नेभिगेशन
विश्व

इबोला प्रकोप विश्वव्यापी स्वास्थ्य संकटकाल

कङ्गो लोकतान्त्रिक गणतन्त्र (डीआरसी) र छिमेकी युगान्डामा फैलिएको इबोला प्रकोपलाई विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले ‘अन्तर्राष्ट्रिय चासोको सार्वजनिक स्वास्थ्य संकटकाल’ घोषणा गरेको छ । यो प्रकोपबाट हालसम्म करिब ९० जनाको मृत्यु भइसकेको छ ।
पूर्वी डीआरसीको इटुरी प्रान्तबाट सुरु भएको यो प्रकोप इबोलाको दुर्लभ ‘बुन्डिबुग्यो’ प्रजातिसँग सम्बन्धित छ । यस प्रकारको इबोलाविरुद्ध हालसम्म कुनै स्वीकृत खोप वा विशेष उपचार उपलब्ध छैन ।
स्वास्थ्य अधिकारीहरूका अनुसार संक्रमण युगान्डासम्म फैलिसकेको छ भने प्रकोपसँग सम्बन्धित बिरामीहरू कङ्गोको राजधानी किन्शासासम्म पुगेका छन् । त्यसैले यसलाई क्षेत्रीय रूपमा उच्च जोखिम मानिएको छ ।
यद्यपि डब्लुएचओले यसलाई महामारी (प्यान्डेमिक) भने घोषणा गरेको छैन । संयुक्त राष्ट्रसंघीय निकायले सीमाना बन्द नगर्न र व्यापारमा प्रतिबन्ध नलगाउन देशहरूलाई आग्रह गरेको छ ।
प्रकोपबारे के थाहा छ ?
अफ्रिका सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनका अनुसार यो प्रकोप पहिलो पटक शुक्रबार डीआरसीको उत्तरपूर्वी इटुरी प्रान्तमा, युगान्डा र दक्षिण सुडानको सीमाना नजिक पहिचान गरिएको थियो । शनिबारसम्म ८८ जनाको मृत्यु र ३३६ वटा शंकास्पद संक्रमित भेटिएको जानकारी दिइएको छ ।
प्रकोप मोंगवालु नामक व्यस्त खानी क्षेत्रमा सुरु भएको थियो । संक्रमितहरू उपचार खोज्दै अन्य स्थानमा जाँदा रोग थप फैलिएको बताइएको छ ।
अफ्रिका सीडीसीले जनसंख्याको आवतजावत, कमजोर स्वास्थ्य संरचना तथा इटुरी क्षेत्रमा सक्रिय सशस्त्र समूहहरूको हिंसाले नियन्त्रण प्रयासलाई जटिल बनाउन सक्ने चेतावनी दिएको छ ।
डीआरसीका स्वास्थ्य मन्त्री स्यामुएल रोजर कम्बाका अनुसार पहिलो संक्रमित एक नर्स थिइन् । उनी अप्रिल २४ मा इटुरीको राजधानी बुनियास्थित स्वास्थ्य केन्द्रमा इबोलासँग मिल्दोजुल्दो लक्षण लिएर पुगेकी थिइन् ।
उता युगान्डामा डीआरसीबाट आएका यात्रुसँग सम्बन्धित दुईवटा प्रयोगशालाबाट पुष्टि भएका संक्रमण भेटिएका छन्, जसमा राजधानी कम्पालामा एक जनाको मृत्यु भएको छ ।
चिकित्सा सहायता संस्था मेडिसिन्स सान्स फ्रन्टियर्स (एमएसएफ) की ट्रिश न्युपोर्टले भनिन्, ‘यति छोटो समयमा देखिएको संक्रमण र मृत्युको संख्या, अनि सीमापार फैलावट अत्यन्त चिन्ताजनक छ । इटुरीका धेरै मानिसहरू पहिले नै स्वास्थ्य सेवाबाट वञ्चित छन् र असुरक्षाबीच बाँचिरहेका छन् । त्यसैले प्रकोप थप फैलिन नदिन तत्काल कदम आवश्यक छ ।’
इबोला के हो ?
इबोला एउटा गम्भीर र प्रायः घातक भाइरल रोग हो । यो पहिलो पटक सन् १९७६ मा हालको डीआरसीस्थित इबोला नदी नजिक पहिचान गरिएको थियो ।
यो भाइरस सुरुमा जंगली जनावर, विशेषगरी चमेरोबाट मानिसमा सर्ने विश्वास गरिन्छ । त्यसपछि संक्रमित व्यक्तिको रगत, बान्ता, वीर्य वा अन्य शारीरिक तरल पदार्थको प्रत्यक्ष सम्पर्कबाट फैलिन्छ । संक्रमित व्यक्तिमा लक्षण देखिएपछि मात्रै रोग सर्ने हुन्छ ।
यसका लक्षणमा ज्वरो, बान्ता, झाडापखाला, अत्यधिक कमजोरी, मांसपेशी दुखाइ तथा गम्भीर अवस्थामा आन्तरिक र बाह्य रक्तस्राव पर्छन् । यसको इन्क्युबेशन अवधि दुईदेखि २१ दिनसम्म हुन सक्छ । हालको प्रकोप “बुन्डिबुग्यो” प्रजातिबाट भएको हो, जुन पहिलो पटक सन् २००७ मा युगान्डामा पहिचान गरिएको थियो ।
स्वास्थ्य मन्त्री काम्बाका अनुसार यसको मृत्यु दर ५० प्रतिशतसम्म पुग्न सक्छ । उनले भने, ‘बुन्डिबुग्यो प्रजातिविरुद्ध कुनै खोप वा विशेष उपचार छैन ।’
डब्लुएचओको घोषणाको अर्थ
‘अन्तर्राष्ट्रिय चासोको सार्वजनिक स्वास्थ्य संकटकाल” डब्लुएचओको अन्तर्राष्ट्रिय स्वास्थ्य नियमअन्तर्गत दोस्रो उच्च सतर्कता स्तर हो । कोभिड–१९ पछि लागू गरिएको सबैभन्दा उच्च तह ‘प्यान्डेमिक संकटकाल’ भने अहिले लागू गरिएको छैन ।
डब्लुएचओका महानिर्देशक टेड्रस एडरनम गेब्रियेससले छिमेकी देशहरूमा जनसंख्याको आवतजावत, व्यापार र यात्राका कारण थप संक्रमण फैलिन सक्ने उच्च जोखिम रहेको बताएका छन् ।
डब्लुएचओले छिमेकी देशहरूलाई संकटकालीन व्यवस्थापन प्रणाली सक्रिय गर्न, सीमाक्षेत्रमा निगरानी बढाउन र पुष्टि भएका संक्रमितलाई तुरुन्त अलग राख्न आग्रह गरेको छ । संक्रमितको सम्पर्कमा आएका व्यक्तिलाई २१ दिनसम्म अन्तर्राष्ट्रिय यात्रा नगर्न पनि सिफारिस गरिएको छ ।
यद्यपि सीमाना बन्द गर्दा अनौपचारिक आवतजावत बढ्न सक्ने र नियन्त्रण प्रयास कमजोर हुन सक्ने भन्दै डब्लुएचओले यस्तो कदम नचाल्न चेतावनी दिएको छ ।
विगतका प्रकोप
डीआरसीमा सन् १९७६ यता कम्तीमा १७ वटा इबोला प्रकोप देखिइसकेका छन् । सबैभन्दा घातक प्रकोप सन् २०१८ देखि २०२० सम्म चलेको थियो, जसमा करिब २ हजार ३०० जनाको मृत्यु भएको थियो । त्यसबेला युगान्डामा पनि केही संक्रमण भेटिएका थिए ।
गत वर्षको अर्को प्रकोपमा कम्तीमा ३४ जनाको मृत्यु भएको थियो । इबोला पहिचान भएयता यसले विश्वभर करिब १५ हजार मानिसको ज्यान लिइसकेको छ, जसमा अधिकांश अफ्रिकाका नागरिक छन् ।
डीआरसीले सामना गरिरहेका अन्य चुनौती
इटुरीसहित डीआरसीका विभिन्न क्षेत्रमा सक्रिय विद्रोही समूहहरूले प्रकोप नियन्त्रणलाई थप कठिन बनाएका छन् । डब्लुएचओले चेतावनी दिँदै भनेको छ, ‘असुरक्षा, मानवीय संकट, जनसंख्याको उच्च आवतजावत, शहरी तथा अर्धशहरी क्षेत्रमा संक्रमणको फैलावट र अनौपचारिक स्वास्थ्य केन्द्रहरूको ठूलो सञ्जालले जोखिम अझ बढाएको छ ।’
यसै महिना उत्तरपूर्वी क्षेत्रमा विद्रोही आक्रमणमा कम्तीमा ६९ जनाको मृत्यु भएको सुरक्षा अधिकारीहरूले बताएका छन् ।
खनिज सम्पदाले भरिएको पूर्वी डीआरसीमा विगत तीन दशकदेखि विभिन्न सशस्त्र समूहहरूबीच संघर्ष चलिरहेको छ । त्यहाँ एलाइड डेमोक्रेटिक फोर्सेस (एडीएफ) र मार्च २३ मुभमेन्टजस्ता समूह सक्रिय छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्