नेभिगेशन
विश्व

कोडरको साटो ‘विचारका इन्जिनियर’को खोजी

लन्डन  । कुनै समय सूचना प्रविधिको भविष्य बनाउन ‘कोड सिक्नू’ भन्ने सल्लाह सर्वाधिक लोकप्रिय थियो । तर कृत्रिम बुद्धिमत्ता (एआई) को तीव्र विकाससँगै अहिले अवस्था उल्टिएको छ । आफ्नै सिर्जनाले रोजगारी खोस्ला भन्ने चिन्ता प्रोग्रामरहरूलाई हुन थालेको छ भने ठूला एआई कम्पनीहरू दार्शनिकलाई आकर्षक तलबमा नियुक्त गर्न होडबाजी गरिरहेका छन् ।
यो परिवर्तनले भविष्यको एआई निर्माणमा कोडभन्दा विचारको महत्त्व बढी हुन थालेको हो भन्ने प्रश्नलाई बल दिएको छ ।
यस वर्ष अमेरिकाको फेडरल रिजर्भ बैंक अफ न्यूयोर्कले सार्वजनिक गरेको तथ्यांकले पनि यही प्रवृत्तिलाई बल दिएको छ । सन् २०२४ मा कम्प्युटर विज्ञान अध्ययन गरेका स्नातकमध्ये ७ प्रतिशत बेरोजगार थिए भने दर्शनशास्त्र पढेकामध्ये बेरोजगारको दर ५.१ प्रतिशत मात्र थियो । येल विश्वविद्यालयका दार्शनिक लुसियानो फ्लोरिडीका अनुसार अहिले धेरै विद्यार्थीले स्नातक पूरा गर्नुअघि नै एआई कम्पनीबाट जागिरको प्रस्ताव पाउन थालेका छन् । विश्वविद्यालयका दर्शन विभागबाट प्राध्यापकहरू समेत एआई कम्पनीतर्फ सर्ने क्रम तीव्र भएको उनले बताएका छन् ।
एआई कम्पनीहरूले दार्शनिकलाई किन यति महŒव दिन थाले त ? यसको मुख्य कारण एआईलाई बढी जिम्मेवार, सत्यनिष्ठ र सुरक्षित बनाउनु भएको विज्ञहरूको धारणा छ  । 
आजका धेरै एआई प्रणाली प्रयोगकर्तालाई खुसी पार्ने प्रयासमा तथ्यभन्दा सहमतिलाई प्राथमिकता दिन्छन् । यसलाई ‘साइकोफ्यान्सी’ अर्थात् अनावश्यक रूपमा प्रयोगकर्ताको पक्ष लिनु भन्ने समस्या मानिन्छ । जर्मनीको लुडविग म्याक्सिमिलियन विश्वविद्यालयका जोर्ग नोलरका अनुसार सुकरातीय प्रश्न–उत्तर पद्धतिमा प्रशिक्षित एआईले मानिसलाई खुसी पार्नुभन्दा सत्य खोज्न बढी प्रयास गर्छ ।
दार्शनिक सुकरातको अर्को महत्वपूर्ण अवधारणा ‘म आफू धेरै कुरा जान्दिनँ भन्ने कुरा जान्दछु’ भन्ने बौद्धिक विनम्रता हो । यही सोच एआईमा समावेश गर्न सकिए उसले अनावश्यक आत्मविश्वास देखाउने र गलत जानकारीलाई सत्यझैं प्रस्तुत गर्ने प्रवृत्ति घट्ने अनुसन्धानकर्ताहरूको विश्वास छ । गुगल डीपमाइन्डका वरिष्ठ दार्शनिक आइएसन गाब्रिएलका अनुसार पछिल्ला वर्षहरूमा एआईका ‘हल्युसिनेसन’ अर्थात् मनगढन्ते उत्तरहरू कम हुनुमा यस्ता प्रयासको पनि भूमिका छ ।
दार्शनिक विचारले एआईको व्यवहार पनि परिवर्तन गर्न सक्छ । उदाहरणका लागि, यदि कुनै कानुनी एआईलाई दार्शनिक जोन लकका विचारमा आधारित बनाइयो भने उसले व्यक्तिगत सम्पत्ति अधिकारलाई बढी महत्व दिन सक्छ । यही कारण केही कम्पनीले आफ्ना ग्राहकलाई एआईको ‘दार्शनिक झुकाव’ नै रोज्ने सुविधा दिन थालेका छन् ।
अमेरिकी कम्पनी आईबीएमको ‘ग्रानाइट’ मोडलमा प्रयोगकर्ताले व्यक्तिगत स्वतन्त्रता र सामाजिक हितजस्ता नैतिक प्राथमिकताबीच सन्तुलन मिलाउने विकल्पसमेत पाउँछन् ।
एआई सुरक्षित बनाउने अर्को ठूलो प्रयास ‘एआई संविधान’ निर्माण हो । यसमा एआईले पालना गर्नुपर्ने नैतिक र कानुनी सिद्धान्तको सूची तयार गरिन्छ । उद्देश्य एआईलाई छलछाम, निगरानीबाट उम्किने प्रयास वा प्रयोगकर्तालाई धम्की दिने जस्ता जोखिमपूर्ण व्यवहारबाट रोक्नु हो ।
यस क्षेत्रमा अग्रणी कम्पनी एन्थ्रोपिकले आफ्नो क्लोड मोडलका लागि ७८ पृष्ठ लामो ‘संविधान’ तयार गरेको छ । यसमा दार्शनिक इमानुएल कान्टका सिद्धान्तदेखि मानवअधिकारको विश्वव्यापी घोषणापत्र र एप्पलका सेवा सर्तसम्म समावेश गरिएको छ । कम्पनीभित्र यसलाई मजाकमै ‘क्लोडको आत्मा’ भन्ने गरिएको छ तर सबैभन्दा जटिल प्रश्न भनेको एआईले कुन नैतिक दर्शन पछ्याउने भन्ने हो ।
पहिलो धार ‘कर्तव्यवादी नैतिकता’ (डिओटलजी) हो । यसले झूट बोल्ने, मानिसलाई साधनका रूपमा प्रयोग गर्ने वा जबर्जस्ती गर्ने कार्य परिणाम राम्रो भए पनि स्वीकार्य हुँदैन भन्ने मान्यता राख्छ । एन्थ्रोपिकको क्लोड यही सोचबाट निकै प्रभावित छ । यसका कारण क्लोडलाई अन्य च्याटबोटको तुलनामा बढी इमानदार र स्थिर व्यवहार गर्ने एआईका रूपमा हेरिन्छ ।
अक्सफोर्ड विश्वविद्यालयका दार्शनिक निक बोस्ट्रोमका अनुसार सत्य बोल्ने एआईले प्रयोगकर्तालाई भ्रमित पार्ने सम्भावना कम हुन्छ । यही कारण भावनात्मक सहयोग दिने उद्देश्यले बनाइएको ‘पाइ’ च्याटबोटले आत्महत्याको जोखिममा रहेका प्रयोगकर्तालाई पहिचान गर्नसमेत प्रभावकारी काम गरेको दाबी गरिन्छ ।
दोस्रो धार ‘परिणामवादी नैतिकता’ (कन्सिक्वेन्सियलिज्म) हो । यसले कुनै निर्णयको मूल्याङ्कन त्यसको परिणामका आधारमा गर्छ । ओपनएआईको च्याटजिपिटी र गुगलको जेमिनी यही सोचतर्फ बढी झुकेको मानिन्छ । यदि कुनै निर्णयले समग्रमा बढी फाइदा पु¥याउँछ भने त्यो स्वीकार्य हुन सक्छ भन्ने यसको आधारभूत मान्यता हो ।
यो दृष्टिकोण विशेषगरी स्वचालित सवारीसाधन र सैन्य एआईमा महŒवपूर्ण मानिन्छ । दुर्घटना टार्न नसकिने अवस्थामा कसरी कम क्षति हुने निर्णय लिने वा सैन्य कारबाहीमा नागरिकको क्षति न्यून गर्ने भन्ने प्रश्न यिनै प्रणालीले सामना गर्छन् ।
तर यहींबाट सबैभन्दा गम्भीर नैतिक विवाद सुरु हुन्छ । यदि एउटा जीवन बचाउन अर्को जीवन जोखिममा पार्नुपरे के गर्ने ? बालबालिका र वृद्धमध्ये कसको सुरक्षालाई प्राथमिकता दिने ? जनावर वा वातावरणको हितलाई पनि एआईले विचार गर्नुपर्ने कि नपर्ने ?
यस्ता प्रश्नको कुनै सर्वस्वीकार्य उत्तर छैन । केही विज्ञले अर्को चिन्ता पनि व्यक्त गरेका छन् । यदि नैतिक निर्णयसमेत एआईले गर्न थाल्यो भने मानिस आफैंले सही–गलत छुट्याउने क्षमता गुमाउने खतरा बढ्न सक्छ । मानव नैतिकता समय, संस्कृति र समाजअनुसार बदलिने भएकाले त्यसलाई स्थायी नियममा बाँधेर एआईमा लागू गर्नु आफैंमा चुनौतीपूर्ण रहेको उनीहरूको तर्क छ । तर पनि एउटा कुरा भने स्पष्ट देखिएको छ—एआईको भविष्य केवल तीव्र गणनाशक्ति वा उत्कृष्ट कोडले मात्र तय गर्ने छैन । अब त्यसलाई सही–गलत छुट्याउने बुद्धि, नैतिक विवेक र दार्शनिक दृष्टिकोण पनि उत्तिकै आवश्यक परेको छ । त्यसैले एआईको नयाँ दौडमा सबैभन्दा मूल्यवान् सीप सम्भवतः प्रोग्रामिङ होइन, गहिरो सोच्ने क्षमता बन्दै गएको छ । (द इकोनमिस्ट)

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्