नेभिगेशन
मनोरञ्जन

जे रजनीकान्त र कमल हसनले गर्न सकेनन्, थलपति विजयले गरेर देखाए

‘मैले आफ्नो करियरको शिखर त्यागेर राजनीतिमा प्रवेश गरेको हुँ,’ विजयले राजनीतिक मञ्चहरूमा अक्सर यसो भन्ने गर्थे । उनका प्रशंसक र पार्टी सदस्यहरूले यही कुरालाई केन्द्रमा राखेर अभियान चलाए, जसमा विपक्षी दलहरूको प्रतिक्रिया पनि आयो ।
विजयजस्तै फिल्म उद्योगमा लोकप्रियताको शिखरमा पुगेका धेरै अभिनेताहरूमा पनि राजनीतिक आकांक्षा रहेको हुन सक्छ । राजनीतिमा प्रवेश गर्ने चाहना राख्ने र खुलेर आफ्ना राजनीतिक विचार व्यक्त गर्ने रजनीकान्त तथा राजनीतिमा प्रवेश गरेर चुनाव लडेका कमल हासनको परम्परालाई विजयले नयाँ स्तरमा पु¥याएका छन् ।
यसअघि जयललिता र करुणानिधिको निधनपछि तमिलनाडुको राजनीतिमा एउटा खालीपन देखिएको थियो । यद्यपि यी दुई ठूला नेताहरूको समयमा नै अभिनेता विजयकान्तले पनि राजनीतिमा प्रवेश गरेका थिए र पछि २०११ को चुनावमा एआईएडीएमकेसँग गठबन्धन गरी विपक्षमा बसेका थिए । तर उनको पार्टी विजयजस्तो ठूलो सफलता हासिल गर्न सकेन ।
एमजीआर र जयललितापछि तमिलनाडुको राजनीतिमा कुनै अन्य फिल्म स्टार त्यो स्तरमा उक्लिन सकेका छैनन् । यस्तो अवस्थामा, २०२६ को चुनावमा सरकार बनाउन आवश्यक बहुमत नपाए पनि विजयको पार्टी सबैभन्दा ठूलो दलको रूपमा उदाएको छ ।
विजयले यस्तो के गरे जुन रजनीकान्त र कमल हासनले गर्न सकेनन् ?
रजनीकान्तको राजनीतिक ‘आवाज’
धेरै वर्षसम्म तमिल सिनेमाका शीर्ष स्टार रहेका रजनीकान्तको राजनीतिमा प्रवेशको चर्चा सन् १९९० को दशकको मध्यदेखि नै सुरु भएको थियो । १९९६ को चुनावताका ‘रजनी भ्वाइस’ भन्ने शब्द तमिलनाडुको राजनीतिमा चर्चित बनेको थियो ।
फिल्म ‘बादशाह’को १०० दिनको सफलताको समारोहमा तमिलनाडुमा ‘बम संस्कृति’बारे रजनीकान्तले गरेको टिप्पणीले ठूलो चर्चा पाएको थियो । उक्त कार्यक्रममा फिल्मका निर्माता तथा त्यतिबेलाका राज्यमन्त्री आर.एम. वीरप्पन पनि उपस्थित थिए । पछि वीरप्पनको जीवनमा आधारित डकुमेन्ट्रीमा रजनीकान्तले उनलाई क्याबिनेटबाट हटाउने विषयमा भएको कुराकानी उल्लेख गरेका छन् ।
यो विषय १९९६ को चुनावमा फेरि उठ्यो । त्यही क्रममा, तमिलनाडुमा कांग्रेसको एआईएडीएमकेसँगको गठबन्धनको विरोध गर्दै जी.के. मूपनारले तमिल मानिला कांग्रेस गठन गरी डीएमकेसँग गठबन्धन गरेका थिए ।
एआईएडीएमकेविरुद्ध उक्त गठबन्धनलाई समर्थन गर्दै रजनीकान्तले भनेका थिए, ‘यदि एआईएडीएमके फेरि सत्तामा आयो भने भगवानले पनि तमिलनाडुलाई बचाउन सक्दैनन् ।’ त्यस चुनावमा एआईएडीएमके पराजित भयो । यद्यपि त्यस हारका पछाडि विभिन्न राजनीतिक कारणहरू थिए, तर डीएमके गठबन्धनलाई रजनीकान्तको समर्थनले ठूलो चर्चा पायो ।
फिल्मी करियरको शिखरमा रहे पनि रजनीकान्त २० वर्षभन्दा बढी समयसम्म पूर्णकालीन राजनीतिमा आएनन्, तर आफ्ना फिल्ममार्फत अप्रत्यक्ष रूपमा राजनीति टिप्पणी गरिरहे ।
सुरु हुनु अघि नै अन्त्य भएको राजनीति
अन्ततः रजनीकान्तले २०१७ मा राजनीतिमा प्रवेशको घोषणा गरे । तर तीन वर्षपछि, कोरोना महामारीका कारण उनले सक्रिय राजनीतिमा नआउने घोषणा गरे । यससँगै उनको राजनीतिक यात्रा सुरु हुनु अघि नै समाप्त भयो । यसको कारण स्वास्थ्य समस्यालाई मानिएको थियो ।
राजनीतिक विश्लेषक रामू मणिवन्नन भन्छन्, ‘रजनीकान्तले महŒवपूर्ण अवसर गुमाए ।’
उनका अनुसार रजनीकान्तसँग एमजीआर वा जयललिताजस्तो राजनीतिक पृष्ठभूमि थिएन । एमजीआर पार्टी स्थापना हुनुभन्दा अघि नै डीएमकेको कोषाध्यक्ष थिए भने जयललिता एआईएडीएमकेको नीति तथा प्रचार सचिव थिइन् ।
कमल हासनको राजनीतिक यात्रा
कमल हासनले सन् २०१८ मा राजनीतिमा प्रवेश गर्दै ‘मक्कल निधि मड्ढयम’ नामक पार्टी स्थापना गरे तर २०१९ र २०२१ का चुनावहरूमा उनको पार्टीले खासै सफलता पाउन सकेन । २०२१ को विधानसभा चुनावमा पार्टीले करिब ३.७ प्रतिशत मत मात्र प्राप्त ग¥यो । २०२४ को लोकसभा चुनावमा उनले डीएमके गठबन्धनलाई समर्थन गरे ।
पछि उनी राज्यसभामा निर्वाचित भए । २०२६ को विधानसभा चुनावमा उनको पार्टीले चुनाव नलडी डीएमकेलाई समर्थन ग¥यो ।
रामू मणिवन्ननका अनुसार, रजनीकान्तजस्तै कमल हासनसँग पनि स्थिर राजनीतिक आधार थिएन । उनी भन्छन्, ‘फिल्ममा सफलता मात्रै राजनीतिमा सफलताको ग्यारेन्टी हुँदैन ।’
रजनीकान्त र कमल हासनभन्दा विजय किन फरक ?
जहाँ रजनीकान्त राजनीतिबाट टाढा रहे, कमल हासन राजनीतिमा आए पनि ठूलो प्रभाव पार्न सकेनन् । रामू मणिवन्ननका अनुसार, विजयसँग आर्थिक आधारसँगै यस्तो राजनीतिक संरचना छ, जुन अरू दुईसँग थिएन । उनका अनुसार विजयको प्रभाव सही समयको प्रयोग र सिनेमाबाट प्राप्त लोकप्रियताको संयोजनका कारण सम्भव भएको हो । तर उनी भन्छन्, विजय अझै पूर्ण रूपमा जनप्रिय नेता बन्न बाँकी छ । भविष्यमा उनको उचाइ नै उनले जनताको अपेक्षालाई कति पूरा गर्न सक्छन् भन्नेमा निर्भर हुनेछ । विजयको भविष्य सरकार सञ्चालन र पार्टीलाई सुदृढ संगठन बनाउने क्षमतामा निर्भर रहनेछ ।
रामू मणिवन्ननले विजयको उदयलाई तमिलनाडुको राजनीतिका लागि महŒवपूर्ण क्षण बताएका छन् । डीएमके र एआईएडीएमके दुवैमा विद्यार्थी संगठन कमजोर छन्, जसका कारण ती संगठनहरूमा ५० वर्षभन्दा माथिका व्यक्तिहरूको प्रभाव बढी देखिन्छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन