दुबई । इरान र अमेरिकाबीच भएको भनिएको अस्थायी युद्धविराम बिहीबार सङ्कटमा परेको देखिएको छ । बेरुतमा इजरायलको भीषण बमबारी, हर्मोज जलडमरूमा इरानको निरन्तर नियन्त्रण र प्रस्तावित शान्ति वार्ताको भविष्यप्रति बढ्दो अनिश्चितताले यसलाई थप जटिल बनाएको छ । इरान र अमेरिका दुवैले युद्धविरामको घोषणापछि आ–आफ्नो जित दाबी गरे पनि एकअर्कालाई दबाब दिने क्रम भने रोकिएको छैन । इरानी समाचार एजेन्सीहरूले तेल ढुवानीका लागि विश्वकै महत्त्वपूर्ण मार्ग मानिने हर्मोज जलडमरूमा इरानी सेनाले ’माइन’ बिछ्याएको सङ्केत दिएका छन् । अर्कोतर्फ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सम्झौता पालना नगरे पहिलेको भन्दा कडा आक्रमण गर्ने चेतावनी दिएका छन् ।
इजरायल र हिजबुल्लाहबीचको लडाइँ पनि युद्धविरामको हिस्सा हो कि होइन भन्नेमा ठूलो मतभेद देखिएको छ । इजरायलले बुधबार बेरुतमा गरेको हवाई आक्रमणमा परी फेब्रुअरी २८ मा युद्ध सुरु भएयताकै सबैभन्दा बढी मानिस मारिएका छन् । लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार बेरुत र अन्य क्षेत्रमा भएका यी आक्रमणमा कम्तीमा २०३ जनाको मृत्यु भएको छ भने १ हजारभन्दा बढी घाइते भएका छन् । यसका बाबजुद इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हिजबुल्लाहमाथि शक्ति र सटिकताका साथ आक्रमण जारी राख्ने बताएका छन् ।
तनावको केन्द्रमा रहेको इरानको युरेनियम भण्डारको भविष्य के हुने, हर्मोज जलडमरूबाट सामान्य आवतजावत कहिले सुरु हुने र इरानको मिसाइल क्षमता एवं क्षेत्रीय सशस्त्र समूहलाई उसको समर्थनबारे के गर्ने भन्ने प्रश्नहरू अझै अनुत्तरित छन् । बेलायती विदेशमन्त्री यभेट कुपरले यो युद्धविराम टिकिरहनुपर्ने र हर्मोज जलडमरू खुला हुनुपर्नेमा जोड दिएका छन् । इरानी संसदका सभामुख मोहम्मद बागेर कालिबाफले भने इजरायलले आक्रमण जारी राखे कडा जवाफ दिने चेतावनी दिएका छन् । उनले यसै सप्ताहान्तमा इस्लामावादमा अमेरिकी उपराष्ट्रपति जेडी भान्ससँग वार्ता गर्न सक्ने सम्भावना छ ।
इरानको रिभोलुसनरी गार्डले हर्मोज जलडमरूमा समुद्री माइनहरू राखेको खबरले तेल बजारमा हलचल ल्याएको छ । विश्वको झण्डै २० प्रतिशत तेल र ग्यास ढुवानी हुने यो मार्ग बन्द हुँदा अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य ह्वात्तै बढेको छ । अहिले ‘ब्रेन्ट क्रुड’ को मूल्य प्रति ब्यारेल ९८ डलर पुगेको छ, जुन युद्ध सुरु भएयता ३५ प्रतिशतको वृद्धि हो । इरानले अमेरिकाले आफ्नो आक्रामकता अन्त्य गरेपछि र इजरायलले लेबनानमा आक्रमण रोकेपछि मात्र जहाजहरूलाई मार्ग खुला गर्ने सर्त अघि सारेको छ ।
इरानको मिसाइल र आणविक कार्यक्रमको भविष्य पनि अझै अन्योलमा छ । अमेरिकाले इरानलाई कहिल्यै पनि आणविक हतियार बनाउन नदिने अडान राख्दै आएको छ भने इरानले आफ्नो कार्यक्रम शान्तिपूर्ण रहेको दाबी गर्दै आएको छ । राष्ट्रपति ट्रम्पले वास्तविक सम्झौता पूर्ण रूपमा कार्यान्वयन नभएसम्म अमेरिकी युद्धपोत र सेना इरान वरपर नै रहने स्पष्ट पारेका छन् । न्यू योर्कस्थित एक संस्थाले त यो युद्धविराम भत्किने अवस्थामा पुगेको चेतावनीसमेत दिएको छ ।
लेबनान युद्धविरामको ‘अविभाज्य भागः ’इरानी सभामुख
अमेरिकासँग लागु गरिएको दुई हप्ताको युद्धविरामको एक महŒवपूर्ण हिस्सा लेबनान पनि भएको इरानी संसद्का सभामुख मोहम्मद बाघेर गालिबाफले बिहीबार बताएका छन् । उनले सहमतिको उल्लङ्घनले गम्भीर परिणाम निम्त्याउने चेतावनी दिएका छन् ।
‘इरानको सहयोगीको रूपमा रहेका लेबनान र सम्पूर्ण प्रतिरोधी गठबन्धन युद्धविरामको एक अविभाज्य हिस्सा हो,’ सभामुख गालिबाफले एक्स लेख्दै भनेका छन् ।
लेबनानमा इजरायलले गरेको आक्रमणमा २०० भन्दा बढी व्यक्तिको मृत्यु भएको भोलिपल्ट गालिबाफले युद्धविरामको उल्लङ्घन नगर्न चेतावनी दिएका थिए ।
‘युद्धविराम उल्लङ्घन महँगो लागत साबित हुने र यसले कडा प्रतिक्रिया निम्त्याउने छ,’ उनले भनेका छन् ।
युद्धविराममा सहमति भएदेखि तेहरान र वाशिङ्गटनले लेबनान समावेश छ कि छैन भन्ने बारेमा प्रतिस्पर्धात्मक सन्देश दिएका छन् ।
बुधबार साँझ अमेरिकी उपराष्ट्रपति जेडी भान्सले लेबनानमाथिको आक्रमण ‘वैध गलतफहमी’को संज्ञा दिएका थिए ।
‘मलाई लाग्छ, इरानीहरूले सोचेका थिए कि युद्धविराममा लेबनान पनि समावेश छ र त्यसो भएन । हामीले त्यो वाचा कहिल्यै गरेका छैनौँ,’ हङ्गेरीको भ्रमणपछि उनले भने ।
‘लेबनानमा इरानको उनीहरूसँग कुनै सम्बन्ध छैन । यदि इरान यो वार्ता भङ्ग गर्न चाहन्छ भने यो उनीहरूको छनौट हो,’ उनले भने ।
इरानी अधिकारीहरूले युद्धविराममा लेबनानलाई पनि समावेश गर्न जोड दिएका छन् र युद्धविरामको घोषणा गर्दा मध्यस्थकर्ता पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफको बयानलाई औँल्याएका छन् ।
उता शरिफले ट्वीटमा लेखेका छन्, ‘इस्लामिक गणतन्त्र इरान र संयुक्त राज्य अमेरिका तथा उनीहरूका सहयोगी राष्ट्रहरूले लेबनान र अन्य सबै स्थानमा तत्काल युद्धविरामका लागि सहमति जनाएका छन् । मलाई यो जानकारी गराउँदा खुशी लागेको छ ।’ शरिफले ट्वीटमा लेखेका छन् ।
विहीबार सभामुख गालिबाफले पाकिस्तानी नेता शरिफले लेबनान मुद्दालाई सार्वजनिक र स्पष्ट रूपमा जोड दिएको बताएका छन् । ‘त्यहाँ अस्वीकार गर्ने वा पछाडि हट्ने कुनै ठाउँ छैन,’ उनले थपे ।
हिजबुल्लाहमाथि ‘आवश्यकता अनुसार’ आक्रमण
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले लेबनानमा घातक इजरायली आक्रमणको भोलिपल्ट विहीबार इरान समर्थित हिजबुल्लाहमाथि ‘आवश्यक पर्दा’ आक्रमण गरिरहने बताएका छन् ।
‘हामी सटीकता, र दृढताका साथ हेजबुल्लाहमाथि सशक्त आक्रमण गर्न जारी राख्छौँ,’ प्रधानमन्त्री नेतान्याहूले सामाजिक सञ्जाल एक्समा आफ्नो व्यक्तिगत अकाउन्टमा जारी सन्देशमा भनिएको छ ।
‘हाम्रो सन्देश स्पष्ट छ, जसले इजरायली नागरिकविरुद्ध कुनै गतिविधि गर्छ, हामी उनीहरूलाई आक्रमण गर्नेछौँ । हामी इजरायलको उत्तरी भागमा रहेका बासिन्दाहरूलाई पूर्ण रूपमा सुरक्षा बहाल गर्दैनौँ, तबसम्म हामी आवश्यक पर्ने ठाउँमा हिजबुल्लाहमाथि आक्रमण जारी राख्नेछौँ ।’
यसैबीच, इजरायली सेनाले सैनिकहरू मार्चको सुरुदेखि नै हिजबुल्लाहसँग लडिरहेका र उक्त क्षेत्रमा नियन्त्रण कायम गरिरहेको बताएको छ । सेनाले दक्षिणी लेबनानमा स्थलगत कारबाही जारी राखेको बताएको छ ।
एक छुट्टै विज्ञप्तिमा इजरायलले ‘हिजबुल्लाह समूहका आतङ्ककारी लडाकू र कमान्डरहरूले लेबनानको लितानी नदीको उत्तरबाट दक्षिणसम्म आवागमनका लागि प्रयोग गर्ने दुई प्रमुख सीमाहरूमा रातभर आक्रमण गरेको जनाएको छ । इजरायली सेनाले लेबनानी सशस्त्र समूहसँग सम्बन्धित करिब १० वटा हतियार भण्डारण सुविधा, लन्चर र कमान्ड सेन्टरमा आक्रमण गरेको जनाएको छ ।
लेबनानमा बुधबार इजरायली आक्रमणमा परी दुई सयभन्दा बढी व्यक्तिको मृत्यु हुनुको साथै एक हजारभन्दा बढी घाइते भएका लेबनानी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
लेबनानका प्रधानमन्त्रीको कार्यालयले ‘सयौँ निर्दोष र निरीह नागरिकलाई लक्षित गरी इजरायली आक्रमणका शहीद र घाइतेहरूका लागि बिहीबार राष्ट्रिय शोकको दिन’ घोषणा गरेको छ । सरकारले सार्वजनिक प्रशासन बन्द गर्न र झण्डा आधा झुकाउन निर्देशन दिएको छ ।
हिजबुल्लाहले बिहीबार नै अमेरिका–इरान युद्धविरामको उल्लङ्घन भन्दै इजरायलतर्फ रकेट प्रहार गरेको बताएको थियो ।
संयुक्तराज्य अमेरिका र इरानबीच दुई हप्ताका लागि युद्धविराम र वार्ताका लागि सहमति भएको, यस क्षेत्रमा हजारौँको ज्यान लिएको छ र विश्व अर्थतन्त्रलाई सङ्कटमा धकेलेको छ । एएफपी
इरान युद्धमा नेटोलाई दबाब दिँदै ट्रम्प
वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नाटोलाई कडा चेतावनी दिएका छन् । साथै उनले ग्रिनल्यान्डको विषयमा आफ्नो धम्की दोहो¥याएका छन् । ट्रम्पको उक्त चेतावनीले अमेरिका भविष्यमा सात दशक पुरानो सुरक्षा सङ्गठनबाट बाहिर जान सक्ने डर नेटो गठबन्धनका केही सदस्यहरूमा उत्पन्न गराएको छ ।
बैठकपछि नेटो महासचिव मार्क रुटसँगको छलफलमा ट्रम्पले इरानसँगको युद्धमा नेटोले आवश्यक सहयोग नदिएको अवस्थामा गठबन्धनमा भरोसा गर्न नसकिने स्पष्ट पारे । उनले ट्रुथ सोशलमा पोस्ट गर्दै भनेका छन्, ‘हामीलाई आवश्यक परेका बेला नेटो छैन भने उनीहरुलाई हामी आवश्यक परेका बेला हामी पनि उनीहरुका लागि उभिने छैनौँ ।’
उनले ग्रिनल्यान्डको बारेमा ‘ठूलो, खराब दौड, आइसको पिस’ भनेर टिप्पणी गरे, तर यसले के अर्थ राख्छ भन्ने स्पष्ट पारेनन् ।
पूर्व डच प्रधानमन्त्री रुटले बैठकको वातावरणलाई खुला र स्पष्ट छलफल भएको बताए तर ट्रम्पले नेटो छोड्ने योजना स्पष्ट भने गर्न नसकेको जनाए । ह्वाइट हाउसका प्रेस सचिव क्यारोलिन लेभिटले राष्ट्रपति र महासचिवबीच छलफल जारी रहेको र आवश्यक निर्णय केही घण्टाभित्रै सार्वजनिक हुन सक्ने बताइन् ।
द वाल स्ट्रिट जर्नलका अनुसार ट्रम्पले केही नेटो सदस्यहरूलाई असहयोगी ठानेर अमेरिकी सेनालाई तिनीहरूको देशबाट निकाल्ने योजना पनि छलफल गर्न खोजेका थिए । उनले यस अघिका र हालका कदमहरूद्वारा नेटो गठबन्धनमा अस्थिरता सिर्जना गर्दै आएका छन् र यो अझ संवेदनशील बनेको छ किनभने अमेरिकाले इरानसँग हालै दुई हप्ताको युद्धविराम हासिल गरेको छ ।
ट्रम्पले नेटो सदस्यहरूको क्षमतामा प्रश्न उठाउँदै बेलायतका प्रधानमन्त्री किर स्टार्मरलाई ‘विन्स्टन चर्चिल जस्तो साहसी नेता होइन’ भनेर आलोचना गरेका थिए र बेलायतको विमानवाहक जहाजलाई सानो र प्रभावहीन, अर्थात् ‘खेलौना’ जस्तो भन्दै उपहास गरेका थिए । यस प्रकारका धम्कीहरूले संयुक्त राज्य अमेरिकाको परम्परागत मित्र राष्ट्रहरूमाथि असन्तोष सिर्जना गरेको छ ।
रुट अमेरिकी राष्ट्रपति ट्रम्पलाई शान्त र सहज महसुस गराउने र उनीसँग मित्रतापूर्ण व्यवहार कायम राख्ने मुख्य व्यक्ति बनेका छन् । उनले पेन्टागन प्रमुखसँग पनि भेट्ने अपेक्षा राखेका छन् र अमेरिकी विदेशमन्त्री मार्को रुबियोसँग इरान, युक्रेन र नेटो जिम्मेवारीबारे छलफल गरिसकेका छन् ।
ट्रम्प पुनः सत्तामा फर्किएपछि, उनका कदमहरूले नेटोमा तनाव बढाएको छ । विशेष गरी ग्रिनल्यान्ड कब्जा गर्ने धम्की, युक्रेन–रूस युद्धमा सदस्य राष्ट्रहरूको सक्रियता नदिने निर्णय र मित्र राष्ट्रहरूले पर्याप्त रक्षा खर्च नगरेको खण्डमा सहयोग रोक्ने चेतावनीले गठबन्धनलाई चुनौती दिइरहेको छ । ट्रम्पको रणनीति र व्यक्तिगत शैलीले अमेरिका र अन्य शक्ति राष्ट्रहरूबीच अस्थिरता सिर्जना गर्ने अवस्था बढाएको छ । (एपी/एएफपी)