मध्यपूर्वमा फैलिएको इरान–अमेरिका–इजरायल तनावले खाडी क्षेत्रलाई युद्धले लपेट्ने आशंका गरिएको थियो तर अधिकांश छिमेकी राष्ट्रले प्रत्याक्रमण गर्नबाट जोगिइरहेका छन् । इरानले लगातार मिसाइल आक्रमण जारी राख्दा पनि कतार, संयुक्त अरब इमिरेट्स, साउदी अरब लगायत देशहरू संयमित देखिएका छन् । विश्लेषकहरूका अनुसार यसको कारण केवल सैन्य डर मात्र होइन, आर्थिक जोखिम, रणनीतिक गणित र क्षेत्रीय अस्थिरताको भय हो ।
इजरायलले इरानको साउथ पार्स ऊर्जा क्षेत्रमा आक्रमण गरेपछि इरानले कतारको रास लाफान ऊर्जा केन्द्रलाई निशाना बनाएको थियो । ती दुवै ठाउँ विश्वकै ठूलो प्राकृतिक ग्यास क्षेत्रसँग जोडिएका छन् । यस्तो संवेदनशील पूर्वाधारमाथि आक्रमण हुँदा पनि खाडी राष्ट्रहरूले प्रत्यक्ष युद्धमा उत्रिन नचाहनु अर्थपूर्ण मानिएको छ ।
विश्लेषक सिना तूसीका अनुसार खाडी देशहरूका लागि यो उनीहरूको युद्ध होइन । यदि उनीहरूले प्रतिकार गरे भने उनीहरू सानो लक्ष्यबाट ठूलो निशाना बन्न सक्छन् । ऊर्जा संरचना, समुद्री व्यापार र विदेशी लगानीमा निर्भर अर्थतन्त्र भएका यी देशहरूका लागि युद्धको मूल्य फाइदाभन्दा बढी महँगो पर्न सक्छ ।
पर्सियन गल्फ र होर्मुज जलडमरूमध्य विश्व अर्थतन्त्रका लागि अत्यन्त महŒवपूर्ण बाटो हुन् । इरानले यही क्षेत्रलाई दबाबको साधन बनाउँदै आएको छ । यदि युद्ध फैलियो भने तेल आपूर्ति, व्यापार र वित्तीय बजारमा ठूलो धक्का लाग्ने सम्भावना छ ।
तर केही रणनीतिक विश्लेषकहरू भने खाडी राष्ट्रहरूको मौनता जोखिमपूर्ण हुनसक्ने बताउँछन् । उनका अनुसार यदि इरानलाई कुनै प्रतिक्रिया नआएमा उसले थप आक्रमण गर्न हिम्मत पाउन सक्छ । जवाफी कारबाहीको उद्देश्य युद्ध फैलाउनु होइन, भविष्यका आक्रमण रोक्ने सन्देश दिनु हो ।
खाडी देशहरूले जवाफी हमला नगर्नुको पछाडिको अर्को कारण इतिहासले पढाउको पाठ पनि हो । सन् २००३ मा अमेरिकाले इराकमा आक्रमण गरेपछि त्यहाँ जुन सत्ता शून्यताको अवस्था सिर्जना भयो, त्यसले लामो समयसम्म हिंसा, विद्रोह र अस्थिरताको चक्र चलिरह्यो ।
अहिलेको युद्ध पनि नियन्त्रणबाहिर गयो भने त्यसको परिणाम झन् ठूलो अराजकता सिर्जना हुन सक्ने आकलन खाडी मुलुकहरुको छ । अमेरिका स्पष्ट रणनीतिबिना नै युद्धमा छिरेको छ र पछि यो क्षेत्रलाई भताभुंग पारेर छाड्न सक्छ ।
राजनीतिक रूपमा इरानका छिमेकी मुलुकमा असन्तुष्टि देखिए पनि सैन्य रूपमा खाडी देशहरू अझै अमेरिकामाथि निर्भर छन् । धेरै देशमा अमेरिकी सैन्य अड्डा छन्, उनीहरूले अमेरिकी हवाई सुरक्षा प्रणाली प्रयोग गर्छन् र गुप्तचरीका जानकारी एकअर्कालाई बाँड्ने गर्छन् ।
क्षेत्रीय सम्बन्धको जटिलता
इरानले सबै खाडी देशलाई उत्तिकै निशाना बनाएको छैन । संयुक्त अरब इमिरेट्स र बहराइनमाथि उसले बढी आक्रमण गरेको छ । त्यसको पछाडिको कारण ती देशको इजरायलसँगको सम्बन्धलाई सुमधुर बनाउने प्रयास गरिरहनु हो ।
इरान र पश्चिमा मुलुकबीच मध्यस्थता गर्दै आएका ओमानजस्ता देशलाई भने इरानले तुलनात्मक रूपमा कम निशानामा पारेको छ । यसले क्षेत्रीय सम्बन्ध कति जटिल छ भन्ने देखाउँछ ।
इरानको आक्रमणले खाडी राष्ट्रहरूलाई आफ्नोविरुद्ध ठूलो गठबन्धनतर्फ धकेल्ने जोखिम पनि छ । यदि आक्रमण बढ्दै गयो भने अहिले तटस्थ देखिएका देशहरू पनि युद्धमा तानिन सक्छन् ।
ऊर्जा पूर्वाधारमा ठूलो क्षति भएमा वा इरान समर्थित समूहले प्रत्यक्ष आक्रमण गरेमा खाडी देशहरूको नीति बदलिन सक्छ । त्यस्तो अवस्थामा उनीहरूले यो युद्ध अरूको मात्र नभई आफ्नो सुरक्षा मुद्दा ठान्न सक्छन् ।
युद्ध लम्बिँदै जाँदा बढ्दो अनिश्चितता
खाडी युद्ध २.० लम्बिदै जाँदा अझ क्लिष्टता थपिदै जाने विश्लेषकहरुको धारणा छ । अमेरिका र इजरायलले इरानको सैन्य क्षमता कमजोर भएको दाबी गरिरहे पनि वास्तविकता त्यति सरल देखिएको छैन । इरानले हजारौँ किलोमिटर टाढासम्म मिसाइल प्रहार गर्न सक्ने क्षमता देखाएपछि युद्ध चाँडै अन्त्य हुने सम्भावना घटेको छ ।
इरानको नेतृत्व संरचना पनि अस्पष्ट देखिएको छ । उच्च नेताहरू मारिएका छन् । यसका बाबजुद इरानको सैन्य प्रणाली पूर्ण रूपमा ध्वस्त भएको संकेत देखिएको छैन । उल्टै, इरानले महŒवपूर्ण इजरायली सैन्य र परमाणु केन्द्र नजिक आक्रमण गरेर आफ्नो क्षमता देखाइसकेको छ ।
यसले अमेरिका र इजरायलको प्रारम्भिक रणनीति कमजोर देखिन थालेको विश्लेषण गरिएको छ । शीर्ष नेतृत्व हटाएपछि प्रणाली ढल्छ भन्ने अनुमान सही साबित नभएको देखिएको छ । साथै, भेनेजुएलाका राष्ट्रपतिको अनुपस्थितिमा उपराष्ट्रपतिलाई जसरी उसले आफ्नो पक्षमा काम गराउन सफल रह्यो, त्यो इरानमा सफल हुने सम्भावना नरहेको प्रस्ट हुँदै जान थालेको छ ।
वार्ता कठिन, विकल्प सीमित
इरान र अमेरिकाबीच वार्ताको सम्भावना बारम्बार उठे पनि एकअर्काबीचको अविश्वासले समाधान कठिन बनाएको छ । इरानको दाबी अनुसार वार्ता चलिरहेकै बेला आक्रमण भएकाले उसले अमेरिकामाथि भरोसा गर्न गाह्रो भएको छ ।
अमेरिकाले होर्मुज जलडमरूमध्य खोल्न अल्टिमेटम दिएको थियो भने इरानले ऊर्जा संरचना नष्ट भए सम्पूर्ण क्षेत्रमा आक्रमण गर्ने चेतावनी दिएको छ । यस्तो अवस्थामा सानो गल्तीले ठूलो युद्ध निम्त्याउन सक्छ ।
दुवै पक्षका विकल्प निकै सीमित देखिएका छन् । अमेरिका र इजरायलले हवाई आक्रमणबाट मात्रै निर्णायक जीत हासिल गर्न सक्ने अवस्था छैन भने इरान पनि कमजोर देखिएर पछि हट्न चाहँदैन ।
कूटनीतिक प्रयास र मध्यस्थता
युद्ध फैलिन नदिन पाकिस्तानले अमेरिका र इरानबीच वार्ता गराउन तयार रहेको संकेत दिएको छ । पाकिस्तानका नेताहरूले दुवै पक्षसँग सम्पर्क बढाएका छन् र आवश्यक परे इस्लामाबादमा वार्ता गराउन सकिने बताएका छन् ।
विश्लेषकहरूका अनुसार पाकिस्तानको अमेरिका र इरान दुवैसँग सम्बन्ध भएकाले उसले मध्यस्थ भूमिका खेल्न सक्छ । क्षेत्रीय स्थिरता कायम भए पाकिस्तानलाई आर्थिक र राजनीतिक रूपमा फाइदा पनि हुन सक्छ तर कुनै पनि सम्झौताको ग्यारेन्टी दिन सक्ने अवस्था छैन । मध्यस्थता सफल भए पनि अन्तिम निर्णय युद्धरत पक्षकै हातमा रहनेछ ।
जोखिमपूर्ण मोडमा विश्व
हालको स्थिति यस्तो मोडमा पुगेको छ जहाँ सानो घटनाले ठूलो युद्ध निम्त्याउन सक्छ । ऊर्जा आपूर्ति, समुद्री मार्ग, क्षेत्रीय सुरक्षा र विश्व अर्थतन्त्र सबै यो संघर्षसँग जोडिएका छन् ।
विश्लेषकहरू भन्छन्, ‘खाडी राष्ट्रहरूको संयम अस्थायी हुन सक्छ, इरानको दबाब रणनीति उल्टो पर्न सक्छ र अमेरिका–इरान टकराव लामो समय चल्यो भने त्यसलाई अन्त्य गर्न अझ कठिन हुनेछ ।’
अमेरिकी प्रस्ताव इरानसम्म पुगेको दाबी
मध्यपूर्वमा जारी युद्धबीच कूटनीतिक प्रयासले गति लिएको सङ्केत दिँदै इरानले अमेरिकाबाट १५ बुँदे युद्धविराम प्रस्ताव प्राप्त गरेको दाबी पाकिस्तानी अधिकारीहरूले गरेका छन् । यद्यपि तेहरानले औपचारिक रूपमा यस्तो वार्तामा संलग्न नरहेको अडान दोहो¥याउँदै आएको छ ।
बुधबार दुई पाकिस्तानी अधिकारीले नाम सार्वजनिक नगर्ने सर्तमा जानकारी दिँदै उक्त प्रस्ताव इरानसम्म पुगेको बताएका हुन् । उनीहरूका अनुसार प्रस्तावमा युद्ध अन्त्यतर्फ उन्मुख विभिन्न महत्त्वपूर्ण पक्षहरू समेटिएका छन्, जसले क्षेत्रीय तनाव कम गर्ने उद्देश्य राखेको देखिन्छ ।
प्रस्तावका मुख्य बुँदाहरूमा इरानमाथि लगाइएका प्रतिबन्धहरू क्रमशः हटाउने, नागरिक प्रयोजनका लागि आणविक ऊर्जा क्षेत्रमा सहयोग गर्ने तथा इरानको विवादास्पद आणविक कार्यक्रमलाई सीमित वा फिर्ता गर्ने विषय समावेश गरिएको बताइएको छ । साथै, अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीमार्फत अनुगमन गर्ने व्यवस्था, मिसाइल क्षमतामा सीमा निर्धारण गर्ने तथा पर्सियन खाडीको संवेदनशील जलमार्ग स्ट्रेट अफ होर्मुज हुँदै सुरक्षित ढुवानी सुनिश्चित गर्ने विषय पनि प्रस्तावमा समेटिएको जनाइएको छ ।
अधिकारीहरूले विस्तृत विवरण सार्वजनिक गर्न आफूहरू अधिकृत नभएको बताउँदै प्रस्तावको समग्र स्वरूप भने व्यापक कूटनीतिक प्याकेजका रूपमा रहेको सङ्केत गरेका छन् ।
यद्यपि, इरानले अमेरिकासँग प्रत्यक्ष वार्तामा संलग्न नभएको स्पष्ट पार्दै आएको छ । बुधबार एक सैन्य प्रवक्ताले अमेरिकी कूटनीतिक प्रयासप्रति व्यङ्ग्यात्मक प्रतिक्रिया जनाउँदै तेहरान आफ्नो अडानमा दृढ रहेको सङ्केत गरेका छन् ।
यस घटनाक्रमले एकातर्फ शान्ति प्रयास अघि बढिरहेको सङ्केत गरे पनि अर्कोतर्फ दुवै पक्षबीचको अविश्वास अझै कायम रहेको देखाउँछ, जसका कारण प्रस्तावको भविष्य अनिश्चित नै देखिएको छ ।