नेभिगेशन
दृष्टिकोण

नेपालको शैक्षिक अवस्थाः चुनौती र समाधान

शिक्ष् धातुमा आ प्रत्यय जोडिएर शिक्षा शब्दको बनेको छ । कडा शासन या अनुशासनबेगर नयाँ कुरा सिक्न नसकिने भएको हुनाले सकारात्मक शासन या अनुशासनको आवश्यकता पर्दछ भन्ने अर्थ शिक्षा शब्दले ग्रहण गरेको छ । कुनै पनि काम गर्न योग्य बन्ने इच्छा, चाहना आदि नै शिक्षाको मूल मर्म हो । आजको युगीन परिवेशमा शिक्षाका सम्बन्धमा विविध चिन्तन–मनन गर्दा मानवले आविष्कार गरेका अनेकौं कुराहरू आउँछन् । 
सबैभन्दा पहिले मान्छेले भाषाको आविष्कार गरेर सबै प्राणीलाई पछि पा¥यो । भाषाका अभावमा मान्छे पनि वनमा र ओडारहरूमा एउटा असभ्य जातिका रूपबाट पारस्परिक भावना या विचार आदानप्रदान गर्ने प्राणीका रूपमा विकसित भयो तर समस्या सकिएका थिएनन् । 
भाषाको आविष्कार यसको कल्पना गर्ने र योजना बनाउने दिमागीय शक्तिका कारणले हो । विश्वमा भएका सारा जीवमध्ये मान्छे सर्वोच्च स्थापित भयो तर पनि मान्छे सन्तुष्ट भएर बसेन । सन्तुष्टिले प्रगतिमा बाधा पार्छ भन्ने उसको सिद्धान्त रह्यो । भाषा र लिपिको विकासपछि उसले विश्वको स्वरूपलाई नै परिवर्तन गर्ने गरी शिक्षाको व्यवस्था र विश्वविद्यालयसम्मको आविष्कारले आजको विश्व चम्किलो बनेको देखिन्छ ।
नेपालमा भर्खरै आमनिर्वाचन सम्पन्न भई राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वमा सरकार गठन भएको छ । सरकार प्रमुख कुनै पनि विषयमा बोल्न चाहँदैनन् । यो सरकारले देशका समस्या सुल्झाउनेभन्दा बल्झाउने त्रास बढी अनुभव गर्दै छन् विद्वान्हरू । सरकार राज्य सञ्चालकमात्र होइन देशवासीको अभिभावक र अभिप्रेरक पनि हो । नयाँ कामका निमित्त अभिप्रेरणा दिने र व्यक्ति या समुदायका आपतविपद्मा अभिभावक बनेर प्रस्तुत हुनु राज्य (सरकार)को मूल दायित्व हो । सरकार भनेको जनप्रतिनिधिको समूहबाट बने पनि जनताले त्यसको अनुभव गर्न नसक्दा भने समस्या पैदा हुँदोरहेछ र भई पनि रहेको सबैलाई ज्ञात नै छ । यसले शिक्षामा पनि प्रभाव नपार्ने कुरै भएन । पञ्चायतकालभन्दा पहिले त्रिभुवन विश्वविद्यालय नेपालमा खुल्यो । यसले नेपालको परम्परित शिक्षा संस्कृतलाई पनि यसै विश्वविद्यालयमा राख्यो । 
आजको नेपालमा पनि संस्कृत शिक्षा, गुरुकुलीय शिक्षा (स्वेच्छिक र सरकारी), आधुनिक शिक्षा (प्राइभेट, सरकारी, आवासीय) देखिन्छ । संस्कृत भाषासाहित्य, संस्कार संस्कृतिका साथै आचरणमा गुरुकुलीय शिक्षाका विद्यार्थी अब्बल देखिन्छन् । गुरुकुलको शिक्षामा पनि गुरु पढेका जान्नेसुन्ने छन् भने तिनको त्यो स्तरीयता, त्यहाँको शिक्षा प्रणाली विद्यार्थीको ज्ञानको गम्भीरता आदिमा पनि देखिन्छ भने रहरले चलाएका गुरुकुलका विद्यार्थी, गुरु, शिक्षा प्रणाली नै पनि राज्य र समाजका लागि समस्या हुनसक्ने सम्भावना अस्वीकार गर्न सकिँदैन । झापा जिल्लामा प्रचलित २७ वटा गुरुकुलमध्ये केहीमात्रको सम्भावना राम्रो देखिन्छ । सबैभन्दा राम्रो गुरुकुलीय शिक्षा देवघाट धामको महेश गुरुकुल र हरिहर गुरुकुलमा रहेको देखिन्छ । 
राजनीतिक दाउपेच र अकुत धन कमाएर विदेशी बैंकमा जम्मा गर्ने कुरामा यहाँका प्रधानमन्त्री, मन्त्रीहरू, सांसद, सभामुख, एसपी, डीएसपी, सचिवलगायत प्रदेशदेखि गाउँपालिकासम्मका हाकिम ठूलाठालुको जीवनचक्र घुमेको छ । यस्तो किन भयो ? मानवजीवनलाई परिष्कार गर्ने, मान्छेभित्रका अनन्त सम्भावना खोतल्ने, खोल्ने र मानव शक्ति उत्पादन गरेर वितरण गर्ने सर्वोत्तम साधन भनेको शिक्षा नै हो । ग्रिक परम्पराको गणितीय शिक्षा होस् या भारतीय परम्पराको अध्यात्म तŒव मिश्रित शिक्षा होस् शिक्षाले नै मान्छे मानवबाट देव बन्छ र मानवबाट दानव पनि बन्छ । 
नेपालमा अहिले सरकारी शिक्षालयको अवस्था चिन्ताजनक छ । त्यहांँ दरबन्दी छन् । शिक्षक पनि छन् तर चुस्त, दुरुस्त एवं पारदर्शी व्यवस्थापन नभएको हुनाले लथालिंग छन् विद्यालयहरू । त्यहाँभित्र राजनीतिक दलहरू हाबी छन् । कार्यकर्ता भर्ती केन्द्र जस्ता बनेका छन् सरकारी शिक्षालय । राजनीति क्रीडास्थल बनेका र बनाइएका विद्यालयहरूले दिने शिक्षामा विश्वस्त हुन कोही पनि सकेका छैनन् । त्यसैले गर्दा सरकारी विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरूको वर्ग फिल्टर भएको छ । सरकारले यत्रो साधन, स्रोतको व्यय गरेर पनि अपेक्षित शैक्षिक सुधार हुन सकेको छैन । सहरबजारका सरकारी विद्यालयहरूको शैक्षिक गुणस्तर उदाहरणीय बन्न सकेको छैन भने दूरदराजका विद्यालयहरूको स्तर कस्तो होला सहजै अनुमान गर्न सकिन्छ । त्यसमाथि राज्य सरकारले हुम्ला–जुम्लाका विद्यालयका विद्यार्थी र काठमाडौं या यस्तै सुगम स्थानका विद्यालयका विद्यार्थीलाई समान अवसर सुविधा पु¥याउनु नैतिक दायित्व हो भन्ने ठानेको संकेत पनि देखिँदैन । 
यद्यपि सुशिक्षाले शैक्षिक क्षेत्रका सबै समस्या हटाइदिन्छ । वर्तमान नेपालको प्राथमिक तहदेखि एमएसम्म कतै पनि नैतिक शिक्षाको व्यवस्था छैन । नैतिक शिक्षाबिनाको मान्छे, संस्कार संस्कृतिबिनाको घरायसी वातावरणमा हुर्केका युवायुवतीले आफूलाई जे मन लाग्यो त्यही गर्दै हिँडेका छन् । संस्कृत शिक्षा, आधुनिक शिक्षा, आधुनिक शिक्षामा पनि निजी, सामुदायिक, सरकारी, मदरसा, गुम्बा, गुरुकुल आदि नामबाट चलेका सबै शिक्षालाई बढ्न पनि दिनैपर्छ र एकरूपता पनि आवश्यक छ । 
शिक्षाका माध्यमले पनि अनेकौं थरी नागरिक उत्पादन गर्ने गरेका सन्दर्भमा राज्यले एउटा राष्ट्रस्तरीय आधारभूत तहमा मातृभाषामा गाउँ–गाउँमा व्यवस्था मिलाएर, माध्यमिक तहको पाठ्यक्रम बनाएर सातै प्रदेशमा आवास र भोजनसहितका सातवटा माध्यमिक विद्यालय चलाउनुपर्दछ । त्यस्ता विद्यालयको समग्र आर्थिक लगानी सरकारी हुनुपर्दछ । विद्यार्थी लिँदा एउटा निश्चित मापदण्ड अपनाएर मानसिकरूपले सक्षम, आर्थिक अवस्थामा मध्यम र निम्न तहको साबित होओस् । सक्नेबाट लिएर नसक्नेलाई दिने नीति अवलम्बन गरिनुपर्दछ । यसप्रकारका विद्यालयको पाठ्यक्रममा संस्कृत, अंग्रेजी, नेपाली भाषा पढाउनु आवश्यक हुन्छ । 
गणित, विज्ञान र दर्शन ज्ञानात्मक विषयतिर व्यवस्थापन गरिनु आवश्यक छ । यसरी पाठ्यक्रमको व्यवस्था गर्दा संस्कृतका पनि र आधुनिक विषयका पनि अनेकथरी विधाहरू जसले पढाइ र आर्जनलाई गरिब नेपालीका छोराछोरीले सँगसँगै लिएर उच्च तहसम्म पुग्न सकून् भन्ने कुरालाई दृष्टिगत गरी व्यवस्था मिलाउनुपर्दछ । नेपाली शिक्षा प्रणालीमा समयको प्रावधान पालन गराउँदा गरिब विद्यार्थी शिक्षाबाटै ठगिए । 
अतः त्यसलाई हटाएर केही अहिले पढेर एक–दुई वर्ष कमाएर त्यो पाठ्यक्रम अघि बढाउन पाउने व्यवस्था गरिनुपर्दछ । यसरी सातवटा आदर्श माध्यमिक विद्यालय पहाड, हिमाल, तराईको सन्तुलन र छात्र एवं छात्राको पनि संख्या सन्तुलन र व्यवस्थापनको सन्तुलन आवश्यक छ ।
(लेखक खतिवडा मावि शिक्षक हुन् ।)  
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्