नेभिगेशन
दृष्टिकोण
सम्पादकीय

विश्व शान्ति सूचकांकमा नेपालको चिन्ताजनक अवस्था

हालै सार्वजनिक ग्लोबल पिस इन्डेक्स २०२६ ले नेपालको वर्तमान शान्ति र स्थिरताको तस्बिर पुनः बहसमा आएको छ । विश्वमा शान्तिको अवस्था लगातार खस्कँदै गइरहेका बेला नेपालले ग्लोबल पिस इन्डेक्स (जीपीआई) मा सबैभन्दा ठूलो गिरावट भोगेको देशका रूपमा स्थान बनाएको छ । अष्ट्रेलियास्थित अनुसन्धान संस्था इन्स्टिच्युट फर इकोनमिक्स एन्ड पिसले सार्वजनिक गरेको ग्लोबल पिस इन्डेक्स २०२६ अनुसार नेपालको शान्ति अवस्था गत वर्षको तुलनामा ९.१ प्रतिशतले कमजोर भएको हो । 
प्रतिवेदनअनुसार नेपाल विश्वका १६३ मुलुकमध्ये १११औँ स्थानमा पुगेको छ । अघिल्लो वर्षको तुलनामा नेपाल २६ स्थान तल झरेको छ । नेपालले २.१४३ अंक प्राप्त गरेको छ, जुन दक्षिण एसियाली क्षेत्रभित्र पनि चिन्ताजनक अवस्था मानिएको छ । 
यस विश्वव्यापी मूल्यांकनमा नेपालको स्थान र यसले ओगटेका सूचकहरू हाम्रा लागि केवल तथ्यांकमात्र होइनन्, देशको आन्तरिक राजनीतिक, सामाजिक र आर्थिक दिशाका सूचक हुन् । 
दक्षिण एसियाली क्षेत्रमा भुटानपछिको दोस्रो शान्तिपूर्ण मुलुकका रूपमा नेपालको नाम आउनु सकारात्मक पक्ष रहे पनि पछिल्लो समय देखा परेका केही सूचकहरूले चिन्ता बढाएका छन् । शान्तिका अग्रदूत गौतम बुद्धको देश नेपालले अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो यो छवि कायम राख्नु र आन्तरिक रूपमा यसलाई सुदृढ बनाउनु आजको प्रमुख आवश्यकता हो । 
नेपालका सन्दर्भमा सैन्यीकरणको न्यून स्तर र छिमेकी राष्ट्रहरूसँगको शान्तिपूर्ण सम्बन्ध सधैँ सबल पक्ष रहँदै आएका छन् । साथै, संयुक्त राष्ट्रसंघको शान्ति मिसनहरूमा नेपाली सुरक्षा फौजले पु¥याएको योगदान, देश बाह्य सुरक्षा र आतंकवादको जोखिमबाट तुलनात्मक रूपमा सुरक्षित रहेको छ । तर, शान्ति केवल बाह्य आक्रमण वा ठूला युद्धको अनुपस्थिति मात्र होइन, नागरिकले दैनिक जीवनमा महसुस गर्ने सामाजिक सुरक्षा, विधिको शासन र आर्थिक सुनिश्चितता नै वास्तविक शान्तिका मेरुदण्ड हुन् । 
पछिल्ला प्रतिवेदनहरूले नेपालको आन्तरिक राजनीतिक अस्थिरता, सुशासनको अभाव र कमजोर संस्थाहरूलाई मुख्य चुनौतीका रूपमा औंल्याएका छन् । बारम्बार फेरिने सरकार, दलहरूबीचको राजनीतिक गतिरोध र नीतिगत अनिश्चितताले नागरिकमा निराशा पैदा गरेको छ । युवा पुस्तामा बढ्दो बेरोजगारी र आर्थिक अवसरहरूको कमीका कारण उत्पन्न आक्रोश कहिलेकाहीँ सडक प्रदर्शन र असन्तोषका रूपमा देखिने गरेको छ । समाजमा अपराधप्रतिको धारणा र नागरिकको सुरक्षा अनुभूति जस्ता आन्तरिक पक्ष कमजोर हुँदा सूचकांकमा नकारात्मक असर पर्छ । भ्रष्टाचारको संस्थागत स्वरूप र न्यायसम्पादनमा हुने ढिलासुस्तीले विधिको शासनलाई कमजोर बनाउँदा समाजमा एक प्रकारको अदृश्य अशान्ति र असन्तोष पैदा गर्दछ । दक्षिण एसिया राजनीतिक रूपमा संवेदनशील र उतारचढावपूर्ण क्षेत्र हो । यस परिवेशमा नेपालले आफ्नो देशलाई शान्त र सुरक्षित राख्न विशेष रणनीति अपनाउनुपर्छ । 
पर्यटन उद्योग नेपालको अर्थतन्त्रको मुख्य खम्बा हो र पर्यटन सिधै देशको शान्ति र सुरक्षाको स्थितिसँग जोडिन्छ । विश्वव्यापी रूपमा नेपाल एक सुरक्षित र शान्त पर्यटकीय गन्तव्य हो भन्ने सन्देश प्रवाह गर्न सके मात्र हामीले आर्थिक लाभ लिन सक्छौँ । तर यसका लागि केवल अन्तर्राष्ट्रिय स्तरको सूचकांकमा अंक सुधारेर पुग्दैन, घरेलु धरातलमा नागरिकको जीवनस्तर उकास्न र सामाजिक न्याय सुनिश्चित गर्न राज्य गम्भीर हुनुपर्छ । निकासका लागि अब परम्परागत राजनीतिक खिचातानीबाट माथि उठेर आर्थिक एजेन्डा र सुशासनमा केन्द्रित हुन ढिला भइसकेको छ । सरकारले युवाहरूका लागि स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्ने, बजारमा मूल्यवृद्धि र कालोबजारी नियन्त्रण गर्ने र कानुनी राज्यको प्रत्याभूति दिलाउने कार्यलाई प्राथमिकता दिनुपर्छ । आन्तरिक सुरक्षा व्यवस्थालाई राजनीतिक हस्तक्षेपमुक्त र प्रविधिमैत्री बनाउँदै नागरिक र प्रहरीबीचको सम्बन्ध सुमधुर बनाउनु आवश्यक छ । विश्व शान्ति सूचकांकले देखाएको नेपालको अवस्थाले एउटा महŒवपूर्ण ऐना देखाएको छ । देशमा क्षेत्रीय स्तरमा गर्व गर्न लायक शान्तिको जग त छ तर त्यसलाई जोगाइराख्ने आन्तरिक संरचना निकै कमजोर छन् । शान्तिलाई दिगो बनाउन राजनीतिक नेतृत्वमा दूरदर्शिता, प्रशासनिक संयन्त्रमा पारदर्शिता र समाजमा आपसी सद्भाव अपरिहार्य छ । सूचकांकका अंकहरूमा सुधार ल्याउने उद्देश्यले भन्दा पनि आफ्ना नागरिकलाई भयमुक्त, न्यायपूर्ण र समृद्ध जीवन दिने राष्ट्रिय संकल्पका साथ अघि बढेमा मात्र नेपाल संसारकै लागि साँचो अर्थमा शान्तिको देश बन्न सक्नेछ । यसतर्फ राज्यका सरोकारवाला निकायहरूको ध्यान बेलैमा जानु अपरिहार्य छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्