उज्ज्वल भविष्यको खोजीमा अमेरिका पुगेका नेपाली विद्यार्थीहरूमध्ये केही सडकमा पुग्ने दयनीय अवस्थामा रहेको खबरले सबैलाई झस्काएको छ । टेक्सासको डल्लास–फोर्टवर्थ क्षेत्रमा भेटिएका सातजना मानसिक सन्तुलन गुमाएको पाइएकाले अस्पतालमा उपचाररत छन् । थप सातजनालाई नेपाली समाज टेक्सासले उद्धार गरी नेपाल फर्काएको छ ।
अमेरिकामा आएर पढिरहेका धेरै नेपाली विद्यार्थी सामाजिकरूपमा घुलमिल हुन नसक्ने, परिवारबाट बेवास्ता भोग्ने र व्यावहारिक जीवन–दक्षतामा कमी आउँदा कठिनाइमा परेको भेटिन थालेका छन् । विद्यार्थीहरूलाई अध्ययनसँगै कामको चाप, कलेज ट्रान्सफरमा आएका कठिनाइ र रोजगारी नपाउने समस्याले थिचिएका छन् ।
१२ कक्षा सकेर अमेरिका पुगेका विद्यार्थीलाई व्यावहारिक जीवनबारे थोरै मात्र जानकारी हुँदा उनीहरू असहज अवस्थामा पुगेको बताइएको छ । अमेरिकामा पढाइ सजिलो छ भन्ने भ्रम बोकेर त्यहाँ पुग्ने विद्यार्थीले अपेक्षित वातावरण नपाउँदा निराश भई मानसिक असन्तुलनको अवस्थामा पुगेको भेटिएको हो ।
अमेरिकी सरकारको पछिल्ला नीतिहरूले पनि विद्यार्थीलाई थप असहज बनाइरहेको हो । भिसा नवीकरण र म्यादसम्बन्धी अनिश्चितताले अन्तर्राष्ट्रिय विद्यार्थीहरूमा तनाव बढाएको छ । विदेशमा छोराछोरी मानसिक दबाबमा छन् भने यता स्वदेशमा तिनका आमाबाबु तनाबमा छन् । ऋणधन गरेर सन्तान विदेश पठाउँदा उनको उता अवस्था राम्रो नहुँदा बाबुआमामा पनि मानसिक तनाव हुने गरेको छ ।
युवाहरूले विदेश जान चाहने प्रवृत्तिलाई आर्थिक, सामाजिक र राजनीतिक कारणहरूले प्रेरित गरेको छ । विज्ञहरू के बताउँछन् भने मानिसहरू अवसर खोज्न स्वाभाविकरूपमा देश विदेश चाहर्छन् । राम्रो भविष्यको आशामा युवापुस्ताले नेपाल छोड्नु स्वभाविक हो । नेपाली परिवारले ऐतिहासिक कालदेखि विदेश जानुलाई गर्वको विषय बनाएको छ ।
त्यही भएर समाजमा लाहुरे संस्कृति स्वीकृत भएको छ । तर, पछिल्लो समय देशप्रतिको निराशाका कारण विदेश जानुको विकल्प यु्वापुस्ताले देखेको छैन, किनभने यहाँ कुनै अवसर र मौका उसले देखेको छैन । राजनीतिक अस्थिरता र भ्रष्टाचारले पनि युवाहरूलाई देशप्रति निराशा बढाएको छ ।
नेपाली युवाहरूले लामो समयदेखि वैदेशिक रोजगारी र विदेश अध्ययनमा रुचि देखाएका छन् । राष्ट्रिय जनगणना, २०७८ अनुसार करिब २२ लाख नेपाली परिवारदेखि टाढा रहेर विदेशमा बसोबास गरिरहेका छन् । तर यो संख्या विदेशमा रहेका वास्तविक कामदार तथा विदेशमा अध्ययनरत नेपालीहरूको भन्दा निकै कम भएको बताइन्छ ।
उच्च शिक्षा र व्यावसायिक दक्षताको लोभमा युवाहरू रोजगारी र सुरक्षित भविष्यको खोजीमा विदेश गइरहेका छन् । यसरी विदेश जान चाहने पेशेवरहरूमा चिकित्सक, इन्जिनियर, चार्टर्ड एकाउन्टेन्ट, प्राध्यापक लगायतका जनशक्ति छन् ।
विगतमा भएका राजनीतिक द्वन्द्व, राजनीतिक संक्रमण र भ्रष्टाचारले नागरिकमा निराशा बढाएको कुरा स्वभाविक हो । किनभने देश केही लामो समय द्वन्द्वमा फस्यो । राजनीतिक प्रणालीले गति लिन नसक्दा संक्रमणमा मुलुक फस्यो । यो क्रममा उच्च मध्यम वर्गीय परिवारहरू पनि विदेश पलायन हुने वातावरण बन्यो ।
केही विज्ञ नेपाली समाजको फक्रने फुल्ने चाहना र उपभोग प्रवृत्तिको प्रभावले पनि युवाको शक्ति विदेशिन चाहेको निष्कर्ष निकाल्छन्, जसलाई अस्वाभाविक नमान्ने हो भने पनि देशले त्यसलाई रोक्न र न्यूनीकरणतर्फ कदम चाल्यो कि चालेन भन्ने प्रश्न आउँछ । एउटा लामो प्रक्रियाअन्तर्गत कुनै क्रिया हुन्छ भने त्यसलाई प्रतिवाद गर्ने प्रतिक्रिया कस्तो आयो भन्नेतर्फ सोच्ने हो भने मुलुकले युवाशक्तिलाई पलायन हुनबाट रोक्न कुनै गम्भीर पहलकदमी नगरेको देखिन आउँछ ।
विदेशबाट आउने रेमिटेन्सले नेपाललाई निश्चय नै धेरै लाभ पुर्याएको छ । यसले गरिबी निवारणमा ठूलो योगदान दिएको छ । तर यसैगरी युवाशक्तिको द्रुत पलायन हुँदा मुलुकको दीर्घकालीन हित भने हुन सक्दैन ।
नेपालको जनसंख्या संरचनामा श्रमयोग्य युवाको अनुपात अहिले करिब ६५ प्रतिशत पुगिरहेका बेला उनीहरूको ठूलो भाग विदेश जाँदा देशले ‘जनसांख्यिक लाभ’ नपाउने डर छ । यसलाई विज्ञहरूले समाजको नैतिक संकट बताइरहँदा राजनीतिक नेताहरूले भने सम्बोधनका लागि गम्भीर आत्मसमीक्षा गरेको नदेखिनु दुःखद छ । त्यसका लागि युवाहरूलाई देशमै स्तरीय शिक्षा र पढिसकेपछि कामको अवसर सिर्जना गर्न योजना बनाउनुपर्ने देखिन्छ ।
नत्र त भोलि देशकै सार्वभौमसत्ता खतरामा पर्ने डर पनि हुन्छ । यसको समाधान भनेको गुणस्तरीय शिक्षा, स्वास्थ्य, सुरक्षा र जीवनयापन सुनिश्चत गर्ने वातावरण देशमै बनाउनु हो । यो कुरा जिम्मेवार हौ भन्ने दल, तिनका नेता र सरकारकै हो । यसमा भाषण होइन काम जरुरी छ ।