नेभिगेशन
दृष्टिकोण

किन गर्ने मूर्ति पूजा ?

परापूर्वकालदेखि नै मूर्तिको पूजा गरिँदै आएको पाइन्छ । नेपाली गृहणीहरू बिहान सबेरै उठेर स्नान गरेर वा पञ्च स्नान गरेर धाराबाट चोखो पानी ल्याउँछन् र कोही कसैले छोलान् भनी होशियारीपूर्वक चोखो पानी ल्याउँदा भ¥याङ चढ्दा पनि बिन्हाबि भन्दै कसैले ननाघोस् भन्दै कराउँदै माथि पूजाकोठामा गई देवताको पूजा गर्छन् । यसरी बिहान सबेरै उठेर चोखोनितो गरी शुद्ध मनले पवित्र भई एकाग्र भएर चोखो पानी ल्याउनु र पूजाकोठामा गई देवताको मूर्तिमा एकनिष्ठ भई पूजा गर्नु पनि एक किसिमको योग नै हो । यसरी नित्य पूजा गरेर एकाग्र हुनुले पनि गृहणीको मनमस्तिष्कमा सकारात्मक असर पारिरहेको हुन्छ । 
    आखिर किन गरिन्छ मूर्ति पूजा ? विभिन्न देवी देवताका मूर्ति बनाई सबैले पूजा गर्दै आइरहेका छन् । के छ यसमा रहस्य ? के देवताको मूर्तिमा पूजा गर्दैमा धर्म हुने हो र ? कतिपय स्थानमा त एउटा ढुंगाको डल्लोलाई मात्र देवता मानी पूजा गर्दै आएको देखिन्छ । के देवता ढुंगामै हुन्छन् त ? कतिपय मानिसहरूले भन्ने पनि गर्छन् ढुंगाका देवता पूजा गर्नेहरू ढोंगी हुन्, धर्मका नाममा अनेकौं नाटक गर्छन्, यी धर्मभीरुहरू । धर्मका नाममा आफू अन्धभक्त बनेर अरूलाई पनि अन्धभक्त बनाउन पल्केका यी धर्मभीरु हुन् । सच्चा धर्म त दीनदुःखीहरूको सेवा गर्नु हो । तिनीहरूको दुःख दर्द हटाउनु हो । वास्तविक धर्म त त्यहाँ पो हुन्छ । 
    भगवान् कणकणमा हुन्छन् भनिन्छ तर हामीलाई मूर्तिको किन आवश्यक प¥यो ? के यो हाम्रो परम्परामात्र हो ? वा यसमा पनि कुनै कारण छ ? वा यसमा पनि रहस्य छ कि वा कुनै गहिरो विज्ञान पनि छ ? तर्क वितर्क मनमा उठिरहन्छ, सायद सबैलाई यस्तै लागेको हुन सक्छ । 
    वास्तवमा मूर्ति पूजा पत्थरको पूजा होइन । गहिरिएर हेर्ने हो भने ढुंगाका माध्यमबाट भगवान्को दर्शन गर्ने कला हो । यदि तपाईंलाई आफ्नो संस्कृतिको यस विज्ञानमा गर्व छ भने आफ्नो धरातलको, आफ्नो वास्तविक पहिचानको गर्व छ भने भन्नुहोस् मेरो देशको ढुंगामाटोमा र कण–कणमा ईश्वरको बास छ, मेरो देश देवभूमि हो, तपोभूमि हो र पुण्यभूमि हो, त्यसैले भन्छु  मेरो देश स्वर्गभूमि हो । 
    मन्दिरमा रहेको ढुंगाको मूर्तिलाई त्यत्तिकै पूजा गरिँदै आएको होइन । प्राणप्रतिष्ठा गर्दा बोलेका मन्त्रका कम्पनबाट एक किसिमको सकारात्मक ऊर्जा प्राप्त हुन्छ, जसले हाम्रो शरीरका चक्रहरूलाई सक्रिय पार्दछन् । 
    हुन त मानिसको मन स्वभावैले चञ्चल हुन्छ । बिना कुनै आधार कुनै पनि कुरामा सितिमिति विश्वासै गर्दैनन् । अनि चञ्चल मन र शंका उपशंका गर्ने प्रवृत्तिले गर्दा आकार वा निराकारमा ध्यान लगाउनु लगभग असम्भव नै हुन्छ । यथार्थमा भन्ने हो भने मूर्तिले हाम्रो मनमा एउटा केन्द्रीकृत बिन्दु पैदा गरिदिन्छ । जसले हाम्रो मानसिक एकाग्रता बढाउँछ र तनावलाई कम पार्छ । त्यसैले सनातनदेखि आजको आधुनिक युगमा समेत ढुंगाको मूर्तिलाई पूजा गरिँदै आएको हो । यसैमा हाम्रो धर्म र संस्कृति निहित छ । यही नै परम्परा हो र हाम्रो संस्कार पनि हो । 
(लेखक डंगोल धर्म–संस्कृतिका जानकार हुन् ।)

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्