संसारका विभिन्न मुलुकमा युवाहरूले विगत दुई दशकमा सत्ता, अधिकार, न्याय, शिक्षा, वातावरण, र समानताका लागि निरन्तर संघर्ष गर्दै आएका छन् । उनीहरूको सक्रियता र नेतृत्वले मात्र होइन, सामाजिक सञ्जाल र आधुनिक सञ्चार माध्यमको प्रयोगले पनि यी आन्दोलनहरूलाई व्यापक बनाएको छ । युवाहरूको आवाज अब विश्व राजनीतिमा निर्णायक भूमिका खेल्न थालेको छ र भविष्यका लागि आशाका किरण बनेको छ ।
२००० को दशक
२००० को दशकमा पूर्वी युरोप र काकेशस क्षेत्रका केही देशहरूमा युवाहरूले प्रमुख राजनीतिक आन्दोलनहरू चलाए । सर्बियामा २००० मा ‘बुलडोजर रिभोल्युसन’ नामक आन्दोलनले मिलोसेभिकको तानाशाही सत्ता अन्त्य गर्यो । जर्जियामा २००३ को ‘रोज रिभोल्युसन’ ले चुनावी धाँधली र भ्रष्टाचारविरुद्ध युवाहरूलाई एकसाथ ल्यायो । युक्रेनको २००४ को ‘ओरेन्ज रिभोल्युसन’ ले पनि चुनावी निष्पक्षता र लोकतन्त्रको माग राख्यो । यी आन्दोलनहरूमा युवाहरूको सक्रिय सहभागिताले पुरानो तानाशाही र भ्रष्ट शासनविरुद्ध ठूलो चुनौती दिएको थियो ।
२०१० को दशक
२०१० को दशकलाई विश्वव्यापी युवाहरूको आन्दोलन दशक भनिन्छ । यो दशकको शुरुवातमा ‘अरब स्प्रिङ’ आन्दोलनले मध्यपूर्व र उत्तर अफ्रिकाका मुलुकहरूमा राजनीतिक परिवर्तन ल्यायो । ट्युनिसियाबाट सुरु भएको यो आन्दोलनले इजिप्ट, लिबिया, सिरिया र यमन जस्ता देशहरूमा निरंकुश शासनविरुद्ध युवाहरूलाई उठ्न प्रेरित ग¥यो । फ्रान्समा २०१८ मा ‘गिलेट जोन आन्दोलन’ आर्थिक असमानता र जीवनयापन लागतविरुद्ध युवाहरूको आवाज बनेको थियो । जलवायु परिवर्तनविरुद्ध स्विडेनकी ग्रेटा थनबर्गको नेतृत्वमा सुरु भएको ‘फ्राइडे फर फ्युचर’ आान्दोलनले विश्वका युवाहरूलाई एकजुट गराएको छ । यसै दशकमा चिलीमा शिक्षा, स्वास्थ्य र सामाजिक असमानताविरुद्ध मेट्रो टिकट विरोधबाट ठूलो जनआन्दोलन सुरु भयो ।
२०२० को दशक
२०२० को दशकमा विश्वभर युवा आन्दोलनहरू अझ सक्रिय र विविध भए । अमेरिकामा २०२० मा ‘ब्ल्याक लाइभ्स म्याटर’ आन्दोलनले जातीय भेदभाव र प्रहरी दमनविरुद्ध ठूलो सन्देश दियो । श्रीलंकामा २०२२ को ‘गो गोटा गो’ आन्दोलनले गम्भीर आर्थिक संकट र भ्रष्टाचारविरुद्ध युवाहरूको नेतृत्वमा ठूलो जनआन्दोलन चलायो जसले राष्ट्रपति गोटाबाया राजापाक्षेलाई पदबाट हटायो ।
बंगलादेशमा सरकारी सेवामा ५६ प्रतिशत आरक्षण (विशेषगरी मुक्ति योद्धाका सन्तानहरूका लागि) हटाउन माग गर्दै २०१८ देखि सुरु भएको आन्दोलन २०२४–२५ मा गम्भीर रूप लिएको छ । हजारौँ विद्यार्थी र युवाहरूले मेरिटको आधारमा नियुक्तिको माग राख्दै प्रदर्शन गरे । पछिल्ला चरणहरू हिंसात्मक बन्दा कैयौँको ज्यान गयो र शेख हसिनाको राजीनामा र अन्तरिम सरकारको चर्चा चल्न थाल्यो । आन्दोलनले वंशवाद, अवसर असमानता र शासनमा पारदर्शिताको अभाव विरुद्धको आवाज बुलन्द गर्यो ।
भारतमा निर्भया काण्डपछि महिला सुरक्षाका लागि ठूलो आन्दोलन भएको थियो भने इरानमा २०२२ मा महसा अमिनीको मृत्युपछि महिलाको अधिकारका लागि युवा आन्दोलन फैलियो । नेपालमा पनि कोरोना महामारीको बेलामा ‘इनफ इज इनफ’ आन्दोलनले सरकारको उदासीनता विरुद्ध युवाहरूलाई सडकमा उत्राएको थियो ।
२०२२ मा स्वतन्त्र उम्मेदवारहरूको सफलताले वैकल्पिक राजनीतिक नेतृत्वप्रति युवाहरूको भरोसा देखाएको छ । यी सबै आन्दोलनहरूले देखाउँछन् कि विश्वका युवाहरू अब मौन छैनन् । उनीहरू राजनीति, सामाजिक न्याय, वातावरण, शासन सुधार र आर्थिक समानताको मुद्दामा अग्रसर छन् ।