नेभिगेशन
स्वास्थ्य

लामो समयसम्म सँगै थुनिएर बस्दा मानसिक तनाव बढ्छ

यदि तपाईंसँग तपाईंलाई रिस उठाउने कुनै सहकर्मी छ भने, कम्तीमा प्रत्येक साँझ घर फर्किंदा तपाईं उसबाट टाढै बस्नु उपयुक्त हुनसक्छ । यदि तपाईंहरू दुवै अन्टार्कटिकाका अनुसन्धानकर्ता हुनुहुन्न भने मात्र यो कुरा लागु हुन्छ ।
अन्टार्कटिकाका अनुसन्धानकर्ताहरू लामो समयसम्म निकै साँघुरो ठाउँमा सँगै बस्छन् र काम गर्छन् । यस्ता वैज्ञानिकहरूमाथि गरिएको एउटा अध्ययनले यस्तो वातावरणले मानिसहरूमा आपसी झगडा (द्वन्द्व), एक्लोपन र शंकालुपन (प्यारानोइया) बढाउने फेला पारेको छ । यो निष्कर्षले भविष्यमा मंगल ग्रहमा पठाइने अन्तरिक्ष मिसनहरू र चन्द्रमामा बनाइने योजनाबद्ध चौकीहरूका लागि समस्या निम्त्याउन सक्छ ।
गत अप्रिलमा एक मध्यम आकारको भ्यान जत्तिको सानो स्पेस क्याप्सुलमा ‘आर्टेमिस द्वितीय’मा १० दिन बिताएका अन्तरिक्ष यात्रीहरूले मिसनका क्रममा आफूहरूबीच बलियो सम्बन्ध बनेको कुरा गरेका थिए । तर, मंगल ग्रहको यात्रा १० दिनको नभई महिनौं लामो हुनेछ ।
युनिभर्सिटी अफ जुरिख र अन्य युरोपेली संस्थाहरूका वैज्ञानिकहरूले अन्टार्कटिकामा रहेको फ्रान्सेली र इटालेली अनुसन्धान केन्द्र ‘कन्कोर्डिया स्टेसन’मा १० महिना बिताएका १२ जनाको टोलीलाई नजिकिने सेन्सर (प्रक्सिमिटी सेन्सर) र नियमित प्रश्नावलीहरूको प्रयोग गरेर नजिकबाट नियालेका थिए ।
उनीहरूले टोलीका सदस्यहरूमा ‘एक्लोपन र द्वन्द्वको भावनामा क्रमिक वृद्धि भएको, जबकि आपसी एकता र व्यक्तिगत कार्यक्षमतामा ह्रास आएको’ फेला पारे ।
‘प्रोसिडिङ्स अफ द नेसनल एकेडेमी अफ साइन्सेज’ जर्नलमा प्रकाशित उक्त अध्ययनले भन्छ, ‘एक्लोपनको स्तर क्रमिक रूपमा बढ्दै गएर सामान्य जनसंख्यामा देखिने मध्यम खालको सामाजिक अलगाव (सोसल आइसोलेसन) सरह पुग्यो ।’ यो एक्लोपनको सम्बन्ध ‘आपसी झगडा र शंकालु सोचाइमा भएको वृद्धि’सँग जोडिएको पाइयो ।
जो सहकर्मीहरू निकै साँघुरो ठाउँमा एकअर्कासँग बढी समय बिताउँथे, उनीहरूबीच विवाद हुने सम्भावना बढी देखियो ।
यो समूह राष्ट्रियताका आधारमा साना–साना गुटहरूमा विभाजित हुने प्रवृत्तिको पनि देखियो, जसले ‘बहुसांस्कृतिक टोलीहरूमा सामाजिक विखण्डनको जोखिम’ निम्त्याउन सक्ने बताइएको छ ।
अन्टार्कटिकामा लामो समयसम्म बस्नका लागि उनीहरूको मानसिक फिटनेस जाँच गर्न पूर्व–मनोवैज्ञानिक परीक्षण (साइकोलोजिकल स्क्रिनिङ) गरिएको भए तापनि, टोलीका सदस्यहरूमा ‘अन्य मानिसहरूले आफ्नै बारेमा टिप्पणी गरिरहेका छन् वा आफूलाई मात्र नियालिरहेका छन् भन्ने जस्तो शंकालुपनको भावना’ देखियो । मिसनको मध्यतिर आइपुग्दा उनीहरूमा ‘अविश्वासको स्तर निकै बढेको’ पाइएको थियो ।
कतिपय कम्पनीहरूलाई फरक–फरक दिनमा घरबाटै काम गर्न मिल्ने (वर्क फ्रम होम) कार्यतालिकाले कर्मचारीहरूबीचको सम्बन्ध बिगार्न सक्छ भन्ने डर हुन्छ । तर, कन्कोर्डिया अध्ययनका लेखक जन श्मुट्जले ‘द इकोनोमिस्ट’ लाई बताए अनुसार, यस्तो बन्द वा साँघुरो वातावरणमा भने कुरा ठ्याक्कै उल्टो हुन्छ । हामी मानिसहरू गहिरो रूपमा सामाजिक प्राणी हौं, तर हाम्रा आफ्ना सीमा र परिधिहरू पनि हुन्छन् ।

अध्ययनले के पनि औंल्याएको छ भने, अन्टार्कटिकाका अनुसन्धान केन्द्रहरू अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) भन्दा पनि ‘अत्यधिक दुर्गम र टाढा’ मानिन्छन् ।
‘मानव अन्तरिक्ष अन्वेषण अब एउटा नयाँ युगको संघारमा छ, जहाँ अन्तरिक्ष एजेन्सीहरू र निजी कम्पनीहरूले चन्द्रमा, क्षुद्रग्रह (एस्ट्रोइड्स) र अन्ततः मंगल ग्रहमा लामो अवधिका मिसनहरू योजना गरिरहेका छन्,’ अध्ययनमा भनिएको छ, ‘यी खोजी मिसनहरूले मानवीय सहनशीलताको सीमालाई चुनौती दिनेछन् किनभने अन्तरिक्ष यात्रीहरूले अभूतपूर्व स्तरको अलगाव, सीमित उद्धार सम्भावनाहरू, र चरम मनोवैज्ञानिक तथा शारीरिक चुनौतीहरूको सामना गर्नुपर्नेछ ।
महिनौं वा वर्षौंसम्म चल्ने यस्ता मिसनहरूमा साना टोलीहरूले कडा र खतरनाक परिस्थितिहरूमा, उच्च स्वायत्तताका साथ, र पृथ्वीसँग सञ्चार सम्पर्कमा हुने लामो ढिलाइका बीचमा साँघुरो र पृथक ठाउँहरूमा काम गर्नुपर्नेछ ।’
स्टीफन किङको चर्चित हरर उपन्यास ‘द साइनिङ’मा आधारित पछि ज्याक निकोल्सन अभिनित चलचित्र पनि बन्यो । यो उपन्यासका पात्र काम मात्र गर्ने र रमाइलो नगर्ने बानीले भयानक परिणाम निम्त्याउँछ । त्यसको सन्दर्भ जोड्दै अध्ययनले भनेको छ, ‘पप कल्चर वा लोकप्रिय संस्कृतिले पनि यस्तै अन्तज्र्ञानलाई समेट्छः लामो समयसम्मको अलगावमा, लगातारको निकटताले सम्बन्धलाई बलियो बनाउँछ नै भन्ने छैन, बरु यसले तनाव, अविश्वास र मानसिक दबाबलाई अझ बढाउन सक्छ ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्