नेभिगेशन
दृष्टिकोण
सम्पादकीय

कृषिमा युवा र भविष्य

नेपालको अर्थतन्त्रको मेरुदण्ड कृषि भएता पनि नेपालका युवाहरूमाझ कृषि पेसा अझै पनि सम्मानित पेसा हुन सकेको छैन । कृषि क्षेत्रमा युवाको आकर्षण दिनानुदिन घट्दै गएको छ । वैदेशिक रोजगारीको मोह, परम्परागत खेतीप्रतिको निराशा, बजारको अनिश्चितता, आधुनिक प्रविधिको अभाव तथा सरकारी नीतिको कमजोर कार्यान्वयनका कारण युवाहरू कृषिबाट टाढिँदै गएका छन् । यदि यही प्रवृत्ति जारी रह्यो भने भविष्यमा खाद्य सुरक्षा, ग्रामीण अर्थतन्त्र र राष्ट्रिय उत्पादनमा गम्भीर असर पर्न सक्छ  ।
आजको विश्वमा कृषि केवल हलो–कोदालोको काम मात्र होइन । यो प्रविधि, अनुसन्धान, नवप्रवर्तन र उद्यमशीलतासँग जोडिएको आधुनिक व्यवसाय हो । ड्रोन, कृत्रिम बुद्धिमत्ता, सिँचाइ, जैविक उत्पादन, मूल्य शृंखला व्यवस्थापन र डिजिटल बजारका माध्यमबाट कृषिलाई लाभदायक र सम्मानजनक पेसामा रूपान्तरण गर्न सकिन्छ । नेपालमा पनि तरकारी, फलफूल, पशुपालन, मौरीपालन, च्याउ खेती, मत्स्यपालन र जडीबुटी उत्पादनमा युवा उद्यमीहरूले उल्लेखनीय सफलता हाँसिल गरिरहेका उदाहरणहरू छन् । यसले देखाउँछ कि उचित अवसर, तालिम र लगानी पाए युवा कृषिमा उत्कृष्ट सम्भावना देख्न सक्छन् ।
आज नेपालका अधिकांश ग्रामीण क्षेत्रका खेतबारीहरू बाँझो देख्न सकिन्छ । किसानले लगाएका बालीनाली दुम्सी, मुसा,बाँदर तथा बँदेलले सखाप पार्दा राज्यका निकाय अनदेखा गर्छन् । समाजका बाठाटाठा गैरकृषकलाई कृषि अनुदान दिनु, वन्यजन्तु नियन्त्रणमा कडा कानून हुनु, भूगोल र माटो सुहाउँदो कृषि कार्य नगरीनुले कृषकले कृषिमार्फत प्रयाप्त आम्दानी पाउन सकेका छैनन् । यसर्थ, राज्यले आगामी बजेटमा कृषिलाई प्राथमिकतामा राखिनुपर्छ । मल, बिउ, अनुदान, कृषि बिमा तथा अन्य कृषिजन्य सुविधाहरू राज्यले उपलब्ध गराउन सकेको खण्डमा मात्र युवाले कृषिमा आफ्नो भविष्य देख्न सक्छन् ।
युवाहरूमा कृषिसम्बन्धी विस्तृत ज्ञान नहुँदा आफ्नो कृषि व्यवसायलाई नाफामा लैजान नसक्दा फलतः लगानी डुबेको तथा युवाहरूमा नैराश्य बढ्दै गरेको देखिन्छ । माटो र समय सुहाउँदो कृषिसम्बन्धी शिक्षा अब हरेक विद्यालयमा पाठ्यक्रममै समावेश गरेर पठनपाठन गराइनुपर्छ । कृषिसम्बन्धी कानूनी कुराहरू, कृषि बिमा, राज्यबाट पाउने अनुदानहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा कृषि उपजको माग तथा आपूर्तिलगायतका विषयमा आजको समयमा कृषिमा नै आफ्नो भविष्यको खोजी गर्ने युवामा यी कुराहरू जानकारी हुनु जरुरी छ । कृषिमा नेपालका युवाले भविष्य देख्न राज्यले उचित वातावरण निर्माण गरिदिनुपर्छ । कृषि सडकको स्तरोन्नति,बजार व्यवस्थापन, बिचौलियाको अन्त्य, कृषिमा सस्तो कर्जा, कृषक तालिमजस्ता आधाभूत कुराहरू राज्यको प्राथमिकतामा पर्नुपर्छ । कृषकहरूलाई आधुनिक तथा नगदे बालीतर्फ आकर्षित गराउन सकिन्छ । कागती, सुन्तला, स्याऊ, नासपाति तथा किबी फलजस्ता नगदे बालीहरू नेपालको हावापानी र माटो सुहाउँदो हुन सक्छन् । 
कृषिमा अधिक सम्भावना भएसँगै चुनौति पनि उत्तिकै छन् । बजार मूल्यमा आउने उतारचढाव, समयमा नै कृषि फसल ढुवानी नहुनु, अल्पवृष्टि, अनावृष्टि, अतिवृष्टि जस्तो मौसम परिवर्तनका कारण कृषिमा चुनौति थपिएको छ । यस्ता चुनौति तथा समस्याको सही पहिचान गरी सरकारले आगामी दिनमा थप ठोस योजना ल्याउनुपर्छ । परम्परागत निर्वाहमुखी कृषिबाट आधुनिक व्यावसायिक कृषितर्फको यो रूपान्तरण देशका अन्य ग्रामीण क्षेत्र र विदेश जाने युवाहरूका लागि पनि फलदायी बन्न सकोस् ।  
युवालाई कृषिमा आकर्षित गर्न सर्वप्रथम कृषि शिक्षालाई व्यवहारमुखी बनाउनु आवश्यक छ । विद्यालय र विश्वविद्यालयमा पढाइने कृषि ज्ञानलाई खेतबारीसँग जोड्नुपर्छ । सहुलियतपूर्ण कर्जा, बीमा, अनुदान, बजारको सुनिश्चितता, भण्डारण सुविधा तथा प्रशोधन उद्योगको विकासले युवाको जोखिम कम गर्छ । त्यस्तै, स्थानीय तहले बाँझो जमिनको उपयोग, सामूहिक खेती तथा कृषिमा आधारित स्टार्टअपलाई प्राथमिकता दिनुपर्छ । कृषिलाई सम्मानित र प्रतिष्ठित पेसाका रूपमा स्थापित गर्न सामाजिक सोचमा पनि परिवर्तन आवश्यक छ ।

नेपालमा आयात हुने खाद्यान्न, तरकारी र फलफूलको ठूलो हिस्सा स्वदेशमै उत्पादन गर्न सकिने अवस्था छ । यदि युवा शक्ति कृषिमा सक्रिय भयो भने देशले रोजगारी सिर्जना, आयात प्रतिस्थापन, निर्यात वृद्धि र आर्थिक आत्मनिर्भरता हासिल गर्न सक्छ । कृषि क्षेत्रको आधुनिकीकरणले गाउँमा नै अवसर सिर्जना गर्नेछ र अनियन्त्रित बसाइँसराइँ तथा वैदेशिक पलायन कम हुनेछ ।

कृषि नेपालको वर्तमान मात्र होइन, भविष्य पनि हो । र, त्यो भविष्यको सबैभन्दा बलियो आधार युवापुस्ता हो । युवाको ऊर्जा, सिर्जनशीलता र उद्यमशीलतालाई कृषिसँग जोड्न सके नेपाल समृद्धिको नयाँ यात्रामा अघि बढ्न सक्छ । त्यसैले कृषिमा युवाको सहभागिता बढाउनु आजको आवश्यकता मात्र होइन, राष्ट्रको दीर्घकालीन समृद्धिको अनिवार्य शर्त पनि हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप दृष्टिकोण
मिडियामाथि सरकार कठोर

मिडियामाथि सरकार कठोर

युवकको सफलता कि असफलता ?

युवकको सफलता कि असफलता ?

संघीयतामाथिको अवधारणा

संघीयतामाथिको अवधारणा