नेभिगेशन
विश्व

पर्दापछाडिको कूटनीति, जसले गरायो अमेरिका–इरान युद्धविराम

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले होर्मुज जलडमरुमध्य खुला नगरे सभ्यता नै नामेट पारिदिने धम्कीका बीच अचानक दुई साता युद्धविराम गर्ने खबर प्रसारित भयो । यसले इरानभित्र खुशीको लहर ल्यायो भने संसारभर नै एउटा खतरा टरेकामा ट्रम्पलाई धन्यवाद दिए । यी सबका बीचमा तेस्रो जनमतले भने ट्रम्पजस्ता अराजक व्यक्तिलाई अचानक युद्धविराम गर्न के कारणले बाध्य पा¥यो भन्ने खुल्दुली बढ्यो ।
युद्धविरामका समाचारहरु आउँदै गर्दा नयाँ खुलासा पनि भएको छ, यो सम्भव हुनुमा पाकिस्तानले मुख्य मध्यस्थकर्ताको भूमिका खेल्यो । त्यो भूमिका एउटा बयान वा एउटा टेलिफोनवार्ताका कारणले सम्भव बनाएको थिएन । विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका विवरणहरू नियाल्दा युद्धविराम सम्भव बनाउन पाकिस्तानले एकै समयमा गोप्य वार्ता, सार्वजनिक दबाब, क्षेत्रीय समन्वय र अन्तिम घडीको राजनीतिक सन्देश चारै तहमा काम गरेको थियो । 
युद्धविराम घोषणा हुनुभन्दा केही घण्टाअघि पाकिस्तानबाट ‘आशाका साना संकेत’ देखिन थालेका थिए । पाकिस्तानी स्रोतले वार्ता ‘तीव्र गतिमा’ अघि बढिरहेको बताएका थिए । रोयटर्सका अनुसार पाकिस्तानले युद्ध रोक्ने प्रारम्भिक ढाँचा तयार पारेर अमेरिका र इरान दुवैलाई पठाएको थियो । त्यसमा दुई तहको प्रस्ताव थियो । पहिलो, तत्काल युद्धविराम । दोस्रो, १५ देखि २० दिनभित्र दीर्घकालीन समझदारीतर्फ लैजाने विस्तृत वार्ता ।
यस प्रक्रियामा सबैभन्दा अगाडि देखिएका व्यक्ति थिए पाकिस्तानका सेना प्रमुख फिल्ड मार्सल असिम मुनिर । मुनिरले रातभर अमेरिकी उपराष्ट्रपति जेडी भान्स, अमेरिकी विशेष दूत स्टिभ विटकोफ र इरानी विदेशमन्त्री अब्बास अराघचीसँग सम्पर्क राखेका थिए । त्यही सम्पर्क शृंखलामार्फत तत्काल युद्ध रोक्ने खाका अघि बढाइएको थियो । पाकिस्तानलाई वार्तामा एक्लो संवाद च्यानलका रूपमा प्रयोग गरिएको दाबी पनि गरिएको छ । यसको अर्थ, वासिङ्टन र तेहरानबीच प्रत्यक्ष भरोसा कमजोर भएका बेला इस्लामाबादले दुवै पक्षबीच सन्देश पु¥याउने, प्रतिक्रिया फर्काउने र प्रस्तावका शब्द मिलाउने काम गरिरहेको थियो । प्रधानमन्त्री शहबाज शरीफले भने गोप्य प्रयासलाई सार्वजनिक दबाबमा बदले । अप्रिल ८ मा उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई समयसीमा दुई हप्ता थप्न र इरानलाई त्यति नै अवधिका लागि होर्मुज जलसन्धि खोल्न आग्रह गरेका थिए । शरीफले यसलाई ‘कूटनीतिलाई समय दिन’ गरिएको अपिलका रूपमा प्रस्तुत गरेका थिए । उनले युद्ध अन्त्यका लागि प्रयासहरू स्थिरता, सबलता र शक्तिशाली रूपमा अघि बढिरहेको बताएका थिए । यो सार्वजनिक सन्देश कूटनीतिक मात्र नभएर यसले पाकिस्तान अब पर्दापछाडिको एउटा सानो मुलुक मात्र नरहेको देखायो । साथै उसले आफू खुला रूपमा पनि युद्धविरामको राजनीतिक जिम्मा लिन तयार भएको संकेत दियो । 
बीबीसीका अनुसार, पाकिस्तानका परराष्ट्रमन्त्री मोहम्मद इसाक दारको भूमिका पनि कम महŒवपूर्ण देखिँदैन । ट्रम्पले तोकेको अन्तिम समयसीमा नजिकिँदै गर्दा दारले टर्की, इजिप्ट र साउदी अरेबियाका समकक्षीहरूसँग छुट्टाछुट्टै कुराकानी गरेका थिए । यसले पाकिस्तानले वार्तालाई अमेरिका–इरानको द्विपक्षीय विषयका रूपमा मात्र नहेरी उसले क्षेत्रीय शक्तिहरूलाई एउटै धागोमा बाँधेर युद्ध अझ फैलिन नदिने वातावरण बनाउने प्रयास गरिरहेको प्रमाणित ग¥यो । इरानका लागि पाकिस्तानी राजदूत रेजा अमिरी मोघदमले पनि पाकिस्तानको पहललाई ‘चुनौतीपूर्ण र संवेदनशील चरणबाट एक कदम अगाडि’ पु¥याउने प्रयास भनेका थिए । 
तर यो कूटनीति सीधा र सहज थिएन । वार्ता अगाडि बढिरहेका बेला इरानसँग जोडिएको साउदी औद्योगिक संरचनामाथिको आक्रमणले प्रक्रिया भत्किन सक्ने जोखिम बढाएको थियो । यही कारण पाकिस्तानले दबाब बढाउन एकाएक कडा बयान जारी ग¥यो । पाकिस्तानले साउदीमाथिको आक्रमणले ‘शान्तिपूर्ण माध्यमबाट द्वन्द्व समाधान गर्ने इमानदार प्रयासलाई बिगारेको’ सन्देश दिएका थिए । पाकिस्तानका लागि यो संवेदनशील बिन्दु थियो, किनकि एकातिर उसले इरानसँग ‘भ्रातृ’ सम्बन्धको भाषा प्रयोग गरिरहेको छ भने अर्कोतिर साउदी अरेबियासँग गहिरो सुरक्षा र रणनीतिक सम्बन्ध राख्ने गरेको छ । यही सन्तुलन जोगाउँदै इस्लामाबादले इरानमाथि दबाब पनि दियो र संवादको ढोका पनि बन्द हुन दिएन ।
यी वार्ताका बीच टर्कीको भूमिका चाहिँ अझ बढी पर्दापछाडिको थियो ।  गुप्तचर संस्था एमआईटीले पश्चिमा मुलुक र इरान दुवैसँग प्रत्यक्ष सम्पर्क कायम राख्न सक्यो । इरानसँगको संवाद राजनीतिक भएर मात्र हुँदैन । सैन्य र राजनीतिक दुई अलग विभागसँग सम्बन्ध राख्ने क्षमता टर्कीसँग मात्र थियो । टर्कीले इरानका दुवै पक्षसँग संवादका बाटा खुला राख्ने, भ्रम घटाउने, तनाव कम गर्ने सन्देश पु¥याउने, थप उत्कर्ष रोक्ने प्रस्ताव राख्ने र विभिन्न गुप्तचर निकायबीच समन्वय गर्ने काम गरेको रोयटर्सले बताइएको छ । टर्कीले युद्ध सुरु हुनुअघि नै अमेरिका र इरानबीच प्रत्यक्ष वार्ता आयोजना गर्न चाहेको थियो तर सफल नभएपछि पछिल्ला हप्ताहरूमा सहायक समन्वयकर्ताको भूमिका खेलेको देखिन्छ । 
यहाँ पाकिस्तान र टर्कीको भूमिकाबीचको फरक पनि बुझ्नुपर्ने हुन्छ । पाकिस्तान औपचारिक वा प्रत्यक्ष मध्यस्थकर्ता देखियो । प्रस्ताव उसैले अघि सारेको थियो । समयसीमा थप्न उसैले माग ग¥यो, अन्तिम वार्ताका लागि इस्लामाबादलाई स्थल बनाउने पहल पनि उसैले ग¥यो । टर्की भने सहायक ‘ब्याकच्यानल’ संयन्त्र बन्यो । टर्कीले प्रत्यक्ष राजनीतिक घोषणा कम तर संवेदनशील सुरक्षा सम्पर्क र भ्रम तथा दुविधा रोक्ने भूमिका बढी देखियो । यही कारण पाकिस्तानको नाम खुला रूपमा आयो तर टर्कीको भूमिका पछि मात्र रिपोर्ट हुन थाल्यो । 
युद्धविरामको आधारभूत सूत्र भने होर्मुज जलसन्धि नै रह्यो । युद्धविरामको अस्थायी सहमतिमा जलसन्धि पुनः खोल्ने प्रश्न केन्द्रीय थियो । त्यहाँको अवरोधले विश्व ऊर्जा आपूर्ति र तेल बजारलाई गम्भीर धक्का दिइसकेको थियो । पाकिस्तानले यही मुद्दालाई वार्ताको व्यवहारिक आधार बनायो । पहिले समुद्री मार्ग खुलाउने, त्यसपछि बाँकी ठूला विवादमा कुरा गर्ने । अर्को शब्दमा, उसले ठूलो वैचारिक सहमति खोज्नुअघि तत्काल संकट कम गर्ने बाटो रोज्यो । 
अन्ततः बुधबार बिहानसम्म आइपुग्दा पाकिस्तानले आफूले खोजेको न्यूनतम उपलब्धि हासिल ग¥यो । दुवै पक्ष आक्रमण रोक्न र अर्को चरणको वार्तामा बस्न तयार भए । शुक्रबार इस्लामाबादमा दीर्घकालीन समझदारीबारे थप वार्ता हुने अपेक्षा गरिएको छ । तर सम्झौताको भाषा अझै अस्पष्ट छ र युद्धविरामका सर्तहरूबारे सबै पक्षको व्याख्या एउटै छैन । त्यसैले यो पूर्ण शान्ति होइन, बरु पाकिस्तान र टर्कीले मिलेर बनाएको एउटा नाजुक विराम बन्न पुगेको छ । यसले युद्धलाई केही समयका लागि रोकेको त छ तर भविष्यमा के हुने हो भन्ने अझै अनिश्चितता जारी नै छ । अब यसको असली परीक्षा इस्लामाबादमा हुने भनिएको वार्ताले तय गर्नेछ हुनेछ । (एजेन्सीहरुको सहयोगमा)
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्