहेका थिए । पाठकहरूले रोमान्स विधालाई नयाँ–नयाँ उपविधा थपिरहेका थिए । खेलाडीहरूको प्रेम, कल्पनासँग मिसिएको रोमान्स, विभिन्न अन्तरदेशीय प्रेमकथा छान्ने क्रममा मैले बुझें कि सबैमा एउटा समान कुरा थियोः भावना ।
शेरोनलाई प्रेमकथा अन्तर्राष्ट्रिय हुनु मन पथ्र्यो । भनाइको अर्थ, फरक फरक देशका पात्रहरू अचानक प्रेममा पर्थे । कहिलेकाहीँ कथा तास्मानियाका विश्वविद्यालयमा पुग्थ्यो, कहिलेकाहीँ यहूदी पर्वको पृष्ठभूमिमा । प्रेमकथामा संस्कृतिको कुनै सीमा थिएन ।
धेरै साहित्यिक लेखक भन्छन्, ‘म पाठकका लागि होइन, आफ्नै लागि लेख्छु ।’ तर शेरोनलाई प्रेमकथाहरू छान्दाछान्दै मैले के बुझेँ भने सफल प्रेमकथाका लेखकहरू पाठकको चाहना बुझेर लेख्छन् । उनीहरू कथा मात्र होइन, सम्बन्ध पनि बनाउँछन् ।
मलाई पछि थाहा भयो, वास्तवमा प्रेमकथा लेख्न सजिलो छैन । ‘म तिमीलाई माया गर्छु’ भन्न त गाह्रो हुन्छ भने, त्यसैमा हजारौं शब्द लेख्नु कति कठिन होला ! तर प्रेमकथाको काम गहिरो हुन्छ । यसले हामीलाई सोध्छ, हामी कसलाई रोज्छौं ? कस्तो जीवन चाहन्छौं ? हामी आफैं को हौं ?
शायद यही कारणले प्रेमकथाले शेरोनलाई निको हुन मद्दत ग¥यो । उनी पीडाबाट बाहिर निस्किन चाहन्थिन्, अर्को पीडाको कथा पढ्न होइन । उनी उपचार चाहन्थिन् र सुखद अन्त्य पनि ।
महिनौंको उपचारपछि उनी निको भइन् । उनको उपन्यास पठनले उनको जीवनको बकोध्यानम् फर्कियो । जीवनको सन्तुलन फर्कियो र उनी काममा फर्किइन् । अहिले उनी हरेक वर्ष ब्रेन एन्युरिज्म फाउन्डेशनका लागि सहयोग जुटाउन भनेर पाँच किलोमिटर दौड आयोजना गर्छिन् ।
म अहिले पनि उनका लागि नयाँ प्रेमकथा खोजिरहन्छु । ‘मलाई एन्युरिज्मबाट प्रेमकथात्मक उपन्यासले बचाए,’ उनी यो भनिरहेकी हुन्छिन् र वास्तवमा त्यो सही पनि हो ।
उनलाई थाहा छ, जीवन किताबजस्तो हुँदैन । सुखद् अन्त्य सजिलो हुँदैन । कहिलेकाहीँ पुरानो जीवन समाप्त हुन्छ र त्यसको ठाउँमा नयाँ जीवन आउन सक्छ । त्यो नयाँ जीवन सानो हुनसक्छ, साधारण देखिनसक्छ तर अमूल्य हुनसक्छ– ठीक शेरोनकै जस्तो ।
हिँड्न सक्नु, बोल्न सक्नु, हाँस्न सक्नु र प्रेमकथा पढ्न सक्नु कति अमूल्य जीवन हो भन्ने कुरा त्यो गर्न नसकिरहेकालाई सोध्नू !
(लेखक सी.जे. फार्ले वाल स्ट्रिट जर्नलका लागि साहित्य विशेषांकमा लेख्ने गर्छन् ।)