नेभिगेशन
स्वास्थ्य

निराशा चिर्न कसरत गर्नोस्

निराशा र उदासीको भुमरीमा फसेका व्यक्तिहरूका लागि ‘व्यायाम गर’ भन्ने सल्लाह सुन्नु सायद सबैभन्दा झर्कोलाग्दो कुरा हुन सक्छ । तर झर्को लाग्दो हुँदैमा त्यो सल्लाह गलत हुन्छ भन्ने छैन । हालैका विभिन्न अध्ययनहरूले के पुष्टि गरेका छन् भने व्यायामले मानिसको मुड सुधार्ने मात्र होइन, चिन्ता र छटपटीलाई समेत कम गर्छ । यसै वर्षको सुरुतिर प्रकाशित दुई ठूला विश्लेषणहरूले त अझ एक कदम अगाडि बढेर व्यायामले थेरापी वा डिप्रेसनको औषधिले जत्तिकै प्रभावकारी काम गर्ने देखाएको द इकोनमिस्ट पत्रिकाको पछिल्लो अंकमा प्रकाशित छ ।
पहिलो अध्ययन बेलायत र आयरल्यान्डका शोधकर्ताहरूले जनवरीमा सार्वजनिक गरेका थिए । उनीहरूले ‘कोक्रन रिभ्यु’ मार्फत डिप्रेसनमा व्यायामको प्रभाव मापन गर्न गरिएका ६९ वटा विभिन्न परीक्षणहरूको मसिनो अध्ययन गरेका थिए । त्यस्तै, फेब्रुअरीमा ’ब्रिटिस जर्नल अफ स्पोट्र्स मेडिसिन’ मा प्रकाशित दोस्रो प्रतिवेदनले ८० हजार मानिस सहभागी भएका एक हजारभन्दा बढी परीक्षणहरूको निष्कर्ष निकालेको थियो । यी दुवै अध्ययनको निचोड के थियो भने, व्यायामले डिप्रेसन (चिन्ता) र एन्जाइटी (छटपटी)का लक्षणहरूलाई आधुनिक औषधि वा थेरापीले जत्तिकै निको पार्न मद्दत गर्छ ।
यद्यपि, यी निष्कर्षहरूमा केही सावधानी अपनाउनु पर्ने ठाउँहरू पनि रहेको केही अध्येताले बताएका छन् । स्वास्थ्य अनुसन्धानमा व्यायामको प्रभाव नाप्दा कतिपय कुराहरू तलमाथि हुन सक्छन् । जस्तै, औषधि खाँदा मानिसलाई आफूले के खाँदै छु भन्ने थाहा नहुन सक्छ तर व्यायाम गर्दा आफूले शारीरिक अभ्यास गरिरहेको कुरा व्यक्तिलाई थाहा हुन्छ । यसले गर्दा ‘व्यायामले मलाई पक्कै निको पार्छ’ भन्ने मानसिक विश्वासका कारण पनि उनीहरूको मूड सुधारिएको हुन सक्छ । यसलाई अनुसन्धानको भाषामा ‘पूर्वाग्रह’ भनिन्छ ।
धेरैजसो विज्ञहरू भने व्यायामले मानसिक स्वास्थ्यमा सकारात्मक परिवर्तन ल्याउँछ भन्ने कुरामा ढुक्क छन् । दौडिने, हिँड्ने वा साइकल चलाउने मात्र नभई ‘एरोबिक’ अभ्यासहरू यसका लागि निकै फाइदाजनक देखिएका छन् । डिप्रेसनका लागि एक्लै पसिना बगाउनुभन्दा समूहमा वा प्रशिक्षकको निगरानीमा व्यायाम गर्नु बढी प्रभावकारी मानिएको छ । त्यस्तै, एन्जाइटी (छटपटी) कम गर्नका लागि भने कम कडा वा हलुका शारीरिक गतिविधिहरू बढी फलदायी हुन्छन् ।
व्यायामले कसरी काम गर्छ भन्ने विषयमा अझै पनि स्पष्ट वैज्ञानिक आधार खोजिँदै छ । धेरैले व्यायाम गर्दा शरीरमा ‘इन्डोर्फिन’ नामक रसायन निस्कन्छ र त्यसले खुसी बनाउँछ भन्ने सोच्ने गर्छन् तर विज्ञानले यसलाई पूर्ण रूपमा स्वीकार गरिसकेको छैन । शोधकर्ताहरूका अनुसार शरीर र मस्तिष्कमा उत्पादन हुने ‘इन्डोकानाबिनोइड्स’ जस्ता रसायनहरूले छोटो समयका लागि मूड सुधार्न भूमिका खेल्छन् । यसका साथै व्यायामले मस्तिष्कको ‘डोपामाइन’ सञ्चारमा पनि सुधार ल्याउँछ । डोपामाइनले मानिसमा काम गर्ने उत्साह र जाँगर भर्ने गर्छ, जसको कमी हुँदा डिप्रेसनको समस्या देखिन्छ ।
शारीरिक प्रक्रियाबाहेक व्यायामका मनोवैज्ञानिक पाटाहरू पनि छन् । जब मानिसले व्यायाम पूरा गर्छ, उसलाई आफूले केही उपलब्धि हासिल गरेको महसूस हुन्छ । यसले आत्मविश्वास बढाउँछ र बिस्तारै आफ्नो शरीर र मनमाथि आफ्नै नियन्त्रण भएको आभास गराउँछ । त्यसैले, मनलाई शान्त र खुसी राख्नका लागि शरीरबाट पसिना बगाउनु पक्कै पनि एउटा उत्तम विकल्प हो, द इकोनमिस्ट लेख्छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्