नेपाली समाजमा सदाचार र नैतिकता हराउँदै जान थालेको प्रतीत भइरहेको छ । देश हाँकिरहेका मुख्य दलका नेतृत्व वर्गको मनोमानी र भ्रष्ट आचरणले बेला बेला हामीलाई झस्काइरहेको छ । दलीयकरण हाबी हुँदै जाँदा केन्द्रमा रहेको बेथिति मातहतका निकाय र भातृ संगठनमा पनि विस्तार भइरहेको छ । केन्द्रको भ्रष्टाचार उपभोक्ता समितिमार्फत तल्लो तहसम्म पुगेको छ ।
बेथितिको यिनै चाङबीच भक्तपुरको सूर्यविनायक नगरपालिका क्षेत्रको फाँटमा बग्ने घट्टेखोलालाई च्याप्दै लगेर नाला बनाउने प्रपञ्च सार्वजनिक भएको छ । नगरपालिकाको वडा नं. ४ र ५ स्थित दधिकोट, कटुन्जेदेखि बालकोटसम्मका फाँटमा पर्ने घट्टेखोला किनारमा बनेका धेरै जसो घर खालोको बहाव क्षेत्र साघुँरो पारिँदा बाढीको उच्च जोखिममा छन् ।
गत वर्षको बाढीमा पनि नगरपालिकाको गँडेधारा क्षेत्रमा मात्रै ६० वटाभन्दा धेर घरै डुबानमा परेका थिए । विगतमा खेत भएको क्षेत्रमा पानी पार्दा पानी सोसिन्थ्यो । तर विगतका ती खेतमा प्लटिङ गरियो, खोलाको बहाव क्षेत्र साँघुरो पारियो र पानी पर्दा पानी जति सबै आसपासको क्षेत्रमा छताछुल्ल हुन थाल्यो ।
यसले गर्दा सूर्यविनायक नगरपालिका वडा नं. ४ र ५ सँगै नगर क्षेत्रका खोला किनारका सयभन्दा धेर घरै डुबानको खतरामा छन् । जग्गा प्लटिङ गर्नेले खोला मिचेर जग्गा बेचे । अहिले बाढी आउँदा घरका जग नै बगाउने डर स्थानीयवासीलाई छ । जग्गा बेच्नेले जग्गा बेचेर गए, घर बनाएर बस्नेहरू त्रासमा छन् ।
भक्तपुरका सूर्यविनायक नगरपालिका, भक्तपुर नगरपालिका, चाँगुनारायण नगरपालिकासहितका क्षेत्रमा रहेका जलाधार अतिक्रमणको शृंखला दुई दशकयता तीव्र भएको तथ्यबाट कोही पनि बेखर छैन । तर, अहिले जनतालाई मर्का पर्दा तिनले रोकथाम र नियन्त्रणको लागि पालिकामा गएर कराउन थाल्दा पालिकाले चाहेर पनि केही गर्न सक्ने स्थिति देखिँदैन ।
सूर्यविनायक नगरपालिकाले घट्टेखोलाको बहाव क्षेत्रलाई २४ मिटर कायम गरी तटबन्ध बनाउने तदारुकता त देखाएको छ तर सो काम अझै पुरा नहुँदा स्थानीयहरू पानी परेका रात जाग्रम बसी घर डुब्ला कि भनेर कुररे बस्नुपर्ने अवस्था छ । देशको राजधानीको आडैमा रहेको जिल्ला र पालिकाकाको अवस्था यस्तो छ भने देशभर शहर–उन्मुख ठाउँको अवस्था के होला सहजै अनुमान गर्न सकिन्छ ।
नेपाली समाजमा द्रव्य– उन्मुख सोच हाबी हुँदा नैतिकता हराएको दृष्टान्तको रूपमा घट्टेखोलाको मिचाइलाई लिन सकिन्छ । तर दुःखको कुरा के हो भने यस्तो घटना दिनप्रति दिन बढ्दै गएको र देशैभरी यस्तै हर्कतको संक्रमण फैलिएको छ ।
यसलाई मलजल गर्ने काममा राजनीतिक शक्तिहरूको पनि योगदान रहेको छ । बेथिति र अनियमिततालाई जोसुकैले गरको भए पनि रोक्ने वा कारबाही गर्नेतिर नलागी आफ्ना पक्षले गरेको बेथितिलाई जोगाउँदै जाँदा नैतिक मूल्यहरूमा ह्रास आउँदा भ्रष्टाचार फस्टाउँदै गएको हो ।
मानिसहरूले व्यक्तिगत लाभलाई प्राथमिकता दिँदा भ्रष्टाचारजस्ता असामाजिक व्यवहार सामान्यजस्तै हुन थालेका छन् । शिक्षण संस्था र धार्मिक संस्थामा समेत नैतिकताको ह्रास भएको देखिएको छ । युवापुस्तामा अनुशासन र जिम्मेवारीको न्यूनता देखिएको छ । शिक्षा प्रणालीमा नैतिकता र सामाजिक मूल्यहरूको ह्रास, राजनीतिमा भ्रष्टाचारको विस्तार, र सामाजिक प्रतिस्पर्धामा आर्थिक शक्तिको प्रधानताले पैसाप्रति आकर्षण बढाएको छ ।
तर पनि नेपाली समाजमा सत्य, इमानदारी, करुणा र सहिष्णुताजस्ता मूल्यहरू निमिट्यान्न भइसकेको भन्ने होइन, त्यसलाई जगाउनुपर्ने देखिएको छ । यो काममा राजनीतिक नेतृत्वलाई घच्घच्याउने काममा हामीलाई त्यस्तो नेता चाहिएको छ जसको सदाचारले एउटा अभियान नै छेड्न सकियोस् ।
नेपाली समाज ऐतिहासिकरूपमा सांस्कृतिक धरोहरमा सम्पन्न भएका कारण नै गुठी, पाटी, पौवाजस्ता परम्परागत संरचनाहरूले सामाजिक एकता, धार्मिक आस्था र सांस्कृतिक पहिचान जोगाउँदै आएका थिए । तर पछिल्लो समय आर्थिक लोभ, शहरीकरण र असंवेदनशील नीतिका कारण यस्ता धरोहरहरू जोखिममा परेका छन् ।
सूर्यविनायक नगरपालिकको घट्टेखोलाको मिचाइ नेपाली समाजको द्रव्यमोहलाई उजागर गर्ने एउटा उदाहरण भएको छ । यो घटनाले हामीलाई के पाठ सिकाएको छ भने आज सामान्य ठानिएको खोला, पैनी, नहराजस्ता प्राकृतिक सम्पदालाई उचित व्यवस्थापन गरिएन भने त्यसले रौद्र रूप लिनेछ, तसर्थ समयमै सचेत होऔं । खोला किनार र जलाधार क्षेत्रमा बस्ती बसाउने गल्ती नगरौं ।