नेभिगेशन
विश्व

एआई चस्मा दृष्टिविहीनका लागि वरदान

लन्डन, (एपी)  । बकिङ्घम दरबार नजिक प्रशिक्षण गर्दै दौडिरहेकी टिली डाउलर आफूले कहिल्यै सम्भव नठानेको लक्ष्यतर्फ अघि बढिरहेकी छन् ।
स्टार्गाड्र्ट रोगका कारण करिब १० प्रतिशत मात्रै दृष्टि बाँकी रहेको बताउने उनले गत वर्ष मात्रै दौड सुरु गरेकी थिइन् । अहिले उनी आफ्ना प्रेमीलाई मार्गदर्शक बनाएर (लन्डन म्याराथन) मा भाग लिन तयारी गरिरहेकी छन् । उनलाई कृत्रिम बुद्धिमत्ता प्रविधियुक्त स्मार्ट चस्माले बाटो पहिचान गर्न र प्रगति मापन गर्न सहयोग गरिरहेको छ ।
‘यी कृत्रिम बुद्धिमत्ताद्वारा सहयोग प्राप्त चस्मा हुन्,’ उनले भनिन्, ‘दौडिँदा म वरपरका चिनारीहरू र मैले कति दूरी पार गरें भन्ने जानकारी तुरुन्तै सोध्न सक्छु ।’
यसले संगीत सुन्दै पनि मार्गदर्शकको निर्देशन सुन्न सकिने सुविधा दिएको उनी बताउँछिन् । उनको लक्ष्य गति होइन, प्रेरणा दिनु हो—दृष्टि गुमाएकाहरूलाई आत्मविश्वास दिलाउनु ।
डाउलरजस्तै धेरै दृष्टिविहीन धावकहरूले अहिले कृत्रिम बुद्धिमत्ता सक्षम स्मार्ट चस्मा प्रयोग गर्न थालेका छन् । यी उपकरणमा क्यामेरा, ध्वनि सङ्कलन यन्त्र र खुला ध्वनि प्रसारण प्रणाली जडित हुन्छन्, जसले वरपरको वातावरण बुझेर ध्वनिमार्फत जानकारी दिन्छ ।
यस्ता चस्मा बनाउने प्रमुख कम्पनीमध्ये मेटा अग्रणी छ । यसले रे–बान र ओक्लीसँग सहकार्यमा उत्पादन गर्छ । गत वर्ष मात्र यसको ७० लाखभन्दा बढी चस्मा बिक्री भएको थियो । तर यसले गोपनीयतासम्बन्धी चिन्तासमेत जन्माएको छ ।
सन् २०२१ मा दृष्टिको ९० प्रतिशत गुमाएका शा खानका लागि यो प्रविधि दैनिकीको हिस्सा बनिसकेको छ । उनी मार्गदर्शक कुकुर ‘मोबी’सँगै हिँड्छन् र चस्माको सहायताले हात प्रयोग नगरी सूचना पाउँछन् ।

‘अब यो मेरो अङ्गजस्तै भएको छ,’ उनले भने, ‘घरबाट निस्कँदा चस्मा बिना म हिँड्दिनँ ।’
उनी आवाजमार्फत चस्मा नियन्त्रण गर्छन् । ‘अगाडि बिग बेन छ भने ‘तस्बिर खिच’ भन्न सक्छु,’ उनले बताए ।
प्रविधि विश्लेषक क्रिस लुइसका अनुसार यस्तो चस्माले प्रयोगकर्तालाई वरपरको गतिविधिबारे थप चेतना दिन्छ । तर भीडभाड हुने म्याराथनजस्ता कार्यक्रममा सञ्चार सञ्जाल कमजोर हुँदा यसको कार्यक्षमता प्रभावित हुन सक्छ ।
गाइड डग्स युकेले भने यस्तो प्रविधि सहयोगी मात्र हुनुपर्ने, पूर्ण रूपमा भर पर्न नहुने बताएको छ । जटिल वातावरणमा मानव सहयोग र तालिम अझै आवश्यक रहने उनीहरूको भनाइ छ ।
विशेषज्ञहरूका अनुसार शुद्धता, सञ्जाल र लागतजस्ता पक्षले यसको व्यापक प्रयोग निर्धारण गर्नेछन् । यद्यपि कृत्रिम बुद्धिमत्ताको विकासले यस्तो प्रविधिलाई अझ उपयोगी बनाउँदै लगेको छ ।
आयोजकका अनुसार आइतबार हुने लन्डन म्याराथनमा ५९ हजारभन्दा बढी धावक सहभागी हुने अपेक्षा गरिएको छ । २६.२ माइल लामो यो दौड (ग्रीनविच) बाट सुरु भएर बकिङ्घम दरबार नजिकै समाप्त हुनेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय