नयाँ नयाँ आविष्कारले प्रविधिलाई परिमार्जन गर्दै जन–उपयोगी सामग्रीहरूको निर्माण भइरहेको हुन्छ । प्रविधिको परिमार्जनले हामीलाई दिएको नयाँ उपहार हो, मोबाइल । मोबाइलमा अहिले हाम्रो सारा संसार नै अटाएको छ । तर त्यही मोबाइल अकालमा ज्यान लिने माध्यम बनिरहेको छ । यसतर्फ हामी सबै सचेत हुनुपर्ने देखिएको छ ।
अहिले उपयोग भइरहेको मोबाइलमा फोटो खिच्ने सुविधा पनि उपलब्ध हुन्छ । त्यो फोटो खिच्ने सुविधा अन्तर्गत आफूले आफ्नै फोटो खिच्ने सुविधा पनि उपलब्ध छ, सेल्फी भनिने यो विधि नै असमायिक मृत्युको कारक बनिरहेको छ । मानिसहरू आफ्ना धेरैभन्दा धेरै तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरिरहेका हुन्छन् ।
उनीहरूको चाह हुन्छ आफ्नो तस्बिरमा धेरै लाइक आओस् । त्यसैले उनीहरू जोखिम लिएर पनि तस्बिर खिच्न चाहन्छन् । मान्छे यसै पनि साहसिक काम गर्न रुचाउने प्राणी हो । तर त्यति धेरै साहसिक हुनु पनि घातक नै हुन्छ जसले मान्छेको ज्यान नै जान्छ । खतरनाक ठाउँमा पुगेर फोटो खिच्ने सेल्फी संक्रमणले मान्छेहरूलाई जोखिममा पार्दै ल्याएको छ ।
मानिसहरू आफ्नो व्यक्तिगत क्षणलाई सामाजिक सञ्जालमा हाल्न उत्साहित हुन्छन्, जुन अस्वभाविक र अन्यथा होइन । तर यही कारण विश्वभरका मानिसहरूको जीवन खतरामा पारिरहेको एक अध्ययनले औंल्याउँदै सेल्फी लिँदा भएका दुर्घटनाका कारण गम्भीर चोटपटक र मृत्युका घटना उल्लेखनीय रूपमा बढेका जनाएको छ ।
सो अध्ययनले सेल्फी लिँदा अधिक ज्यान जाने १० देशलाई खतरनाकको सूचीमा राखेको छ । गत ११ वर्षको घटनाको अध्ययन गरेको सो सूचीको पहिलो नम्बरमा भारत छ, जहाँ सेल्फी लिने क्रममा २ सय १४ जनाको मृत्यु र ५७ जना घाइते भएका छन् । त्यहाँ रेल, नदी किनारा र जोखिमयुक्त चट्टानी पहरामा सेल्फी लिनेहरूले दुर्घटना बढाएको छ ।
भारतपछि खतराको सूचीमा रहेको देश हो संयुक्त राज्य अमेरिका, जहाँ सल्फीले ३७ जनालाई मारेको र ८ जनालाई घाइते बनाएको छ । अधिकांश घटनाहरू चट्टान, छत र अग्ला संरचनाबाट खस्दा भएका छन् । त्यस्त स्थानहरूमा मानिसहरू आकर्षित भएर सामाजिक सञ्जालमा तुरुन्तै फैलिने अर्थात ‘भाइरल’ हुने लोभले पुग्ने र भिडियो तथा तस्वीर खिच्ने गरेका छन् ।
नेपालमा पनि केही समय पहिला वीरगञ्जको सिर्सिया नदीको किनारमा उभिएर सेल्फी खिच्ने क्रममा एक किशोरले ज्यान गुमाएका थिए । त्यस्तै हेलिकोप्टरको नजिकै बाट सेल्फी खिच्ने क्रममा भारतीय पर्यटकले हिल्सामा ज्यान गुमाएका थिए भने नेपालबाट आफन्तको मलामीका लागि भारत गएका दुई नेपाली युवकले रेल आइरहेको बेला सेल्फी खिच्दा लडेर ज्यान गुमाउन पुगेका थिए ।
यसरी मानिसले सेल्फीका कारण ज्यान गुमाउने क्रम बढ्दै जाँदा अब व्यक्ति स्वयम्, परिवार, समाज र सरोकारवाला निकायहरूले यस समस्याको निराकरणको लागि अभियान चाल्नुपर्ने देखिन्छ । अहिले मानिसको हातहातै मोबाइल पुगेको अवस्थमा सचेतना अभियान तीव्र पार्न पनि मोबाइलकै कारण सहजता छ ।
सेल्फीको घातक संक्रमणबाट बचाउन चिकित्सकीय उपचारभन्दा आत्मनियन्त्रण नै उचित र दिगो उपाय हो । खासगरी युवावस्थामा व्यक्तिले जीवनको मूल्यबारे गम्भीर रुपमा बुझ्न सकेको होइन । सेल्फी र सामाजिक सञ्जालभन्दा ठूलो र मूल्यवान् कुरा जीवन हो भन्ने कुरा हामीले बुझाउन सक्नुपर्छ । हामीले देखिआएको छौं, नेपालको पर्यटकीय र धार्मिक स्थलहरूमा मानिसहरूले फोटो खिच्ने क्रममा ज्यान जोखिममा पारिरहेका छन् ।
काठमाडौंको स्वम्भूको डाँडाबाट फोटो खिच्न मानिसहरू जोखिमपूर्ण रुपमा पर्खालमा चढिरहेको पाइन्छ भने सुन्दरीजलको ढुंगेनी पहरामा पनि ज्यान जोखिममा परेर मान्छेहरू फोटो खिचिरहेको पाइन्छ । यस्तो घटनाहरू देशभरी कति होलान् ? त्यसैले सुरक्षित सेल्फीको लागि पनि सचेतना अभियान चलाउन ढिला गर्नु हुन्न । बेकारमा मान्छे मर्न नदिन सरकारले कदम चाल्नुपर्छ ।