हाम्रो दैनिक जीवनका अधिकांश गतिविधि दृष्टिशक्तिमा निर्भर हुन्छन् । आँखा संवेदनशील अंग हो । त्यसैले यसको हेरचाह र सुरक्षाप्रति सधैं सचेत रहन आवश्यक छ । पछिल्लो समय बालबालिकादेखि वयस्क र वृद्ध उमेर समूहसम्म मोबाइल, कम्प्युटर र टेलिभिजनको अत्यधिक प्रयोग बढ्दै गएको छ । यसले आँखामा थकान, पोल्ने, सुक्खापन, टाउको दुख्ने तथा दृष्टिसम्बन्धी अन्य समस्या निम्त्याउने गरेको छ । यस्तै उद्योग, कलकारखाना, कृषि तथा खेलकुद क्षेत्रमा संलग्न व्यक्तिले समयमै सावधानी नअपनाउँदा आँखामा गम्भीर चोट लाग्ने र कतिपय अवस्थामा जीवनभर दृष्टि गुमाउनुपर्ने अवस्था पनि आउन सक्छ । मधुमेह, उच्च रक्तचाप, क्षयरोग र गठियाजस्ता रोगका बिरामीले समेत आँखाको स्वास्थ्यप्रति विशेष ध्यान दिन आवश्यक हुन्छ ।
आँखालाई स्वस्थ राख्न सबैभन्दा पहिले दैनिक बानीमा सुधार आवश्यक छ । लामो समयसम्म मोबाइल, कम्प्युटर वा टेलिभिजनको स्क्रिन हेर्दा आँखा थाक्ने, पोल्ने र टाउको दुख्ने समस्या हुन सक्छ । यस्तो अवस्थामा ‘२०–२०–२० नियम’ निकै उपयोगी मानिन्छ। अर्थात् हरेक २० मिनेटमा २० फिट टाढाको वस्तुलाई २० सेकेन्डसम्म हेर्ने बानी बसाल्नुपर्छ । स्क्रिन आँखाबाट कम्तीमा एक हात टाढा राख्नुपर्छ । अत्यधिक चम्किलो स्क्रिन प्रयोग गर्नु हुँदैन भने अँध्यारो कोठामा मोबाइल चलाउने बानी पनि त्याग्नुपर्छ । पढ्दा वा लेख्दा पर्याप्त प्रकाशको व्यवस्था हुनुपर्छ । धेरै तेज वा अत्यधिक धमिलो बत्तीमा पढ्दा आँखामा अतिरिक्त चाप पर्छ । सवारीसाधनमा यात्रा गरिरहँदा वा सुतिरहेको अवस्थामा पढ्ने तथा मोबाइल चलाउने बानी पनि आँखाका लागि उपयुक्त मानिँदैन ।
आँखालाई घाम, धुलो र धुवाँबाट जोगाउनु पनि उत्तिकै महŒवपूर्ण छ । घाममा निस्कँदा धुप चस्मा वा टोपी प्रयोग गर्दा आँखामा पर्ने प्रत्यक्ष असर कम हुन्छ । वेल्डिङको तेज प्रकाश वा घामलाई नांगो आँखाले लामो समय हेर्नु दृष्टिशक्तिका लागि हानिकारक हुन सक्छ । धुलोयुक्त वातावरणमा काम गर्नुपर्दा सुरक्षात्मक चस्मा प्रयोग गर्नुपर्छ । सामान्यतया दिनमा एक–दुई पटक सफा पानीले अनुहार र आँखा पखाल्दा धुलो धुवाँले गर्ने संक्रमणको जोखिम कम हुन्छ । यदि आँखामा धुलो, किरा वा अन्य कुनै वस्तु परेमा आँखा मिच्ने वा घोट्ने गर्नु हुँदैन । बरु सफा पानीले विस्तारै पखाल्नुपर्छ ।
आँखालाई स्वस्थ राख्न पर्याप्त आराम पनि आवश्यक हुन्छ । दैनिक सातदेखि आठ घण्टासम्म गुणस्तरीय निद्रा लिनुपर्छ । लामो समयसम्म काम गरेपछि केही समय आँखा बन्द गरेर विश्राम दिन सकिन्छ । धूमपान र मदिरापानले पनि आँखामा नकारात्मक असर पार्ने भएकाले यस्ता बानीबाट टाढा रहनु राम्रो हुन्छ । धूमपानले आँखाका नसामा असर गर्छ भने मदिराले आँखा सुक्खा र कमजोर बनाउन सक्छ । त्यस्तै आँखा पोल्ने, बिझाउने वा रातो हुनेबित्तिकै चिकित्सकको सल्लाहबिना आइ–ड्रप वा अन्य औषधि प्रयोग गर्नु हुँदैन ।
नियमित आँखा परीक्षण पनि दृष्टिशक्ति जोगाउने प्रभावकारी उपाय हो । सामान्य अवस्थामा पनि प्रत्येक एकदेखि दुई वर्षमा आँखाको जाँच गराउनुपर्छ । दृष्टि धमिलो देखिने, आँखा दुख्ने, रातोपन बढ्ने, अत्यधिक पानी आउने, राति राम्रोसँग नदेखिने वा दृष्टि अचानक घट्ने समस्या देखिएमा तुरुन्त नेत्र चिकित्सकको सल्लाह लिनुपर्छ । चस्मा वा कन्ट्याक्ट लेन्स प्रयोग गर्ने व्यक्तिले पनि विशेष सावधानी अपनाउनुपर्छ । चस्मा सधैं सफा राख्नुपर्छ र अरूको चस्मा वा लेन्स प्रयोग गर्नु हुँदैन ।
बालबालिकाको आँखाको हेरचाहमा अभिभावकको भूमिका झन् महŒवपूर्ण हुन्छ । बच्चालाई गाजर, सागपात, अण्डा, दूध, आँप, सुन्तला, कागती, गोलभेंडा, माछाजस्ता पोषिलो खानेकुरा नियमित रूपमा खुवाउनुपर्छ । ए, सी र ई भिटामिनयुक्त खाद्य पदार्थले आँखालाई स्वस्थ राख्न मद्दत गर्छ । पर्याप्त पानी पिउने बानी पनि उत्तिकै आवश्यक छ । बालबालिकालाई लामो समयसम्म मोबाइल वा टेलिभिजन हेर्न दिनु हुँदैन । यसले आँखा पोल्ने, थाक्ने र टाउको दुख्ने समस्या ल्याउन सक्छ । बच्चालाई पनि २०–२०–२० नियमको अभ्यास गराउन सकिन्छ ।
बाहिर खेल्दा धुलो र घामबाट बचाउन टोपी वा धुप चस्मा लगाइदिनुपर्छ । धुलो वा धुवाँयुक्त स्थानमा लामो समय खेल्न दिनु हुँदैन । बच्चाले आँखामा धुलो परेमा मिच्ने बानी बसाल्नु हुँदैन । साबुनपानीले हात धुने, सफा पानीले आँखा पखाल्ने र व्यक्तिगत सरसफाइमा ध्यान दिने बानी सानैदेखि सिकाउनुपर्छ । पढ्ने कोठामा पर्याप्त र मद्विम प्रकाशको व्यवस्था हुनुपर्छ । किताब पढ्दा करिब एक फिट दूरी कायम राख्ने बानी बसाल्नुपर्छ । बच्चाले किताब वा टेलिभिजन अत्यन्त नजिकबाट हेर्ने, बारम्बार आँखा मिच्ने, दृष्टि धमिलो भएको गुनासो गर्ने वा आँखाको दिशा फरक देखिने जस्ता लक्षण देखिएमा तुरुन्त नेत्र चिकित्सकलाई देखाउनुपर्छ ।
औद्योगिक क्षेत्रमा काम गर्नेहरू आँखाको चोटपटकको उच्च जोखिममा हुन्छन् । धुलो, धातुका टुक्रा, रासायनिक पदार्थ वा झिल्काका कारण आँखामा गम्भीर क्षति पुग्न सक्छ । त्यसैले काम गर्दा सुरक्षात्मक चस्मा, हेल्मेट तथा आवश्यक सुरक्षा सामग्री प्रयोग गर्नुपर्छ । वेल्डिङ, ग्राइन्डिङ, काट्ने वा पेन्ट गर्ने काममा विशेष प्रकारका चस्मा अनिवार्य मानिन्छन् । वेल्डिङको तेज प्रकाशले ‘वेल्डर बर्न’ नामक समस्या निम्त्याउन सक्छ । यदि पेन्ट, एसिड, सोल्भेन्ट वा अन्य रासायनिक पदार्थ आँखामा परेमा तुरुन्त १०–१५ मिनेटसम्म सफा पानीले पखालेर नेत्र चिकित्सककहाँ जानुपर्छ । सानो चोटलाई पनि बेवास्ता गर्नु हुँदैन, किनकि सामान्य देखिने चोटले पछि ठूलो समस्या निम्त्याउन सक्छ ।
खेलाडीहरूले पनि आँखाको सुरक्षालाई प्राथमिकता दिनुपर्छ । क्रिकेट, ब्याडमिन्टन, टेबलटेनिस, फुटबल, बास्केटबल र रग्बीजस्ता खेलमा बल, औंला वा अन्य उपकरणका कारण आँखामा चोट लाग्ने सम्भावना हुन्छ । त्यसैले खेलअनुसार सुरक्षात्मक चस्मा प्रयोग गर्नु राम्रो हुन्छ । घाममा खेल्दा धुप चस्मा र धुलोयुक्त वातावरणमा टोपी वा हेडब्यान्ड प्रयोग गर्न सकिन्छ । खेलपछि हात नधोई आँखामा छुनु हुँदैन । पसिना वा धुलो परेमा सफा पानीले आँखा पखाल्नुपर्छ । कन्ट्याक्ट लेन्स प्रयोग गर्ने खेलाडीले झन् बढी सावधानी अपनाउनुपर्छ । सम्भव भएसम्म खेलका बेला स्पोट्र्स गगल्स प्रयोग गर्नु राम्रो हुन्छ ।
केही दीर्घरोगले पनि आँखामा गम्भीर असर पार्न सक्छन् । मधुमेहका बिरामीमा लामो समय चिनीको मात्रा नियन्त्रणमा नरहे आँखाका साना रक्तनलीहरूमा क्षति पुग्ने ‘डाइबेटिक रेटिनोप्याथी’ हुन सक्छ । यसले दृष्टि गुम्ने जोखिम बढाउँछ । त्यसैले मधुमेह, रक्तचाप र कोलेस्ट्रोल नियन्त्रणमा राख्नुका साथै वर्षमा कम्तीमा एकपटक आँखा परीक्षण गराउनुपर्छ । उच्च रक्तचापले पनि आँखाका नसामा असर पु¥याउन सक्छ । रक्तचाप नियन्त्रण, नियमित व्यायाम र चिकित्सकीय निगरानी आवश्यक हुन्छ ।
क्षयरोगका केही औषधि, विशेषगरी इथामबुटोलले आँखाको नसामा असर गर्न सक्छ । त्यसैले यस्ता औषधि सुरु गर्नुअघि र उपचारका क्रममा नियमित दृष्टि परीक्षण गराउनुपर्छ । गठियाका बिरामीमा कहिलेकाहीँ आँखामा सुन्निने वा दृष्टिसम्बन्धी समस्या देखिन सक्छ । युरिक एसिड नियन्त्रणमा राख्ने, प्रशस्त पानी पिउने तथा आँखामा कुनै असामान्य लक्षण देखिएमा तुरुन्त विशेषज्ञसँग परामर्श गर्नुपर्छ ।
आँखाको स्वास्थ्य जोगाउन ठूलो खर्च वा जटिल उपाय आवश्यक पर्दैन । दैनिक जीवनका सामान्य सावधानी, स्वस्थ खानपान, पर्याप्त आराम, सुरक्षात्मक उपायको प्रयोग र नियमित परीक्षणले जीवनभर दृष्टिशक्ति सुरक्षित राख्न मद्दत गर्छ । आँखाको सानो समस्यालाई पनि बेवास्ता नगरी समयमै उपचार गराउनु नै दृष्टि जोगाउने सबैभन्दा प्रभावकारी उपाय हो । रासस