नेभिगेशन
सूचना प्रविधि

एआईको दबदबाका बीच मिलिनियल ब्रान्डहरूको पतन

काठमाडौं । लगानीकर्तामा आर्टिफिसियल इन्टेलिजेन्स (एआई)प्रति रहेको उत्साह कतिसम्म तर्कहीन बन्दै गएको छ भन्ने कुराको थप प्रमाण अप्रिल १५ मा प्राप्त भयो । करिब एक दशकअघि सिलिकन भ्यालीका युवाहरू (मिलिनियल्स) माझ लोकप्रिय भएको ऊनी जुत्ताको ब्रान्ड ‘अलवड्र्स’ले आफूलाई अब एआई कम्प्युटिङ पूर्वाधार प्रदायकको रूपमा रूपान्तरण गर्ने योजना घोषणा ग¥यो । ‘न्यूबर्ड एआई’ नामकरण गरिने यस कम्पनीको सेयर मूल्य घोषणा लगानीलगत्तै ८०० प्रतिशतभन्दा बढीले बढ्यो र हाल यो घोषणापूर्वको तुलनामा करिब चार गुणा बढीमा स्थिर भएको छ ।
यसले कम्पनीको कायापलट हुनुअघिको व्यवसाय कस्तो अवस्थामा थियो भन्ने कुरालाई पनि प्रस्ट पारेको छ । सन् २०२१ को नोभेम्बरमा सार्वजनिक भएको केही समयपछि आफ्नो चरम बिन्दुमा पुगेको अलवड्र्सले त्यसयता आफ्नो बजार मूल्यको ९९ प्रतिशत हिस्सा गुमाइसकेको थियो ।
सन् २०१० को दशकमा युवा ग्राहकहरूको उत्साहका कारण चर्चामा आएका तर विगत केही वर्षदेखि ओरालो लागेका ब्रान्डहरूमा अलवड्र्स मात्र एक्लो छैन । सौन्दर्य प्रशोधन सामग्रीको ब्रान्ड ‘ग्लोसियर’, चस्मा बिक्रेता ‘वार्बी पार्कर’ र रेजर बिक्रेता ‘डलर सेभ क्लब’जस्ता कम्पनीहरूले इन्टरनेटमार्फत सिधै मिलिनियल्सहरूलाई सामान बेचेर फस्टाउँदो व्यवसाय खडा गरेका थिए । आफ्नो उचाइमा रहँदा यीमध्ये धेरैको मूल्यांकन अर्बौं डलरमा थियो । तर, समयसँगै उनीहरूको अवस्था खस्किएको छ ।
एक समयका चर्चित यी मिलिनियल ब्रान्डहरू मुख्यतया दुईवटा धारणामा आधारित थिए । पहिलो, धेरैजसो सामानहरू जुन किन्नुअघि प्रत्यक्ष हेर्नुपर्छ भन्ने सोचिन्छ, ती अनलाइनबाटै बेच्न सकिन्छ । यसले भौतिक स्टोर सञ्चालनको खर्च बचाउँछ । जस्तै, वार्बी पार्करले ग्राहकलाई घरमै चस्माका फ्रेमहरू परीक्षण गर्न दियो भने म्याट्रेस ब्रान्ड ‘क्यास्पर’ले मानिसहरूलाई किन्नुअघि म्याट्रेसमा उफ्री–पाफ्री गरिरहनुपर्दैन भन्ने अनुमान ग¥यो ।
दोस्रो धारणा, सामाजिक सञ्जालमा पकड जमाउन सके महँगो विज्ञापनबिना नै ग्राहकको ध्यान तान्न सकिन्छ । उदाहरणका लागि ग्लोसियरले आफ्ना सामानहरू रंगीचंगी प्याकेटमा पठाउँथ्यो, जसले गर्दा ग्राहकले इन्स्टाग्राममा ‘अनबक्सिङ’ भिडियोहरू हालेर कम्पनीको सित्तैमा प्रचार गरिदिन्थे ।
सुरुमा यो व्यावसायिक मोडलले तीव्र वृद्धि ल्यायो । तर, यस सफलतालाई टिकाउन गाह्रो भएको छ । स्पेनको आईई बिजनेस स्कूलका ड्यानियल कोस्र्टेनका अनुसार सुरुका दिनहरूमा ब्याजदर कम भएको र सामाजिक सञ्जालमार्फत ग्राहक बटुल्ने खर्च सस्तो भएकाले यी ब्रान्डहरूलाई सजिलो भएको थियो । तर, अहिले अवस्था त्यस्तो छैन । 
ब्याजदर बढेसँगै भेन्चर क्यापिटलको लगानी घटेको छ र लगानीकर्ताहरू एआईतर्फ मोडिएका छन् । साथै, अनलाइन विज्ञापनको बजार भरिभराउ भएकाले कम्पनीहरूले ग्राहकसम्म पुग्न बढी पैसा खर्च गर्नुपर्ने भएको छ । कोस्र्टेनका अनुसार सन् २०२३ देखि २०२५ को बीचमा अनलाइनमार्फत नयाँ ग्राहक बनाउने खर्च ४० देखि ६० प्रतिशतले बढेको छ । यसैको प्रतिक्रियास्वरूप धेरै मिलिनियल ब्रान्डहरूले विगत केही वर्षदेखि भौतिक स्टोरहरू पनि खोल्न थालेका छन् ।
बजारमा प्रतिस्पर्धा पनि निकै बढेको छ । ब्रान्डिङ सल्लाहकार क्यामिल मुरका अनुसार पुराना ठूला कम्पनीहरूले मिलिनियल ब्रान्डहरूबाट सिकेर आफ्नो अनलाइन उपस्थितिलाई बलियो बनाएका छन् । त्यसमाथि, नयाँ पुस्ताका नयाँ ब्रान्डहरू पनि जन्मिएका छन्, जसको नेतृत्व प्रायः सेलिब्रेटीहरूले गरिरहेका छन् । उदाहरणका लागि सन् २०२२ मा हेली बीबरले स्थापना गरेको लिप–ग्लोस ब्रान्ड ‘रोड’लाई गत वर्ष ‘ई.एल.एफ. ब्युटी’ ले १ अर्ब डलरसम्ममा किनेको थियो ।
उपभोक्ता सामानको व्यवसायलाई पूर्णरूपमा त्यागेर अर्कै क्षेत्रमा लाग्नेमा अलवड्र्स मात्र एक्लो देखिए पनि अन्य मिलिनियल ब्रान्डहरूले पनि ठूलै संकट झेलिरहेका छन् । सन् २०२० मा सार्वजनिक भएको क्यास्परले ७० प्रतिशत मूल्य गुमाएपछि सन् २०२१ मा निजी कम्पनीमा फर्कियो । ग्लोसियरले आफूलाई बेच्न खोजे पनि खरिदकर्ता फेला पार्न सकेको छैन । युनिलिभरले सन् २०१६ मा १ अर्ब डलरमा किनेको डलर सेभ क्लबलाई सन् २०२३ मा निकै कम मूल्यमा एक निजी इक्विटी फर्मलाई बेच्यो । ‘हामीले आफ्नो धार र उत्साह गुमायौं,’ गत वर्ष ब्रान्डका प्रमुखले यसरी दुखेसो पोखेका थिए ।
मिलिनियल ब्रान्डहरूको तीव्र वृद्धिका दिनहरू अब सकिएका छन् । अब उनीहरूले पुराना अनुभवी कम्पनीहरूबाट आफ्ना ग्राहकलाई कसरी टिकाइराख्ने भन्ने सिक्नुपर्ने मुरको तर्क छ । किनकि नयाँ पुस्ताका उदीयमान ब्रान्डहरू उनीहरूलाई पछि पार्न तयार छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्