नेभिगेशन
मनोरञ्जन

कन्सर्ट टिकटका लागि प्रार्थना गरिने मन्दिर

टोकियोको व्यस्त निहोनबाशी जिल्लाभित्र लुकेको हजार वर्षभन्दा पुरानो एउटा सानो मन्दिरबारे विश्वास गरिन्छ, यसले तपाईंलाई आफ्ना मनपर्ने ब्यान्डलाई नजिकबाट हेर्ने अवसर दिलाउन सक्छ ।
टोकियोको चहलपहलपूर्ण निहोनबाशी क्षेत्रमा पुग्दा सजिलै अभिभूत भइन्छ । सूट लगाएका अधिकारीहरू शक्ति–भोजनका लागि ओहोरदोहोर गरिरहेका हुन्छन्, धनी ग्राहकहरू विशाल डिपार्टमेन्ट स्टोरमा भरिएका हुन्छन् र अग्ला भवनहरूले तलको जमिनमा पुग्ने घामसमेत लगभग छेकिदिन्छन् ।
मानिसहरूको भीडले मानसिक रूपमा थिचिरहेको अनुभव गरिरहेकै बेला म एउटा चम्किलो रातो तोरी गेट पार गर्दै ‘फुकुतोकु’ नामको सानो, शान्त ठाउँमा प्रवेश गरें । मैले गहिरो सास फेरें र तुरुन्तै मन शान्त भयो ।
टोकियोमा यस्तै सयौँ शिन्तो मन्दिर भए पनि, यो मन्दिर भने एउटा विशेष कारणले प्रसिद्ध रहेछ भन्ने कुरा मैले छिट्टै थाहा पाएँ । यहाँ मानिसहरू शिन्तो देवता अर्थात् ‘कामी’ सँग स्वास्थ्य वा समृद्धिको कामना गर्न आउँदैनन् । उनीहरूको इच्छा अत्यन्त विशिष्ट हुन्छ, कन्सर्ट टिकट ।
लटरी टिकटदेखि जे–पपसम्म
नवौँ शताब्दीमा निर्माण गरिएको फुकुतोकु मन्दिर ‘इनारी’ नामक देवतालाई समर्पित छ । इनारीलाई धानको प्रशस्त उत्पादन र समृद्धि दिने देवता मानिन्छ । सन् १५९० मा प्रभावशाली सामुराई तोकुगावा इयासुले यो मन्दिर भ्रमण गरेका थिए । उनी यसबाट यति प्रभावित भए कि पछि यसको संरक्षक नै बने र त्यो संरक्षणसँगै विशेष अधिकार पनि आए ।
ओहायोको केस वेस्टर्न रिजर्भ विश्वविद्यालयमा जापानी भाषा अध्ययन गराउने सह–प्राध्यापक बेथ कार्टर भन्छन्, ‘उनलाई यो मन्दिरप्रति यति गहिरो लगाव थियो कि उनले यसलाई विशेष सुविधा दिएका थिए, जसमा लटरी सञ्चालन गर्ने अधिकार पनि थियो । त्यसपछि यो मन्दिर अत्यन्त लोकप्रिय बन्यो ।’
ती लटरीहरूले मन्दिरको सुधारका लागि पैसा जुटाए, जबकि विजेताहरूले पुरस्कार रकमको हिस्सा पाउँथे । समयसँगै फुकुतोकु ‘भाग्य खोज्ने ठाउँ’ का रूपमा प्रसिद्ध बन्दै गयो ।
इनारीले सधैं प्रशस्तता दिने विश्वास गरिन्थ्यो । अब मानिसहरू यहाँ आएर जित्ने लटरी टिकटको कामना पनि गर्न थाले । त्यसपछिका ४०० वर्षसम्म फुकुतोकु भाग्य खोज्नेहरूको आश्रयस्थल रहिरह्यो ।
पछि १९९० को दशकमा नयाँ सांगीतिक लहरले यो मन्दिरको रहस्यलाई अझ बढायो । जे–पप विस्फोटक रूपमा लोकप्रिय हुन थालेपछि ग्ले, स्पीड र मोर्निङ मुसुमीजस्ता ब्यान्डहरूले जापानभरका रंगशालाहरू भरिन थाले । यससँगै ‘सुपर–फ्यानडम’ को नयाँ संस्कृति जन्मियो ।
टोकियोस्थित पत्रकार क्रिस्टा रोजर्स भन्छिन्, ‘जापानी आइडल संस्कृति असाध्यै विशाल बन्यो । यहाँ ‘ओशी’ भन्ने शब्द छ । तपाईंको ‘ओशी’ भनेको त्यो ब्यान्ड सदस्य हो, जसलाई तपाईं समर्थन गर्नुहुन्छ, जसलाई तपाईं आदर्श मान्नुहुन्छ ।’
समर्पित प्रशंसकहरूले आफ्ना ‘ओशी’ लाई समर्थन गर्न टी–सर्टदेखि सजावटी झोला र ब्याजसम्म अनेक वस्तु किन्छन् तर एउटा चीज उनीहरूले चाहेर पनि सधैं किन्न सक्दैनन् । त्यो हो, उनीहरूको प्रत्यक्ष प्रस्तुति हेर्ने टिकट । किनभने जापानका धेरै ठूला कन्सर्टहरूमा अनलाइन बहु–चरणीय लटरी प्रणाली प्रयोग हुन्छ ।
प्रशंसकहरूले टिकट किन्नका लागि आवेदन दिन्छन्, र चयन भए मात्र सीमित संख्यामा टिकट किन्न पाउँछन् । यो प्रणालीलाई निष्पक्ष बनाउन बनाइएको हो । तर केही प्रशंसक आफ्नो सम्भावना बढाउन ’दैवी हस्तक्षेप’ पनि खोज्छन् ।
यदि फुकुतोकुमा प्रार्थना गर्दा स्क्राच लटरी जितिन्छ भन्ने विश्वास गरिन्छ भने, कन्सर्ट टिकटका लागि पनि यसले भाग्य दिन सक्छ भन्ने उनीहरूको आशा हुन्छ ।
टोकियोस्थित गाइड तथा कन्टेन्ट निर्माता साइबर बन्नी भन्छन्, ‘एउटा भनाइ छ, ‘आफूले गर्न सक्ने सबै गर, अनि भाग्यलाई बाँकी छोड । जापानीहरू आफ्नो सम्भावना १ प्रतिशतले भए पनि बढाउन जे पनि गर्छन् । उनीहरू सोच्छन्, टिकटका लागि फुकुतोकुमा गएर प्रार्थना गर्नु नगर्नुभन्दा राम्रो हो । कम्तीमा केही त हो !’
मन्दिरको वेदीअगाडि प्रार्थना
कोभिड महामारीका बेला कन्सर्टहरू बन्द भए, तर ‘ओशी’ प्रति समर्पण भने हराएन । अरिगातो ट्राभलकी गाइड उल्ली नाम्बो, जसले आफ्ना फुड–टुरका क्रममा यो मन्दिर देखाउँछिन्, सम्झन्छिन्, प्रतिबन्ध हटेपछि र सांगीतिक कार्यक्रम फेरि सुरु भएपछि प्रशंसकहरू आफ्ना मनपर्ने ब्यान्डसँग पुनर्मिलनको आशामा फुकुतोकुमा ओइरिए ।
‘त्यहाँ यति धेरै मानिस थिए कि प्रार्थना गर्ने ठाउँ नै देखिँदैनथ्यो,’ उनले भनिन्, ‘मानिसको अत्यधिक भीडका कारण सडक नै बन्द गर्नुपरेको थियो ।’ मैले भ्रमण गरेको दिन पनि फुकुतोकु श्रद्धालुहरूले भरिएको थियो । उनीहरू मौन आदरका साथ टाउको झुकाइरहेका थिए ।
पहिले उनीहरूले ‘तेमिजुया’ भनिने पानीको धारा नजिक हात र मुख शुद्ध पार्थे । त्यसपछि मुख्य वेदीअगाडि दुईपटक गहिरो रूपमा झुक्थे, दुईपटक ताली बजाएर कामीलाई बोलाउँथे, मौन प्रार्थना गर्थे र अन्त्यमा कृतज्ञतासहित फेरि एकपटक झुक्थे ।
त्यसपछि केही मानिसहरू ’एमा’ किन्ने किओस्कतिर जान्थे । एमा भनेका साना काठका कार्ड हुन्, जसको मूल्य करिब ५०० देखि १००० येनसम्म पर्छ । उनीहरूले ती कार्डमा आफ्ना विशेष इच्छा लेख्थे र ठूलो ¥याकमा बाँधिदिन्थे । छिटो नजर दौडाउँदा त्यहाँ जीरोबेसवनदेखि बीटीएससम्मका ब्यान्डलाई प्रत्यक्ष हेर्न चाहने प्रशंसकहरूको दर्जनौँ कामना देखिन्थ्यो ।
सबैको एउटै आशा थियो, दुई वा तीन सातापछि हुने लटरी जित्नु, र अन्तिम ‘ज्याकपोट’ पाउनुः आफ्ना ‘ओशी’ लाई प्रत्यक्ष देख्ने अवसर ।
एक उच्च शक्ति
जापानको आदिवासी शिन्तो धर्ममा कठोर सिद्धान्त छैनन्, न त यसले पूर्ण सत्यमा जोड दिन्छ । वर्तमान क्षणका अद्भुत अनुभूतिलाई पवित्र मानिन्छ । तर के कन्सर्ट टिकटजस्तो क्षणिक चीजका लागि प्रार्थना गर्नु स्वीकार्य छ ?
बेथ कार्टर भन्छिन्, ‘धेरै जापानी विद्वानहरू भन्छन् कि यस्ता क्रियाकलापलाई केवल भौतिक लेनदेनका रूपमा हेर्नु हुँदैन । यसको धार्मिक अनुष्ठान र त्यसको तयारी पनि महत्वपूर्ण हुन्छ । जब तपाईं आफूले चाहेको कुरा प्राप्त गर्नुहुन्छ, तपाईंलाई खुशी मिल्छ, आन्तरिक शान्ति मिल्छ । अनि त्यसले तपाईंलाई यस्तो आध्यात्मिक अनुभवका लागि तयार बनाउँछ, जसका लागि तपाईं पहिले तयार नहुन सक्नुहुन्थ्यो ।’
मन्दिरका एक अधिकारीले भने, ‘हामी सबैका लागि ढोका खोल्छौं । मानिसहरूले आफूलाई मनपर्ने मन्दिर रोज्न सक्छन् । यदि उनीहरूले सच्चा मनले प्रार्थना गर्छन् भने, उनीहरूलाई खुशी दिने कुरा माग्नु बिल्कुल ठीक हो ।’
प्रत्यक्ष सांगीतिक प्रस्तुति सुन्नुलाई धेरैले ‘धार्मिक अनुभव’ जस्तै भन्ने गरेका छन् । टोकियोमा भने त्यसका लागि प्रार्थना गर्नु पनि सार्थक हुन सक्छ— क्रिस्टा रोजर्सले जस्तै अनुभव गरेझैं । एकपटक उनका ‘ओशी’ आयुमी हामासाकी टोकियो आइन् । रोजर्सले लटरीमा नाम दर्ता गरिन्, तर सफल भइनन् ।
अर्कोपटक हमासाकीले टुर घोषणा गर्दा उनले भाग्यमै छोडिनन्, सीधै फुकुतोकु पुगिन् । ‘मैले प्रार्थना गरें,’ उनी हाँस्दै सम्झन्छिन्, ‘अनि कुनै न कुनै रूपमा मैले टिकट पाएँ ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्