नेभिगेशन
दृष्टिकोण

जेनजीको साथी कसरी बन्ने ?

हामी पहिलेभन्दा धेरै जोडिएका छौं । उच्च गतिको इन्टरनेट, लगातार सूचना आउने स्मार्टफोन र सधैं अद्यावधिक भइरहने एप तथा सामाजिक सञ्जालका कारण जेनजीलाई नयाँ साथी बनाउन कुनै समस्या छैन । विडम्बना के छ भने, यत्रा साथीभाइ भए पनि, इन्टरनेटमा जेनजीका बढीभन्दा बढी हितैषी जोडिएको भए उनीहरू पहिलेभन्दा बढी एक्लोपन पनि महसुस गरिरहेका छन् । जो लामो समयसम्म डिजिटल उपकरणमै व्यस्त रहन्छन्, त्यस्ता जेनजीले त झन् ‘एक्लोपनको महामारी’सँग जुझिरहेका छन् ।
सन् २०२५ को सिग्ना ग्रुपको ‘लोनलीनेस इन् अमेरिका’ प्रतिवेदनअनुसार, अन्य पुस्ताभन्दा जेनजी सबैभन्दा बढी एक्लोपन महसुस गर्ने पुस्ता बनेको छ । प्रतिवेदनले देखाएअनुसार ६७ प्रतिशत जेनजी युवाले आफू एक्लो महसुस गरेको बताएका छन् । डिजिटल प्रविधिसँगै हुर्किएको मिलेनियल पुस्तामा यो दर ६५ प्रतिशत थियो । जबकि जेन–एक्समा ६० प्रतिशत र बेबी बुमर पुस्तामा ४४ प्रतिशत मात्र थियो ।
त्यसैगरी, विश्व स्वास्थ्य संगठनको २०२५ को प्रतिवेदनअनुसार १३ देखि १७ वर्ष उमेर समूहका प्रत्येक पाँचमध्ये एक किशोर–किशोरीले अत्यधिक एक्लोपन अनुभव गर्छन् । सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनका अनुसार सन् २०२३ मा ४० प्रतिशत हाई स्कूल विद्यार्थीहरूले ‘दीर्घकालीन उदासी र निराशाको भावना’ अनुभव गरेको बताएका थिए ।
निःशुल्क २४ घण्टा टेक्स्टमार्फत मानसिक स्वास्थ्य सेवा दिने गैरनाफामूलक संस्था क्राइसिस टेक्स्ट लाइनकी प्रमुख स्वास्थ्य अधिकृत डा. शाइरी टर्नर यस अवस्थालाई ‘सार्वजनिक स्वास्थ्य संकट’ भन्छिन्, विशेष गरी जेनजी पुस्तामा यसको प्रभाव गम्भीर रहेको उनको भनाइ छ ।
‘अहिले उनीहरू १४ देखि २९ वर्षका छन्, त्यसैले उनीहरू डिजिटल संसारमै हुर्किएका पुस्ता हुन् । फोनमार्फत मानिससँग जोडिन उनीहरू सहज महसुस गर्छन्,’ उनी भन्छिन्, ‘तर त्यो सम्बन्धले वास्तविक मानवीय सम्बन्धको स्थान लिन सक्दैन । यसले नजिकिएको भ्रम दिन्छ, तर वास्तविक अन्तरव्यक्तिगत सम्बन्ध हुँदैन ।’
उनका अनुसार, यो अवस्थालाई कोभिड–१९ महामारी र एकल अभिभावक परिवारको वृद्धि जस्ता कारणले अझ जटिल बनाएको छ ।
‘यो त्यस्तो पुस्ता हो, जसले आफ्नो विकासका महत्त्वपूर्ण वर्षहरू महामारी र लकडाउनमा बितायो । उनीहरूको केही आधारभूत विकासका समय स्मार्टफोन प्रयोगमै बित्यो, सामाजिक सीप विकासमा होइन,’ टर्नर भन्छिन्, ‘साथै, जेन–जेड पुस्ताका धेरै युवाहरू एकल अभिभावक परिवारमा हुर्किएका छन् । घर फर्किंदा अभिभावक काममा हुने वा दुई घरबीच आवतजावत गर्नुपर्ने अवस्था पनि उनीहरूले भोगे ।’
अब के गर्ने त ? टर्नर भन्छिन्, सुरुमा चेतावनी संकेतहरू पहिचान गर्नुपर्छ ।
‘के तपाईंको बच्चा साथीहरूसँगभन्दा फोनसँग बढी समय बिताइरहेको छ ?’ उनी भन्छिन्, ‘के उनीहरू विद्यालय वा साथीहरूसँगको सम्बन्धबारे निरन्तर निराश भएर घर फर्किन्छन् ? के उनीहरूले खेलकुद वा क्लबजस्ता प्रत्यक्ष सहभागी हुने गतिविधिहरू टार्न थालेका छन् ? यी सबै संकेत हुन्, जसमा ध्यान दिनुपर्छ ।’
टर्नरले जेनजी सन्तानलाई एक्लोपनसँग जुध्न सहयोग गर्ने तीन प्रमुख उपाय सुझाएकी छन् ।
ध्यानपूर्वक सुन्नुहोस्
‘उनीहरूलाई आफ्ना भावना व्यक्त गर्ने ठाउँ दिनुहोस् । बच्चासँग बस्नुहोस् र उनीहरूको कुरा सुन्नुहोस् । उनीहरूसँग मुखमुखै नलाग्नोस् । उनीहरूका लागि यस्तो सुरक्षित वातावरण बनाउनुहोस् जहाँ उनीहरूले आफू एक्लो महसुस गरिरहेको कुरा खुलेर भन्न सकून् । खुला प्रश्न सोध्नुहोस् । ‘आज दिन कस्तो भयो?’ भनेर सोध्दा उनीहरूले ‘ठीक’ वा ‘नराम्रो’ मात्र भन्न सक्छन् । बरु, ‘आज तिमीले रमाइलो लागेको के ग¥यौ?’ वा ‘आज के कुराले चुनौती दियो?’ जस्ता प्रश्न सोध्नुहोस् । कुनै परिस्थितिलाई फरक तरिकाले कसरी सम्हाल्न सकिन्थ्यो भन्नेबारे सँगै छलफल गर्नुहोस्, वा भूमिकात्मक अभ्यास (रोल प्ले) गराउनुहोस्, ताकि उनीहरू अर्को दिनका लागि तयार महसुस गरून् ।’
बाहिरी सामाजिक गतिविधि योजना बनाउनुहोस्
‘यो तपाईं र बच्चा सँगै हुन सक्छ, वा बच्चा र उसका साथीहरूसँग पनि । सहज र दबाबरहित तरिकाले सम्बन्ध बनाउने प्रयास गर्नुहोस्, ‘केही साथीहरूलाई बोलाएर पार्क जाऔं’ भन्न सकिन्छ । फुटबल वा बेसबलजस्ता साझा रुचिका गतिविधि रोज्नुहोस्, जहाँ उनीहरूले खेल्दै रमाइलो गर्न सक्छन् र लगातार कुराकानी गर्नुपर्ने दबाब हुँदैन । संकटमा रहेका युवाबारे हाम्रो प्रतिवेदनले देखाएको छ कि पार्क तथा मनोरञ्जन स्थलजस्ता खुला सार्वजनिक ठाउँहरूले युवालाई मानसिक स्वास्थ्यसँग जुध्न मद्दत गर्छन् । युवाहरूले खेलकुद र सामाजिक सम्बन्धका अवसरलाई आफ्नो मानसिक स्वास्थ्यका लागि उपयोगी मानेका छन् ।’
मानसिक स्वास्थ्यका स्रोत बुझ्नोस्
‘बच्चालाई आवश्यकता पर्नुअघि नै विद्यालय वा समुदायमा पाइने मानसिक स्वास्थ्य सेवाबारे जानकारी लिनुहोस् । के त्यहाँ परामर्शदाता वा विद्यालय मनोवैज्ञानिक छन् ? समुदायमा थेरापिस्ट वा सहायता समूह छन्? त्यस्ता समूहमा उनीहरूले गोप्य रूपमा स्वयंसेवकसँग टेक्स्टमार्फत कुरा गर्न सक्छन् । मुख्य कुरा भनेको तयारी र सचेतता हो ।’
टर्नरका अनुसार युवा पुस्ता स्वभावतः लचिलो हुन्छन्, उनीहरूको मस्तिष्क अझै विकासकै क्रममा हुन्छ । सचेत र उद्देश्यपूर्ण अभिभावकत्वले डिजिटल उपकरण र सामाजिक सञ्जालका नकारात्मक प्रभावलाई धेरै हदसम्म कम गर्न सक्छ ।
‘सकारात्मक अन्तरव्यक्तिगत सीप सिकाउन र आफैं उदाहरण बन्न कहिल्यै ढिलो हुँदैन ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्