भोजपुरको अरुण गाउँपालिकामा जन्मिएका हिमाल गन्धर्व पुख्र्यौली पेसा र गन्धर्व समुदायको मौलिक संस्कृति जोगाउन सारंगी वादन तथा गायनमा सक्रिय छन् ।
उनी विगत डेढ दशकदेखि विभिन्न स्थानमा पुगेर आफ्नो पेसा संरक्षणका लागि सारंगी रेट्दै लोकगीत गुनगुनाउँछन् । सोमबार साँझपख भेडेटारमा भेटिएका गन्धर्वले भने, ‘मेरा लागि यो मनोरञ्जनको माध्यम मात्र नभई जीवनका भोगाइ, वैदेशिक रोजगारीका अनुभव तथा सामाजिक चेतनाका सन्देश अभिव्यक्त गर्ने माध्यम पनि हो । यो पुख्र्यौली पेसाप्रतिको सम्मान पनि हो ।’
बुबाको प्रेरणाले १० वर्षकै उमेरदेखि सारंगी समात्न सिकेका हिमालले १५ वर्षको उमेरदेखि व्यावसायिक रूपमा गीत गाइरहेको सुनाए । आफ्नो समुदायको मौलिक संस्कृति र पहिचानलाई निरन्तरता दिने क्रममा उनी पूर्वका ताप्लेजुङ, तेह्रथुम, पाँचथर, भोजपुर, खोटाङ, सोलुखुम्बु र उदयपुरदेखि चितवन, काभ्रे र काठमाडौंसम्म पुगिसकेका छन् ।
कुनै समय सार्वजनिक बस सवारीसाधनमा गीत गाएर जीविका चलाउँदै आएका हिमालले हाल धरान, भेडेटारलगायत विभिन्न स्थानमा पुगेर सारंगीको धुनसँगै विभिन्न गीत सुनाइरहेको बताए । ‘जीवनयापनको खोजीमा १९ वर्षको उमेरमा वैदेशिक रोजगारका लागि मलेसिया पुग्नुप¥यो । करिब चार वर्ष वैदेशिक रोजगारीपछि स्वदेश फर्किएर आफ्नै पुख्र्यौली पेसामा लागेका थिए । त्यसयता निरन्तर सारंगी वादन र गायनमा सक्रिय छु,’ उनले भने ।
सारंगी बजाएर मात्र पूर्णरूपमा जीविकोपार्जन गर्न कठिन हुने अनुभव सुनाउँदै हिमाल भन्छन्, ‘जीविकोपार्जनका हिसाबले समस्या छ, तर बाबु, बाजे बोजुहरूले संरक्षण गर्दै आएको समुदायको पहिचानसँग जोडिएको पेसा भएकाले छोड्न सकिँदैन । नयाँ पुस्ताले पनि यसको जगेर्ना गर्नुपर्छ भन्ने सोचले निरन्तरता दिइरहेको छु ।’
उनका अनुसार बर्सात तथा प्रतिकूल मौसममा आम्दानी निकै कम हुने गरेको छ । हिउँद र पर्यटकीय सिजनमा भने मासिक रु २० हजारदेखि २५ हजारसम्म कमाइ हुने गरेको छ । बिहानदेखि साँझ ७ बजेसम्म सडकमा बसेर गीत सुनाउँदा पनि कहिलेकाहीँ रित्तो हात फर्किनुपर्ने अवस्था रहेको उनले सुनाए ।
हिमालले भने, ‘गीत गाएर हुने यही कमाइले मात्रै परिवार धान्न गाह्रो हुन्छ, त्यसैले गाउँमा खेतीपाती पनि गर्नुपर्छ । पहाडमा धान फल्ने खेतबारी छैन, पाखोबारीमा थोरै मकैखेती गरिन्छ, त्यो काम सकेर सहर पस्छु । खेती र सारंगीलाई सँगसँगै अघि बढाएर जीवनयापन गरिरहेको छु ।’
यहाँका अधिकांश ठाउँमा विवाह, व्रतबन्धलगायत शुभकार्यमा गन्धर्व कलाकारलाई बोलाएर गीत गाउन लगाउने चलन छ । भजन टोलीसँगै सारंगी वादनका लागि कहिलेकाहीँ निम्तो आउने गरेको र त्यस्तो समयमा अलि बढी आम्दानी हुने गरेको उनले बताए । पछिल्लो समय यस्तो प्रचलनमा कमि आइरहेको र नयाँ पुस्ता अन्य पेसातर्फ आकर्षित हुँदा मौलिक कला संकटमा पर्दै गएको भन्दै हिमालले चिन्ता व्यक्त गरे ।
गन्धर्व समुदाय जसलाई ‘गाइने’ जातिका रूपमा पनि चिनिन्छ । यो नेपालका लोपोन्मुख तथा अल्पसंख्यक जातिमध्ये एक हो । भोजपुर, कास्की, तनहुँ, लमजुङ, गोरखा, चितवन, बागलुङ, पाल्पा, दैलेख र सुर्खेतलगायत जिल्लामा यस समुदायको बढी बसोबास रहेको पाइन्छ ।
नेपाली लोकसंगीत र लोक जीवनको संरक्षण तथा प्रवर्धनमा गन्धर्व समुदायको महŒवपूर्ण योगदान रहँदै आएको छ । सारंगी र मादलजस्ता वाद्यवादनमार्फत लोकसंस्कृतिलाई पुस्तान्तरण गर्दै आएका गन्धर्वहरूले लोकगीतलाई जीविकोपार्जनको माध्यम समेत बनाएका छन् । यिनै लोकस्रष्टाको प्रेरणाबाट पछिल्लो समय अन्य समुदायका मानिसले पनि सारंगी बजाउने र बनाउने गरेको पाइन्छ ।
पुख्र्यौली पेसालाई आधुनिक समयसम्म जीवित राख्न संघर्षरत हिमाल गन्धर्वको जीवनयात्राले नेपाली लोकसंस्कृतिको संरक्षणमा समर्पित एक कलाकारको प्रयासलाई उजागर गरेको छ । ‘सारंगीको प्रत्येक धुनसँगै समाजको यथार्थ र मानिसका पीडा पनि भन्ने गरेका छौं । आफ्नो समुदायको इतिहास, पहिचान र संस्कृतिलाई जीवन्त बनाइ राख्न पनि यस पेसामा क्रियाशील छु । यसको निरन्तरताका लागि युवा पुस्तालाई जागरुक गर्न सरोकार भएकाहरूले ध्यान दिन आवश्यक छ,’ उनी भन्छन् ।