लन्डन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि कडा चेतावनी दिएपछि सोमबार अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य अस्थिर देखिएको छ। ट्रम्पले इरानले होर्मुज जलडमरू हुँदै जहाज आवतजावत गर्न नदिएमा त्यहाँका महत्त्वपूर्ण पूर्वाधार ध्वस्त पार्ने धम्की दिएका हुन्।
आइतबार सामाजिक सञ्जालमा निकै कडा र अशीष्ट शब्द प्रयोग गर्दै ट्रम्पले अमेरिकाले इरानका विद्युत् केन्द्र र पुलहरूमा आक्रमण गर्न सक्ने चेतावनी दिएका थिए।
यसपछि ब्रेन्ट क्रूड तेलको मूल्य प्रति ब्यारेल ११० डलरभन्दा माथि पुगेको थियो। तर अमेरिका र इरानबीच सम्भावित युद्धविरामबारे वार्ता भइरहेको समाचार सार्वजनिक भएसँगै मूल्य केही घटेर करिब १०७ डलरमा झरेको छ।
फेब्रुअरी २८ देखि अमेरिका र इजरायलले गरेको हवाई आक्रमणको प्रत्युत्तरस्वरूप तेहरानले जलडमरू प्रयोग गर्ने जहाजमाथि आक्रमण गर्ने चेतावनी दिएपछि मध्यपूर्वबाट हुने तेल तथा ग्यास आपूर्ति गम्भीर रूपमा प्रभावित भएको छ।
समाचार वेबसाइट एक्सिओसका अनुसार अमेरिका, इरान र क्षेत्रीय मध्यस्थकर्ताहरूबीच ४५ दिने युद्धविरामसम्बन्धी सम्भावित सहमतिबारे छलफल भइरहेको छ, जसले दीर्घकालीन समाधानको बाटो खोल्न सक्छ।
यद्यपि, ह्वाइट हाउसका एक स्रोतले उक्त प्रस्ताव धेरै विकल्पमध्ये एक मात्र भएको र ट्रम्पले त्यसलाई अझै स्वीकृति नदिएको बताएका छन्। उनले ‘अपरेसन एपिक फ्युरी’ जारी रहेको पनि स्पष्ट पारे।
विश्लेषकहरूका अनुसार युद्धको स्थिति कस्तो रहन्छ भन्ने आधारमा तेलको मूल्य निरन्तर उतारचढावमा रहनेछ। परामर्श संस्था वुड म्याकेन्जीका सुशान्त गुप्ताका अनुसार खाडी क्षेत्रबाट ऊर्जा आपूर्ति पुनः सामान्य हुने कि नहुने भन्ने नै बजारको मुख्य चासो बनेको छ।
विश्वको करिब पाँचौं भाग ऊर्जा आपूर्ति हुने यो साँघुरो जलमार्गमा अवरोध आएपछि विश्वव्यापी रूपमा ऊर्जा मूल्य बढेको छ र मुद्रास्फीति थप चर्किने चिन्ता बढेको छ।
गत साता पनि ट्रम्पले इरानमाथि थप कडा चेतावनी दिएपछि तेलको मूल्य १०० डलरभन्दा माथि पुगेको थियो। उनले इरानलाई “पाषाण युगमा फर्काइदिने” भन्दै धम्की दिएका थिए।
यसबीच इरानले खाडी क्षेत्रमा तेल पूर्वाधारमाथि आक्रमण जारी राखेको छ। आइतबार इरानले कुवेत, बहराइन र संयुक्त अरब इमिरेट्सका पेट्रोकेमिकल उद्योगहरूमा आक्रमण गरेको जिम्मा लिएको जनाएको छ।
सोमबार इरानी सेना आईआरजीसीले पनि अमेरिकाले इरानका नागरिक पूर्वाधारमाथि आक्रमण जारी राखेमा अमेरिकी आर्थिक हितमा थप आक्रमण तीव्र बनाइने चेतावनी दिएको छ।
यसैबीच ओपेक प्लस समूहले मे महिनाका लागि दैनिक २ लाख ६ हजार ब्यारेल उत्पादन बढाउने सहमति गरेको छ। तर द्वन्द्वका कारण सदस्य राष्ट्रहरूले उत्पादन बढाउन नसक्ने अवस्था रहेकाले यसको प्रभाव सीमित हुने अनुमान गरिएको छ।
ट्रम्पले यसअघि पनि जलडमरू खुला गराउन विभिन्न समयसीमा दिएका थिए, तर यसपटक उनले अझ कडा भाषामा आफ्नो माग दोहो¥याएका छन्। उनले एक टेलिभिजन अन्तर्वार्तामा सहमति हुने ‘राम्रो सम्भावना’ रहेको बताए पनि आवश्यक परे ‘सबै कुरा ध्वस्त पार्ने’ विकल्प पनि विचार गरिरहेको संकेत दिएका छन्।
उता इरानी वरिष्ठ सैन्य अधिकारी जनरल अली अब्दोल्लाही अलीआबादीले ट्रम्पको चेतावनीलाई ‘हताश, असन्तुलित र मूर्खतापूर्ण’ भन्दै अस्वीकार गरेका छन्। उनले अमेरिकाविरुद्ध ‘नरकका ढोका खुल्ने’ चेतावनीसमेत दिएका छन्।
पूर्वाधारलाई निशाना बनाउनु ‘कानून विपरीत’
युरोपेली सङ्घका प्रमुख एन्टोनियो कोस्टाले सोमबार एक सामाजिक सञ्जाल पोस्टमा युद्धका क्रममा नागरिक पूर्वाधार र प्रतिष्ठानहरूमा आक्रमण गर्नु गैरकानूनी भएको बताएका छन् ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानले स्ट्रेट अफ हर्मुज पुनः नखोले त्यहाँ नागरिक पूर्वाधारहरू ध्वस्त पार्ने धम्की दिएपछि यो चेतावनी आएको हो ।
युरोपेली परिषद्का अध्यक्ष कोस्टाले भने, ‘नागरिक पूर्वाधार अर्थात् ऊर्जा सुविधालाई कुनै पनि प्रकारको निशाना बनाउनु कानुन विपरित काम हुने र यो अस्वीकार्य छ ।’
उनले भने, ‘यो युक्रेनमा रूसको युद्धमा लागू हुन्छ र अन्यत्र (इरान युद्धलाई उल्लेख नगरिकन) पनि लागू हुन्छ । इरानी शासनको मुख्य शिकार इरानी नागरिक हुन् । यो सैन्य अभियानको विस्तारको मुख्य शिकार पनि हुनेछ ।’
उनले थपे, ‘युरोपेली सङ्घले इरानलाई यस क्षेत्रका देशविरुद्ध आफ्नो आक्रमण तत्काल रोक्न र ‘स्ट्रेट अफ हर्मुज’ हुँदै जहाज आवागमनको पूर्ण स्वतन्त्रता पुनः स्थापना गर्न अनुमति दिन आग्रह गर्दछ ।’
‘मध्यपूर्वमा पाँच हप्ताको युद्धपछि यो स्पष्ट छ भएको छ यो युद्ध कूटनीतिक माध्यमबाट मात्र समाधान गर्न सम्भव हुनेछ,’ उनले भने ।
यसअघि, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुजको जलमार्ग स्वतन्त्र आवागमनका लागि पुनः नखोलिएमा नागरिक पूर्वाधार ध्वस्त पार्ने चेतावनीको समयअवधि सकिनै लागेको समय सोमबार इजरायलले इरानको सबैभन्दा ठूलो ग्यास उद्योग परिसर (पेट्रोकेमिकल कम्प्लेक्स) मा आक्रमण गरेको छ ।
अमेरिका र इजरायलले इरानी संरचना र नेतृत्वलाई निशाना बनाएपछि इरानले बदलामा इजरायल, कुवेत र संयुक्त अरब इमिरेट्सविरुद्ध ड्रोन र क्षेप्यास्त्र आक्रमण गरेको थियो । इजरायली आक्रमणमा सोमबार एक इरानी सेना (रिभोलुसनरी गाड्र्स)का कमाण्डरको मृत्यु भएको थियो ।
राष्ट्रपति ट्रम्पले सर्वसाधारण लक्ष्यमा आक्रमण गरेमा इरानले पनि अझ बढी विनाशकारी आक्रमण हुने बताएको छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पले आइतबार चेतावनी दिँदै भनेका थिए, ‘यदि तेहरानले हर्मुज जलमार्गमा जहाजको लागि पुनः खोल्ने आफ्नो मागलाई स्वीकार गरेन भने इरानी पुल र पावर प्लान्टहरूमा अमेरिकाले आक्रमण गर्नेछ ।’
इरानले एक महŒवपूर्ण ऊर्जा ढुवानी मार्ग ‘हर्मुजको घाँटी’मा शत्रुका जहाज आवागमनमा प्रतिबन्ध लगाइएको बताएको छ । यसले सहज आपूर्ति हुन नसक्दा तेल र ग्यासको मूल्य बढेको छ र विश्वभरका देशहरूलाई यसको असर कम गर्न उपायहरू लागू गर्न दबाब परेको छ ।
आइतबार एक पोस्टमा ट्रम्पले लेखेका छन्, ‘स्ट्रेट (हर्मुजको घाँटी) खोल वा दुर्भाग्यको सामना गर्न तयार होऊ ।’
सोमबार इजरायलले इरानको खाडी तटमा रहेको असालुयाहस्थित इरानको सबैभन्दा ठूलो पेट्रोकेमिकल केन्द्रमा आक्रमण गरेको बताएको थियो ।
इजरायली रक्षामन्त्री इजरायली काट्जका अनुसार यो स्थलले देशको पेट्रोकेमिकल उत्पादनको लगभग ५० प्रतिशत हिस्सा ओगटेको छ, जसको मूल्य ‘दशौं अर्ब डलर’ हो ।
इरानको रिभोलुसनरी गार्डले पछिल्लो आक्रमणअघि हर्मुज खासगरी अमेरिका र इजरायलका लागि आफ्नो पुरानो हैसियत कहिल्यै नफर्किने बताएको थियो ।
गाड्र्सले सोमबार टेलिग्राममा पोस्ट गर्दै आफ्ना गुप्तचर प्रमुख माजिद खादेमी बिहान सबेरै अमेरिका–इजरायली आक्रमणमा मारिएको पनि पुष्टि गरेको छ ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले भनेका छन्, ‘हामीलाई हानि पु¥याउन खोज्ने जोसुकैसँग पनि हामी पुग्न सक्छौँ । यो क्षमता इजरायलसँग छ ।’ इजरायलको रक्षा मन्त्रालयले एरो मिसाइल इन्टरसेप्टरको उत्पादन पनि बढाउने बताएको छ, जुन देशको बहुस्तरीय हवाई प्रतिरक्षाको हिस्सा हो ।
हिंसा बढ्दै जाँदा लडाइँ रोक्न सम्भावित वार्ताको रिपोर्टहरू बाहिर आएका छन् ।
अमेरिका, इजरायली र क्षेत्रीय स्रोतलाई उद्धृत गर्दै अमेरिकी समाचार वेबसाइट एक्सियोसले पाकिस्तान, इजिप्ट र टर्कीको मध्यस्थतामा ४५ दिने युद्धविरामका र थप स्थायी शान्तिका लागि वार्ताको लागि छलफल भइरहेको जनाएको छ ।
इजिप्टका विदेशमन्त्री बद्र अब्देलट्टीले आइतबार इजिप्टका अधिकारीहरू अमेरिकी दूत स्टिभ विटकोफ र इरानका विदेशमन्त्री अब्बास अराघचीसँग वार्तामा संलग्न रहेको पुष्टि गरेका थिए ।
विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यस क्षेत्रको सैन्य अवस्थालाई नियन्त्रण गर्नेे उपायबारे विचार र प्रस्तावहरू आदानप्रदान भएका छन् ।’
फक्स न्यूजसँग कुरा गर्दै ट्रम्पले इरान सम्झौताको नजिक रहेको बताए पनि इरानले अमेरिका र इजरायलसँग कुनै पनि प्रकारको वार्ताको खण्डन गर्दै आएको छ ।
क्षेत्रीय युद्धबारे इरान, रुस र भारतबीच कूटनीतिक संवाद
इरानका विदेशमन्त्री सेयद अब्बास अराघचीले जारी क्षेत्रीय द्वन्द्वका विषयमा रुस र भारत का विदेशमन्त्रीहरूसँग टेलिफोनमार्फत छुट्टाछुट्टै छलफल गरेको जनाएका छन् ।
इरानको विदेश मन्त्रालयद्वारा सार्वजनिक गरिएको विवरणअनुसार उनले सेर्गेई लावरोभ र सुब्रमण्यम जयशंकरसँग पश्चिम एसियामा भइरहेको पछिल्लो अवस्थाबारे तथा संयुक्त राज्य अमेरिका र इजरायलका आक्रमणका कारण उत्पन्न सुरक्षा र आर्थिक प्रभावबारे विचार आदानप्रदान गरेका हुन् ।
अराघचीले पछिल्ला ३७ दिनमा अमेरिका र इजरायलद्वारा इरानमाथि गरिएका आक्रमणहरूबारे विस्तृत जानकारी दिँदै औद्योगिक संरचना, उत्पादन केन्द्र, अस्पताल, विद्यालय, आवासीय क्षेत्र तथा आणविक केन्द्रहरूमा भएको क्षतिबारे चर्चा गरेका थिए । उनले संयुक्त राष्ट्र सुरक्षा परिषद् का प्रभावशाली सदस्यहरूलाई अन्तर्राष्ट्रिय कानूनअनुसार जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरे ।
उनले इरानी जनता र सुरक्षा बलहरू आफ्नो राष्ट्रिय हित र सुरक्षाको रक्षा गर्न दृढ रहेको उल्लेख गर्दै अमेरिका र इजरायलका कदमले क्षेत्रीय तथा विश्व स्थिरतामा गम्भीर असर पार्न सक्ने चेतावनी दिएका छन् ।
यसैबीच, लावरोभले नागरिक लक्षित आक्रमणहरू, विशेषगरी बुशेहर आणविक विद्युत् केन्द्रमा गरिएका हमलाहरू तत्काल रोक्नुपर्नेमा जोड दिइका छन् र द्वन्द्व विस्तार हुन नदिन सबै अवसरहरूको उपयोग गर्नुपर्ने बताएका छन् ।
त्यस्तै, एस जयशङ्करले क्षेत्रीय स्थिरता र सुरक्षालाई पुनःस्थापित गर्न कूटनीतिक प्रयासहरूको महŒव औंल्याउँदै युद्ध रोक्न भइरहेका क्षेत्रीय तथा अन्तर्राष्ट्रिय पहलप्रति भारतको समर्थन रहेको बताएका छन् ।
फेब्रुअरी २८ देखि अमेरिका र इजरायलद्वारा इरानमाथि संयुक्त आक्रमण सुरु भएपछि क्षेत्रीय तनाव बढेको हो, जसको प्रत्युत्तरमा इरान र उसका सहयोगीहरूले मध्यपूर्व क्षेत्रमा अमेरिकी र इजरायली हितहरूलाई लक्षित गर्दै आक्रमण गरेका छन् । एजेन्सी