नेभिगेशन
स्वास्थ्य

आशावादिताः काम गराउने शक्ति, बिगार्ने जोखिम

आशावादी हुनुको आफ्नै फाइदा छ । सकारात्मक सोच्ने मानिसहरूको स्वास्थ्य तुलनात्मक रूपमा राम्रो हुन्छ । मुटुरोग विशेषज्ञ एलन रोजान्स्की र उनका सह–लेखकहरूले गरेको एक अनुसन्धान (मेटा–एनालिसिस)ले देखाएअनुसार आशावादिताले मुटुसम्बन्धी समस्याहरूको जोखिम कम गर्छ । यस्ता मानिसहरू संकटसँग जुध्न सक्ने (लचिला) पनि हुन्छन् । आशावादीहरूले असफलता वा अवरोधहरूलाई अस्थायी र बाह्य परिस्थितिका कारण सिर्जित मान्छन्, जबकि निराशावादीहरूले यस्ता असफलतालाई आफ्नै स्थायी कमजोरीको परिणामका रूपमा लिन्छन् ।
आशावादीहरू संस्थाको माथिल्लो ओहोदा वा नेतृत्वमा पुग्ने सम्भावना पनि बढी हुन्छ । म्युनिख बिजनेस स्कूलकी नादिन चोचोइके र उनका सह–लेखकहरूले नेदरल्याण्ड्सका संस्थापक, हाकिम र कर्मचारीहरूमाझ गरेको हालैको एउटा सर्वेक्षणले उद्यमी र प्रबन्धकहरू (म्यानेजर) दुवै समान रूपमा उच्च आशावादी हुने गरेको फेला पारेको छ । यी दुवै वर्ग सामान्य कर्मचारीहरू भन्दा बढी आशावादी हुन्छन् ।
कारण र परिणामको यो सम्बन्धले दुवैतिर काम गर्छ । शक्ति वा अधिकार आफैंमा आशाको एउटा स्रोत हो । यदि तपाईंसँग भविष्यलाई आकार दिने क्षमता छ भने भविष्यप्रति सकारात्मक हुन सजिलो हुन्छ । कर्मचारीहरूको तुलनामा हाकिमहरू आर्टिफिसियल इन्टेलिजेन्स (एआई)प्रति बढी सकारात्मक हुनुको एउटा मुख्य कारण निश्चित रूपमा के हो भने भविष्यमा के हुन्छ भन्ने कुरामा उनीहरूको नियन्त्रण बढी हुन्छ । तर आशाले मानिसलाई अगाडि र माथि बढ्न पनि प्रेरित गर्छ । निराशावादीहरूको तुलनामा आशावादीहरू उद्यमी बन्ने सम्भावना बढी हुन्छ । सफलताको कम आशा राख्ने र व्यवसाय सुरु गर्ने निर्णय सँगसँगै जान सक्दैनन् । नोबेल पुरस्कार विजेता मनोवैज्ञानिक ड्यानियल काहनेम्यानले यस्तो ‘भ्रामक आशावादिता’ लाई पुँजीवादको संवाहक वा इन्जिनका रूपमा वर्णन गरेका छन् ।
चाहे सही होस् या गलत आत्मविश्वासले मानिसलाई संस्थाहरूभित्र ठूला पदका लागि छानिनुको एउटा ठूलो कारण हो । मानिसहरू कत्तिको आशावादी वा निराशावादी छन् भनी मापन गर्ने मानक मनोवैज्ञानिक परीक्षण एउटा छोटो प्रश्नावली हो, जसलाई ‘रिभाइज्ड लाइफ ओरिएन्टेशन टेस्ट’ भनिन्छ । यसमा ‘यदि मेरो लागि कुनै कुरा बिग्रन सक्छ भने, त्यो बिग्रिन्छ नै’ जस्ता भनाइहरू समावेश हुन्छन् । के तपाईं त्यस्तो व्यक्तिको पछि लाग्नुहुन्छ जसले आफूलाई सराप परेको दृढ विश्वास गर्छ?
तर स्पष्ट रूपमा, अत्यधिक आशावादिता घातक पनि हुन सक्छ । सन् २००७ मा प्रकाशित एक प्रभावशाली शोधपत्रमा ड्यूक युनिभर्सिटीका मञ्जु पुरी र डेभिड रोबिन्सनले मानिसहरूको आफ्नै आयुसम्बन्धी अपेक्षा र वास्तविक तथ्यांकबीचको अन्तरलाई आशावादिताको स्तर मापन गर्ने माध्यम बनाएका थिए । उनीहरूले के फेला पारे भने सामान्य आशावादीहरूको तुलनामा अत्यधिक आशावादी मानिसहरूले बढी धुम्रपान गर्ने र आफ्नो व्यक्तिगत सम्पत्तिको ठूलो हिस्सा सजिलै नगदमा बदल्न नसकिने (अचल) सम्पत्तिमा राख्ने गर्थे । संस्थाहरू भित्र पनि अत्यधिक आशावादिताले प्रायः समस्या निम्त्याउँछ । उदाहरणका लागि, सुरुवातमा राखिने अवास्तविक अपेक्षाहरूले गर्दा परियोजनाहरूले बजेट र समयसीमा पार गर्ने सम्भावना बढी हुन्छ । आशावादिताले असफल हुन लागेका परियोजनाहरूलाई समयमै बन्द गर्न पनि गाह्रो बनाउँछ । निर्णयकर्ताहरूमा पहिले योजना गरिएको भन्दा राम्रो परिणाम आउनेछ भन्ने अनुमान गर्ने बानी हुन्छ, जसले गर्दा उनीहरू असफल परियोजनामा अझ बढी लगानी थप्न खोज्छन् ।
धेरै कुरा सन्दर्भमा निर्भर गर्दछ । ‘हद्द भए के नै बिग्रेला र ?’ भन्ने वाक्य एउटा पडकास्टर (भिडियो वा अडियो प्रस्तोता)को मुखबाट भन्दा विमानका पाइलटको मुखबाट सुन्दा धेरै चिन्ताजनक लाग्छ । युनिभर्सिटी अफ कालाब्रियाका डामियानो सिलिपो र उनका सह–लेखकहरूले अमेरिकी बैंकहरूले भविष्यको कर्जा नोक्सानी बेहोर्न कति पैसा छुट्टयाएर राखेका छन् भन्ने कुरा हेरेर उनीहरूको आशावादिताको मापन गरेका थिए । सन् २००७–०९ को वित्तीय संकट अघिको अवधिमा बैंकरहरूमाझ आशावादिता चरम रूपमा व्याप्त थियो । त्यसपछि, अचानक त्यो आशा हराएर गयो ।
आशावादी पूर्वाग्रहलाई नियन्त्रण गर्ने थुप्रै उपायहरू छन् । यसमा प्रक्रियाहरूले मद्दत गर्न सक्छन्, जस्तै ‘प्रि–मार्टम’ (काम सुरु गर्नुअघि गरिने समीक्षा), जसमा मानिसहरूले जानाजानी प्रस्तावित योजना असफल भएको कल्पना गर्छन् र त्यसका सम्भावित कारणहरू पहिचान गर्छन् । टोलीको संरचनाले पनि फरक पार्छ । युनिभर्सिटी अफ क्यालिफोर्निया, बर्कलेकी उर्लिके माल्मेन्डियर र उनका सह–लेखकहरूको एक प्रतिवेदन अनुसार, जब कम्पनीले सेयर जारी गर्नुको सट्टा ऋण लिन रुचाउँछ, तब घमण्डी सीईओको तुलनामा अत्यधिक आशावादी सीएफओ (मुख्य वित्तीय अधिकारी) को भूमिका बढी जिम्मेवार हुन्छ । तर सोही प्रतिवेदनले अत्यधिक आत्मविश्वासी सीईओहरूले सीएफओ पनि अत्यधिक आत्मविश्वासी नै नियुक्त गर्ने गरेको फेला पारेका छन् । त्यसो त, संस्थामा माथिदेखि तलसम्म सबै आशावादी मात्रै छन् भने, त्यो तपाईंको लागि ठूलो समस्या हो ।
यद्यपि, अर्को दिशामा अर्थात् पूर्ण निराशावादतर्फ बढी ढल्कनु पनि गलत हुन सक्छ । दक्षिण अफ्रिकाको ठूलो वित्तीय सेवा प्रदायक कम्पनी ‘डिस्कभरी ग्रुप’का संस्थापक एड्रियन गोरले आफ्नो नयाँ पुस्तक ‘द फोर प्रिन्सिपल्स’मा व्यवसायमा जरा गाडेर बसेको निराशावाद एउटा व्यापक समस्या भएको तर्क गरेका छन् । गोरका अनुसार, मानिसहरू नकारात्मक संकेतहरू खोज्न बानी परेका हुन्छन् । कुनै कुरा किन बिग्रन सक्छ भनेर व्याख्या गर्नुलाई कुराहरू राम्रो भएर जानेछन् भनी विश्वास गर्नुभन्दा बढी परिपक्व वा बौद्धिक मानिन्छ । ‘हानिप्रतिको डर’ (लस एभर्जन) अर्थात् आफूसँग भएकै कुरा गुम्ने डर सम्बन्धी एउटा बलियो व्यावहारिक पूर्वाग्रह हो । यसको अर्थ मानिसहरू पहिले नै जोखिम लिनबाट पछि हटिरहेका हुन्छन् । गोरको सोचाइ छ, असफलताबाट सिक्ने कुरालाई समाजमा बढी नै बढाइचढाइ गरिएको छ; असफलताले भन्दा सफलताले तपाईंलाई धेरै कुरा सिकाउँछ । कार्यसम्पादन मूल्यांकन (पर्फमेन्स अप्राइजल) मानिसहरूको कमजोरी सुधार्नतिर लाग्नुभन्दा उनीहरूको क्षमता अनुसारको स्थानमा राख्नमा केन्द्रित हुनुपर्छ । निराशावादको आफ्नै स्थान होला, तर समाज वा व्यवसायमा काम फत्ते गराउने भनेकै आशावादिताले हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्