नेभिगेशन
स्वास्थ्य
मनोविज्ञान

हराउँछ भूत बनेर, फर्कन्छ भ्रम भएर

‘भूत देखाउनु नराम्रो हो, तर ‘भूत बनेर देखाउनु’ झनै नराम्रो होः विषाक्त डेटिङ प्रवृत्तिको प्रारम्भिक संकेतहरू ।’ यो पाँच दिनअघि द इण्डियन एक्सप्रेसमा प्रकाशित मानसिक स्वास्थ्यसम्बन्धी एउटा लेखको विषय हो ।
एक व्यक्ति पहिले सम्बन्धमा समस्या हुँदा आफ्नो गल्ती लुकाउन वा उल्ट्याउन खोज्छ र पार्टनरलाई नै ‘तिमीले गलत बुझ्यौ’ वा ‘तिमी नै बढी प्रतिक्रिया दिइरहेका छौ’ भनेर दोषी महसुस गराउँछ । यसरी मानसिकरूपमा अलमल्याएपछि ऊ अचानक सम्पर्क नै बन्द गर्छ ।
विशेषज्ञहरूका अनुसार, यो व्यवहार साधारण ‘घोस्टिङ’ भन्दा अझ खतरनाक हुन्छ, किनकि यसले पीडितको आत्मविश्वास घटाउँछ र आफूले अनुभव गरेको कुरा नै गलत हो कि भन्ने शंका उत्पन्न गराउँछ । लेखले यस्तो संकेत देखिएमा सतर्क रहन र आफ्नो मानसिक स्वास्थ्यलाई प्राथमिकता दिन सुझाव दिएको छ ।
केही बुझ्नुभो ? आउनुस् सरल तरिकाले बुझौं । प्रेममा परेका एक जोडी छन्, एक जना अचानक सम्पर्कविहीन भए । केही अवधिपछि फर्किए र यस्तो व्यवहार देखाए मानौं उनी कतै गएकै थिएनन् । यसले दोस्रो साथीलाई पर्ने मानसिक आघातको अवस्था ‘घोस्टलाइटिङ’ हो । यसबारे इन्टरनेटका साइट र सोसल मिडियामा सर्च गर्दा थुप्रै जानकारी र पोस्टहरू पाउन सकिन्छ । के तपाईंलाई कसैले यसैगरी झुक्याएको छ ? 
बराबर देखभेट र गफगाफ भइरहने कोही केही समय सम्पर्कविहीन बसेर पुनरागमन गर्नु नौलो हुन्न । तर, फर्किएपछि ‘म यतै छु, कतै गएको छैन । तपाईं नै झुक्किनुभो वा बेवास्ता गर्नुभो’ भन्दिँदा दोस्रो व्यक्ति संवेदनशील भए ठूलो मानसिक आघात पर्छ । यस्तोमा सतर्क हुनुपर्ने सुझाव मानसिक स्वास्थ्य परामर्शदाताहरूको छ । सोसल मिडियामा फाट्टफुट्ट ‘घोस्टलाइटिङ’ ह्यासट्यागमा आइरहेका पोस्ट ब्रिटिस नाटककार ह्यामिल्टनको ‘ग्यास लाइट’बाट प्रेरित छ । 
ज्याक म्यानिङघमको चाला निको छैन । पत्नी बेला म्यानिङघमलाई पागल साबित गर्न षड्यन्त्र रच्छन् । घरमा ग्यासबाट बल्ने बत्तीहरू (ग्यास लाइट) मधुरो पारिदिन्छन् । जब श्रीमतीले ‘बत्ती मधुरो भयो’ भन्छिन्, ज्याक भन्छन्, ‘होइन, बत्ती त उस्तै छ, तिम्रो भ्रम मात्र हो ।’
बारम्बार घरका सामानहरू लुकाउने र श्रीमतीलाई नै ‘तिमीले हरायौ’ भन्दै दोष लगाउने गरी राख्छन् । धेरैपटक यस्तो झुट र मानसिक प्रहारले बेलालाई साँच्चै ‘म पागल त भइरहेकी छैन ?’ भन्ने शंका लाग्न थाल्छ । ज्याक मौकाको ताकमा छन् ।
अब बीचका केही दृश्य छाडेर सोझै लास्टतिर जाऊँ । बेलालाई आफ्नो होसहवास ठीक छ भन्ने थाहा छ । तर, श्रीमानले उनलाई भनिरहने कुराले झस्काउँछ । पछि एक जासुसको सहयोगमा उनले श्रीमानको सत्यता थाहा पाउँछिन् । ज्याकले बेलालाई पागल बनाउन र उनको सम्पत्ति हत्याउन अनेकौं मनोवैज्ञानिक चालहरू चलेको खुल्छ ।
यो कथा प्याट्रिक ह्यामिल्टनले लेखेर सन् १९३८ मा प्रदर्शित प्रसिद्ध ब्रिटिस नाटक ‘ग्यास लाइट’को हो । पछि यो नाटक अमेरिकामा ‘एन्जल स्ट्रिट’को नामले प्रदर्शन हुँदा दर्शकले मन पराएका थिए । पछि १९४४ मा यही कथामा हलिउड फिल्म ‘ग्यासलाइट’ पनि आएको थियो । 
ह्यामिल्टनको मनोवैज्ञानिक थ्रिलर नाटकले मानसिक स्वास्थ्यको क्षेत्रका लागि नयाँ शब्द चर्चामा ल्याइदियो, ग्यासलाइटिङ । यसले कसैलाई आफ्नो वास्तविकता वा सम्झनामा शंका गर्न बाध्य पार्ने चलखेललाई जनाउँछ ।
आफ्नै सम्झना र विवेकमाथि शंका गर्न बाध्य पार्ने प्रक्रियालाई ‘ग्यासलाइटिङ’ भनिन्छ । अब यही शब्द अचेल ‘घोस्टलाइटिङ’मा रुपान्तरित भएको हो । तर, दुवै जसरी शब्दमा फरक छ, घटनाक्रम र अथ्र्याउने भावमा पनि फरक छ ।
‘घोस्टलाइटिङ’ मनोवैज्ञानिक छलको एक सूक्ष्म तर गम्भीर रूप हो, जसले ‘भूतजस्तो बेपत्ता हुने’ (घोस्टिङ) र ग्यासलाइटिङ दुवैको तŒव मिसाउँछ । घोस्टलाइटिङ भन्नाले यस्तो व्यवहारलाई जनाउँछ जहाँ पहिले कुनै सम्बन्धमा सक्रिय रहेको व्यक्ति अचानक सम्पर्क तोड्छ भूतजसरी हराएर । तर, पछि फर्किएर आफू गायब भएको वा सम्पर्कविहीन भएको व्यवहारलाई अस्वीकार गर्छ वा दोष उल्टै अर्कोलाई दिन्छ । सरल भाषामा भन्नुपर्दा ‘तिमीलाई त्यस्तो लागेको मात्र हो, म त हराएको होइन’ भन्छ । जबकि वास्तविकता फरक हुन्छ ।
सधैं सम्पर्कमा रहने जोडामा एक जनाको फोन उठ्दैन, म्यासेजको रिप्लाइ आउँदैन । लामो समय सम्पर्कविहीन । यो ‘घोस्टिङ’ हो, साथीभाइ, आफन्त वा जोडीसँग बिनासूचना केही समय गायब हुनु । 
‘तिमीले नै इग्नोर ग¥यौ,’ ‘तिमी कति ड्रामाटिक भयौ,’ ‘टेक्निकल इश्यू होला’ र ‘म त सधैं यहीँ थिएँ’ आदि जवाफले आफू हराउनु अस्वीकार गर्ने, दोष साथीमाथि सार्ने व्यवहारले वास्तविक घटनालाई नै शंकास्पद बनाउँछ । 
डेटिङमा रहेका जोडीमध्येका एक जना बिना पूर्वजानकारी बेपत्ता भए । साता, दुई साता, महिना बित्यो । टुप्लुक्क आए, तर आफू कहाँ कुन कारणले यत्तिका दिन हराएको भन्ने कुरा गर्न चासै नराखे के भन्ने ? यही विषय ‘घोस्टलाइटिङ’का रूपमा मानसिक स्वास्थ्यको परिचर्चामा आएको हो ।
मानसिक स्वास्थ्यको क्षेत्रमा सक्रिय भारतीय मूलकी अमेरिकी विशेषज्ञ फातिमा आलमले टाइम्स अफ इण्डियामा प्रकाशित एउटा रिपोर्टमा भनेकी छन्, ‘घोस्टलाइटिङ तब हुन्छ जब एक व्यक्ति अचानक तपाईंको जीवनबाट गायब हुन्छ र पछि फर्केर त्यस्तो व्यवहार गर्छ जसले तपाईंलाई आफ्नो भावना वा स्मरणशक्तिमा शंका गर्न बाध्य पार्दछ ।’ 
उनले भनेकी छन्, ‘सम्बन्धमा कसैले तपाईंलाई बेवास्ता गर्नु (घोस्टिङ) उसको कमजोरी हुन सक्छ, तर तपाईंलाई बेवास्ता गरेर उल्टै तपाईंलाई नै दोषी देखाउनु (घोस्टलाइटिङ) उसको नियत हो । आफ्नो मानसिक शान्तिलाई कसैको ‘कन्फ्युजन’को सिकार हुन नदिनुहोस् ।’
सामाजिक सञ्जालमा धेरैले आफूलाई ‘घोस्टलिट’ भएको पोस्ट हाल्न थालेपछि मानसिक स्वास्थ्यको क्षेत्रमा यसबारे चर्चा भइरहेको छ । डेटिङ साइटमा जोडिएका एक जनाको भनाइ छ, ‘उनले केही साता कुरा गर्छन् र त्यसपछि अचानक मोबाइलमै प्रतिक्रिया अन्त्य गर्छन् ।’ केही हप्तापछि उही व्यक्ति फेरि ‘हामीलाई राम्रो कुरा थियो’ भनेर सन्देश पठाउँछ, र जब प्रश्न गर्दा उनी भन्छन्, ‘तिमीले धेरै सोच्यौ, म त व्यस्त थिएँ ।’ यसले सम्बन्धित व्यक्ति आफ्नो अनुभूतिलाई शंका गर्न थाल्छ । 
मनोवैज्ञानिक र सम्बन्ध विशेषज्ञहरूका अनुसार यस्तो व्यवहारले साथीलाई भावनात्मकरूपमा थप गहिरो असर पर्न सक्छ, किनभने यसले मानिसलाई यो विश्वास गराइदिन खोज्छ कि ‘सायद मैले नै केही गलत गरें’ वा ‘म धेरै संवेदनशील हुँ ।’ सामान्य घोस्टिङले केवल सम्पर्क रद्द गर्छ, तर ‘घोस्टलाइटिङ’ले तपाईंको अनुभूति र आत्ममूल्यमा नै आघात पु¥याउँछ । 
ग्यासलाइटिङको अन्तिम लक्ष्य भनेको पीडितलाई आफ्नै वास्तविकतामाथि विश्वास गर्न नसक्ने बनाउनु हो । ‘घोस्टिङ’ भन्नाले कुनै मानिसले अचानक सम्पर्क काटेर सबै सञ्चार बन्द गर्नु हो, बिना कुनै स्पष्टीकरण । यसले दुःख, भ्रम र आत्मशंका ल्याउन सक्छ । ‘घोस्टलाइटिङ’ भनेको कुनै व्यक्तिले अर्काको अनुभूतिलाई अस्वीकार गरेर, उनको याद, अनुभव वा भावनालाई गलत ठान्न बाध्य पार्ने मनोवैज्ञानिक चाल हो । जब यी दुई व्यवहारहरू एकै साथ देखा पर्दछन्, तब त्यसलाई ‘घोस्टलाइटिङ’ भनिन्छ । जहाँ कसैले पहिले तपाईंलाई ‘घोस्ट’जस्तै उपेक्षा गर्छ र पछि फर्किएर त्यसो नगरेको भन्ने प्रयास गर्छन् ।
मनोवैज्ञानिकहरूका अनुसार यो भावनात्मक दुव्र्यवहार (इमोसनल अब्युज)को एउटा रूप हो । अमेरिकाको न्यू हेवनस्थित येल सेन्टर फर इमोसनल इन्टेलिजेन्सकी सहसंस्थापक डा. रबिन स्टर्नले ‘द ग्यास्लाइट इफेक्ट’ नामक पुस्तकमा लेखेकी छन्, ‘ग्यासलाइटिङ दुई व्यक्तिको आपसी सम्बन्धको परिणाम हो, जहाँ एक पक्षले नियन्त्रण गर्न चाहन्छ र अर्को पक्षले आफ्नो वास्तविकतालाई त्यागेर अर्कोको कुरा मान्न थाल्छ ।’ 
अमेरिकी क्लिनिकल मनोवैज्ञानिक, लेखक एवम् मनोविज्ञानकी प्राध्यापक डा. रामानी सुर्यकान्तम दुर्वासुलाका अनुसार, ‘यो एक प्रकारको स्लो पोइजन हो । यसले पीडितको आत्मविश्वासलाई भित्रैदेखि खोक्रो बनाइदिन्छ ।’
यो व्यवहारका मुख्य संकेतहरू हेक्का राख्नुपर्छ । यदि कसैले ‘मैले त्यस्तो कहिल्यै भनेकै छैन, तिमीले गलत सुनेका हौ’ भनेर ठाडै झुट बोल्छ । ‘तिमी साह्रै संवेदनशील भयौ, सानो कुरालाई इस्यु नबनाऊ’ भन्दै भावनाको अवमूल्यन गर्छ । ‘सबैले तिमीलाई पागल भन्छन्, म मात्र तिम्रो साथमा छु’ भनेर एक्लो बनाउने रणनीतिमा देखिन्छ । ‘तिमीलाई कुरा बिर्सिने रोग लागिसक्यो’ भन्दै आफ्नै स्मरण क्षमतामा  शंका उब्जाउने कुरा गर्छ भने त्यो व्यक्तिसँग सतर्क हुनुस् ।
यसबारेमा केही मनोवैज्ञानिक व्याख्याहरू पनि उपयोगी थाहा पाइराख्दा दैनिक जीवनमा सतर्क रहन मद्दत मिल्छ ।
  
१. यथार्थको तोडमोड (रियालिटी म्यानिपुलेसन):
घोस्टलाइटिङ गर्ने व्यक्तिले घटनाको वास्तविकता नै अस्वीकार गर्छ । यसले पीडितलाई ‘म नै गलत थिएँ कि’ भन्ने द्विविधामा पार्छ ।
२. संज्ञानात्मक द्वन्द्व (कग्निटिभ डिस्सोनान्स): 
मानिसले दुई विरोधाभासी अनुभव भोग्दा मानसिक तनाव महसुस गर्छ  । उनी हराएका थिए । तर बारम्बार भन्छन् ‘म हराएकै होइन ।’ यस्तो भए दोस्रो व्यक्तिको आत्मविश्वास कमजोर हुन्छ ।
३. एट्याचमेन्ट थ्यौरी:  
घोस्टलाइटिङ गर्नेहरू प्रायः एभोइडेन्ट एट्याचमेन्ट भएका हुन सक्छन् । कसैसँग पनि नजिकिन डराउने वा जिम्मेवारीबाट भाग्ने हुन सक्छन्, व्यवहार त्यही कारण पनि हुन सक्छ ।
४. भावना अस्वीकार: 
पीडितको अनुभूति र पीडालाई जब ‘ओभररियाक्सन’ भनेर खारेज गरिन्छ, यसले आत्मसम्मान घटाउँछ ।
५. शक्ति र नियन्त्रणको खेल:
यो व्यवहार प्रायः सम्बन्धमा शक्ति सन्तुलन बिगार्ने तरिका हो । घोस्टलाइटिङ गर्नेले दोस्रो व्यक्तिको मानसिकतामाथि आफ्नो नियन्त्रण  राख्न चाहन्छ ।
यो खतरनाक छ । कारण, आत्म–सन्देह बढाउँछ । मानसिक तनाव, चिन्ता र डिप्रेसन बढ्न सक्छ । सम्बन्धप्रति विश्वास कमजोर हुन्छ । वास्तविकता बुझ्ने क्षमता नै धमिलिन सक्छ । कोही अचानक हराउँछ, महिनौंपछि फर्किन्छ र भन्छ – ‘मैले त म्यासेज नै गरेको थिएँ, तिमीले नै ध्यान दिएनौ ।’ यसले पीडितलाई आफ्नै स्मृतिमाथि शंका गराउँछ, यही हो घोस्टलाइटिङ । यो आधुनिक सम्बन्धहरूको उत्पादन हो, तर यसको जरा गहिरो मनोवैज्ञानिक प्रक्रियामा छ– यथार्थलाई मोड्ने, भावनालाई अस्वीकार गर्ने, र नियन्त्रण कायम गर्ने ।
‘घोस्टलाइटिङ’ वा ‘ग्यासलाइटिङ’ले मानिसलाई आफ्नै आँखा र कानमाथि शंका गर्न बाध्य बनाउँछ । यसबाट बच्ने उत्तम उपाय भनेको आफ्नो आत्मसम्मानमा अडिग रहनु र सम्भव भएमा त्यस्ता कुराकानीको ‘रेकर्ड’ वा ‘नोट’ राख्नु हो ताकि आफ्नो वास्तविकतामाथि विश्वास नडगमगाओस् । यस्तै अवस्था अनुभव गरिरहेकाहरूले आफ्नो भावनामा विश्वास गर्ने, तेस्रो व्यक्ति भरपर्दो साथी वा विशेषज्ञसँग सल्लाह लिने र सम्बन्धमा सीमा तोक्ने गर्नुपर्छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्