नवलपरासी, १५ भदौ - पश्चिम नवलपरासीस्थित नेपाली भूमि सुस्तामा लुम्बिनी प्रदेशका प्रदेश प्रमुखसहितको टोली पुगेको छ । टोलीले सुस्तामा भारतीय अतिक्रमणबाट जोगाउन प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्रीसँग छलफल गर्नुपर्ने बताएका छन् ।
नागरिकता तथा लालपुर्जाविहीन सुस्ताबासीका पीडा हरेक चुनाव र सुस्ता पुगेका नेतृत्वले दिने गरेका छन् तर हालसम्म पहल हुन नसकेकोमा चिन्ता व्यक्त गरियो ।
सुस्तावासी जगनारायण कमकड भन्छन्, यहाँ म बसेको ५५ बर्ष भयो, कति नेता आए गए । सब भोटका लागि आउँछन् तर केहि गर्दैनन् । नेताप्रतिको सुस्ताबासीको विश्वास घट्दो छ । अहिले म ८० बर्षको भएँ सुस्ताबासीको प्रमुख समस्या नागरिकता, लालपुर्जा र शिक्षा स्वास्थ्य हुन् । यसतर्फ कसैले चासो दिएनन् ।
सुस्तामा विकासको क्रम बढे पनि लालपुर्जा र नागरिकताको निकास निकाल्न नसक्दा सुस्तावासी निराशमा छन् । लालपुर्जा तथा नागरिकता नहुदाँ घरअगाडि गाडिएको विधुतको पोलबाट बत्ती बाल्न नपाएको गुनासो उनले गरे ।
सुस्ता बचाऊ अभियानका प्रवत्ता रविन्द्र जयसवाल भन्छन्, सुस्तावासी नेपाली भूमी बचाउन हरेक पल लडिरह्यौँ तर सुस्तावासीलाई सरकारले न लालपुर्जा दिन्छ, न त नागरिकता नै । नागरिकता नहुँदा, अनागरिक हुनुपरेको अवस्था छ ।
त्यस्तै सुस्ता बचाऊ अभियानका कार्यवाहक अध्यक्ष करम हुसेनले सरकार सत्ता बचाउने अभियानमा रहेको अवस्थामा सुस्ताबासी सुस्ता बचाऊ अभियानमा रहेको बताए । उनले सरकार प्रमुखले अतिक्रमित भूमिको विषयमा बोल्दा आफ्नो सत्ता गुम्ने डरले भारतिय अतिक्रमण बढिरहँदासमेत मौन बसेको आरोप लगाए ।
लुम्बिनी प्रदेश सरकार टोलीसंगै सुस्ता पुगेका सीमाविद् बुद्धिनारायण श्रेष्ठले भारतले अन्तर्राष्ट्रिय मान्यताविपरीत अतिक्रमण गरिरहेको हुदाँ भारत भ्रमणमा जाँदा प्रधानमन्त्री केपि ओलीलाई सन् २०१४ अगस्तमा नेपालको पशुपति नाथ दर्शन गर्न आउँदा गरिएको दुवै देशका परराष्ट्र सचिवले तल्लो तहमा पुगेर यर्थात सिमा विवादका अवस्था र विश्लेषण गरेर सिमा समस्या हल गर्ने बाचा दिएका थिए तर हाल सम्म त्यो सहमति कार्यान्वयन गर्न भारतले कुनै चासो नदेखाएको हुदाँ सिमा समस्या समाधान हुन नसकेको बताए ।
यी समस्या समाधानका लािग सरकारले आफ्ना विषय प्रस्टसँग राख्नुपर्ने उनको भनाइ थियो । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तिमगरले नेपालमा यतिवेला पञ्चकालका कृतिनिधि विष्ट जस्तो नेता नहुँदा नेपालको भूमि भारतीयले मिचिरहेको भन्दे दह्रो मुटु भएको नेता नेपाललाई आवश्यक रहेको बताए ।
वि.सं.२०२२ सालमा राजा महेन्द्रले भुपु सैनिक किसोर कुमार गुरुङको अगुवाइमा सुस्ताको नेपाली भूमि बचाउन बन फँडानी गरि बस्ती बसालेका थिए । सुस्ताको भूमि र सिमा रक्षालाई मध्यनजर गर्दै राजाले बस्ती बसालेको हो ।
तत्कालीन समयमा ४० हजार ९ सय ८० हेक्टर जमिन सुस्तामा पर्दथ्यो । सुस्तामा नापीटोलीले २०२७ सालमा जापजाँच गर्न जादाँ नापीटोलिलाई भारतले विहारमा लगेर १ बर्षसम्म कैद गरेर राख्यो । पुनः २०२९ सालमा नापी गरी लालपुर्जा वितरण गरियो ।
वि.सं.२०३४ सालमा नारायणी नदिमा आएको भीषण बाढिले सुस्ता बासीको सपना चकना चुर पारिदियो । सुस्तामा बाढि पसेर मरुभूमि तुल्य भयो । नागरिकलाई उद्धार गरी अन्य सुरक्षित स्थानमा लगेर राखियो ।
सरकारले त्यसबखत नागरिकता नभएका नागरिकलाई स्थानान्तरण गर्न नसके पछि नागरिकता नभएका नागरिक पुनः सुस्तामै गएर बस्न थाले । त्यस बखत भारतिय अतिक्रमणबाट बाँकी भाग बन्जरको रुपमा परिणत भै सकेको थियो । बञ्जर भूमिलाई खेतियोग्य बनाउदै सुस्तावासीले आफ्नो भाग्यरेखा कोर्दैछन् ।