नेभिगेशन
दृष्टिकोण

बलियो स्मरण शक्तिको विधि

नेल्सन डेलिस ६ पटकका अमेरिकी मेमोरी च्याम्पियन हुन्, जसले एकपटक फिटेको तासको गड्डीको क्रमलाई ४०.७ सेकेन्डमै कण्ठ गरेका थिए र उनलाई ‘पाई’का सुरुवाती १० हजार अंकहरू कण्ठ छन् । अहिले वैज्ञानिकहरूले उनको मस्तिष्कलाई विस्तृतरूपमा अध्ययन गरेका छन् । यसबाट उनले यस्ता उपलब्धिहरू कसरी हासिल गरे र हामीले पनि त्यस्तै केही सीपहरू कसरी सिक्न सक्छौं भन्ने कुरा खुलेको छ ।
डेलिसका अनुसार २५ वर्षको उमेरसम्म उनको स्मरण शक्ति औसत नै थियो । तर उनकी हजुरआमालाई अल्जाइमर्स भएपछि उनले हरेक दिन घन्टौंसम्म संख्या, नाम र शब्दहरू कण्ठ गर्ने अभ्यास गर्न थाले । उनी भन्छन्, ‘म अहिले पनि नियमित रूपमा अभ्यास गर्छु । यो एउटा मांसपेशी जस्तै हो, यदि तपाईंले यसको प्रयोग गर्नुभएन भने यो कमजोर हुँदै जान्छ ।’
बिर्सिने समस्या वा बिर्सिने रोग (डिमेन्सिया)का बारेमा धेरै अध्ययन भए पनि असाधारण स्मरण शक्ति भएका मानिसहरूका बारेमा कमै जानकारी छ । यही कमीलाई पूरा गर्न मिसौरीको सेन्ट लुइसस्थित वासिङ्टन विश्वविद्यालयका वैज्ञानिकहरू सहितका अनुसन्धानकर्ताहरूले डेलिसको अध्ययन गरेका छन् ।
सन् २०१५ र २०२१ मा डेलिसले आराम गरिरहेका बेला र उनको स्मरण शक्ति परीक्षण भइरहेका बेला करिब १३ घण्टासम्म मस्तिष्कको विस्तृत स्क्यान गरियो । एउटा परीक्षणमा डेलिसलाई स्क्रिनमा १ सेकेन्डभन्दा कम समयका लागि देखिने ४ देखि ७ वटा शब्दहरूको समूहलाई बारम्बार सम्झन भनियो । उनलाई ‘रोट मेमोराइजेसन’ (कण्ठस्थ पार्ने विधि) प्रयोग गर्न भनिएको थियो, जसमा कुराहरू सम्झनका लागि तिनीहरूलाई बारम्बार दोहो¥याइन्छ ।
डेलिस भन्छन्, ‘स्क्यानर मेसिनभित्र स्थिररूपमा सुतेर कुराहरू कण्ठ गर्ने प्रयास गर्नु मेरो सामान्य अभ्यास गर्ने तरिका होइन ।’ त्यसपछि उनको मस्तिष्कको गतिविधिलाई दुई वैज्ञानिकहरूसँग तुलना गरियो, जसको स्मरण शक्ति राम्रो त थियो तर असाधारण थिएन ।
वासिङ्टन विश्वविद्यालयकी रोजलिन चौभिन र उनका सहकर्मीहरूले यो तथ्यांकको विश्लेषण गर्दा डेलिस र अन्य दुई व्यक्तिको मस्तिष्कको गतिविधि उस्तै पाए । तीनै जनामा नेभिगेसन (बाटो पत्ता लगाउने), दृश्य जानकारी र कार्यगत स्मरण शक्तिसँग सम्बन्धित मस्तिष्कका भागहरूमा विद्युतीय संकेतहरू बढेका थिए । तर डेलिस सामान्यतया कण्ठस्थ पार्ने विधि प्रयोग गर्दैनन् । उनी भन्छन्, ‘घोक्ने वा कण्ठ गर्ने विधि स्मरण शक्तिको लागि निकै कमजोर तरिका हो, तर धेरैजसो मानिसलाई यही मात्र थाहा छ ।’
अर्को एउटा परीक्षणमा, जुन डेलिसले मात्र गरेका थिए, उनलाई स्क्यानरभित्रै तासको गड्डीको क्रम सम्झन भनियो । यसपटक डेलिसले ‘मेथड अफ लोसी’ प्रयोग गरे । यसलाई ‘मेमोरी प्यालेस’ पनि भनिन्छ । यसमा जानकारीलाई कुनै निश्चित स्थानसँग जोडेर सम्झिइन्छ, जस्तै आफ्नै घरको कुनै कुरा । त्यसपछि ती जानकारीहरूलाई क्रमबद्ध रूपमा सम्झनका लागि मनमनै त्यो ठाउँको भ्रमण गरिन्छ । डेलिसका अनुसार अमूर्त कुरालाई दृश्यमा बदल्ने यो साधारण तरिका नै उनका लगभग सबै प्रविधिहरूको आधार हो ।
स्वस्थ शरीर, स्वस्थ मस्तिष्क
यो प्रविधिले उनको मस्तिष्कको हिप्पोक्याम्पस (स्मरण शक्तिका लागि महŒवपूर्ण भाग) मा परिवर्तन ल्यायो । पहिलो परीक्षणमा नयाँ जानकारी लिने प्रक्रियामा यो भाग बढी सक्रिय थियो भने दोस्रो परीक्षणमा सम्झिने बेलामा यो बढी सक्रिय देखियो । अनुसन्धानकर्ताहरूका अनुसार यसले गर्दा स्मरण शक्ति एक ‘निखारिएको सीप’ बन्न पुग्छ ।
अन्त्यमा, वैज्ञानिकहरूले डेलिसको मस्तिष्कलाई अन्य ८८७ सहभागीहरूसँग तुलना गरे । उनीहरूले के पाए भने मेमोरी च्याम्पियनको मस्तिष्कका विभिन्न भागहरू बीचको समन्वय निकै राम्रो र प्रभावकारी थियो ।
डेलिस र अन्य विज्ञहरू ‘मेथड अफ लोसी’ लाई शिक्षा र उपचारका क्षेत्रमा बढी प्रयोग गर्नुपर्ने धारणा राख्छन् । नेदरल्याण्ड्सका मार्टिन ड्रेसलरका अनुसार यो प्रविधि प्रभावकारी हुनुको कारण यो हाम्रो प्राकृतिक क्षमतासँग मेल खान्छ । हाम्रो मस्तिष्क संख्या वा तासका पत्तीहरू सम्झिनका लागि विकसित भएको होइन बरु प्रकृतिमा हिँड्दा खानेकुरा खोज्न र शत्रुबाट बच्नका लागि विकसित भएको हो । त्यसैले हामी दृश्य र स्थानहरू सम्झिन निकै सिपालु हुन्छौं ।
क्यालिफोर्निया विश्वविद्यालयका क्रेग स्टार्क भने अन्य मानिसहरूले यो प्रविधि प्रयोग गरेर डेलिसको जत्तिकै स्तरमा पुग्न सक्छन् वा सक्दैनन् भन्ने कुरा अझै स्पष्ट नभएको बताउँछन् ।
यदि स्मरण शक्तिको तालिम निकै गाह्रो लाग्छ भने डेलिस यसको श्रेय स्वस्थ जीवनशैलीलाई पनि दिन्छन् । क्यानडाको टोरन्टो विश्वविद्यालयका मौरिस मस्कोभिच थप्छन्, ‘दैनिक स्मरण शक्ति राम्रो बनाउनका लागि त्यही गर्नुहोस् जुन आमाले भन्नुहुन्थ्यो– कुराहरूमा ध्यान दिनुहोस्, राम्रो खानुहोस्, राम्ररी सुत्नुहोस् र व्यायाम गर्नुहोस् ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्