के तपाईंलाई थाहा छ ? उत्तानो परेर बच्चा जन्माउनु महिलाका लागि खतरनाक मानिन्छ, तैपनि किन उनीहरूले त्यसै गर्छन् ? यसको कारण एक फ्रान्सेली व्यक्ति हुन्, जसलाई यो तरिका बढी सुविधाजनक लागेको थियो तर यो महिलाका लागि नभई पुरुषका लागि थियो ।
हजारौँ वर्षदेखि संसारभरका महिलाहरूले उभिएर वा सिधा बसेर बच्चा जन्माउँदै आएका थिए । चाहे त्यो क्लियोपेट्राले जस्तै घुँडा टेकेर होस्, डेलिभरी स्टुल वा कुर्सीको सहारा लिएर होस् वा टुक्रुक्क बसेर होस् ।
वास्तवमा, टुक्रुक्क बस्दा ‘पेल्भिस’को व्यास कम्तीमा २.५ सेन्टिमिटर (१ इन्च) सम्म बढ्न सक्छ र गुरुत्वाकर्षणको मद्दतले गर्दा प्रशव निकै सजिलो हुन्छ । त्यसोभए अचेल यति धेरै महिलाहरू उत्तानो परेर किन बच्चा जन्माउँछन् त ?
जेनेट बालास्कस बेलायतको ‘एक्टिभ बर्थ सेन्टर’की संस्थापक र आमाहरूले आफ्नो प्रशव अनुभवलाई कसरी नियन्त्रणमा राख्ने भन्नेबारे धेरै पुस्तककी लेखिका हुन् । उनी भन्छिन्, ‘प्रशवको शारीरिक प्रक्रियालाई लिएर विशेषज्ञ र गर्भवती महिला दुवैमा व्यापक अज्ञानता छ ।’
बालास्कसले सन् १९८२ मा ‘एक्टिभ बर्थ मेनिफेस्टो’ प्रकाशित गरेकी थिइन् । त्यही पछि उनको संस्थाको मूल सिद्धान्त बन्यो ।
घोषणापत्रमा लेखिएको छ, ‘संसारभर र हजारौँ वर्षदेखि महिलाहरूले स्वभाविक रूपमा प्रसव प्रक्रिया पार गर्दै आएका छन् र कुनै न कुनै रूपमा सिधा वा झुकेको आसनमा बच्चा जन्माउँदै आएका छन् । जात वा संस्कृति जेसुकै भए पनि... यस्तै उभिएका वा सिधा आसनहरू (अपराइट पोजिसन) सबैभन्दा बढी प्रचलित थिए ।’
बालास्कसका अनुसार औद्योगिक युगपछि धेरैजसो देशका अस्पतालहरूमा महिलालाई सुत्ने मुद्रामा मात्र सीमित गरिएको छ । उनी भन्छिन्, ‘यो तरिका पूर्णतया अतार्किक छ— यसले प्रशवलाई अनावश्यक रूपमा जटिल र महँगो बनाउँछ, एउटा प्राकृतिक प्रक्रियालाई मेडिकल कार्यक्रममा बदलिदिन्छ र प्रशव पीडामा रहेकी महिलालाई एक निष्क्रिय बिरामी बनाइदिन्छ ।’
उनी थप्छिन्, ‘यति निर्णायक समयमा कुनै पनि अन्य प्रजातिले यस्तो हानिकारक आसन अपनाउँदैनन् ।’
अन्य विशेषज्ञहरू पनि यसमा सहमत छन् । अस्ट्रेलियाको वेस्टर्न सिडनी युनिभर्सिटीमा मिडवाइफरीकी प्राध्यापक ह्याना डलेनले सन् २०१३ मा ‘द कन्भर्सेसन’का लागि लेखेको एउटा लेखमा सुतेर बच्चा जन्माउनुलाई ‘तुलनात्मक रूपमा एक आधुनिक परिघटना’ भनेकी थिइन् ।
गर्भावस्थालाई ‘बिरामी’ ठान्नु
महिलाहरूले उत्तानो परेर बच्चा जन्माउने चलन पछिल्लो ३०० देखि ४०० वर्षयता मात्र बढी फैलिएको हो । यसका लागि महिलाहरूले एक फ्रान्सेली व्यक्ति फ्रान्स्वा मौरिसोलाई धन्यवाद दिनुपर्छ ।
मौरिसोको दाबी थियो कि सुतेर प्रशव गर्दा गर्भवती महिलालाई बढी आराम हुन्छ र उनको हेरचाह गर्ने पुरुष डाक्टरका लागि पनि बढी सुविधाजनक हुन्छ (त्यतिबेला सुडेनीहरूलाई हटाएर पुरुष सर्जनहरूलाई प्रशव प्रक्रियामा संलग्न गराउने अभियान चलिरहेको थियो)।
मौरिसो गर्भावस्थालाई एउटा रोगको रूपमा हेर्थे । सन् १६६८ मा प्रकाशित आफ्नो पुस्तक ‘द डिजिजेज अफ वुमेन विद चाइल्ड एन्ड चाइल्ड–बेड’मा उनले सल्लाह दिएका थिए, ‘सबैभन्दा राम्रो र सुरक्षित तरिका भनेकै महिलाले आफ्नै ओछ्यानमा प्रसव गरुन्, ताकि पछि त्यहाँ लैजाँदा हुने असुविधा र हैरानीबाट बच्न सकियोस् ।’
यद्यपि केही विद्वानहरूका अनुसार प्रसवको मुद्रामा आएको यो परिवर्तन वास्तवमा सोही कालका अर्का फ्रान्सेली व्यक्ति, राजा लुई चौधौँका कारण भएको हुन सक्छ ।
अमेरिकाको मेरिल्याण्डस्थित म्याकडानियल कलेजमा समाजशास्त्रकी प्राध्यापक लरेन डन्डेसले सन् १९८७ मा प्रसवको मुद्राको विकासमा लेखेको आफ्नो शोधपत्रमा लेखेकी छन्, ‘भनिन्छ, लुई चौधौँलाई महिलाले बच्चा जन्माएको हेर्न मन पथ्र्यो । तर जब महिलाहरू बर्थिङ स्टुलमा बसेर प्रशव गर्थे, त्यो दृश्य स्पष्ट देखिँदैनथ्यो । यसबाट उनी दिक्क हुन्थे । यसैकारण उनले नयाँ, सुत्ने मुद्रालाई प्रोत्साहन दिए ।’
उनी अगाडि भन्छिन्, ‘राजाको नीतिको प्रभाव कति थियो भन्ने कुरा स्पष्ट छैन, तर शाही परिवारको व्यवहारले सर्वसाधारणमा केही न केही असर त पारिहाल्छ । लुई चौधौँको कथित मागको समय र प्रसवको मुद्रामा आएको परिवर्तनको समय मिल्दोजुल्दो छ, त्यसैले यो पनि एउटा कारण हुन सक्छ ।’
महिलालाई उत्तानो सुताएर प्रशव गराउने परम्परा जसरी सुरु भए पनि यो चलन कायम रह्यो र यसको मूल्य महिलाहरूको प्रशव अनुभवले चुकाउनुप¥यो ।
बालास्कस भन्छिन्, ‘प्रशव एउटा संस्थागत प्रक्रिया बनेको छ र घरमै प्रशव गराउने जस्ता विकल्पहरू लगातार कम हुँदै गएका छन्, जुन शारीरिक वा ‘प्राकृतिक’ तरिकाले बच्चा जन्माउन चाहने धेरै महिलाका लागि बढी अनुकूल हुन्थे ।’
विज्ञानले के भन्छ ?
हजारौँ वर्षदेखि महिलाहरूले सिधा आसनमा प्रशव गर्नुको सबैभन्दा ठूलो कारण एकदमै सरल छः गुरुत्वाकर्षण । बच्चा जन्मिँदा नलीबाट तलतिर आउनुपर्ने हुन्छ र यस प्रक्रियामा गुरुत्वाकर्षणले सहयोग गर्छ ।
महिलालाई आफ्नै अवस्थामा छोडिदिने हो भने उनीहरू प्रसवका बेला स्वभाविक रूपमा अगाडितिर झुक्छन्, पछाडितिर होइन । उनीहरू टुक्रुक्क बस्ने, हात र घुँडाले भुइँ टेक्ने वा कुनै होचो चिजको सहारा लिएर अगाडि झुक्ने जस्ता मुद्राहरू अपनाउँछन् ।
सन् २०१३ मा ५ हजार २ सयभन्दा बढी महिला सहभागी भएका २५ वटा अध्ययनहरूको विश्लेषण गरिएको थियो । यस समीक्षाले पत्ता लगायो कि सुतेर प्रसव गर्नुको साटो सिधा बसेर वा हिँडडुल गर्दै बच्चा जन्माउने महिलाहरूका लागि धेरै महŒवपूर्ण नतिजाहरू राम्रो देखिए ।
यसमा ‘सिजेरियन डेलिभरीको जोखिम कम हुनु, दुखाइ कम गर्न एपिडुरलको प्रयोग कम हुनु र शिशुलाई नियोनेटल युनिटमा भर्ना गर्नुपर्ने सम्भावना कम हुनु’ समावेश छ ।
यद्यपि, यस समीक्षामा उच्च जोखिममा रहेका महिलाहरूमा थप अनुसन्धान आवश्यक रहेको पनि बताइएको छ किनभने केही अध्ययनमा सिधा आसनमा प्रशव गर्दा रगत बढी बग्ने कुरा पनि अगाडि आएको छ । सिधा बसेर वा उभिएर प्रसव गर्दा प्रसवको अवधि छोटो हुन्छ भन्ने पनि पाइएको छ ।
सन् २०१३ मा डलेनले लेखेकी थिइन्, ‘सिधा आसनमा प्रशव पीडा सहनु र सिधा आसनमै बच्चा जन्माउनु आमा र बच्चा दुवैका लागि फाइदाजनक हुन्छ ।’
उनले यसका धेरै लाभहरू उल्लेख गरिन्, जसमा बढी प्रभावकारी संकुचन, आमालाई कम दुखाइ, फोर्सेप्स वा भ्याकुमको आवश्यकता कम पर्नु, चिरफार (एपिसियोटोमी) कम लाग्नु र गर्भमा शिशुसम्म राम्रोसँग अक्सिजन पुग्नु समावेश छ, किनभने यस स्थितिमा पाठेघरले आमाको मुख्य नसाहरूमा दबाब दिँदैन ।
सन् २०११ मा डलेन र उनका साथीहरूले प्रसव पीडामा रहेका महिलाहरूमा एउटा अध्ययन गरे, ताकि बच्चा जन्माउने ठाउँले महिलाले अपनाउने मुद्रामा कस्तो असर पार्छ भन्ने बुझ्न सकियोस् ।
उनीहरूले दुई प्रकारका व्यवस्थाहरू हेरे— बर्थ सेन्टर (जहाँ बल, बर्थिङ स्टुल र बिन ब्याग जस्ता सहायक सामग्री उपलब्ध थिए) र डेलिभरी वार्ड (जहाँ अस्पतालको बेड मात्र विकल्प थियो) ।
बर्थ सेन्टरमा रहेका महिलाहरू डेलिभरी वार्डको तुलनामा प्रशवको पहिलो र दोस्रो चरणमा धेरै बढी सिधा आसन अपनाउँथे भन्ने उनीहरूले फेला पारे । बर्थ सेन्टरमा ८२ प्रतिशत महिलाले यसो गरे भने डेलिभरी वार्डमा यो संख्या मात्र २५ प्रतिशत थियो ।
बालास्कसका अनुसार अब पश्चिमा देशहरूमा ‘एक्टिभ बर्थ’ को धारणाबारे चेतना बढ्दै गएको छ । त्यसैले प्रशवका बेला आमालाई स्वतन्त्रतापूर्वक र स्वभाविक रूपमा हलचल गर्न दिइनुपर्छ र उनले सिधा आसन अपनाउन पाउनुपर्छ भन्ने मान्यता राख्न थालिएको छ । उत्तानो परेर मेसिन र मनिटरहरूमा बाँधिएर बस्नु जरुरी छैन । यद्यपि, सिजेरियनको दर अहिले पनि ‘चिन्ताजनक रूपमा’ बढ्दै गइरहेको छ ।
उनी भन्छिन्, ‘बेलायतमा एक्टिभ बर्थले प्रसूति सेवामा परिवर्तन ल्याउन प्रभाव पारेको छ, जस्तै सुडेनी (मिडवाइफ) को नेतृत्वमा रहने बर्थ सेन्टरको विकल्प ।’ यी सामान्यतया अस्पतालभित्रै हुन्छन् र खासगरी महिलालाई हलचल गर्न स्वतन्त्रता मिलोस् र बर्थ पुल (पानीमा सुत्केरी हुने ठाउँ) सम्म पहुँच होस् भनेर बनाइएका हुन्छन् । पचास वर्षअघि यस्तो केही पनि थिएन ।’
बेलायतको ‘नेशनल इन्स्टिच्युट फर हेल्थ एण्ड केयर एक्सिलेन्स’ (एनआईसीई) को निर्देशिकाले पनि प्रशवको दोस्रो चरणमा महिलालाई ‘उत्तानो वा आधा सुतेको अवस्थामा रहन निरुत्साहित गर्नुपर्ने र उनीहरूलाई जुन मुद्रामा सजिलो लाग्छ, त्यही अपनाउन प्रोत्साहित गर्नुपर्ने’ सल्लाह दिन्छ ।
अन्ततः जानकारी नै शक्ति हो र जब महिलाहरूलाई आफ्नो प्रसवका विकल्पहरूबारे बढी जानकारी हुन्छ, उनीहरू आफ्नो लागि जे सही लाग्छ, त्यो छान्न त्यति नै बढी सहज हुन्छन् ।
क्यानडाको म्याकमास्टर युनिभर्सिटीमा मिडवाइफरी शिक्षा कार्यक्रम चलाउने आइलिन हटन जो आफैँ पहिले सुडेनी थिइन् र अहिले प्राज्ञिक क्षेत्रमा छिन्, भन्छिन्, ‘प्रशवका विकल्पहरूबारे सार्वजनिक शिक्षा सधैँ उपयोगी हुनेछ । लोकप्रिय साहित्य, टेलिभिजन र फिल्महरूमा प्रसवलाई जसरी देखाइन्छ, त्यसलाई हेर्दा नै यो प्रक्रिया कति गलत ढंगले प्रस्तुत गरिन्छ भन्ने प्रष्ट हुन्छ । त्यसको तुलनामा सन्तुलित जानकारी दिनु सहयोगी नै हुनेछ ।’