नेभिगेशन
विश्व

बमवर्षाका बाबजुद इरान अझै सशक्त

तेहरान । इरानको ध्यान अस्तित्व जोगाउनतर्फ केन्द्रित हुँदा पनि पुरानो शासन अझै मजबुतरूपमा कायम छ । 
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार बेलुका इरानसँगको युद्धबारे गरेको सम्बोधनले स्थिति नियन्त्रणको सन्देश दिन खोजे पनि त्यसमा स्पष्ट विरोधाभास देखिएको छ । उनले इरानका नौसेना, वायुसेना, मिसाइल कार्यक्रम र आणविक संरचना—लगभग ध्वस्त भइसकेको दाबी गर्दै युद्ध अन्त्यतिर पुगेको संकेत गरे । तर त्यससँगै उनले आगामी हप्ताहरूमा थप आक्रमणको चेतावनी पनि दिए । यसले सन्देशलाई अस्पष्ट बनाएको छ— विजयको घोषणा गरिएको छ तर त्यो सुनिश्चित भने भइसकेको छैन । 
ट्रम्पले इरानलाई ‘ढुंगेयुगमा फर्काइदिने’ चेतावनी दिएपछि स्थिति अझ चर्किएको छ । यस्तो अभिव्यक्तिले इरानभित्र ठूलो आक्रोश उत्पन्न गरेको छ, विशेषगरी सामाजिक सञ्जालमा । पहिले ट्रम्पलाई परिवर्तनको सम्भावित माध्यम ठान्ने विपक्षी समर्थकहरू पनि अहिले आक्रोशित देखिएका छन् । यसले आन्तरिक दबाब बढाउनुको सट्टा देश घेराबन्दीमा परेको अनुभूति बलियो बनाएको छ । 
ट्रम्पले सर्वोच्च नेता आयातोल्लाह अली खामेनेईसहित शीर्ष नेतृत्वको हत्या भएपछि इरानमा ‘शासन परिवर्तन’ भइसकेको दाबी पनि गरेका छन्, जसले कथित रूपमा ‘कम कट्टर र बढी व्यावहारिक’ नेतृत्व ल्याएको बताए तर यस दाबीलाई समर्थन गर्ने ठोस प्रमाण भने देखिएको छैन । 
तेहरानमा शक्ति संरचना अझै उस्तै छ । अधिकार अझै सर्वोच्च नेताकै कार्यालयबाट सञ्चालन हुन्छ, यद्यपि अहिलेको अवस्थाले कति प्रत्यक्ष नियन्त्रण छ भन्ने स्पष्ट छैन । कुनै संस्थागत विघटन वा वैचारिक परिवर्तन देखिएको छैन । मसउद पेजेश्कियन राष्ट्रपति छन्, मोहम्मद बाघेर गालिबाफ संसद् प्रमुख छन् र अब्बास अराघची विदेश नीतिमा सक्रिय छन् । 
आक्रमणमा मारिएका कमाण्डरहरू र अधिकारीहरूको स्थानमा पनि उही विचारधाराका, अझ कडा स्वभावका व्यक्तिहरू नियुक्त भएका छन् । यसले शासन परिवर्तनभन्दा शासनको स्थायित्व देखाउँछ । यस्तो स्थायित्व संयोग होइन । 
इरानको युद्ध रणनीति पारम्परिक अर्थमा विजय हासिल गर्नु होइन, टिकिरहनु हो । तेहरानले लामो समयदेखि शक्तिशाली सैन्य शक्ति विरुद्ध टिक्नुलाई नै सफलता मान्दै आएको छ । इजरायल र अमेरिकासँगको द्वन्द्वमा उसले एक पक्षसँगको संघर्षले अर्को पक्षलाई पनि तान्ने विश्वास राखेको छ । 
‘अझै हामी उभिएका छौं,’ इरानका लागि वैकल्पिक नतिजा होइन, लक्ष्य नै हो । युद्ध सुरु भएको एक महिनापछि पनि इस्लामिक गणतन्त्रका संरचनाहरू सक्रिय छन्, राज्य संयन्त्र कायम छ र प्रतिरोध क्षमता कमजोर भए पनि पूर्णरूपमा भत्किएको छैन । 
यस हिसाबले इरानको स्थिति अझै महŒवपूर्ण छ । उसले होर्मुज जलडमरूमध्यजस्ता महŒवपूर्ण ऊर्जा मार्गमा नियन्त्रण राखेको छ, जहाँबाट विश्वको झन्डै पाँच भागको एक भाग तेल आपूर्ति हुन्छ । यसले उसलाई आक्रमणका बाबजुद ठूलो प्रभाव पार्ने क्षमता दिन्छ । 
यसले अमेरिकाका लागि द्विविधा सिर्जना गरेको छ । यदि अमेरिका अहिले पछि हट्छ भने इरानको ‘टिकिरहने रणनीति सफल हुन्छ’ भन्ने सन्देश बलियो हुन्छ । यदि युद्ध जारी राख्छ भने स्पष्ट विजयबिना बढ्दो लागत सामना गर्नुपर्ने हुन्छ । 
ट्रम्पको सम्बोधनले यही द्विविधा झल्काउँछ—विजयको दाबी गर्ने तर युद्ध पनि जारी राख्ने । यसले शक्ति प्रदर्शन र लामो युद्धबाट बच्ने दुई विपरीत लक्ष्य सन्तुलन गर्ने प्रयास देखाउँछ । 
यसै सन्दर्भमा ट्रम्पको भाषणअघि राष्ट्रपति पेजेश्कियनले इरानसँग युद्ध अन्त्य गर्ने ‘आवश्यक इच्छाशक्ति’ रहेको बताएका थिए । यो आत्मसमर्पणभन्दा रणनीतिक सन्देशजस्तो देखिन्छ । 
उनले अमेरिकी जनताका नाममा सामाजिक सञ्जालमार्फत खुला पत्र लेख्दै ‘अमेरिका फस्र्ट’ नीतिले वास्तवमै फाइदा गरिरहेको छ कि छैन भन्ने प्रश्न उठाएका थिए र अमेरिका इजरायलको प्रतिनिधि भएर काम गरिरहेको हो कि होइन भनेर सोधे । यो अमेरिकी जनमतलाई लक्षित प्रयास थियो । 
इरानले युद्ध अन्त्यका लागि राखेका सर्तहरू यथावत् छन्— शासनको अस्तित्व र सार्वभौमसत्ता सुनिश्चित हुनु, भविष्यमा अमेरिका र इजरायलबाट आक्रमण नहुने भरपर्दो ग्यारेन्टी, प्रभावकारी रूपमा प्रतिबन्ध हटाइनु, र प्रतिरोध क्षमताको संरक्षण । हालसम्म इरान यी मागमा सम्झौता गर्न तयार देखिएको छैन । 
यद्यपि अमेरिकी–इजरायली आक्रमण जारी रहेमा अवस्था परिवर्तन हुन सक्छ । यसले इरानको सैन्य क्षमता र अर्थतन्त्रमा ठूलो असर पारिरहेको छ, जुन युद्धअघि नै कमजोर अवस्थामा थियो । 
यदि शासन टिक्यो भने युद्धपछि उसले गम्भीर संकटमा परेको देश पुनर्निर्माण गर्नुपर्नेछ । तर अस्तित्व जोगिनुले प्रतिरोध क्षमतामा अर्को ठूलो असर पनि पार्नेछ । 
विगतमा अमेरिका वा इजरायलको ठूलो आक्रमणको सम्भावना नै इरानका लागि दबाबको माध्यम थियो । तर प्रत्यक्ष युद्धपछि पनि इरान यथावत् रह्यो भने भविष्यका धम्कीहरूको प्रभाव घट्नेछ । 
यसले क्षेत्रीय शक्ति समीकरणमा पनि प्रभाव पार्न थालेको छ । सुरुमा युद्धको विरोध गरेका केही अरब देशहरूले अहिले ट्रम्पलाई युद्ध अन्त्यसम्म लैजान आग्रह गरिरहेका छन्, किनभने अधूरो अन्त्यले अझ अस्थिरता ल्याउने उनीहरूको डर छ । 
अमेरिका फेरि कठिन निर्णयको मोडमा छ । पछि हट्दा इरानको रणनीति सफल देखिन्छ, अगाडि बढ्दा अन्त्य नदेखिएको युद्धमा फसिने जोखिम हुन्छ । 
अहिलेसम्म नयाँ इरान देखिएको छैन । यदि युद्ध अन्त्यसम्म पनि अवस्था यही रह्यो भने, अमेरिका आफ्नो ‘विजय’ दाबीलाई यथार्थसँग कसरी मिलाउने भन्ने प्रश्न अझै गम्भीररूपमा उभिनेछ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्