नेभिगेशन
विश्व

लाल सागरमा संकट थपिँदा विश्व अर्थतन्त्रमा दोहोरो दबाब

काठमाडौं । अमेरिका–इसराइल र इरानबीचको युद्धले मध्यपूर्वलाई मात्र होइन, विश्व अर्थतन्त्रलाई नै प्रत्यक्ष असर पार्ने चरणमा पु¥याएको छ । होर्मुज जलडमरूमध्यमा देखिएको अवरोध र रेड सी (लाल सागर) क्षेत्रमा बढ्दो असुरक्षाले विश्व व्यापारका दुई अत्यन्त संवेदनशील नाकाहरूलाई एकैपटक जोखिममा पारेको छ । 
विश्व ऊर्जा आपूर्तिको करिब २० प्रतिशत हिस्सा होर्मुज जलडमरूमध्य हुँदै गुज्रने भएकाले यसको अवरोधले तेल र ग्यासको मूल्यमा तीव्र उछाल ल्यायो । त्यसले नेपालमा पेट्रोलियम पदार्थको मूल्य अकासिन पुग्यो । ऊर्जा बजारमा आएको यो झट्का अब इन्धनमा मात्र सीमित नरही विश्वव्यापी आपूर्ति शृंखलामा फैलिँदै गएको छ । 
युद्धअघि दैनिक सयभन्दा बढी जहाजहरू यो मार्गबाट गुज्रने गर्थे । अहिले भने यो संख्या घटेर न्यून अवस्थामा पुगेको छ । यसले ढुवानी लागत मात्र बढाएको छैन, समय र आपूर्ति दुवैमा अस्थिरता सिर्जना गरेको छ । यही कारणले खाद्यान्नदेखि प्रविधिसम्मका उत्पादनहरू महँगो हुने संकेत देखिएको छ । 
विशेषगरी मल आपूर्तिमा आएको अवरोधले विश्व कृषि प्रणालीलाई सीधा असर गर्ने जोखिम बढाएको छ । विश्वको करिब एक–तिहाइ मल होर्मुजमार्फत ढुवानी हुने भएकाले अहिलेको अवरोधले बाली चक्रमै असर पार्न सक्छ । यो बेला अब धानको बिऊ रोप्ने समय भएकाले मलको अभावले उत्पादन घट्ने र त्यसको प्रभाव आउँदा महिनाहरूमा खाद्यान्नको मूल्यवृद्धि हुने सम्भावना उच्च देखिएको छ । 
यससँगै, ऊर्जामा आधारित पेट्रोकेमिकल उत्पादनहरूमा आएको संकटले औषधि उद्योगसमेत प्रभावित हुन थालेको छ । मेथनोल र एथिलिनजस्ता पदार्थहरू औषधि निर्माणका आधारभूत कच्चा पदार्थ हुन् । खाडी क्षेत्रबाट हुने आपूर्ति अवरुद्ध हुँदा विश्व स्वास्थ्य प्रणालीमा समेत दबाब बढ्न सक्ने देखिन्छ । 
प्रविधि क्षेत्रमा पनि यसको प्रभाव स्पष्ट देखिन थालेको छ । कतारबाट आउने हिलियम आपूर्ति अवरुद्ध हुँदा सेमीकन्डक्टर उत्पादनमा समस्या आउन सक्ने विश्लेषण गरिएको छ । माइक्रोचिप उत्पादन प्रभावित भएमा स्मार्टफोन, सवारी साधन र डेटा सेन्टरजस्ता क्षेत्रहरूमा मूल्यवृद्धि अपरिहार्य बन्न सक्छ । हिलियम अभावले स्वास्थ्य क्षेत्रमा प्रयोग हुने एमआरआई सेवा महँगो हुने जोखिम पनि उत्तिकै गम्भीर छ । 
यस्तै, सल्फर आपूर्तिमा आएको अवरोधले धातु प्रशोधन र ब्याट्री उद्योगमा असर पार्ने देखिएको छ । तामा, कोबाल्ट, निकल र लिथियमजस्ता धातुहरू आधुनिक प्रविधि र हरित ऊर्जा प्रणालीका लागि आधारभूत हुन् । यदि सल्फर आपूर्ति लामो समयसम्म प्रभावित भयो भने इलेक्ट्रिक सवारी, ऊर्जा भण्डारण र सैन्य प्रविधिको लागत बढ्ने निश्चित देखिन्छ । 
अर्कोतर्फ, रेड सी क्षेत्रमा हूती समूहको सक्रियताले विश्व व्यापारको अर्को प्रमुख मार्ग पनि जोखिममा परेको छ । बाब–अल–मन्देब जलडमरूमध्य हुँदै स्वेज नहरसम्म पुग्ने मार्गमा विश्वको करिब १५ प्रतिशत समुद्री व्यापारका लागि महŒवपूर्ण छ । यदि यो बाटो पनि रोकियो भने जहाजहरूलाई अफ्रिकाको दक्षिणी भाग घुमेर लामो र महँगो मार्ग अपनाउनुपर्ने हुन्छ, जसले विश्व व्यापारमा थप लागत र ढिलाइ निम्त्याउनेछ । 
यो अवस्था आर्थिक मात्र नभई भू–राजनीतिकरूपमा पनि गम्भीर हुने देखिएको छ । हूती विद्रोहीहरूको सक्रियता र इरानको अप्रत्यक्ष समर्थनले युद्धलाई क्षेत्रीय सीमाभन्दा बाहिर विस्तार गर्ने संकेत देखिएको छ । अमेरिका र इजराइलको सैन्य प्रतिक्रिया तथा खाडी देशहरूको सुरक्षात्मक कदमहरूले तनावलाई अझ चर्काउने सम्भावना छ । 
विश्लेषकहरूका अनुसार अहिलेको संकट ‘दोहोरो झट्का’जस्तो हो । यसले एकातिर ऊर्जा आपूर्तिमा अवरोध ल्याएको छ भने अर्कातर्फ व्यापार मार्ग असुरक्षा बढाएको छ । यस्तो दोहोरो झट्काको संयोजनले विश्व अर्थतन्त्रलाई महामारीपछिको पुनःउत्थानबाट फेरि अस्थिरतातर्फ धकेल्न सक्ने देखिएको छ ।
यसबीच, केही देशहरूले वैकल्पिक आपूर्ति र उत्पादन बढाउने प्रयास गरिरहेका छन् । रुसले मल उत्पादन बढाउने तयारी गरिरहेको छ तर यस्तो समाधान दीर्घकालीन र स्थायी नहुन सक्ने केही विश्लेषकहरूले बताएका छन् ।
यसरी होर्मुज र रेड सी (लाल सागर) दुवै क्षेत्रमा उत्पन्न संकटले विश्व अर्थतन्त्रलाई बहुआयामिक दबाब उत्पन्न गरेको छ । ऊर्जा, खाद्य, प्रविधि र स्वास्थ्यजस्ता क्षेत्रमा यसको प्रभाव फैलिन थालेको छ । यदि युद्ध अझ फैलियो वा यी मार्गहरू लामो समय बन्द रहे भने यसको असर मूल्यवृद्धिमा सीमित नरही विश्वकै आर्थिक संरचनालाई नै पुनःपरिभाषित गर्ने देखिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्