नेभिगेशन
विश्व

अमेरिकाभर ट्रम्पविरुद्ध विरोध दिनदिनै चर्किंदै

न्यूयोर्क  । अमेरिकाका विभिन्न सहरहरूमा ट्रम्प प्रशासनविरुद्ध ठूला स्तरका विरोध प्रदर्शनहरू भइरहेका छन् । ‘नो किङ्स’ नाम दिइएका यी ¥यालीहरूको यो तेस्रो चरण हो, जसमा यसअघि पनि लाखौं मानिस सहभागी भइसकेका छन् । आयोजकहरूका अनुसार यी प्रदर्शनहरू अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विभिन्न नीतिविरुद्ध केन्द्रित छन् । इरानसँगको युद्ध, संघीय आप्रवासन (इमिग्रेशन) कानूनको कडाइ र बढ्दो महँगी प्रमुख मुद्दा बन्न पुगेका छन् ।
ट्रम्प ‘निरंकुश शासकजस्तै शासन गर्न खोजिरहेको’ आयोजकहरूले आरोप लगाएका छन् । उनीहरूको भनाइ छ— अमेरिका यस्तो देश हो जहाँ सत्ता जनताको हातमा हुन्छ, कुनै व्यक्तिले आफूलाई ‘राजा’ ठान्ने व्यवस्था स्वीकार्य छैन ।
यसको जवाफमा ह्वाइट हाउसका एक प्रवक्ताले यी प्रदर्शनलाई ‘ट्रम्प डिरेन्जमेन्ट थेरेपी सेसन’ भन्दै खारेज गरेका छन् । यी प्रदर्शनलाई ‘त्यसलाई कभर गर्न पैसा पाउने पत्रकारहरूले मात्र महŒव दिएको’ आरोप लगाएका छन् ।
शनिबार न्यूयोर्क, वासिङ्टन डीसी र लस एन्जेलससहित देशका लगभग सबै ठूला सहरहरूमा प्रदर्शन भएका थिए । राजधानी वासिङ्टन डीसीमा दिउँसोभरि ¥यालीहरू जारी रहे, जहाँ प्रदर्शनकारीहरूको भीडले लिंकन मेमोरियलका सिँढीहरू भरिएका थिए भने नेशनल मल क्षेत्र खचाखच भरिएको थियो ।
पहिलेका ‘नो किङ्स’ प्रदर्शनहरूजस्तै यसपटक पनि प्रदर्शनकारीहरूले ट्रम्प, उपराष्ट्रपति जेडी भान्स र अन्य प्रशासनिक अधिकारीहरूको पुतला प्रदर्शन गरेका थिए । उनीहरूले ट्रम्पलाई पदबाट हटाउन र कानूनी कारबाही गर्न माग गरेका छन् ।
मिनेसोटामा भएको एक प्रमुख प्रदर्शनको पृष्ठभूमि पनि गम्भीर थियो । त्यहाँ जनवरीमा संघीय आप्रवासन एजेन्सीको कारबाहीका क्रममा दुई अमेरिकी नागरिकहरू रेनी निकोल गुड र एलेक्स प्रेटीको मृत्यु भएपछि जनआक्रोश बढेको थियो । त्यस घटनाले ट्रम्प प्रशासनको आप्रवासन नीतिविरुद्ध देशव्यापी विरोधलाई थप बल दिएको थियो ।
हजारौं प्रदर्शनकारीहरू हातमा प्लेकार्ड बोकेर सडकमा उत्रिएका बेला डेमोक्रेटिक पार्टीका केही प्रभावशाली नेताहरूले पनि सेन्ट पलस्थित राज्य क्यापिटल अगाडि सम्बोधन गरे । सांगीतिक क्षेत्रमा पनि विरोधको स्वर सुनियो, प्रसिद्ध गायक ब्रुस स्प्रिङस्टिनले मञ्चमा आएर आप्रवासन नीतिविरुद्ध गीत प्रस्तुत गरे ।
न्यूयोर्कको टाइम्स स्क्वायर क्षेत्रमा पनि हजारौं मानिस जम्मा भएका थिए र म्यानह्याटनको मिडटाउन हुँदै रयाली निकालेका थिए । भीड नियन्त्रण गर्न प्रहरीले व्यस्त सडकहरू बन्द गर्नुपरेको थियो । यसअघि अक्टोबरमा भएको प्रदर्शनमा न्यूयोर्कका पाँचै बरोमा एक लाखभन्दा बढी मानिस सहभागी भएको बताइएको थियो । उता देशभर भने करिब ७० लाख मानिस सहभागी भएका थिए ।
केही राज्यहरूले नेशनल गार्डसमेत परिचालन गरेका छन्, तर आयोजकहरूका अनुसार प्रदर्शनहरू शान्तिपूर्ण छन् ।
जनवरी २०२५ मा ह्वाइट हाउस फर्किएपछि ट्रम्पले राष्ट्रपति शक्तिको दायरा विस्तार गरेको आरोप लाग्दै आएको छ । उनले कार्यकारी आदेश प्रयोग गरेर संघीय सरकारका केही अधिकार पुनर्संरचना गरेका छन् र केही राज्यका गभर्नरहरूको असहमतिका बाबजुद सहरहरूमा नेशनल गार्ड तैनाथ गरेका छन् ।
साथै, ट्रम्पले आफ्ना कथित राजनीतिक विरोधीहरूविरुद्ध मुद्दा चलाउन शीर्ष कानून कार्यान्वयन निकायहरूलाई निर्देशन दिएको आरोप पनि लागेको छ ।
यद्यपि, ट्रम्प स्वयंले यी सबै कदमलाई संकटग्रस्त देश पुनर्निर्माणका लागि आवश्यक भनेका छन् । उनले आफूलाई ‘तानाशाह’ भनिएको आरोप अस्वीकार गर्दै यसलाई ‘बेतुकका कुरा’ भनेका छन् । उनले एक अन्तर्वार्तामा भनेका थिए, ‘उनीहरू मलाई राजा भन्छन्, तर म राजा होइन ।’
ट्रम्प प्रशासनका केही कदमहरू असंवैधानिक हुन सक्छन् र यसले अमेरिकी लोकतन्त्रलाई जोखिममा पार्न सक्ने केहीले सचेत गराएका छन् ।
हालैका दिनहरूमा यी प्रदर्शनहरू अझै फैलिँदै गएका छन् । विशेषगरी विश्वविद्यालय सहरहरू, श्रमिक संगठनहरू र नागरिक अधिकार समूहहरू सक्रियरूपमा सडकमा उत्रिएका छन् । केही ठाउँमा प्रहरीले दर्जनौं प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको खबर पनि आएको छ, यद्यपि अधिकांश प्रदर्शन शान्तिपूर्ण नै रहेका छन् ।
अन्तर्राष्ट्रिय स्तरमा पनि यसप्रति चासो बढेको छ, जहाँ केही मानवअधिकार संस्थाहरूले अमेरिकी प्रशासनका कदमहरूबारे निगरानी बढाउनुपर्ने बताएका छन् । राजनीतिकरूपमा, आगामी चुनावी माहोल नजिकिँदै जाँदा यी विरोध प्रदर्शनहरूले अमेरिकी राजनीतिमा थप ध्रुवीकरण ल्याउने संकेत देखिएको विश्लेषकहरूको भनाइ छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्